Advertisement Banner
Advertisement Banner

२८ आइतबार, पौष २०८१23rd July 2024, 10:09:55 am

Image

राष्ट्रको लोकतन्त्र कि पार्टीको लठैततन्त्र ?

राजन कार्की

१७ बुधबार , पौष २०८१११ दिन अगाडि

राष्ट्रको लोकतन्त्र कि पार्टीको लठैततन्त्र ?

यो राष्ट्रको लोकतन्त्र कि पार्टीको लठैततन्त्र ? सहकारी प्रकरण र रास्वपाका सभापति रवि लामिछानेमाथिको अमानवीय र अशोभनीय कारवाहीपछि जनमानसमा यो प्रश्न उठेको छ ।
गल्ती गर्नेले दण्ड पाउनुपर्छ । विधिअनुसार पाउनुपर्छ । आफ्नालाई चैन, प्रतिपक्षीलाई ऐन भएको अनुभूति जनताले गरेका छन् । यो आगोको झिल्को हो, आगो कसैको पनि मित्र हुनसक्दैन ।
आगोको काम पोल्नु हो, डढाउनु हो, खरानी बनाउनु हो । हेक्का रहोस् ।
लोकतन्त्रमा लोकको भय हुनुपर्छ । लोकको आवाजको सुनवाई हुनुपर्छ । लोकको अपेक्षा पूरा हुनुपर्छ । लोकप्रति जवाफदेहीता हुन्छ । अहिले देशमा जुन बेथितिलाई लोकतन्त्र भनिएको छ, यसले लठैततन्त्र, माफियातन्त्र, अपराधतन्त्रलाई बढावा दिएको छ, लोकतन्त्रले नोज डाइभ ग¥यो, लोकतन्त्र मर्दैछ ।
२०१३ सालमा राजाले खुलामञ्च बनाइदिए, यिनले सेटिङ मिलाएर मीठो खान्की जो बनाए । बालमन्दिर, ललिता निवासले चर्चेका बालुवाटारका जग्गाहरू सरकारी बनाएको थियो, यिनले भूमाफियासँग मिलेर लुट कान्छा लुट गरेर लुटे । त्रिविका काभ्रेदेखि थानकोटसम्मका जग्गा प्राध्यापकदेखि कसले लुटेनन् ? कुनै खोजबिन खानबिन नै हुँदैन । खोजबिन भयो, कसैमाथि कारवाही नै हुँदैन । जो ज्ञान दिने हुन्, तिनले समेत लुटेराको चरित्र देखाए । लुटेराजस्ता छन् ।
यतिमात्र होइन, ८ करोड लिएर नेपाल पसेको एनसेलले वर्षेनी ६० अर्व बोकेर जान्छ, एकले अर्कोलाई बेच्छ, सरकार लाभकरसमेत उठाउन सक्दैन । पार्टीहरू चन्दा लिएर लाभकर तिर्नुपर्दैन भनेर छुट दिन्छन् । एनसेलले भनिदियो ठूला पार्टीलाई १०–१० अर्व दिएका छौं, फिर्ता गर्नोस् लाभकर तिर्छौं । त्यसपछि एनसेल चोखो भयो, चोख्खियो ।
नेपाल आयल निगमले कौडीका भाउका जग्गा सुनका भाउमा किन्यो, सबैले मिलेर कमिशन खाए । फोरजी सेवा सबैभन्दा ठूलो भ्रष्टाचार हो, तर कतै सुनवाई भएन । अहिले वाइडबडी जहाज नेपाललाई बेच्दा घूस दिएको आपूर्तिकर्ताले अमेरिकामै सकार ग¥यो, नेपालमा कसकसले त्यो घूस खाए, छानबिनको मेलोमेसो देखिदैन । जनतामाथि कर, नेताहरूलाई जति भ्रष्टाचार गरे पनि छुट । यही हो लोकतन्त्र भने यो त लुटतन्त्र हो । यस्ता अनेकन भ्रष्टाचारकाण्ड चर्चामा छन् । शक्तिले छोपे पनि गनाइरहेछ ।
यसकारण प्रश्न उठ्यो– यो राष्ट्रको लोकतन्त्र कि पार्टीको लठैततन्त्र ? 
बोकाको टाउको झुण्डाएर कुकुरको मासु बेच्ने थलो हो संसद भन्ने कम्युनिष्टहरूले समाजवादी, पुँजीवादी सबैलाई भ्रष्टाचारमा माथ गरिसके । कम्युनिष्टजति सम्भ्रान्त को होला ? परिवर्तनपछिको १८ वर्षमा अधिकांश समय  कम्युनिष्टहरूले सरकार चलाए । संक्रमणकालीन न्यायसमेत सम्पादन गर्न सकेनन् । यिनकै कार्यकालमा सबैभन्दा बढी व्यभिचार बढ्यो । विश्व कम्युनिष्ट आन्दोलनमा लज्जा पनि लज्जित भयो ।
