Advertisement Banner
Advertisement Banner

३० बुधबार, माघ २०८१23rd July 2024, 10:09:55 am

बिकल्प आम नागरिक बिद्रोह

२२ मंगलबार , माघ २०८१८ दिन अगाडि

बिकल्प आम नागरिक बिद्रोह

पूर्व राजारानीबाट गतहप्ता गोरखनाथ मन्दिरमा पूजाआजा सहित परम्परागत खिचडी चढाउने गर्ने कार्य सम्पन्न भएको छ । झण्डै महिनादिन अघि पनि पूर्वराजा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निम्तो मान्न र पूजाआजा गर्न गएकै हो । त्यतिबेलाको भ्रमणको चर्चा अत्यधिक थियो र नेपालको भ्रष्ट लोकतान्त्रिक पद्धतिको अन्त्य निकट आएको हल्लीखल्ली नै भएको थियो । यसपटकको भ्रमण नितान्त गुरू गोरखनाथको पूजामा सिमित देखिन्छ । तर यूट्युवे विद्वानहरू अघिल्लोपल्ट मिलाउन बाँकी कुरा मिलाउन गएको बताइरहेका छन् । राजाबाट बलात् नागरिकमा झारिएका ज्ञानेन्द्र शाह नेपालमै छन्, नेपाली भएरै बसेका छन् र आमनागरिकसँग सुखदुःख साटेर बसेका छन् । असफल भइसकेको शासन प्रणाली र शासकहरूको नाक जोगाइदिनका लागि अहिले पनि पूर्वराजाको गलत प्रयोग भइरहेको देखिन्छ । सबैलाई थाहा छ, आफ्नै भ्रष्ट चरित्र र गलत कृयाकलापका कारण यो पद्धति गुल्टिने भीरमा पुगिसकेको छ । जिल्ला जिल्लामा जनअसन्तोष बढेको छ, आन्दोलन, बन्दहड्ताल भइरहेका छन् । चालु हिउँदे अधिवेशनमै राजनीतिक हानाथापको चर्को रूप देखिएको छ । प्रष्ट छ, यस्तो असफल पद्धति ढाल्न पूर्वराजाले भारतलाई गुहार्नै पर्दैन । राजा कतै गए कि शंका गरिहाल्ने ? यसको अर्थ यो शासन र प्रशासन आफै ढल्ने स्थितिमा घिटीघिटी अवस्थामा पुगिसकेको छ ।
यो व्यवस्था ढाल्न नागरिक आन्दोलनको एक धक्काको आवश्यक छ । यस्तो धक्का जनविद्रोह हो, संगठित होस् वा असंगठित । यसरी पतन्नोन्मुख भइसकेको व्यवस्था ढाल्न पूर्वराजाले कसैको सहयोग लिइराख्नुपर्दैन । राजा हुने इच्छ भएको भए राजाका सामु भारतले अनेकपल्ट भारतमुखी हुन प्रस्ताव ल्याएकै हुन् । राजा जनताका सामु झुके, कुनै विदेशीका सामु झुकेनन् । फेरि राजाको बदनाम किन ? जति झुक्नुछ, यिनै लोकतन्त्र नामधारी झुकिरहेकै छन् । जनघात, जनविश्वासघात, राष्ट्रघात गरिरहेकै छन् । यी नेताहरू यतिसम्म झर्न र गिर्न सक्छन् कि यिनलाई नीति, सिद्धान्त, जनबल, जनमत, आरचरण केही अर्थ छैन । यिनलाई आफ्नो लागि सत्ता र सत्ता पाएपछि भ्रष्टाचारमा लिप्न हुनु नै यिनको राजनीति हो । यही राजनीतिक अवसरवादका लागि वर्तमान नेतृत्वपंक्ति राजनीतिलाई अपराधीकरण गरिरहेका छन् । जनतालाई डेलिभरि दिन नसकेर आलोचित