Advertisement Banner
Advertisement Banner

०९ बुधबार, माघ २०८१23rd July 2024, 10:09:55 am

Image

संकटमा परेको राष्ट्रिय एकता र पृथ्वी जयन्ती

डा.केशव देवकोटा

२९ सोमबार , पौष २०८१९ दिन अगाडि

संकटमा परेको 
राष्ट्रिय एकता र पृथ्वी जयन्ती

नेपालको राष्ट्रिय राजनीतिले गलत बाटो पक्रिएपछि राष्ट्रिय एकतामा समेत संकट देखिएको छ । गत बर्षहरूमा त राष्ट्र निर्मातालाई समेत बिवादमा पार्नेसम्मका प्रयासहरू भएका थिए । यसपटक नेपालका राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औ जयन्तीले को राष्ट्रिय एकताको पक्षमा छ र को बिपक्षमा छभन्ने कुरालाई छर्लङ्ग पार्ने काम ग¥यो । देशका कार्यकारी प्रमुख प्रधानमन्त्रि र राष्ट्रपतिलगायतका उच्च ब्यक्तित्वहरूले राष्ट्र निर्माताको पक्षमा खुलेर आफ्नो अभिमत ब्यक्त गर्नुकासाथै गतिबिधिहरू पनि प्रदर्शन गर्नुभएको थियो । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी ओलीले नेपाल एकीकरणका नेतृत्वकर्ताभन्दै पृथ्वीनारायणप्रति सम्मान व्यक्त गरेर राष्ट्रिय एकताको पक्षमा मत ब्यक्तगर्नु सराहनीय पक्ष हो । त्यसैगरी पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले पनि राष्ट्रिय एकता दिवस तथा ३०३ औँ पृथ्वी जयन्तीका अवसरमा सामाजिक सञ्जाल ट्वीटर पेजमा लेख्नुहुँदै आधुनिक नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको संझना गर्नुभएको थियो । उहाँले राष्ट्रिय एकता दिवसले नेपाल एकीकरण अभियानको गौरवमय इतिहासको स्मरण गराउँदै राष्ट्रिय एकता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको अनवरत रक्षा तथा सुदृढीकरणगरी ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्पलाई साकारपार्न एकजुटभई अगाडि बढ्न सबैलाई प्रेरणा दिएको टिप्पणी पनि गर्नुभएको थियो । नेकां र एमाले लगायतका ठूला पार्टीमात्र नभएर क्रान्तिकारी पार्टी नेकपा (मसाल) लेसमेत पृथ्वीनारायण शाहको योगदानलेगर्दा आजको एकीकृत नेपालको जन्मभएको धारणा राखेको थियो । सो पार्टीका प्रवक्ता रामप्रकाश पुरीले जारी गर्नुभएको एक प्रेसवक्तव्यमा नेपाली समाजको सद्भाव, राष्ट्रिय एकता, राष्ट्रियता, सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनताको अच्क्षुण यात्राका लागि शुभकामना दिइएको थियो । उहाँले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको महत्वपूर्ण योगदान रहेको टिप्पणी पनि गर्नुभएको थियो । तर हाल संसदको प्रमुख प्रतिपक्षी दल र बेलाबखत सरकारको नेतृत्वमा पुग्ने गरेको माओवादी केन्द्रले राष्ट्र निर्माताप्रति दुई शब्द पनि ब्यक्त गरेको देखिएन । किनकी माओवादी केन्द्र संघीयता र जातीय समाबेशीजस्ता बिभाजनकारी कुराहरूको पक्षमा रहँदैआएको छ । 