कम्युनिष्ट आफै व्यवसायी बनेका छन्, शिक्षा, स्वास्थ्यमा समेत व्यापार गरिरहेका छन् । बोकाको टाउको झुण्ड्याएर कुकुरको मासु बेचिरहेछन् । यसैकारण त लोकलाई संसद गनाइरहेको छ, सरकारप्रति घृणा बढिरहेको छ । नेताहरूलाई चोर भनिरहेछन् । स्वयम् नेताहरूले नै आफ्नो हैसियत गुमेको बुझेका छन् ।
शासन त छँदैछैन, कुशासन छ र कूशासनको आसनमा बसेर दुशासन राज गरिरहेको छ । लोक नङ्ग्याएर कार्यकर्ता पोस्ने पाल्ने थलोको अर्को नाम संघीय लोकतन्त्र बनेको छ ।
लोकतन्त्रका नायक जनता हुन् । राजनीतिका जमदार र प्रशासनका खरदारहरू जनताका सेवक हुनुपर्ने हो । शासक र प्रशासकहरू त लोकका मालिक बनेका छन्, लोकलाई यिनै शासक प्रशासकले कमैया बनाए ।
जनताले अव भन्नुप¥यो– जनमत, जनबल लिएका नेताहरू राजनीतिलाई व्यापार बनाउँछन् भने तिनले राजनीति गर्नु बेकार छ । यस्ता भ्रष्टहरूलाई नागरिकले घोक्रेठ्याक लगाउने हिम्मत गर्नुपर्छ । चाणक्यले राजनीतिलाई उत्तम समाजसेवा भनेका छन्, लोकनायकको मुखुण्डाधारीहरूले राजनीतिलाई मुनाफा कमाउने हाटबजार बनाइदिए ।
प्रजातन्त्रवादी र सर्वहारावादीहरू आफूलाई देशबादी भन्छन् । तर यिनले देशघातक कामबाहेक केही गरेनन् । सीमा मिचिदैछ, विदेशी हस्तक्षेप बढ्दैछ, बोल्दैनन्, पटक्कै बोल्दैनन् । यिनको नजर सत्ता र सम्पत्तिमा छ । सत्ता पाउन्जेल लोकतन्त्रवादी, सत्ता पाएन कि बर्बराउँछन् यिनीहरू । ब्रेक बिनाको गाडी र यी लोकतन्त्रे उस्तै उस्तै हुन् । अति अराजकता भयो अब ।
जी एस गिद्वानीले टिपु सुल्तान उपन्यास लेखेर गद्धार भनेको कति बिषालु हुन्छ, जुन विषले न मानवतालाई बाँकी राख्छ, न देशभक्तिलाई भनेर लेखेका छन् । जसरी तत्कालीन मैसुर साम्राज्य हात पार्न अंग्रेजहरूले हैदर अलीजस्ता गद्धार तैयार पारेर प्रयोग गरेको थियो, आधुनिक नेपालमा देशभक्त र देशभक्ति, राष्ट्रियता र राष्ट्रिय एकतालाई षडयन्त्रको भूमरीमा पार्ने हाम्रा नेताहरू नै हुन् । टिपु सुल्तान जसरी गद्दीनसीन भए, गद्धारहरूका कारण देशभक्तहरूको सफाया गरियो, नेपालको वर्तमान कालखण्ड त्यस्तै मिल्दोजुल्दो छ । नेपालभक्त कम, विदेशभक्त बढी छन्, नेपाल संकटग्रस्त हुँदो छ । जनताले दूध पिलाए, सत्तामा नैतिक अडान र जनताप्रति जवाफदेही बन्न नसकेका गद्धार सर्पहरू छन्, जो जनता नै डसिरहेका छन् । अनैतिकताका आँधीबेहरी बनेका छन् । राष्ट्रियता संकटापन्न पारेका छन् ।
नेपाली सोझा छन्, विश्वास गर्छन् । जनता सेक्सपियरको नाटकका सिजर हुन्, जसलाई ब्रुटस बनेका नेताहरूले भ्रममा पारेर भोट लिइरहेछन्, काखमा राखी राखी कत्लेआम गरिरहेका छन् । राजनीति र प्रशासनमा गद्धारहरूको जगजगी छ, नागरिक उकुसमुकुस हुटहुटीमा छन्, देशव्यापी छटपटी छ, शासन कूशासन बनेको छ, शासक द्रौपदीलाई जसरी राष्ट्र र जनताको चीर हरण गरिरहेका छन् ।
यस्तो अत्याचार राष्ट्रको लोकतन्त्र कि पार्टीको लठैततन्त्र ?
