Advertisement Banner
Advertisement Banner

०५ शनिबार, माघ २०८१23rd July 2024, 10:09:55 am

Image

लोकतन्त्रका टार्गेटीहरू, लूटतन्त्रका टाइगर बने

राजन कार्की

०९ मंगलबार , पौष २०८१२५ दिन अगाडि

लोकतन्त्रका टार्गेटीहरू, 
लूटतन्त्रका टाइगर बने

समाजवाद, जनवाद र सर्वहारावादका टाइगरहरू पेपर टाइगर हुँदै लोकतन्त्रको गुड्डी हाँक्दै लूटतन्त्रका टाइटर साबित भएका छन् । राजनीतिका टाइगरहरू त्यागी हुन्छन्, इमानमा बस्छन्, नैतिकवानका उदाहरण बन्छन्, जनता र देशप्रति जिम्मेवार रहन्छन् । लोकतन्त्र नामका लूटतन्त्रे टाइगरहरू जंगलका जस्ता छन्, जो हरेक दिन अपराधमा देखिन्छन् । जंगलमा अपराध हुन्छ, समाजमा अपराध फैलाउनेहरू समाज बदल्ने राजनीतिलाई अपराधशाला बनाइरहेका छन् । अपराध मिसिएको राजनीति र विष मिसिएको अमृत उस्तै उस्तै हो । लोकतन्त्रजस्तो अमृत व्यवस्था असमानता, अन्याय, अपराध र भ्रष्टाचारको बिगबिगीका कारण विषालु व्यवस्था बन्यो । यो व्यवस्था नफाल्ने हो भने देश र जनता झन झन जंगलतन्त्र बेहोर्न बाध्य हुनेछन् । जंगलतन्त्र भनेको अत्याचार हो, बाहुबलीतन्त्र हो ।
प्रजातन्त्रको बिडा उठाएको पाटी होस् कि समाजवाद, जनवाद भन्ने अथवा जनयुद्ध लड्ने लडाकादेखि कमाण्डर सबै पेपर टाइगर रहेछन् । १८ वर्षमा यी पेपर टाइगरहरूले देखाएको चरित्र भनेको चरित्रहीनता हो । राजनीतिमा चरित्र नभएपछि राजनीति अपराधतन्त्त बन्नेरहेछ । समाजवादका नाममा, सशस्त्र विद्रोहको नाममा तर्साउने र लुट्ने टाइगरहरूको हैसियत राम्रैसँग प्रमाणित भइसकेको छ । टाइगरहरू डरलाग्दा छन् । टाइगरहरू हिंस्रक छन् । टाइगरहरू भ्रष्टाचार नामको, अनैतिकता नामको रक्तपिपासु बनेका छन् । टाइगरहरू राजनीतिका नाममा अपराधतन्त्रको बिकास गरिरहेका छन् । अपराधतन्त्र न समृद्धि हो, न शान्ति, न लोकतन्त्र ।
पटक पटक सत्तामा गए, अहिले पनि सत्ता, संसद, शक्तिमा छन् । यिनले सम्पत्ति यसरी खाए कि खाद्य के अखाद्य के, छुट्याउने फुर्सदै पाएनन् । त्यसैले जनयुद्ध कमाण्डर देखि समाजवादका अगुवा भनिनेलाई कसैले लायक र नायक मानेका छैनन् । यी सबै अपराधशालाका हतियारजस्ता छन् । हतियारको काम काट्नु हो, सिध्याउनु हो । राजनीतिले जनमत, जनविश्वास, आफ्नै घोषणापत्र, प्रतिवद्धतामा घात गरिरहेका छन् ।