भइरहकाहरू झन झन जनतालाई आक्रोसित पार्दै गएका छन् । यसको अर्थ सकेसम्म लुट्ने, नसकेपछि बुझाउने । यिनको रणनीति यही हो । पत्रकारदेखि पार्टीसम्म, जातिदेखि पहिचानवादीसम्म, बैंक सहकारी पीडितदेखि बैंकपीडितसम्म सबै आन्दोलित भइरहेका छन् । यी शासकहरूले लोकतन्त्रका सबै सीमाहरू तोडिसकेका छन् । यिनीहरू अझै भ्रम छरेर केही समय खान पाइन्छ कि भनेर भनिरहेका छन्– व्यवस्थामाथि खतरा छ । वास्तवमा व्यवस्था मास्न यिनीहरू आफै खतरा बनेका हुन् । कुनै बाधा नहुँदा पनि जनअपेक्षा पूरा गर्न सकेनन् ।
संसद नामको डबलीमा फेरि नाटक सुरू भएको छ । यो संसदले नेपालीलाई के दियो ? जनताले केही पाउन् कि नपाउने, निषेध र विभेद, प्रतिशोध साध्ने बिधेयकको विषयमा मारामार छ । पार्टी पार्टीवीचको झगडा छ, यो झगडा आमनेपाली र नेपालको हित हुनुपर्छ भन्ने झगडा होइन । कसले कसलाई सिध्याउने, कसले कसलार्य खुइल्याउने, कसरी आफ्नो अंकगणित मजबुत पार्ने, कसरी सत्ता टिकाउने अथवा कसरी सत्ताधारीलाई खगार्ने भन्ने झगडा हो यो । यस्तो झगडा जनताका लागि कौवालाई बेल पाकेसरहमात्र हो । मुख्य सवाल यी भ्रष्टबाट कसरी राष्ट्रले मुक्ति पाउने भन्ने हो । हो, देशव्यापी जनअसन्तुष्टीमध्ये धेरै थरिका आन्दोलन छन् । यी सबै आन्दोलनको जरो एउटै छ, यी शासकले सुख दिएनन् । यिनलाई सबक सिकाउनुपर्छ, यिनको कर्तुतको दण्ड यिनलाई दिनैपर्छ भन्ने आमधार रहेको छ । यसकारण यो असंगठित आन्दोलनलाई बिद्रोहको रूप दिन जरूरी छ । यो झिल्कोलाई मिलेर डढेलोको स्वरूपमा ढाल्न जरूरी छ । नेतृत्व कोही होस् कि नहोस्, आमनागरिक आफै संगठित भएर बिद्रोहको काल बजाउन जरूरी छ, ताकि यिनको सातो जावस् ।
यिनले काण्डमाथि काण्ड मच्चाएका छन् । जनता पीडामा छन्, पूर्वराजाभित्र पनि पुर्षाको भार छ, देशको चिन्ता र पीडा छ । राष्ट्र अस्तित्वको संकटमा फसिसक्यो, कसरी साबुत राष्ट्र भावी पुस्तालाई बुझाउने भन्ने चिन्ता हुनु स्वभाविक हो । पूर्वराजामाथि दलहरूले बलात् हमला गरेकै हुन् । गरेको प्रतिवद्धता मिचेकै हुन् । त्यसपछि जति पनि मठमन्दिर गएका छन्, राजाले नेपाल र नेपालीको हित होस् भनेरै चिताएका छन् । यस्तो प्रार्थना कुनै पनि नेताले गरेको थाहा छैन । हिजो भ्रममा पारी पारी आमनेपालीलाई राजाविरोधी आन्दोलनमा उतारे, आज प्रत्येक नेपाली ब्यूँझिएका छन्, यथार्थ सबैले बुझेका छन् । वातावरण भ्रम छर्ने शासक प्रशासकले तैयार पारिदिएका छन्, आमनागरिकले बिद्रोह गर्न जरूरी छ । यो असफल पद्धति ढल्छ ढल्छ ।