
जनयुद्धले दिएको भनेको ऐतिहासिक घाउ हो, नेपाल रहेसम्म नेपालीका मन मनमा चहराइरहने छ । माओवादीका शीर्ष नेता प्रचण्ड, बाबुराम र बैद्य थिए, जो तीनतिर लागेका छन् । प्रचण्ड आफूलाई जनयुद्धका कमाण्डर भन्छन् र अझै सामाजिक जागरूकता खोज्न थालेका छन् । ३ पल्ट प्रधानमन्त्री बने, उनले जनयुद्धका लडाकुलाई त केही दिन सकेनन्, देशका लागि के देलान् ? उनले आफ्नै इतिहास समेत खण्डित पारेका छन् ।
१० वर्ष लामो सशस्त्र संघर्ष माओवादीले गरेकै हो । माओवादीको शक्ति दिल्लीमा रहेछ, दिल्लीमा १२ बुँदे सहमति गरेर राजतन्त्रको अन्त्य र गणतन्त्र ल्याउन अग्रपंक्तिमा भूमिका पनि खेलेकै हो । जनचेतना जगाउन माओवादीको भूमिका छ । तर, समाज बदल्ने कुरा, समानताका कुरा, सुशासनका विषयमा माओवादीजति बद्नाम कुनै पार्टी भएनन् । माओवादीले पुँजीवादी कांग्रेस र एमालेलाई समेत पछाडि पार्यो ।
२०५२ फागुन १ गते माओवादीले देशभर विद्रोह सुरू गरेको दिनको सम्झनामा माओवादीले ३०औं जनयुद्ध दिवस मनायो । तर यो दिवसलाई सर्वोच्च अदालतले समेत खारेज गरिसकेको छ । आमनागरिक समाज पनि पनि जनयुद्ध घाउमात्र हो । पीडितका लागि पीडा र पीडकका लागि रमाइलो हुनपुगेको छ जनयुद्ध दिवस । ६ महिनामा संक्रमणकालीन न्याय सम्पादन गर्ने भन्ने माओवादीले ३ पल्ट प्रचण्ड नै प्रधानमन्त्री बने, बाबुराम पनि प्रधानमन्त्री बनेकै हुन्, माधव नेपाल र खिलराजलाई पनि प्रधानमन्त्री बनाएकै हो । तर माओवादीको धारिलोपन खिया लाग्न पुग्यो । पीडितहरू कति मरे, कति मर्ने हालतमा छन्, बाँचेका न्यायको गुहार लगाइरहेकै छन् । माओवादी पानीमाथिको ओभानो बन्न भनिरहेको छ– जनयुद्ध नभएको भए हामी कहाँ हुन्थ्यौं ? शोषण हिजो थियो, भ्रष्टाचार हिजो थियो, तर परिवर्तनपछि त्यो शोषण र भ्रष्टाचारले सगरमाथा लाघेको छ । यसकारण जनयुद्धको अर्थ सकियो, घाउ निरन्तर चहराइरहनेछ । वर्तमान राजनीतिले यो घाउ निकोपार्ने छाँट छैन ।