राजनीतिक टाइगर त बिद्रोही हुनुपर्ने हो । नेपालका टाइगरहरू भ्रष्टाचारी हुनपुगे । स्वार्थभन्दा यिनको प्राथमिकतामा केही पनि परेन । प्रजातन्त्र र जनयुद्धका टाइगरहरू भैरव अर्यालको जयभुँडीको कथामा जसरी खन्चुवा टाइगर हुन् । मानौं खानकै लागि यिनीहरूले समाजवाद भनिरहेका थिए, जनयुद्ध गरेका थिए । समाजवाद र जनयुद्ध त सत्ता नपाएको आक्रोश रहेछ, के के न गर्छौं भनेर समाजवादी र विद्रोहीवीच सम्झौता भयो र जनयुद्ध रोकियो । जनआन्दोलन, जनयुद्धपछि राष्ट्रियता हा¥यो, बहुदल हा¥यो, हिन्दुराष्ट्र र राजतन्त्र हा¥यो । यथार्थमा नेपालीत्व हा¥यो । १८ वर्षको कालखण्डको पाना पल्टाउँदा देखिन्छ– लोकतान्त्रिक चन्द्रमा कहिले उदाएन, सधैं कालरात्रि बन्यो । देश असिना पानी र जंगली हात्तीले नष्ट पारेको झापा, चितवनको केराबारीजस्तो बनिसक्यो ।
लोकतन्त्रले नयाँ नेपाल बनाउँछु भन्थ्यो, भएको नेपाललाई बेहाल बनायो । स्वर्गजस्तो नेपाल नर्क भयो । स्वर्ग बनाउन फेरि विश्वकर्माको सोच, शक्ति र एकाग्रता चाहिने भयो । पश्चिमा फिरङ्गी र दक्षिणा भिरङ्गी सल्केका लोभीपापीको भीडबाट विश्वकर्माको अवतार अवतरण हुने कहिले ? जो छन् टुप्पाबाट पलाएका विनिर्माणका अतिवादी–भाषणवादी छन्, टुप्पाबाट जरा उम्रदैन । मूर्ख कालिदासले गरे जस्तो टुप्पामा बसेर फेद काट्ने कर्मको उपमा बनिसक्यो नेपाल । सूर्य त हरेक दिन उदाउँछ, कसैको मनमा उज्यालो छैन । नेपालीको मन अँध्यारो, पीडामा, अन्यौलग्रस्त छ ।
देश निर्माणका लागि परिपक्व नेतृत्व हो, युवा सहभागिता हो । आफ्नै खुट्टामा उभिने, जसले अर्काको बाक्चाल बोकेर हिड्दैन, मौलिक चालमा उभिन्छ, चल्छ र केही गर्छ । त्यो पुस्ता बिद्रोहभन्दा बढी विदेशीन आतुर छ, समाज परिवर्तन नहुनुको नसो, समस्याको जरो यहाँ छ । यो जरोले झन झन जरा गाड्दैछ । देशको अस्तित्वमाथि खतरा बढ्दैछ ।
प्रमाणित भइसक्यो,जनयुद्ध, जनआन्दोलन र गणतन्त्र कार्यान्वयन, धर्मनिरपेक्षता पश्चिमा र दक्षिणाको प्रभाव स्थापित गर्नकै लागि थियो भन्नेमा शंका रहेन । आवश्यकता छ बुढोपुस्तालाई थन्क्याएर, युवापुस्तालाई नेतृत्वमा पु¥याउने कसरी ? युवाको विदेश पलायन रोक्ने कसरी ? आत्मनिर्भरताको सुरूआत गर्ने कहाँबाट , नेपालवादी थिङ्क टेंक छन्, तिनीहरू पनि लोभमा मुख गाड्ने हतारमा छन् । बुद्धले भनेका थिए– धैर्य सबैभन्दा ठूलो प्रार्थना हो । बुद्ध प्रार्थना अव धेरै भयो । अस्तित्व समाप्त हुन्जेल गरेको धैर्यको कति अर्थ बाँकी रहन्छ ? पुरातन कथन छ– पानीले ढुङ्गालाई पगाल्छ । पगाल्छ भने जनताकोे पानी मनले नेतृत्वको ढुङपनमा पाइन हाल्नैपर्छ, तवमात्र नेपालीत्वको बीउ बाँच्ला । भद्रो हेरिरहे, अस्तित्व समाप्त पनि हुनसक्छ ।
छिटो विद्रोही महायज्ञको आराधना जरूरी छ । त्यो यज्ञ गराउने पुरोहित जन्माउनु छ । जनतालाई नेतृत्व दिनसक्ने, विद्रोहको सफलतापछिको खाका सार्वजनिक गर्ने र अगाडि बढ्ने को हो ? पिपलपाते र एकदिने आन्दोलन गर्ने स्वार्थीहरूको डफ्फाले कुनै परिवर्तन ल्याउन सक्दैनन् ।