उक्त नीतिहरू विश्व साम्राज्यवादका घोषित नीतिहरू हुन् । दोश्रो विश्वयुद्धपछि शक्ति राष्ट्रहरूले त्यस्ता बिभाजनकारी नीति नेपाल जस्ता साना र कमजोर मुलुकमा लागू गराएर चलखेलगर्दै आएका छन् । खासमा पृथ्वीनारायण शाहको शासन काल अघिनै नेपाल बिशाल राष्ट्र थियो । जसको भूभाग आजकोभन्दा पनि तीन दोब्बर बढी थियो । तर तत्कालीन शासक र विदेशी षडयन्त्रका कारण समयक्रममा खण्डित हुनपुगेको थियो । सोही कुरालाई बुझेर उहाँले फेरी बिशाल नेपाल बनाउने अभियान थाल्नुभएको देखिएको छ । त्यसैले उहाँले आफ्नो राज्यको बिस्तार गरेको अथवा अरूको राज्य जबरजस्त हडपेको भन्न मिल्दैन । आज पनि कतिपय समूहले देशलाई कमजोर बनाउन र बिभाजनमा पु¥याउन प्रयास गरिरहेका छन् । जसका पछाडि तिनै विदेशी शक्तिहरू खेलिरहेको देखिएको छ । त्यसैले राष्ट्रिय एकताको सवाल पेचिलो बनेको छ । बिसं १७७९ पुस २७ गते गोरखामा पृथ्वीनारायण शाहको जन्महुँदा नेपाल ५२ वटाभन्दा बढी ससाना राज्यमा विभाजित भैसकेको अवस्था थियो । ति राज्यकाबीचमा पनि एकले अर्कोलाई किनारा लगाउने प्रबृत्ति थियो । नेपालमा त्यस्तो अवस्थाहुँदा भारतमा ब्रिटिस साम्राज्यको जगजगी थियो । तिनीहरूको आँखा नेपालमा पनि परेको स्पष्ट बुझ्न र देख्न सकिन्थ्यो । तीर्थयात्राकाक्रममा बनारस पुग्दा उहाँले भारतमा इष्टइन्डिया कम्पनी अर्थात ब्रिटिस साम्राज्यको प्रभूत्वका बाबजुद त्यहाँ बढ्दैगइरहेको अशान्ति, अंग्रेजको राज्यविस्तारको नीति, ब्रिटिस शासक जर्ज तृतीय र चिनियाँ बादशाह चेन जुङको सम्बन्धबारे राम्ररी बुझ्ने अवसर पाउनु भएको थियो भनिन्छ । त्यसैले उहाँले नेपालका बाइसे÷चौबिसे राज्यलाई एकीकरणगरी बलियो बनाउन नसक्ने होभने ब्रिटिस साम्राज्यवादको कोपभाजनमा परिने राम्रो अनुभव गर्नुभएको थियो । भारतबाट ब्रिटिस साम्राज्य नेपालमा पनि प्रवेशगर्ने संभावना प्रबल थियो । त्यसैले उहाँले नेपालको एकीकरणगर्ने योजना बनाउनुभएको देखिएको छ । त्यसपछि उहाँले १८०१ सालमा नुवाकोटबाट थाल्नुभएको विजय अभियान १८२६ सालमा कीर्तिपुरसम्म पु¥याउनु भएको थियो । जीवनको अन्तिमतिर बिरामी भएका बेलामासमेत उहाँले आफ्ना भाई भारदारहरूलाई बोलाएर प्रशिक्षण दिनुभएको र सोहीक्रममा ‘नेपाल दुई ढुंगाबीचको तरूलजस्तो छ, दक्षिणतिरको वादशाह महाचतुर छ, जाइकटक नगर्न, झिकीकटक गर्न’, नेपाल चार जात छत्तिस वर्णको फूलबारी हो, सबै लाई चेतना भयाभनेर उपदेशसमेत दिनुभएको पाइएको छ । उहाँको निधन बिसं १८३१ सालमा भएको थियो । 
नभन्दै भारतमा रहेका ब्रिटिसहरूले १८७१–७२ मा नेपाल विरूद्ध युद्ध थालेका थिए । दुई बर्ष घमासान युद्धभएको थियो । अत्याधुनिक हतियारसहित आएको ब्रिटिस फौजसँग नेपाली फौजको पराजय भएको थियो । जसलेगर्दा बिसं १८७२ सालमा नौसूत्रीय प्रावधान राखी जबरजस्त सुगौली सन्धि गरिएको थियो । त्यो सन्धिअनुसार नेपालले धेरै भूभाग गुमाउनुपरेको थियो । आज पनि ति भूभागहरू भरततर्फनै रहेका छन् । पृथ्वीनारायणले एकीकरण गरेको नेपालमा ०६३ पछि एमसिसी, संघीयता र जातीय समाबेशीजस्ता बिभाजनकारी नीतिहरू लागू गराइएको छ । पछिल्लो समयमा नेपालमा भारत र अमेरिकाको दबदबा चरम बढेर गएको छ । साम्राज्यवादीहरूले नेपालका कतिपय राजनीतिक दलका नेताहरूलाई