काठमाडौं । रास्वपाका अध्यक्ष रवि लामिछाने थुनामा छन्, थुनछेकको बहसमा छन् । उनी जमानतमा छुट्लान कि थुनामा जालान्, यतिबेला देशभित्र र कूटनीतिक बृत्तमा समेत उत्सुकताको विषय बनेको छ । मानवाधिकार आयोगको ध्यान पनि रवि लामिछानेमाथिको राज्य ज्यादतिमा परेको छ । भन्नेहरू उनको राजनीतिक जीवन सकियो भनेर हल्लाखल्ला गरिरहेका छन् । यथार्थमा अदालतप्रतिको जनविश्वास र आस्था बाँकी छ, रवि लामिछानेले न्याय पाउने धेरैको तर्क रहेको छ ।
रवि लामिछाने थुनामुक्त भए भने रास्वपाको पाटी भविष्यमा चार चाँद लाग्ने तर्क कांग्रेसी विश्लेषकहरूकै छ । पार्टी खोलेको ४ महिनामा २१ सिट जित्ने, युवा र आधा आकाशको ज्यादा समर्थन रहेको र जनताले रवि मार्फत नै परिवर्तन खोजेको अर्थमा यो पार्टीको जितको कारण ठानेका छन् । यतिमात्र होइन, राष्ट्रपति रामचन्द्र पौडेलको चुनाव क्षेत्रमा समेत रास्वपाले घण्टी बजायो । रवि लामिछानेको नागरिकता, पासपार्ट विवादमा सांसद पद खोसिए पनि पुनः त्यही चितवनको क्षेत्रमा चुनाव जितेर मात्र होइन, अत्यधिक मतले जितेर आएका कारणले पनि ठूला भनिएका कांग्रेस, एमाले हाउसमा तरङ्ग नै फैलिएको हो । यसकारण पनि रवि लामिछाने जेल गए भने रास्वपा छिन्नभिन्न हुनेछ, कांग्रेस, एमालेको मिसन ०८४ मा कुनै अल्झो नरहने तिनको बुझाइ छ । यदि रवि लामिछाने थुनामुक्त भए भने रास्वपाप्रति जनसमर्थन झन बढ्नेछ, रास्वपाले खतराको घण्टी कांग्रेस एमालेकै प्रभावमा बजाउने निश्चित छ ।
त्यसै पनि रास्वपाको हैसियत अन्य क्षेत्रमा उत्साहजनक नतिजा नआए पनि उपनिर्वाचनमा काठमाडौं महानगरको १६ वडामा विजय हासिल गर्नुले पनि आकर्षण रहेको पुष्टि गरेको छ । एकातिर मेयर बालेन साह, धरानका मेयर हर्क साम्पाङ्, धनगडीका मेयर गोपी हमालजस्ता व्यक्तित्वतिर युवा आकर्षण झन झन बढ्दै जानु र रवि लामिछानेप्रति आकर्षण नघट्नुले कांग्रेस एमालेको गठबन्धन र पार्टीलाई ठूलै धक्का लाग्ने भएकाले पनि रवि लामिछानेलाई जयप्रकाश आनन्दजस्तो राजनीति गर्नै नपाउने किनारामा पु¥याउन खोजिदैछ । अन्यथा वाइडबडी जहाज खरिद गर्दा नेपालका शासक, प्रशासकलाई घूस खुवाउने अमेरिकन कम्पनीलाई अमेरिकामै ठुलो जरिबाना गरिएको छ । त्यो तरङ्ग ढिलाचाँडो नेपालमा उठ्ने पक्का छ । अधिवेशन सुरू हुनासाथ संसद र सडकमा जहाज काण्डमात्र होइन, ओम्नी, सेक्युरिटी प्रेस, चियाबगानदेखि बालुवाटार जग्गा प्रकरणसम्मको सम्पत्ति शुद्धिकरण मुद्दाको आवाज यो गठबन्धन सरकारले धान्न, सुन्न र थेग्न सक्लाजस्तो देखिदैन । विपक्षीहरू अहिले नै आक्रोसित हुनथालिसकेका छन् । अनेक कारण र दवावी वातावरण सरकार विरूद्ध तैयार हुँदै गएका छन् । एक्लो रवि लामिछानेलाई मात्र दण्डित नहोला भनिदैछ ।
रवि लामिछानेको पक्षमा नेकपा माओवादी केन्द्र र पूर्व प्रम प्रचण्ड पहाड बनेर उभिएका छन् । संविधानविदहरू, कानुनविदहरू, नागरिक समाजहरूले पनि रवि विरूद्ध राज्य ज्यादति भएको भन्नु, राष्ट्रिय मानवाधिकार आयोगले अमानवीय व्यवहार गरेकोमा चनाखो हुनु, अन्तर्राष्ट्रिय स्तरमा समेत रवि लामिछानेमाथि के होला भनेर चीलका आँखा पर्नुले समेत रवि लामिछानेको पक्षमा महोल बनेको छ । यद्यपि सहकारी ठगी जसले गरेको छ, त्यसमा छानबिन हुनैपर्ने, ८७ अर्बको सहकारी ठगीको विषयलाई विषयान्तर गर्दै २८ करोडको सहकारी ठगीमा राजनीतिकरण गर्नुले पनि राज्य साना सहकार बचत कर्ताको बचत फिर्ता गर्न नचाहेको र ठगीकै पक्षमा उभिएको आलोचना भइरहेको छ ।
यसैवीच बुद्धिजीवी प्रा.डा.सुरेन्द्र केसी कास्की पुगेर रवि लामिछानेलाई प्रहरी हिरासतमै भेटेर आएका छन् । उनले रवि विरूद्ध राज्य आतंक फैलाउनु नहुने, सहकारी ठगीका पक्षमा सरकार उभिनु नहुने र समष्टी रूपमा सहकारी ठगी र अन्य भ्रष्टाचार प्रकरणमा छानबिन हुनुपर्ने बताएका छन् । रवि लामिछानेमा डिप्रेसन नआएको र उनी जनताप्रति नतमस्तक हुँदै हौसलायुक्त भएको जानकारी पनि दिएका छन् । बाँकी जे होला, अदालतको आदेशपछि होला ।