Advertisement Banner
Advertisement Banner

२० बिहिबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

Image

सक्नेको सान, नसक्नेको अवसान

बैकुण्ठ भण्डारी

२८ बुधबार , फाल्गुण २०८१२२ दिन अगाडि

सक्नेको सान, नसक्नेको अवसान

दुनियादारी यस्तै हो, सक्नेको सान, नसक्नेको अवसान । उखानै छ, जो होचो उसैको मुखमा घोचो ।
हाम्रालागि हो पाहुना देवतातुल्य ।  उपनिषद्मा मातृदेवो भवः, पितृदेवो भवः, आचार्यदेवो भवः, अतिथिदेवो भवः । यसको मतलव माता, पिता, गुरूपछि अतिथिलाई देवता समान मानेको छ ।
एसियाको शक्तिशाली देश मानिएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पटक–पटक अतिथिहरू जस्तोसुकै होउन्, भगवान्नरह हुन् भन्ने भाषण गर्ने गरेका थिए । उनै मोदी मरीच चाउरिएजसरी चाउरिएर अमेरिकाबाट फर्कना साथ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले र युद्धमा पिल्सिएको युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई निम्त्याए ।
ठूलाबा पनि त्यही हेर्दै दंग पर्दै ठूलाघरे कान्छालाई देखाउँदै थिए । ल हेर, देखिस् त ! अब भने त्यो युक्रेनमा पनि शान्ति हुने भो । ठूलो देश भनेको ठूलो नै हो नि । अप्ठेरोमा परेका बेला बोलाएर सहयोग गर्दै छ । डाँडाघरे ठूलबा, जेठो छोरोले बाइरोडको बाटो हुँदै, दिल्ली पुगेर मेक्सिकोको जंगलबाट अम्रिका पुगेको तीन वर्षपछि पठाइदिएको आइफोनको स्क्रिनमा ट्रम्पले जेलेन्स्कीलाई सेतो घरको मूलढोका पुगेरै स्वागत गरेको दृश्य हेर्दै थिए । ट्रम्पले जेलेन्स्कीलाई साहसी व्यक्ति भन्दै धाप मारेको देखाउँदै– देखिस् त ? कति महान् छन् ट्रम्प !
‘सायद अम्रिकाको इतिहासमा यस्तो भेटको प्रत्यक्ष प्रसारण गरेको पहिलोपटक नै होला,’ कान्छालाई ठूलबा भन्दै थिए, ‘हाम्रो देशको काठमाडौंको मेयर बालेनको सिको गरेछ ट्रम्पले ! राम्रा कुरा त साना देशबाट पनि सिक्दा हुन्छ हैन त कान्छा ?’ बूढा हाँस्दै थिए । सानो झुपडीमा बस्ने मान्छे तर नाम भने ठूलाघरे कान्छो । कान्छाको मन ठूलो थियो । त्यही भएर पनि होला सबैले ठूलाघरे कान्छा भन्थे । धन नभए पनि गाउँमा अलि बाठो नै थिए कान्छा । सुरूमा दुवैका अनुहारमा चमक थियो । दुवै साहसी काम गरेर सफल बनेपश्चात् भेटघाट जस्तो भान हुन्थ्यो ।
दुवैले सँगसँगै आ–आफ्ना शक्तिशाली व्यक्ति राखेका थिए । वरपर नारदमुनिहरू क्यामरा तेस्र्याएर विश्वभर देखाइरहेका थिए । त्यही हेरिरहेका थिए ठूलबा र कान्छा । सुरूमा जुन सत्कार र अनुहारमा चमक थियो । क्रमशः दुवै जोसिँदै थिए । जब ट्रम्पका उपराष्ट्रपतिले जेलेन्स्कीलाई अलि होच्याउने प्रयास गरे । त्यसपछि सुरू भयो पाहुनामाथिका अपमान । जेलेन्स्की एक मिनेटमा नै मूर्खका रूपमा परिभाषित भएपछि पारो त तात्ने नै भयो नि । सानो देशको होस् या ठूलो देशको राजा त राजा नै हो नि ? राष्ट्रपति त राष्ट्रपति नै हो नि ! शक्तिको दम्भमा रहेका व्यापारी मनस्थितिका ट्रम्पले जेलेन्स्कीलाई जसरी अपमान गर्ने प्रयास गरे, जेलेन्स्कीले भने एक झट्का दिए– म पनि राष्ट्रपति हुँ ख्याल गर्नोस् ।