१९०३ मा कोतपर्व गरेर जंगेको उदय भएको हो । जसले १०४ वर्ष शासन ग¥यो । २०६३ सालको जनआन्दोलनको सफलता र २०६५ सालमा राजतन्त्रको सफाया गरेर २०७२ सालमा फास्ट ट्य्राकबाट घोषणा गरिएको संविधान र त्यसपछिको दुईचरणको निर्वाचनपछि पनि लठभद्र जारी छ, लूटतन्त्रको महामारी छ । यिनकै ठूलो स्वर छ, लोकतन्त्र कार्यान्वयन भयो । लोकतन्त्र सफल भएको भए संविधानका संशोधनको कुरा किन ?
कोतपर्वभन्दा डरलाग्दो थियो झापा बिद्रोह, त्योभन्दा धेरै गुणा त्रासदीपूर्ण हो जनयुद्ध । सबै समस्याको जड राजतन्त्र र धर्मलाई मानियो, धर्म मासियो । राजतन्त्र किनारा लगाइयो । रामराज्य आएन । लोकतन्त्रमा नेपालैभरि लोकैलोक देखिनुपर्ने हो, देखिएन । लोकको जयजयकार सुनिनुपर्ने हो, सुनिएन । लोक ओल्लो किनार, लोकतन्त्र पल्लो किनारमा छ । जे मूलधारमा देखिन्छ, त्यो भ्रष्टाचार र चरित्रहीनतामात्र छ ।
जगजगी अपराधीको छ, तस्करको छ, माफियाको छ, भ्रष्टाचारी र ज्यानमाराको छ । ४८ टन सुन भित्रिने एयरपोर्टबाट दिनहुँ ३ हजार युवायुवती विदेशीने क्रम तीब्र बनेको छ । कुनै पनि युवा देशमा भविष्य देख्दैन । गरिखान पाइदैन यहाँ भन्छन् । यो लोकतन्त्रको कुरूप दृश्य हो । 
यो कस्तो देश होला, प्रधानमन्त्रीको सरकारी निवासमा दोहारी नाच देखिन्छ, पार्टी सञ्चालन गर्ने हेडक्वार्टर बनाइन्छ । राष्ट्रपति भवनभित्रै तीजको रत्याउली देखि बंश भेटघाट रमाइलो गरिन्छ । नीति, नैतिकता, आचरण नेतृत्वमा रहेन । हरेक नेता कानुन मिच्छन् । त्यस्तो राज्य कसरी लोककल्याणकारी राज्य हुनसक्छ ? लोकतन्त्र कसरी बाँच्छ ?
हरेक दिन भ्रष्टाचार, हत्या हिंसाका खबर आउँछन् । भ्रष्टाचार जति बढ्छ, समाजका हरेक क्षेत्रलाई क्षतविक्षत र तहसनहस पार्छ । नियन्त्रण र नियमन कतै पनि छैन । जता पनि राजनीतिकरण छ ।
भाषण गर्दा नेता भन्छन्– भ्रष्टाचार अव लुक्दैन । भ्रष्टाचार दण्डविधिबाट भन्दा नियन्त्रण बिधिबाट अन्त्य गरिनेछ । व्यवहारमा भ्रष्टाचार झन बढ्दो छ । भ्रष्टाचार देखेका र अन्यायमा परेका भन्छन्– नेपालको कानुन नेताहरू नै जानुन् ।
लोकतन्त्रको सुगन्ध फैलाउनुपर्ने, सुशासन कायम गर्नुपर्ने दायित्वबाट पार्टी र नेताहरू च्यूत भएकै हुन् । समृद्ध नेपाल र सुखी नेपालीको भजन गाउनेहरू भ्रष्टाचारका लम्पट बने, तिनले आफैले लेखेको संविधान असफल पारे, व्यवस्थाले अवस्था फेर्न सकेन । व्यवस्था असफल भयो ।
लोकतन्त्रको बखान लुटाहहरूको मुखमा मात्र छ । सत्ताधारीका पंक्तिमा मात्र छ । आमजनमानसलाई भ्रमित पार्ने चटके नेताहरूले भ्रम छरिरहेकै छन् । लोकतन्त्रको ओजन घट्यो, नेतृत्व घृणापात्र बने ।
होनहार युवामा गनिने गगन थापा भन्छन्– मन्त्रिमण्डल भ्रष्टहरूको क्लव हो । तिनै गगन थापा अर्को पार्टीको नेतामाथि पूर्वाग्रह राखेर बोल्छन्, आफ्नो पार्टीका गधाहरूलाई गाई ठान्छन् । गधा नुहाएर गाई हुन्न भन्ने यिनले बिर्सेका छन् । यी कसरी होनहार नेता हुन् र ? जीरहरूको वीरताले देश बन्यो, बनाइयो, भ्रष्टहरूले वीरपुर्षाको कमाई सखाप पार्नेभए ।