लोकतन्त्रमा शासक पनि जनता, शासित पनि जनता हुन् । जनताले अव बोल्नुपर्छ– जनमत, जनबल लिएका जनताका नेताहरू खाली पैसा र सुखमात्र खोजिरहेका छन् भने तिनको राजनीति समाप्त हुनुपर्छ । राजनीतिलाई व्यापार व्यवसाय बनाउनेहरूलाई नागरिकले युक्लिड बनेर घोक्रेठ्याक लगाउने हिम्मत गर्नुपर्छ । नागरिक विद्रोहको बिकल्प बाँकी छैन । चाणक्यले राजनीतिलाई उत्तम समाजसेवा भनेका छन्, नेपालको सन्दर्भमा लोकनायकको मुखुण्डाधारीहरूले राजनीतिलाई हाटबजार बनाइदिए । अपराधतन्त्र, परिवारवाद बनाइदिए ।
नेपाली धर्म, संस्कृति, आफ्नोपन मेटिन थाल्यो । हातहातमा मोवाइल र पश्चिमा प्रभावले नङ्गपन बढ्यो, मारूनी नाच हराउन थाल्यो, बल डान्स बढ्न थाल्यो । लोकतन्त्र बिछट्टै पश्चिमाकरण भएर गयो । यस्तै हो भने धर्म, संस्कृति र संस्कारको बिनासलीला यही पुस्ताले देख्नुपर्ने वातावरण बन्दैछ । भावी पुस्ताले पाउने पुस्तैनी सम्पत्ति यही हो त ? भावी पुस्ताका लागि सग्लो नेपाल पनि नरहने हो त ? समयले उठाएको प्रश्न गम्भीर छ ।
जंगलका मांसाहारी बाघ, सिंह, ब्वाँसाहरूलाई चिडियाखाना बनाएर पाल्ने र जो आफ्नालागि अप्रिय हुन्छन्, ती सबैलाई तिनै जनावरलाई लन्च, डिनरको आहारा बनाउने परम्परा रोमनकालमा थियो । लोकतन्त्रमा लोकविरोधीहरू रोमन सम्राट बनेर आफ्ना बिरोधीहरूलाई झण्डै झण्डै त्यस्तै नीति लागु गरिरहेका छन् । पहिले सोझै कान समाइन्थ्यो, अहिले घुमाएर, फरक यत्तिमात्र हो । कानुन छ, कानुनमा राजनीतिकरण गरिएपछि देखिने रोमन काल नै हो । पार्टीहरूका, नेताहरूका यही नीतिका कारण नेपालजस्तो विकासशील मुलुकमा लोकतन्त्र खाउँ भने दिनभरिको सिकार नखाउँ भने कान्छा बाबुको अनुहार बनेको देखिन्छ । लोकतन्त्र कसैलाई मटन भोजन, कसैलाई बटर पाउरोटी र अधिकांशका लागि खोलेफाँडो पनि भागमा पर्दैन । यसकारण त लोकतन्त्र नेपालमा बदनाम छ, लुटतन्त्रमात्र छ । बिभेद, निषेध कहालीलाग्दो गरी बढेको छ ।
सबैलाई सत्ता चाहिएको छ । सत्ताका लागि शक्तिशालीहरूको जहिले गाँड कोराकोर देखिन्छ । यो बाघ, सिंह को हुने दन्तबजानमात्र हो । बाँकी इतरकाहरूले हेर्ने तमासा हो । औंलामा गन्न सकिनेहरू ङारङुर गर्ने, यसैलाई परिवर्तन मान्नेहरू तमासा हेर्ने । राजनीतिको संस्कार उपनिवेशवादी छ, जनभावना स्वाधीनतामा छ । यी जन जो आफ्नो स्वार्थी राजनीतिलाई लोकतन्त्र भनिरहेको छ, त्यो बदलिनुपर्छ । यसका विरूद्ध जनता आँधी कहिले बन्ने ? जसरी राजतन्त्र उल्टाएर लुटतन्त्र ल्याउन १७ हजार मारियो, अव मर्न तैयार हुने को छ र अर्को परिवर्तन सम्भव होला ? अर्को जनयुद्ध नभए जनताले सुखका दिन देख्न पाउनेछैन । जनविद्रोह नगर्ने हो भने यसैगरी मर्ने हो । जनताले निर्णय गर्नुपर्छ– यसै गरी मर्ने कि स्वाधीन भएर बाँच्ने ?
