Advertisement Banner
Advertisement Banner

२० बिहिबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

Image

निरन्तरता जरूरी छ

शाश्वत शर्मा

२७ मंगलबार , फाल्गुण २०८१२३ दिन अगाडि

निरन्तरता जरूरी छ

राजाको पोखराबाट बिदाई र राजधानीमा स्वागत आश्चर्यपूर्ण रह्यो । सरकार एकमुखले १० हजार मानिस जम्मा हुने भन्दैथियो, अर्को मुखले राजालाई पार्टी खोलेर चुनावमा आउन चुनौती दिदै थिए, राजाको कुनै प्रतिकृया थिएन । जवाफ जनताले दिए । राज्यका सबै अङ्ग मात्र होइन, राजधानीमा रहेका विश्वजगतले समेत नेपाली जनताको अपार सहभागिता र राजाप्रतिको आस्था र विश्वास देखेर आश्चर्यमा परेका छन् । लोकतन्त्रमा जनताको आस्था र विश्वास मापदण्ड हुनेगर्छ, यस हिसावले राजाजति लोकप्रिय अरू कोही देखिएनन् । राजाको आह्वानको सम्मान भएको छ ।
राज्यले राजाको स्वागतमा सहभागी हुन आउन लागेका स्वस्फूर्त जनतालाई रोक्न नाका नाकामा तगारो हालेको थियो । एयरपोर्टदेखि चावहिल, चावहिलदेखि गौशाला हुँदै महाराजगञ्ज, निर्मल निवासम्मको जनताको भीड देख्ने जोसुकैले भन्नसक्छ, भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो उचालेर राजालाई बदनाम गराउन खोजेको दृश्य अपच हुनेखालको थियो । यस्तो भाँडतन्त्रप्रति सचेतता देखिएन । मुख्य सवाल राजसंस्थावादीको शक्ति प्रदर्शन, त्यो प्रष्ट भयो । राजाले पनि मोटरबाट निस्केर जनताले गरेको स्वागतलाई हार्दिकता प्रकट गरेका छन् । जनता र राजाको शक्ति एकाकार हुनपुगेको छ ।
अब प्रश्न उठ्छ, यत्तिकैमा यो तातेको स्थिति सेलाउन थाल्यो भने ? राजाको व्यवस्थाबिरोधी कृयाकलाप बढ्यो, राजालाई नजरबन्द गराउनुपर्छ भनेर संसदनामको गोठबाट चिच्याउन थालेका छन्, कतिपय लुटाहरू सडकबाट पनि चिच्याएका छन् । अझ माओवादी अध्यक्ष प्रचण्ड त प्रतिकार गर्ने सुरसारमा अग्रसर भएका छन् । गणतन्त्रविरोधीलाई रोक्नुपर्छ भनेर नेता हिमाल शर्माले भनेका छन् । लुटतन्त्र मच्चाउनेहरू राज्यसंयन्त्र सकृय पारेर राजावादीमाथि निर्मम हुनसक्ने संकेत देखाएका छन् । यसकारण फागुन २५ गते जनताले जुनशक्ति र एकता देखाएका छन्, त्यो एकता र शक्ति निरन्तर सडकमा देखिनु जरूरी छ । यो त स्वागतमात्र हो, यो स्वागतको शक्तिलाई लुटतन्त्र, अस्थिरता, अराजकता, माफिया र अपराधिकरणविरूद्ध बिद्रोहको स्वरूपमा ढाल्न सके, यी लुटाहरूको गएको सातो फर्कनेछैन । यी सबै किनारा लाग्नेछन् । यो गणतन्त्र समाप्त पार्न फागुन २५ गते रूख चढेरसमेत राजाको स्वागत गर्ने जुन उत्सुकता र जागरूकता देखियो, त्यो प्रत्येक शोषण र निरंकूशताविरूद्ध गोलबद्ध भएर अग्रसर हुनुपर्छ, पार्नुपर्छ । यसका लागि भावी कार्यक्रमसहित बिद्रोही अगुवाहरू अग्रसर हुनु जरूरी छ । प्रत्येक कित्ताका बिकाउहरू र लूटमा रमाइरहेकाहरू जो हुन्, तिनलाई सत्ताधारीले प्रयोग गर्नसक्छन् । आन्दोलन भाँड्न राज्यले किनबेच, लोभ बितरण, अनेक हथकण्डा मच्चाउन सक्छन् । परिवर्तनका लागि जुट्नुपर्ने रहेछ भन्ने सन्देश फागुन २५ ले दिइसकेको छ । सवाल राजसंस्था पुनस्र्थापनासँगै मुलुकको अस्तित्व रक्षाको पनि छ । परिवर्तनका लागि अबको आन्दोलन अझ कठिन हुने पक्का छ । परिवर्तनका लागि अब नैतिक समर्थन दिनेसमेत अग्रसर हुनुपर्छ । अन्तिम आन्दोलनको चरणमा मुलुक प्रवेश गरिसकेकाले अघि अघि गरेकाजस्तो एकदिने आन्दोलनमा यो जागरूकता रोकिनु हुन्न । भावी पुस्ताका लागिसमेत अबको बिद्रोहात्मक आन्दोलन परिणाममुखी हुनुपर्छ ।
भ्रष्ट, नीति र नैतिकहीनहरूलाई लखेट्न फागुन २५ गते उर्लिएका जनसागरभन्दा पनि बढी सलहजसरी जनता घरघरबाट निस्कनुपर्छ । यिनको सातो खाने काम भयो, यिनलाई लखेट्ने काम जनताले नै गर्ने हुन् । जसरी श्रीलंका र बंगलादेशमा परिवर्तन जनताबाट भयो, यिनले त्यस्तै खोजेका हुन् भने जनताले त्यसै गर्नुपर्छ । फागुन २५ गते देखिएको उत्साह के थियो भने प्रौढमात्र होइन, सबल तह र तप्काका युवा बढी सहभागी थिए । खाडीमात्र होइन, अन्य मुलुकमा पुगेका युवाले समेत सामाजिक सञ्जालमार्फत राजतन्त्र पुनस्र्थापना गर्न र यी भ्रष्टहरूको पतन गराउन सर्मन दिइरहेका थिए । यसबाट पनि थाहा हुन्छ, मुलुक परिवर्तनको दोबाटोमा पुगिसकेको । नेपालको भविष्य नेपालमै छ, नेपालमै युवाको भविष्य सुनिश्चित गर्नका लागि समेत बिद्रोह र परिवर्तन अपरिहार्य बनेको छ । प्रधानमन्त्री र उनका साझेदार र प्रतिपक्षीले जुन प्रकारले राजाप्रति अनास्था फैलाउने र अपमान गर्ने वाएका छन् । यी भ्रष्टहरूलाई समाजमा उभिन गाह्रो पर्ने समय आइसकेको छ । राजाले चुनाव लड्ने होइन, राजा पार्टीका पनि होइनन्, राजा देशका हुन् र देश संकटमा भएकाले जनता र राजा मिलेर अवस्था सुधार्नुपर्ने खाँचो छ ।