राजनीतिक बजारमा फेरि कोर्ष करेक्शनको चर्चा सुरू भएको छ । खासगरी पूर्वराजा ज्ञानेन्द्रलाई भारत उत्तर प्रदेशका मुख्यमन्त्रीले राजकीय सम्मानका साथ भ्रमण गराएपछि र परराष्ट्रमन्त्री डा.आरजु देउवाले भारतबाट अपमानित भएर फर्कनुपरेपछि तथा कांग्रेसका महामन्त्री गगन थापा दिल्लीदेखि उत्तरप्रदेश नै तुफानी भ्रमणमा गएपछि कोर्ष करेक्शनको चर्चा चुलिएको हो । विश्लेषक भन्छन्– पश्चिमी वायुको प्रभाव न्यून बनेको कारण उत्तरी र दक्षिणी वायुको चाप बढ्दै गएपछि नेपालको राजनीतिक मौसम परिवर्तन हुने लक्ष्यण देखिएको हो । त्यसो त धेरैवर्षदेखि राजनीतिक र फलित ज्योतिषहरूले कोर्ष करेक्शन हुने भविष्यवाणी गर्दै आएका छन् ।
माथि उल्लेखित घटना राजा ज्ञानेन्द्रको लखनउ भ्रमण, परराष्ट्रमन्त्रीको दिल्लीमा अपमान र गगन थापाको तुफानी भारत भ्रमणले राजनीतिक मौसम बदलिने संकेत गरेको छ । भन्न सकिन्छ, कांग्रेसभित्र उग्र राजा बिरोधीहरूमध्ये डा.आरजु र गगन थापा हुन्, ती दुबै आफूमा निहित पश्चिमी वायुको प्रभावलाई निस्तेज पारेर भारत भ्रमण भइरहनुले कोर्ष करेक्शनको घटनालाई नजिक्याएको छ । पश्चिमी वायुको प्रभाव बढ्दै गयो भने सरकारमात्र परिवर्तन हुनसक्ला, उत्तरी र दक्षिणी वायुको गति तीब्र भयो भने राजतन्त्र पुनस्र्थापना हुनसक्ने लक्ष्यणहरू अनुमान गर्न सकिन्छ । आन्दोलनको उठान हुने र व्यवस्था परिवर्तन हुने तर्क एकथरिको छ भने अर्काथरि सत्ता परिवर्तनको कुरा गरिरहेका छन् । चर्चामा छ राजाको भुटान भ्रमण छ, त्यसपछि भुटानी राजना दिल्ली काठमाडौ भुटान भ्रमण भएको थियो । त्यसपछि राजाको लखनउ भ्रमण र भ्रमणमा राजकीय सम्मान भयो । फेरि भुटानी शाही परिवारको नेपाल भ्रमणले देखाएका संकेतहरू अब चाहिं यो व्यवस्था परिवर्तन हुने पक्का जस्तै छ ।
जनतामा निराशा बढेको छ । भ्रष्ट गणतान्त्रिक चरित्रबाट छिमेकीमात्र होइन, विश्वनेताहरू नै आजित भइसकेका छन् । यिनै दुईधारे चरित्रका नेताहरूका कारण छिमेकीको सुरक्षामा समेत आँच आएको आरोप छ । यसकारण पनि यो व्यवस्था र यी नेताहरू बिस्थापनमा जानेछन् भन्न सकिने आधार छन् । वास्तवमा जनअसन्तुष्टिलाई नेतृत्व दिन सक्ने नेताको अभाव छ । जनताहरू बिभाजित छन् । विभाजितहरूलाई एकता गराउन सके र आन्दोलनको आगो फुक्न सके परिवर्तन बिद्रोहबाटै सम्भव छ । अभियन्ता स्वार्थी र व्यक्तिवादी भइदिएकाले आन्दोलनले गति लिन नसकेको हो । यसकारण पनि बाह्य प्रभावले कोर्ष करेक्शन हुनसक्ने आँकलन भइरहेको छ । हुन पनि यो व्यवस्था आउँदा पनि विदेशीकै प्रभाव निर्णायक बनेको थियो । नेपाल अस्तित्वको संकटमा छ । यी नेताले कोसँग, कतिबेल, कुन खालको सम्झौता गरिदिने हुन् भन्न सकिन्न । स्वार्थ पूरा हुन्छ भने वर्तमान नेतृत्व जता मल्को उतै ढल्को हुनेछन् ।
हिजो १२ बुँदे सम्झौता गरेर राजतन्त्र फाल्न सक्नेहरूले देश चलाउन सकेनन् । देश चलाउने नाममा देशको सार्वभौमिकतामाथि खेलबाड गरिरहेका छन् । यी नेताहरूले आफ्नो र व्यवस्थाको असफलतालाई आत्मसात गरेर पुरानो निर्णयमा पुनर्विचार गर्न जरूरी छ । कमसे कम राजा र राजसंस्था रहँदा कम्तिमा आफ्नो सुरक्षालाई खतराथिएन र रहने छैन भन्ने निक्र्यौल हुनुपर्छ, छिमेकीहरूको पनि । यिनकै कारण अमेरिकाजस्तो सहयोगी राष्ट्रप्रति मूर्दावादको नारा लाग्यो । चीन र भारतप्रति नकारात्मक टिप्पणी हुने गरेका छन् । आफ्नो असक्षमतालाई लुकाउन र राष्ट्रवादी देखिन छिमेकी र मित्रराष्ट्रहरूप्रति दुर्भावना फैलाउनु भनेको नेतृत्वको असक्षमता हो । नेपालको कुटनीतिले बाटो भुलेको र राजनीतिमा क्षमता समाप्त भएको संकेत हो ।
नेतृत्वको अकर्मण्यताका कारण नेपाललाई अघिको अफगानिस्तान, बर्तमानको युक्रेन, बनाउन पछि नपर्नेहरूबाट त्रसित आन्तरिक र बाह्य शक्ति, छिमेकीले समेत अब नेपालमा कोर्ष करेक्शन जरूरी छ भनेर सहमति गरेको दावी गरिदैछ । अचम्म त के छ भने परिवर्तनपछिको १८ वर्ष भाग शान्ति जय नेपाल गरेर देश र जनता लुटेका लुटेराहरू लोकतन्त्रलाई असफल त पारे पारे, एक दोस्रालाई नङ्ग्याउन अघि सरेका छन् । एकपक्षले अर्को पक्षलाई कमजोर बनाउने, म सत्तामा पुगें भने भ्रष्टाचारको फाइल खोलिन्छ भनेर तर्साउने, एकले अर्कोलाई जनताको नजरमा गिराइदिने, एक आपसमा भिडाइदिने, काण्ड–प्रकरणहरूका फाइला खोलाखोल गर्ने कार्यको प्रारम्भ भइसकेको छ । नेपाली राजनीतिमा देखिएको यो यदुवंशी चालामालाले देशलाई अझ अस्थिर, अराजक र हिंस्रक बनाउँदै जानेछ । यदुवंशीहरू आपसमा मारामारा, ठोकाठोक गरेर सखाप भएझैं सखाप हुने मार्गमा छन् । अहिलेलाई यतिमात्र भनौं, वर्तमानका परिदृश्यहरूले अब नेपाल र नेपालीका लागि सुखद दिन ल्याउने छनक दिंदैछन् । तथापि सजग र सतर्क हुनुपर्छ । स्वार्थकालागि भ्रष्टहरू जे पनि गर्नसक्छन् ।