बुढाहरू राष्ट्रलार्य काटेर खाने, युवाहरू नेतालाई चाटेर अथवा विदेश भागेर बस्ने, सिदासादा डराएर थरहरि भएर रहने हो भने अर्को परिवर्तन गाह्रो छ । आज मुर्खता होइन, मौलिकताको खोजी गर्नुछ । सन १८५० मा श्री ३ जंगबहादुर राणा युरोप भ्रमणमा गएका थिए । भनिन्छ, हठी स्वभावका जंगले आफ्नो सम्मानमा बेलायतीलाई ७१ तोपको सलामी हान्न पनि लगाए । राणामा स्वाभिमान थियो, त्यो स्वाभिमान आजका नेतामा छैन ।
कहावत छ, एकदिन श्री ३ लाई फुटबल म्याच हेर्न लगियो । उनी म्याद हेर्दै थिए, खेलाडी जोस्सिएर खेल्दै थिए । एक्कासी श्री ३ जंगे एक्लै कराए– गोल...। वरपरका सबै जिल्ल परेर श्री ३ महाराजतिर हेर्न थाले । वरिपरिका भारदारले सम्झाए– महाराज, प्रभु, गोल भएको छैन, आउट भएको हो । गोलपोष्टमा बल छिरेमात्र गोल हुन्छ ख्वामित । यो सुनेर जंगबहादुरले जवाफ दिएका थिएरे– तँ नकरा, जान्नी न हो । जंगेले बोलेपछि बोल्यो बोल्यो । मैले भनेपछि गोल भएकै हो । आजका लोकतन्त्रवादीहरू श्री ३ को यसप्रकारको फर्मानतन्त्र चलाइरहेका छन् ।
जंगेमाथि अजंगे बनेकाहरूले बुझ्नुपर्छ– अजंगे भनेको जंगलीपन हो । लोकतन्त्र भनेको नेतातन्त्र होइन । नयाँ पुस्ताले अजंगेहरूलाई बुझाउन ढिला गर्नुहुन्न । सपना देख्ने र देखाउने छेपाराहरूको पछि लाग्नु भनेको पछाडि फर्कनु हो । जंगल पस्नु हो । आजका शिक्षित युवाहरू जंगली बन्न सक्दैनन् । आफ्नो संस्कार र संस्कृतिको जगेर्ना गर्दै आधुनिकतामा रम्नु रमाउनु सभ्यताको विकास हो । राजनीति यस्तो विकासमा होइन, विनासतिर अग्रसर छ ।
लोकनेता त अनुकरणीय छैनन्, घृणाका पात्र छन् । लोकका लागि लोकनेता डरलाग्दा जीवन हुन् । जनताले अपराधी ठहराएका व्यक्तिहरू जनताका शासक बन्नु भनेकै अलोकतान्त्रिकता हो । यस्तो शासन लोकतन्त्रको अपमान हो । किन बुझ्दैनन् डेढ अक्कलीहरू ? किन लोकतन्त्रको अपमानलाई लोकतन्त्र भनिरहेका छन् ?
व्यवस्था असफल हुँदा देशमा मानवीय विपत्ति आउँछ । आज नेपाल त्यही विपतमा छ । यसमाथि प्राकृतिक र अनेक विपत थपिएका छन् । यो विपत्तिलाई सहने पनि लोक हुन्, पार लगाउने पनि लोक । नेतृत्व विपतका सामु उभिन सकेनन् । यस्तो नेतृत्व, आँखामा बिझेको कसिंगर बेलैमा झिक्न सकिएन भने अन्धो हुने खतरा रहन्छ । अन्धो भनेको अँध्यारो हो, अन्धोपन हटाउँ । नेपाल लामो समय यस प्रकारको अन्धकारमा बाँच्न सक्दैन ।
समयले कसैलाई पर्खदैन ।