अन्ततः सर्वोच्चको आदेशानुसार दुर्गा प्रसाई हाजिरी जमानीमा छुटे । छुट्नासाथ उनका नाममा क्रानितकारी उद्घोषसहितका पोष्टहरू सामाजिक सञ्जालमा देखिए । दुर्गाका समर्थकहरूले काठमाडौं, चितवन, झापातिर प्रदर्शन पनि गरे । उनका समर्थकहरूले आन्दोलनकारीको चोला उतारेर राजनेताको बन्ने दौडमा दुर्गा प्रसाई लागिसकेको प्रचार पनि गरे । दुर्गा प्रसाईले कुनै दल खोले भने पनि आश्चर्य नहुने भएको छ । दुर्गामाथि साइबर क्राइम, भारतीय डन लरेन्स बिस्नोईसँगको साँठगाँठमा अपराधिक धन्दा चलाएको, सम्पत्ति शुद्धिकरणको आरोप पनि छ । मुद्दा अदालतमा बिचाराधिन छ । उनको अस्पतालले लिएको ऋण नतिरेकाले बैंकले लिलामी गर्ने सवाल पनि आउको छ । खासगरी केपी शर्मा ओली सत्तामा रहुन्जेल यी प्रसाईलाई एकपछि अर्को समस्याद गाँज्ने निश्चित छ । जसरी रास्वपाका अध्यइा रवि लामिछानेको जुन हविगत पारिएको छ, त्यस्तै प्रकारको हविगत यिनले बेहोर्नुपर्ने देखिन्छ । राज्य नै दुश्मन भएपछि कसको के लाग्छ ? एकथरि भन्छन्– प्रसाईको नियत नै पहिलादेखि सफा थिएन । उनीभित्र नेता हुने, पार्टी खोल्ने हुटहुटी पहिलेदेखि नै थियो । रास्वपा र बालेन साहहरूको क्रेजले उनलाई उक्सायो । राजा, धर्म र गणतन्त्रको खारेजी, सहकारी लघुबित्त, बैंकको ऋण मिनाह, मिटरब्याजी पीडितको समस्या र नेताहरूलेगरेको भ्रष्टाचार अनाचार, दूराचारलाई मुद्दा बनाएर सडकमा आन्दोलित भएपछि त दुर्गा प्रसाई कुनै नेताभन्दा कम देखिएनन् । त्यसैको परिणति हो आजका दुर्गा प्रसाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चित हुनुको कारण । अब प्रसाईले दल खोलेर यी भ्रष्ट नेताहरूलाई तह लगाउने भन्दै चुनावी मैदानमा ओर्लन बेर छैन । रास्वपाले झैं उनी र उनको दलले केही ल्याउला पनि । यसरी नै दुर्गा फैलिन सक्लान् । यिनको एकल प्रयासले व्यवस्था परिवर्तन होला, अवस्था सुध्रिएला, सुशासन आउला भनेर आशावादी हुनु बेकार छ । २०६३ सालको परिवर्तन र ०६५ सालमा गणतन्त्रको कार्यान्वयनपछिका १८ वर्षमा जो जो हिन्दु धर्म र राजतन्त्र पुनस्र्थापनामा आन्दोलित भए, ती सबै पानीका फोका साबित भए । एकता यिनमा कहिले पनि देखिएन । त्यसैले हरेक आन्दोलन असफल भयो । एकदिने साबित हुनपुग्यो । दुर्गाले पूर्वराजालाई मेचीमा उतारेर आन्दोलनको आगो बाल्न सफल भए तर उनको आन्दोलनको अस्थिरताले कुनै नतिजा दिन सकेन । लाभ दुर्गालाई, व्यक्तित्व उठाउनमात्र सफल भयो । तथानाम फोहर गाली गरेर र मर्कामा परेका केहीलाई उनले उद्धार गरेर धेरैको मन जित्न सफल त भए तर आन्दोलनको मर्म हासिल गर्न सकेनन् । हिरासतबाट छुटे पनि प्रसाईले के गर्लान् ? ठूला कुरा गर्ने र क्रान्ति गर्ने भन्लान् । दुर्गा प्रसाईले जनविद्रोहको बिउ रोप्न सक्नेछैनन् । अस्थिर आन्दोलन, एकदिने जुलुस निकाल्लान, त्यत्ति हो ।
गत ०८० मंसिर ७ गते गणतन्त्र ध्वस्त हुनेछ भनेका थिए । ठूलै आन्दोलन पनि भएको हो । यो आन्दोलनको चर्चा कूटनीतिक बृत्तमा भएको पनि हो । तर भोलिपल्टदेखि आन्दोलन कता पुग्यो पुग्यो । ०८१ को मंसिर ७ गते उही रटान रटियो । यसपल्ट मंसिर ७ अघि नै गिरफ्तारी दिए, उनका समर्थक कता पुगे पुगे । प्रसाईको गिरफ्तारीले आन्दोलनको डढेलो लाग्नुपर्ने हो, केही भएन, व्यवस्था फाल्ने परिवर्तन ल्याउने कुराको दोस्रो चरण पूरा भयो । अब हाजिरी जमानीमा छुटेपछि पूर्वराजालाई आह्वान गर्दै यो व्यवस्था फाल्ने तेस्रो बिद्रोहको शंखनाद गरेका छन् ।
विश्वास गरौं, प्रसाई न राजावादी हुन्, न हिन्दुवादी । यी त अवसरवादी देखिएका छन् । मुलुकभर राजतन्त्रको लहर छ । केही समयमा राजधानीमै पूर्वराजाको अभिनन्दन गर्ने भनिएको छ । ओलीमात्र भ्रष्ट हुन् र यिनले देउवा र प्रचण्डको नाम पनि लिदैनन् । आन्दोलन सफल पार्नका लागि राजतन्त्र र हिन्दुवादी जति संघसंस्था, व्यक्ति छन् उनीहरू एकतावद्ध हुन जरूरी छ । अन्यथा भ्रष्टाचारको जगमा जब्बर भइसकेको यो व्यवस्था र यी भ्रष्टहरूलाई किनारा लगाउन सकिने छैन । १८ वर्षसम्म गफ बढी भयो, आन्दोलन र बिद्रोह केही पनि हुनसकेन । यसको मूल कारण नै हिन्दु र राजतन्त्रवादी बिभाजित भएर हो । आमनागरिक राष्ट्रघाती, जनघाती, विश्वासघातीहरूबाट आजित भइसकेका छन् । भ्रष्ट शासक र ठग नेता, जनतालाई भ्रमित पार्नेहरूबाट पीडा बढेको छ । जो सत्तामा, संसदमा छन्, ती सबै चटके हुन् । आन्दोलन गर्ने र बिद्रोहको सुनामी ल्याउने भन्छन्, ती पनि चटके हुन् । जो विवेकी हुनुपर्ने हो, नागरिक प्रतिनिधित्व गरेर अग्रसर हुनुपर्ने हो, ती पनि चटके र मौसमी बनेका छन् । यहीकारणले हो गणतन्त्र फेल भइसक्दा, संविधान असफल भइसक्दा पनि व्यवस्था परिवर्तनको ज्वाला दन्किन नसकेको । नेपालको गणतन्त्र, नेपाली नेता र नेपालको नीति जगहँसाईमात्र हुनपुग्यो । यो त अति भयो, अतिसार भयो ।