
पशुपतिमा राष्ट्रशान्ति महायज्ञ : हिन्दु, बौद्ध, किराँत एकै ठाउँमा
गुरुकुल निर्माणको लागि शिवरात्रीसम्म पशुपतिमा राष्ट्रशान्ति महायज्ञ
पशुपति क्षेत्रमा महारुद्र महामहोत्सव तथा राष्ट्रशान्ति महायज्ञ चल्दै
एकै स्थानमा हिन्दु बौद्ध, किराँत गुरुकुल निर्माणको लागि पशुपतिमा महायज्ञ
काठमाडौं । महारुद्र परिवार फाउण्डेशनको आयोजना र महारुद्र महिला समूहको सहआयोजनामा पशुपति क्षेत्रमा राष्ट्रशान्ति महायज्ञ आयोजना भईरहेको छ । ‘धर्मो रुक्षति रक्षितः हामीले धर्मको रक्षा गरौँ, धर्मले हामीलाई रक्षा गर्छ’ भन्ने मूल नाराका साथ फागुन ७ गतेबाट सुरु भएको महारुद्र महामहोत्सव तथा राष्ट्रशान्ति महायज्ञ शिवरात्रीसम्म चल्नेछ । पशुपतिनाथ मन्दिरको परिक्रमा गर्दै कलशयात्रा गरेर महायज्ञको उद्घाटन गरिएको थियोे । शिवसेना नेपाल, युथ फर नेशन तथा देशभक्त युवा नेपालको विशेष सहयोगमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन भईरहेको छ ।
अहिले धर्म धर्मबीच दूरी बढ्दै गएको बेला धार्मिक एकतालाई अझ मजबुत बनाई एकअर्को धर्मको सम्मान, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको महारुद्र परिवार फाउण्डेसनका अध्यक्ष खगेन्द्र पोखरेलले बताए । हिन्दु, बौद्ध, किराँतलाई जोडेर एकै स्थानमा गुरुकुल निर्माण गर्ने अभियान आफैबाट सुरुवात गरेको उनले बताए । नेपाल संस्कृति र प्रकृतिमा विश्वमै धनी देश भएको तर एक आपसमा फाटो आईरहेको समयमा धर्म संस्कृति बचाउँदै सबै सनातनीलाई साथमा लिएर अगाडि बढ्ने उनको भनाई छ । महायज्ञमा फागुन १० गते शनिबार बौद्धिष्ट गुरुहरुको उपस्थितिमा बौद्ध धर्म विधिअनुसार पूजाविधि र फागुन १४ गते किराँत धर्मगुरुहरुको उपस्थितिमा पूजाविधि हुनेछ ।
हिन्दु, बौद्ध, किराँतलाई जोड्ने यो अभियानमा सबैलाई साथ दिन महोत्सवका अध्यक्ष डा. निकोलस भुषालले बताए । अब कुरा मात्र हैन, देश बनाउने जिम्मा हाम्रो हो । हामी युवाहरु नै अग्रसर हुनुपर्छ भनेरनै यो महायज्ञ आयोजना गरिएको र “भोकालाई भोजन, प्यासीलाई पानी, बिरामीलाई उपचार” महायज्ञ समयसम्म मात्र नभई सधैंभरी चलिरहने उनले बताए । आफै डाक्टर भएका कारण बिरामीलाई निःशुल्क उपचार आफु बाँचुन्जेलसम्म गरिरहने उनले बताए ।
श्रीमदभागवत महापुराणका साथै दैनिक हवन, पुजन, आध्यात्मिक प्रवचन, भजन कीर्तन, रासलिला, ११ लाख लक्ष्यवर्तिका प्रज्वलन तथा विभिन्न कार्यक्रमहरु सञ्चालन भईरहनेछन् । महायज्ञको मूल कथावाचकका रुपमा अन्तराष्ट्रिय कथाव्यास मुक्तिनाथ सुवेदी र खगेन्द्र पोखरेल स्वयम् रहेका छन् । मूल पाठ पारायणमा पूर्ण अत्री मुमुक्षु, यज्ञचार्य राजन पौडेल, वेद पाठ, चण्डी पाठ साथै विविध पाठमा आदित्य गर्तौला, माधव पोखरेल, रुपेश पोखरेल रहेका छन् । पशुपतिमा भव्यताका साथ सञ्चालन भईरहेको महायज्ञमा सहभागी बनेर तन, मन, धन, वचन, क्रमद्वारा सहभागी बनी सबैलाई आएर दर्शन गर्नका लागि आयोजक टीमका गुरु त्रिलोचन शरण भारद्वाजले आग्रह गरे । हिन्दु, बौद्ध, किराँत धर्मलाई जोड्ने यो अभियानमा हामी सबैले साथमा साथ हातमा हात दिएर अधि बढ्नुपर्ने त्रिलोचन बताउँछन् । एक सातासम्म चल्ने महोत्सवमा विभिन्न सर्वसाधारणदेखि विभिन्न विशेष व्यक्तिहरुको पनि सहभागिता रहने उनले बताए ।
संसारमा जुनसुकै धर्म माने पनि पहिलो त मनमा शान्ति हुनुपर्ने र सबैको मन शान्ति हुँदा जगत् शान्ति हुने महायज्ञका कथाव्यास मुक्ति नाथ सुवेदी बताउँछन् । यस कलिकालमा सुर्यले प्रकाश दिएर उज्यालो भएको छ, त्यस्तै वेद पुराणले मानव मनलाई प्रकाश दिएर प्रफुल्लित पार्दछ । त्यसकारण पनि सम्पुर्ण भक्तजनहरुलाई राष्ट्रशान्ति महायज्ञमा उपस्थित भएर कथा श्रवण गर्नका लागि उनले आग्रह गरे ।
महारुद्र परिवार फाउन्डेसनले धार्मिक कार्यहरु मात्र नभई सामाजिक, सेवामूलक, सिपमूलक, शिक्षामूलक तथा चेतनामूलक, महिला सशक्तीकरण लगायत अन्य विभिन्न कार्यहरु पनि गर्दै आइरहेको संस्थापक सदस्य मोहन अभिलाषी बताउँछन् । सबैलाई जोडेर अगाडि बढ्ने यो हाम्रो सानो प्रयास हो, यो अभियान देशव्यापी र बृहत रहनेछ । एकदिन देशको मात्र नभई विश्वकै नमुनाका रुपमा स्थापित हुने उनी बताउँछन् ।