
पुरूषवादको पराकाष्ठा त होइन ?
समाजमा नारीलाई पुरूषका सम्पत्ति ठान्ने सोच अद्यपि छ । नारी पुरूषका लागि मात्र हो, आफैमा ऊ अपूर्ण हुन्छे भन्ने सोचले ग्रस्त छ हाम्रो समाज । तसर्थ उनीहरूको स्वतन्त्रताको बहस कुइराको काग जस्तै भएको छ । जन्मेदेखि बाबुको अधिन, दाजुभाइको अधिन, युवावस्थामा प्रेमीको अधिन, बिहेपछि लोग्नेको अधिन, छोरा जन्मेपछि छोराको अधिनमा हुन्छन् । अर्थात नारीको जिन्दगीको दोस्रो नामै अधिन जस्तो भएको छ, त्यो पनि पुरूषको । अब नारी स्वतन्त्र कहिले हुन्छे त ?
महिला पुरूषको खेलौनाझैँ ठानिएका छन् । पुरूषलाई खुसी पार्नु उसको दायित्व हो । महिलाले पुरूषलाई खुसी पार्नु या उनीहरूको मन बहलाउनुपर्छ नै भन्ने मान्यता सब्दियौँदेखि चलेको रीत हो । प्रत्यक्ष रूपमा नभए अप्रत्यक्ष रूपमा अथवा एक कामुक महिला हरेक पुरूषको इर्दगिर्द मडारिएको हुनुपर्ने मान्यता राखेर होला उन्नाइसौँ शताब्दीमा आजको जस्तो सुन्दरी प्रतियोगिता हुँदैनथ्यो । तर तैलिय चित्र बनाइन्थे, मूर्ति बनाइन्थे र त्यहाँ प्रष्ट कामुकता झल्काइन्थ्यो । ती मूर्ति हेर्यौं भने उनीहरूलाई कामुकताको प्रदर्शन गराए जसरी प्रस्तुत गरिन्थे । नारी असाध्य सुन्दरी हुनुपर्ने, छिःछिः र दूरदूरको व्यवहारबाट उन्मुक्ति पाउन र सबैले राम्री, सुन्दरी भनेको सुन्न लालायित छन् । त्यही लालसाले बजारका महँगा सौन्दर्य प्रसाधन प्रयोग गरेर सुन्दरताको बजारमा मोलिन महिला तँछाडमछाड गरिरहेका छन् । तिनै प्रसाधनका कारण कुनै घातक रोगको शिकार बन्नुपरे बनि दिनुपर्छ ।
आजको हाम्रो समाजमा बलात्कार जस्ता जघन्य अपराध विकराल परिस्थितिको रूप पनि कतै पुरूषवादी सोचको पराकाष्टा त होइन ? घटनाले त त्यस्तै प्रवृत्ति देखाउँछन् । जब एउटी नवयौवना या बालिका बलात्कृत हुन्छे उसले न्याय खोज्न परिवारबाटै सुरू गर्छे । परिवारले नै इज्जतको दुहाई दिएर रोक्न खोज्छ । किनकि बलात्कृत महिलालाई समाजले घृणा गर्छ, स्वीकार्दैन र दोस्रो पुरूषले बिहे गर्दैन ।
न्यायका लागि परिवारबाट घटना बाहिरियो भने समाजका सम्भ्रान्तहरूले पुरूषकै बचावट गर्छन् । स्वास्नी मानिस किन उत्ताउली भएर हिँडेको ? चुपचाप बस भन्ने आदेश दिन्छन् । बढी नै गरे भने महिलाको इज्जतको क्रयविक्रय हुन्छ अर्थात् पैसा दिएर चुप गराइन्छ । समाजको निर्णयमा चित्त नबुझेपछि पुलिसकहाँ गईभने अझ ठूलो बलात्कारमा पर्छे । केही न केही गडबडी ऊबाट नभई पुरूष जाइलाग्दैन । त्यसैले मिलापत्र गर भन्छन् । मिलापत्र गराइनछ ।
यदि पीडिता न्यायका लागि अदालत गई भने त्यहाँ त झनै पुरूष वकिलहरूबाट चिराचिरा पारेर शाब्दिक चिर हरण गर्छन् । महिला जता पनि नाङ्गिनै पर्छ ।