ट्रम्पलाई सुली हाल्दै थिए उनका उपराष्ट्रपति । समस्यालाई समाधान गर्नुको सट्टा आगोमा घिउ थप्दै थिए– ‘त्यस्तो युद्धमा हामीले सहयोग गरेका थियौं । तिमीले राष्ट्रपतिलाई धन्यवादसमेत भनेनौं । लाज लाग्दैन तिमीलाई ?’ युवा जोस जाँगर युद्धको रणभूमिबाट पाहुनाका रूपमा आएका जेलेन्स्की के कम थिए र ? ‘धन्यवाद पटक–पटक दिएको छु । सम्बन्धलाई व्यापारिक दृष्टिकोणले स्वार्थ बोकेर किमार्थ गरिन्न । म मेरो राष्ट्र र जनतालाई झुक्नेगरी कुनै पनि सम्झौता गर्दिनँ,’ जेलेन्स्कीले जवाफ दिए ।
उन्माद उन्माद हो, उन्माद् चढेपछि अनि गलत सल्लाहकारको भुमरीमा फसेपछि के हुन्छ भन्ने कुरा ट्रम्पले विचार गरे कि गरेनन् । तर दुनियाँले युद्धमा लड्दालड्दै शिथिल भएको जेलेन्स्कीको स्वाभिमानलाई भने प्रशंसा गर्दै थिए । ठूलबालाई पनि रिसको पारो उठेछ कि क्या हो ! भन्दै थिए– ‘हैन कस्तो राष्ट्रपति हुन् यो ट्रम्प, अघिसम्म बहादुर भन्ने अहिले अपमान गर्ने ?’
ठूलबाको कुरा सुनेर कान्छोले भन्यो, ‘हो नि ठूलबा । शक्ति, सत्ता सधैं कहाँ एकनासको हुन्छ र ? सबै आ–आफ्नो मान, स्वाभिमानमा बाँचेका छन् नि । त्यो ठूलो र शक्तिशाली छ भन्दैमा झुक्नैपर्छ । लम्पसार पर्नैपर्छ भन्ने छ र ? युद्धमा गलेको भए पनि राष्ट्रिय स्वाभिमान र प्रतिष्ठाका लागि चोर औंला देखाउने सान त जेलेन्स्कीमा देखियो त ! 
‘कुरो ठीक गरिस् कान्छा । अघिसम्म त्यो ट्रम्पले जेलेन्स्कीलाई स्वागत गर्न गएको देखेर यसको छाती ठूलै रैछ । मन पनि ठूलै रैछ । सानै देशको भए पनि पाहुनालाई कति सम्मान गरेको भन्ने लागेको थियो । तर आफ्नो स्वार्थका लागि पो प्रयोग गर्न खोजेको रहेछ हेर त ?,’ ठूलबा भन्दै थिए । ‘उसलाई मन लागे ठीक मन नलागे बेठिक हुन्छ ? पद भनेको पद हो नि ! राष्ट्रपति त राष्ट्रपति नै हो नि, ठूलो देशको होस् कि सानो देशको,’ कान्छो डाँडाघरे ठूलबालाई भन्दै थिए, ‘जबसम्म नेतृत्वमा बस्ने मान्छे राष्ट्र र जनताका लागि काम गर्छ नि त्यो नेतृत्व कहिल्यै पनि झुक्नु पर्दैन । जेलेन्स्की उदाहरण बनेको देखियो ।’
‘हुन त हो कान्छा, तर के गर्नु हाम्रा देशका नेता कहिले उत्तर, कहिले दक्षिण गरेर लम्पसार पर्छन् । कहिले देशबारे बोलेनन् । देश कहाँबाट चलेको छ ? कसले चलाएको छ ? सबैलाई पद र शक्तिमात्र चाहिएको छ,’ ठूलबाले भने । ‘त्यो त हो ठूलबा । जेलेन्स्कीलाई पनि त उसबेला युद्ध सुरू हुँदा अम्रिकाले ‘हामी छौं साथमा’ भन्दै उचालेको थियो त । स्वार्थ नमिलेपछि अहिले पो थचा¥यो त ।  खनिज खानी खोजेको रहेछ । सित्तैमा कसले कसलाई सहयोग गथ्र्यो र ? अहिले छर्लंग भयो नि । हो हाम्रो देशमा लगानी गर्नेहरू पनि त्यस्तै हुन् । नेताहरू बेलैमा चेतेनन् भने ठूलो दुर्भाग्य हुन्छ ।