पुष १६ । नेपाली सेनाका प्रमुख सेनानी निराजन कटवालको र भारतीय सेनाबाट कर्णेल जपेन्दरपाल सिंहको नेतृत्वमा कूल ६ सय ६८ सैनिक सहभागी भएको सञ्चालन भएको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को १८औंँ संस्करण सुरू भएको छ । यो संयुक्त सैनिक अभ्यास पुस २९ गते सम्पन्न हुने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यो संयुक्त अभ्यासको यसअघिको १७औं संस्करण नेपाली सेना र भारतीय सेनावीच भारत उत्तराखण्डको पिथौरागडमा भएको थियो । यसपटकका अभ्यास नेपालमा रूपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा भइरहेको छ ।
नेपाल भारतवीच संयुक्त सैनिक अभ्यासको क्रम २०६७ देखि वर्षको एकपल्ट आलोपालो सञ्चालनमा आइरहेको छ । संयुक्त सैनिक अभ्यासमा खासगरी विपद् व्यवस्थापन, प्रतिव्रिदोह, प्रतिआतङ्कवाद, जङ्गल युद्धकला, मानवीय सहयोग, प्राविधिक ज्ञान आदानप्रदान, सैनिक सैनिकवीच भाइचारा सम्बन्ध विकासलगायतका विषयमा हुने विज्ञले बताएका छन् । यस्तो अभ्यासका क्रममा दुई देशका सैनिकहरूले सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवको आदानप्रदान गर्नेछन् । सैनिक स्रोतका अनुसार यस्ता सैनिक अभ्यासले सैनिक कूटनीतिमासमेत बल पुग्ने र राजनीति असफल भएका बेला सेनाले निकास दिनसक्छ भन्छन् । मैत्रीपूर्ण पारस्परिक सम्बन्ध विकासमा बल त पुग्छ नै, सेनाका सकलदर्जामा पेशागत सीपको विकासमा समेत योगदान पुग्नेछ ।