हुन पनि यो सरकारले सुन पक्राउ गर्छ, पछि तामा भनिदिन्छ । बलात्कारीलाई मायाँ भन्छ, ज्यानमारालाई पीठमा बोक्छ, कालोधनलाई सेतो पार्ने अवसर दिन्छ, यता छठपूजा गर्छ–उता इसाईको होलीवाइनको आचमन गरेर वाइबललाई पवित्र ठान्छ । उफ्, लोकतन्त्रको शासन लोकलाई हुनसम्मको शासना बन्यो ।
राजनीतिको सच्याइएन भने राष्ट्र धर्म, संस्कृति र संस्कारको बिनासलीला यही पुस्ताले देख्नुपर्ने वातावरण बन्दैछ । भावी पुस्ता अन्धकारमा जानेभयो ।
भर्खरै एउटा तथ्याङ्क सार्वजनिक भयो, नेपालमा ६५.५ प्रतिशत नागरिक किसान रहेछन् । यो देशमा ७ सय करोडको चामलदेखि कोदोसम्म आयात भएछ, जम्मा ११ करोडको कृषिजन्य उत्पादन निर्यात रहेछ । ६२ लाखभन्दा बढी नेपाली विदेशमा छन् । राष्ट्रको,  पद्धतिको, नेतृत्वको अनुहार कति कुरूप र डरलाग्दो देखिन्छ यो तथ्यले ।
६ महिनामा संक्रमणकालीन न्याय सम्पादन गर्ने भनिएको थियो १८ वर्षमा पनि सहमति जुटेन । पीडितहरू छटपटीमा छन्, कति मरिसके । क्रान्तिको डिङ हाँकिन्छ, लोकतन्त्र भनिन्छ, नागरिक पूजा हुँदैन । नागरिकलाई अन्याय गरिन्छ ।
लोकतन्त्र ः नयाँ नेपाल ग्रहण लागेको कलखण्ड भयो । दिउँसै अँध्यारो छ, सर्वत्र अन्यायमात्र देखिन्छ ।
जुलियस सिजरले भनेका थिए– हामीले कोहीसँग डराउनु पर्दैन, केवल भयसँग बाहेक । सर्वसाधारण अहिले पनि डरले चाउरिएर बाँचेका छन् । राजनीतिक भागबण्डामा न्यायाधीश नियुक्त हुने यस्तो देशमा कानुनी राज्य चल्छ, पीडकले दण्ड पाउँछ र पीडितले न्याय पाउनेछन् भनेर विश्वास गर्न सकिन्न । जिवन्त छैन देश ।
उज्यालो जीवन हो, उज्यालो छैन । नीति र नैतिकता तुहिदै गएका छन् । कुराले ठिक्क, कार्य निष्पट्ट, यस्तो सरकार घातक हो, राष्ट्र र जनताले नेतृत्वको घात कति सहने ?
प्रत्येक नेता सत्ता र शक्तिको शिखरमा पुगे, बिजयोत्सव लोकले मनाउन पाएनन् । यिनीहरू चुकमाथि चुक गर्दै गए, अव त आकाशतिर फर्केर थुक्न थाले । नतिजा यिनीहरूको मुहार कुहिगन्धे देखिन्छ । यिनको दुर्गन्धले लोकतन्त्र नै दुर्गन्धित भइसक्यो । प्रश्न उठेको छ– पार्टी र नेताहरू कति देशभक्त, कति स्वाधीन, कति राष्ट्रवादी ? पराधिनता मन पराउनेलाई स्वराज मन पर्दैन ।
नेपाली राजनीतिका विवेकी  नीतिकार, स्वार्थी नेतृत्वतहलाई एउटा सुझाव छ– कृष्णलालको मकैको खेती पढिदिनोस् । डम्बर शमशेर थापाले पद्म शमशेरलाई चिठी लेखेर भनेका थिए– प्रजातन्त्रको बाढीले राणा शासन बगाउन सक्छ । नभन्दै राणा शासन प्रजातन्त्रले बगायो । त्यो इतिहास पढे नेतृत्वपंक्तिको विवेकको बिर्को खुल्नेछ– सुकुलगुण्डे लोकतन्त्र मान्नेहरूको मसलतन्त्र र लम्पसारवादले राष्ट्रको सार्वभौमिकता बाँच्दैन, घृणामात्र बढ्छ । यो लोकतन्त्रलाई यिनकै कुचरित्रले बगाउने छ । यिनको राजनीतिको बिनासलीला यिनले आफ्नै आँखाले देख्नुपर्नेछ । छिमेकी मुलुकहरूमा पनि यसका उदाहरण देखिएका छन्, चेत खुलोस् ।