Advertisement Banner
Advertisement Banner

०५ शनिबार, माघ २०८१23rd July 2024, 10:09:55 am

आधारहीन आरोप होइन स्वस्थ आलोचना गरौँ स् अध्यक्ष बस्नेत

११ बिहिबार , पौष २०८१२३ दिन अगाडि

आधारहीन आरोप होइन स्वस्थ आलोचना गरौँ स् अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आधारहीन आरोप नभइ स्वस्थ आलोचनाको बाटो समाउन सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आग्रह गरेका छन् । युट्युब, फेसबुक पेजसहित डिजिटल माध्यममा भ्रामक र आधारहीन आरोपले प्रश्रय पाएको उल्लेख गर्दै त्यसलाई रोक्न सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्ता स्वयम् सचेत बन्नुपर्ने सुझाव दिएका हुन् ।

काउन्सिलले नियमित रूपमा नयाँ अनलाइनका सम्पादकरप्रकाशकका लागि गर्दै आइरहेको आचारसंहिता अभिमुखीकरण कार्यक्रममा आइतबार बोल्दै अध्यक्ष बस्नेतले आधारहीन एवं एकपक्षीय आरोप, नकारात्मकता र पक्षधरताले सञ्चार माध्यमकै बदनाम भइरहेको उल्लेख गरे ।

अनलाइनसहित कतिपय सञ्चार माध्यमले जानाजानी आरोपैआरोपको शृङ्खला सुरु गरेको र सामाजिक सञ्जालको समेत व्यापक दुरुपयोग भएको औँल्याए  । पत्रकारितामा आलोचनात्मक चेत आवश्यक भए पनि आलोचना गर्नु भनेको आरोपको वर्षा लगाउनु नभएको उनको भनाइ छ । उनले भने, ‘पत्रकार स्वयम् सजग, सचेत र चनाखो नहुँदा यो गलत बाटोको मारमा मिडिया जगत स्वयं पर्नुपरेको छ । यसले पत्रकारिताको विश्वसनीयता खलबलाएको छ ।’

अहिले तथ्य र आधारहीन आरोप नभएर आलोचनात्मक पत्रकारिताको खाँचो रहेको उनले औँल्याए । पत्रकारले समस्या केलाउने मात्र नभएर त्यसको समाधानका लागि हुनुपर्ने कामहरूमा समेत चासो देखाउनुपर्ने बेला आएको उनले बताए ।


प्रेस काउन्सिलमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले आचारसंहिता भनेको आफूले आफैलाई अनुशासनमा बाँध्ने सूत्र भएकाले पत्रकारहरूले यसको सधैँ  पालना गर्नुपर्ने बताए । उनले प्रेस काउन्सिलको मूल काम नै आचारसंहिता निर्माण गर्ने र लागू गराउने रहेको र काउन्सिलले नयाँ सूचीकरण हुने अनलाइनलाई अभिमुखीकरण गरेदेखि यसले राम्रो नतिजा देखिएको उल्लेख गरे । पोखरेलले पत्रकारिताभित्र आलोचनात्मक चेतलाई कमजोर बनाउन नहुने भन्दै आलोचनाका नाममा आरोप पत्रकारितालाई रोक्न काउन्सिलले विशेष सक्रियता देखाएकोमा प्रशंसा समेत गरे ।

विषय विज्ञको रूपमा सहभागी पत्रकार फूलमान बलले पहिले पत्रकार भन्नासाथ बौद्धिक वर्ग भन्ने धारणा रहेको उल्लेख गर्दै त्यसमा प्रश्न उठाउने काम पत्रकार आफैले गर्न नहुने बताए । नेपाल टेलिभिजनका निवर्तमान महाप्रबन्धक समेत रहेका उनले अहिले गफ गरेकै भरमा गोपनीयताको ख्याल नगरी पत्रकारले लेख्छ वा पैसाको बार्गेनिङ गर्छ भन्ने भाष्य निर्माण हुन थालिनु दुखद भएको उल्लेख गरे । उनले भने, ‘अब राज्यले पत्रकारको योग्यतासम्बन्धी स्पष्ट मापदण्ड बनाउन पनि आवश्यक छ ।’


काउन्सिलले केही महिनादेखि युट्युब, फेसबुक पेजमार्फत चलेका सञ्चारमाध्यममाथि अनुगमन र निगरानी गर्दै आएको छ । सञ्चारमाध्यमको स्वरूपमा आएका त्यस्ता सामाजिक सञ्जाललाई व्यवस्थित र मर्यादित बनाउन बेग्लै कार्यविधि बनाई काम गर्दै आएको छ ।

सोही क्रममा काउन्सिलले पत्रकार आचारसंहिता पालना गराउन कडाइ गर्ने उद्देश्यले अभिमुखीकरण, मिडिया जागरण र नियमन सुरु गरेको हो । काउन्सिलले रचनात्मक र समाधानमुखी पत्रकारितालाई अँगाल्न विभिन्न सञ्चार कक्ष, विश्वविद्यालय अन्तर्गतका कलेजहरूमा सुझाव दिने कामलाई अभियानको रूपमा अघि सारेको छ । 
with farakdhar.com