किनेर देशलाई थप बिभाजित गराउने प्रयास गरिरहेका छन् । हाम्रा पुर्खाले लडेर बचाएको सानो भूभाग पनि फेरी संकटमा परेको छ । दोश्रो बिश्वयुद्धपछि राष्ट्रसंघ बनेको र प्रत्यक्षरूपमा जमिन कब्जागर्न नपाउने भएकाले सहयोग, विकास, पैसाको लोभमा फसाएर तिनै साम्राज्यवादीहरू नेपालको गाउँ गाउँसम्म पुगेका छन् । अमेरिका र उसका समर्थक राष्ट्र तथा लगानीकर्ताहरूकोमात्र ऋण लिने नीति तयगरिएको छ । युद्ध रणनीतिमा आधारित एमसीसी नेपालको संसदले पारित गरेको नाटकीय घोषणा गरेर लागूगराउन जोरजुलुम भैरहेको छभने विकास रणनीतिमा आधारित छिमेकी चीनको बीआरआईलाई टार्नका लागि पनि त्यतिकै प्रयास भैरहेको छ । बाटो बनाउने र बिजुली निकाल्ने बहानामा नेपालमा पसेको एमसीसीमार्फत अमेरिकाले अब नेपालका दुबै छिमेकी चीन र भारतलाईसमेत घेर्ने प्रयास गरिरहेको देखिएको छ । नेपालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा ०७९ पुस १० गते गठन भएको सरकारले भारत र अमेरिकालाई अपनाएर चीनलाई एक्ल्याउने प्रयास गरेको थियोभने हाल चीन र भारत मिलेर नेपाललाई एक्ल्याउने प्रयास थालेका छन् । केही ब्यक्तिहरूको निहित स्वार्थ पूर्तिका लागि नेपाललाई भूराजनीतिक संकटमा फसाउने काम भएको छ । पश्चिमा साम्राज्यवादले नेपालमा जातीय, धार्मिक लडाइँ गराउने, एनजिओ÷आइएनजिओमार्फत जातीय कुरा उचाल्ने, पैसामा क्रिस्चियन धर्मावलम्बी बढाउने काम भित्रभित्रै गरिरहेको स्पष्ट छ । 
अब आएर पश्चिमा साम्राज्यवादले नेपालका बहुमूल्य युरेनियम, खनिज पदार्थमाथिसमेत आँखा गाडेको देखिनथालेको छ । जसलेगर्दा आज फेरी पृथ्वीनारायणको एकीकरण अभियानको संझना हुनथालेको छ । पृथ्वीनारायणले २५० वर्षभन्दा पहिलेनै भनेका कुराहरू आज फेरी नेपालीहरूको मानस पटलमा ब्युँतन थालेका छन् । नेपालमा मल्ल वंशले १३ औंदेखि १८ औं शताब्दीसम्म काठमाडौं उपत्यका र वरपरको शासन गरेको थियो । लिच्छविहरूले सन् ४०० देखि ७५० सम्म (करिव ३५० वर्ष) नेपालको शासन गरेका थिए । त्यसैगरी किराँत शासन काल पनि नेपालको इतिहासमा महत्वपूर्णरूपमा लिइन्छ । उनीहरूले २५०० बर्षअगाडि नेपालमा शासन गरेको पाइएको छ । नेपालमा २७ देखि ३२ किराँत राजाहरूले करिब ८०० बर्ष शासन गरेको इतिहास रहेको छ । प्राचीन खसकाल र किराँत कालमासमेत नेपाल विशाल थियो र यसको सीमाना पूर्वमा कामरू, कामक्ष, दक्षिणमा कतूर र पश्चिममा काँगडासम्म थियोभन्ने कुराहरू खुलेका छन् । अथर्ववेद र कौटिल्यको अर्थशास्त्रमा पनि नेपालकाबारेका व्याख्या गरिएको छ । झण्डै दुईहजार २०० बर्ष पुरानो सम्राट् अशोकको लुम्बिनीमा स्थापित अशोक स्तम्भमा पनि नेपालको अस्थित्व देखिएको छ । भारतमात्र नभएर दक्षिण एशियाका मुलुकहरूमा सबैभन्दा जेठो नेपालको अस्थित्व जोगाउन राष्ट्रिय एकता, मित्रता र सहमतिमा आधारित राजनीति आजको आवश्यकता हो । यसैले पृथ्वीनारायण शाहको त्यो महान एकीकरण अभियानको समेत संझना गराएको छ । देशभक्त नेपालीले यसलाई कहिल्यै भुल्न सक्दैन ।