दुःख झेलेर र अव्यवस्थाको भार बोकेर बाँचेका नेपाली नै देशप्रति उदासीन भएको त होइन ? यस्ता लाग्न थालेको छ । युवा क्रिकेट, एनपीएलमा मस्त छन् । एकथरि प्रम ओलीको चीन भ्रमणको लेखाजोखा गरिरहेका छन् । अर्काथरि अमेरिकी उपमन्त्री लू किन आए भनेर हिसावकिताव गरिरहेका छन् । चीनविरोधी भन्न थालेका छन्, ओलीले बीआरआई रोक्न सफल भए, उनको उपादेयता सकियो । अब यो सरकार ढल्छ, नयाँ बन्छ । अर्काथरि राजा ज्ञानेन्द्रको बाँके भ्रमण र निस्कने परिणामको भद्रो हेरिरहेका छन् । एकथरि यस्ता पनि छन्, जो रास्वपाका अध्यक्ष रवि लामिछाने कहिले छुट्लान्, कि उनलाई जेलमै समाप्त पार्लान् भनेर चर्चा गर्दैछन् । दुर्गा प्रसाईलाई आइतवार ३ दिन म्याद थपिएको छ, उनलाई अब कुन कानुन लगाएर थुन्लान् भन्ने चासो पनि बढेको छ । यस्तै यस्तै चासो छ, मुलुक समाप्तितिर गएकोमा कसैलाई चिन्ता छैन । भ्रष्टाचार, अनियमितता, अत्याचार झन झन बढ्दो छ । मुलुकप्रति कसैले साउती गरेको सम्म देखिएन । भ्रष्टविरूद्ध आगो बल्नुपर्ने बेलामा सबै तमासे बनेका छन् । आन्दोलन गर्नेले, सत्ता हाँक्नेले, विपक्षीले, नागरिक समाजले जग हँसाउने काममात्र गरेका छन् । कोठे बिद्रोह जारी छ, केही हुनेवाला छैन ।
जो राजनीतिको अपराधिकरण देखिरहेका छन्, उनीहरू यहाँ केही हुन्न भनेर निराश भइरहेका देखिन्छन् । दशैं तिहार, छठपछि ठूलै आन्दोलन हुन्छ, परिवर्तन आउँछ भन्नेहरू जनताको आँखामा छारो हालिरहेका छन्, आश्वासन बेचिरहेका छन् । मंसिर ७ मा केही भएन, अब फागुन चैततिर आन्दोलनको हुरी चल्छ भन्ने नयाँ नारा सुरू भएको छ । यसको अर्थ एउटै निस्कन्छ, यिनै भ्रष्टलाई स्वीकार्ने काम भएको छ । सामाजिक सञ्जालमा सुनामी नै आएको छ । सरकारमात्र होइन, व्यवस्था नै फेर्नुपर्छ भन्ने हुरी देखिन्छ । सञ्जालबाट व्यवस्था फेरिने कुरै छैन । बिद्रोह जनताले गर्नुपर्छ, जनतामा बिद्रोह गर्ने मूड भए पनि नेतृत्व अग्रसर छैन । अनि के हुन्छ ?
हालै सम्पन्न उपचुनावमा राजतन्त्रवादी, राप्रपाको दयनीय अनुहार देखियो । जनताले सम्मानजनक मतसमेत दिएनन् । जमानतसमेत जफत भएको राप्रपाको भविष्य छ भनेर कसरी भन्ने ? उपचुनावको नतिजाले विश्वलाई देखायो, नेपाली जनता परिवर्तनको पक्षमा छैनन् । जित्ने उही कांग्रेस, एमाले, माओवादीले हो, उपचुनावले यिनै तीन दलको बर्चस्व कायम भएको देखियो । नेतृाहरू आलोपालो सत्तामा जालान्, जनताको राहत पाउने, जनआवाजको सुनवाई हुने पालो कहिले ? यो भनेको जनतामा चेत छैन भन्ने हो । जबसम्म जनतामा चेत आउँदैन, परिवर्तन सम्भव छैन । यस्तै घुमीफिरी रूम्जाटारको उखान सत्य साबित हुनेमात्र हो ।
पूर्वराजाले सहमति र सहकार्यको लागि आह्वान गरेको सुनियो । उही भ्रष्टलाई मत दिनेहरूको विश्वास नगरेरै प्रष्ट आह्वान नगरेको हुनुपर्छ । पार्टीको कार्यकर्ता भइसकेका जनताले राजा जिन्दावाद त भन्छन्, राजा अगाडि आएपछि साथ दिएनन् भने के हुन्छ ? जनताले परिवर्तन चाहेका हुन् भने जनता सडकमा आउन् ।
शुक्रवार भुटानका राजा ५ घण्टे नेपाल भ्रमणमा आए । बौद्ध र स्वयम्भुको दर्शन गरे । उनले राजनीतिक भेटघाट गरेनन् । तर उपरलाउकेहरू दिल्लीबाट नेपाल आएका भुटानका राजाको भ्रमणमा अनेक अर्थ निकाल्न ब्यस्त छन् । कुरा धेरै गर्ने काम नगर्ने नेपालीको बानी देखियो । भुटानका राजालाई स्वागत गरे । राजाले धन्यवाद पनि दिए अनि आफ्नो भ्रमण सकेर स्वदेश फिर्ता भए । राजाको क्रेज नेपालमा छ भन्ने त देखियो, राजतन्त्र ल्याउन जनता अग्रसर भएको चाहिं देखिएन । राजतन्त्र र हिन्दुराष्ट्र पुनस्थापनाका लागि बिद्रोह गर्नैपर्छ, कि त चुनावमा राजतन्त्रवादीलाई दुई तिहाई मत दिनैपर्छ । अथवा सेनाले कू गरेर सत्तामा हातमा लिनुपर्छ । यी तिनै सम्भावना साह्रै न्यून भएकाले व्यवस्था फालिने वातावरण देखिदैन ।
मुलुक संकटमा छ । मुलुक बचाउनका लागि स्वराज कायम गर्नका लागि जनता स्वस्फूर्त जाग्नुपर्छ । सडकमा नागरिक निस्कनुपर्छ । सामुहिक रूपमा व्यवस्था र यो भ्रष्ट नेतृत्व बिरूद्ध बिद्रोह ओकल्नुपर्छ । श्रीलंका, बंगलादेशमा जसरी जनता सडकमा नआएसम्म कुनै परिवर्तन सम्भव छैन, यी भ्रष्ट नेताले जुका नियति छाड्ने छैनन् । पञ्चायतलाई अलोकतान्त्रिक भनेर फालियो, भ्रष्टाचार फैलाइयो । बहुदल जिन्दावाद भनेर ल्याइयो, भ्रष्टाचार फैलाइयो । राजतन्त्र र धर्मका कारणले समृद्धि आएन भनेर लोकतन्त्र ल्यायो, भ्रष्टाचारभन्दा केही पनि भएन । जनतालाई सबै थाहा छ, भार खेपिरहेका छन् । तैपनि जनता बिद्रोह बोल्न सडकमा निस्कदैनन्, किन ?