अदालतमा पुग्दा वकिलहरूबाट कठघरामा सोधिने प्रश्नहरूले जुनसुकै महिलाको चिर हरण हुन्छ । यस्ता घटना प्रायः भारतमा हुने गर्छ । महिलाले न्याय हैन आफ्नो अन्तरआत्मा मार्छे । अन्ततः केही महिला आत्महत्या गर्न बाध्य हुन्छन् ।
बलात्कार किन हुन्छ ? किनभने मानिसमा मानवीयता र उसको मतीभ्रष्ट भएका बेला यस्ता कृत्य गर्न अग्रसर हुने गर्छ । यसबेला उसको मानवीय संवेदना मरेको हुन्छ । त्यस्ताबेला आपराधिक मनोवृत्ति बढेको हुन्छ र उसले यस्ता कार्य गर्छ । सामान्य अवस्थामा त त्यस्ता दुव्र्यवहार सोचेको हुँदैन । जो भए पनि एउटी नारी उसले स्त्री मात्रै देख्छ र आफ्नो यौन प्यास मेटाउने प्रयत्न गर्छ । यसबेला उसले सामाजिक दायरा र नैतिकता बिर्सन्छ । जसको अस्मिता जबरजस्ती लुटिन्छ । त्यो अपराधी पुरूषको इज्जत जाँदैन । किन मानिस महिलाको मात्रै थाप्लोमा इज्जतको भार बोकाउन चाहान्छन् ? पुरूषलाई नै सर्वैसर्वा गराउन लागिरहेका छौँ । किन ? बलात्कारको पाटो त छुट्टै भयो । अर्को यो पुरूष अधिनस्थ महिलाहरूको पनि पुरूषलाई पुरूष बनाउन कम हात छैन । ती महिलाले आफूलाई त्यतिबेला स्वतन्त्र ठान्छिन् जब प्रेमीले होटलमा खान लैजान्छ, घुमाउँछ, इच्छा अनुसारका सामान किनिदिन्छ । अनि उनलाई साथीसँग खुलेर हिँड्न दिन्छ । तर महिलाले यो सोचेकी हुँदैनन्, यस्ता कुराले आफैले कुनैबेला समस्यामा पार्छ । आफूमा भएको क्षमता र शक्ति र सामथ्र्य एउटा राम्री शब्दैमा विलय गराइदिन्छन् । नारी वास्तविक अर्थमा ऊ कहिल्यै पुरूषबाट स्वतन्त्र हुन सक्दिन । कुनै न कुनै रूपमा उसमाथि दबाब रहिरहन्छ । नारी स्वतन्त्र हुने हो भने पुरूषले गरेका अत्याचार र कुदृष्टिको खुलेर विरोध गर्थी । पुरूषले गरेका गल्तीको सजाय नारीले मात्रै भोग्नु पर्ने थिएन । गल्ती दुवैबाट हुन्छ भने सजाय पनि दुवैले भोग्नु पर्ने हो । जुनसुकै पदीय दायित्व भएका भए पनि पुरूषले नारीलाई हेर्ने दृष्टिकोण तुच्छ छ । नातागोता, हाकिम, कारिन्दा, मन्त्री कार्यकर्ता सबैको चाह यौन सन्तुष्टि नै हो ।
उच्च तहका व्यक्तिहरूका पनि यौनकाण्डका घटना धमाधम बाहिर आइरहेका छन् । तर सबैको दृष्टिकोण नारीमै समाहित छ । सम्बन्धित महिला नै चरित्रहीन हो भन्ने ठान्छन् । महिला मात्र दोषी हो भने त्यहाँ सहभागी पुरूष किन चोखिन जान्छ ? के महिला एक्लै बेस्या हुन्छे ? पुरूषको सहभागिता बिना नै महिला कसरी बेस्या हुन्छे ? नारी स्वतन्त्रता र हक अधिकारका विषयमा सबै छलफल गर्नुपर्छ । हरेक क्षेत्रमा उपहारका रूपमा या दान स्वरूप दिइएका आरक्षणले नारी स्वतन्त्र हुन सक्दिन । उनीहरूलाई साथ र सहयोग र हौसलाको जरूरत छ । ताकि उनीहरू आफ्नो क्षमताअनुसार अघि बढ्न सकुन् ।