अति भयो । नेताहरूले जनतालाई भ्रम छरेर मूर्ख बनाए, देशलाई ठगे । अनुशासन भङ्ग गरे, चरित्र कायम राख्न सकेनन् । राष्ट्रियतालाई कमजोर पारे । अव समय आयो, आमनागरिकले मोर्चा कस्ने । अन्याय सहेर मर्ने कि बिद्रोह गरेर बाँच्ने ?
राजनीतिक दलहरू आ–आफ्नै स्वार्थमा केन्द्रित भएपछि, देश र जनता राजनीतिक पार्टीको प्राथमिकतामै परेनन् । राजनीतिको प्राथमिकता सत्ता, स्वार्थ र परिवारामात्र भयो ।
जनप्रतिनिधि हौं भन्नेहरू, जनताका लागि राजनीति गरेको दावी गर्ने पार्टीहरू स्वार्थको सिमित घेरामा बन्दी बन्न पुगेका छन् । नेताहरू व्यवहारले देश र जनताको हितमा उभिन नसक्ने राजनीतिक दलहरू जनताका, देशका अपराधी हुन् । यस्ता अपराधीलाई दण्ड दिने, सुधार्ने र जिम्मेवारीमा प्रवृत्त गराउने कर्तव्य अव जनताको काँधमा आएको छ । जब जब राजनीति आफ्नो पवित्र भावनाबाट भड्किन्छ, तव तव राजनीतिलाई सही मार्ग देखाउने जिम्मा आमनागरिकको हुन्छ । नागरिक जाग्ने यस्तै संकटको समयमा हो ।
समय यही हो देश बचाउन, जनताको पहिचानको रक्षा गर्न, मोर्चा कस्ने । जनताले मोर्चा कस्न सकेनन् र राजनीतिक कोर्रा खाएर कायल भइरहे भने अस्तित्व गुमाउन पुग्नेछन् । जनताले जिवन्त बाँच्ने कि मृत्यु ? निर्णय गर्ने बाध्यतामा छन् ।
परिवर्तनपछि नेतृत्वले जे जे निर्णय ग¥यो जनताले मान्दै गए । जनताले सहदै गए । अव त राम्रो गर्लान् कि, सुध्रेलान् कि, अव त समृद्धमार्गमा लाग्लान् कि, अव त कमिशन र भ्रष्टाचार बाट अलग बस्लान् कि, अव त सुशासन देलान् कि भन्दा भन्दै १८ वर्ष बित्यो । राजनीतिमा लागेकाहरूले राजनीतिलाई ब्यापार, मुनाफाको लगानी बनाए, लोकतन्त्र भन्दै परिवारवाद चलाए । घाटा देशको भयो, सकस जनतालाई भयो, शोषण भइरह्यो, देशको दोहन चलिरह्यो । यसरी देश अघि बढ्दैन । जनताले सुशासनको अनुभू ितगर्न पाउँदैनन् । यस्तो लफङ्गो, सुकुलगुण्डो नेतृत्वको चरित्र सुधार्न जनताले बिद्रोह गर्न बाध्य पारिएका छन् ।
जनता नै देश हो, देश नै जनता हो । नेताहरूले जतिसुकै आफूलाई अपरिहार्य ठाने पनि नेता देश होइनन्, देश हुनसकेनन् । नेताले राजनीतिलाई समाजसेवा बनाउनु पथ्र्यो । राजनीतिलाई स्वार्थसिद्धिको साधन बनाइदिए । देशका मार्गदर्शकसम्म पनि नेता भएनन् । आफ्ना पार्टीका घोषणापत्र, आप्mना भाषणबाजीको समेत इज्जत राख्न सकेनन् । नेपाली जनता, नेपाली परिवेश, प्रकृति, संस्कृति, भूगोलभित्र नेपाल छ । हामी यही आवहवाभित्र नेपाली छौं । हुन त भू एउटै छ, पृथ्वी एउटै छ, ब्रम्हाण्ड पनि एउटै छ । प्रकृति उही हो, हावापानी, माटो ढुंगा उस्तै उस्तै छ तर पनि सीमारेखा कोरिएको छ र देश देशको अस्तित्व छ । हाम्रो पहिचान नेपाल हो, हामी नेपाली हौं । नेपाल छ र, हामी नेपाली छौं । बाघ ओढारमा बस्ला, पन्छी गुँडमा । गाई गोठमा बस्ला, माहुरी घारमा । बनमान्छेको पनि बनघर छ, हामी मान्छेको घर हुन्छ । मान्छे बास छ । हाम्रो घर नेपाल हो । देश छ र ओत छ, पहिचान छ । आधार छ, आश र विश्वास पनि छ । ओढार नभए बाघ कहाँ बस्छ, गुँड नभए पन्छी कहाँ बस्ला ? गोठ नभए गाईबस्तुको बिजोग हुन्छ, घार नभए माहुरी हावामा बस्न सक्दैन । देश छ, घर छ र सबथोक छ । देश नभए कङ्गाल, टुहुरो भइनेछ, सबथोक लुटिएको मान्छे बनिनेछ । देश लुटिनुजस्तो पराधीनता अरू के हुनसक्छ ? यसकारण अस्तित्वको सर्वाधिक महत्व छ ।
देश मातृभूमि हो । सीमा कसैले मिच्यो, हाम्रो अधिकार कसैले हड्प्यो अथवा हामीमाथि पराईले होची अर्घेली गर्न खोज्यो भने हाम्रो रगत उम्लिन्छ । पुर्षाले रगतमात्र होइन, ज्यानकै बाजी थापेर निर्माण गरेको देश हो यो । बिगतमा धेरै रगत उम्लियो, धेरै रगत पोखियो, धेरै ज्यान गयो । वर्तमानमा पनि युवा रगत उम्लिरहेको छ । रातो रातो रगत उम्लिनुपर्छ, तातो तातो रगत उम्लिनुपर्छ । यो घर, यो देश नेपालीको हो, नेपालीमाथि पराधीनता थोपरेको सहन सकिन्न । नेपालीलाई कुशासनको आगलागीमा पारेको सहन सकिन्न । यसकारण नागरिकमा बिद्रोहको आगो सल्किदै छ । यो बिद्रोह डढेलो बन्न जरूरी छ । यो डढेलोले मात्र ऐंजेरूको नास होला । कुशासक किनारा लाग्लान् । भ्रष्ट सकिएलान् । सुशासनको लागि बिध्वंश समयको माग बन्न पुगेको छ ।
नेतृत्व कायर असफल र स्वार्थी भयो । यो यथार्थ नागरिकले बुझेका छन् । राजनीति किन पराधीन भइरहेछ ? २१ जिल्लाका ७१ स्थानमा नेपाली ६० हजार हेक्टर भूमि भारतले मिचिसकेछ । लिम्पियाधुरा, कालापानी, लिपुलेको थप १० हजार १९ बर्गकिलोमिटर भूमि नक्साबाटै हरायो । बल्लतल्ल संविधानमा समावेश भयो, त्यो क्षेत्र भारतले आफ्नो नक्सामा मिलाएर सार्वजनिक गरिसक्यो । आफ्नो भूभाग खोज्ने सरकार, खोज्ने संसद, सांसद, खोज्ने पार्टीहरू, नागरिक अभियन्ताहरू सबै मौन छन् । यो मौनता राजनीतिको मृत्यु हो ?
यो मौनता पराधीनता हो । राष्ट्रघात हो । यस्तो राजनीतिलाई हामी अगुवाको सम्मान दिइरहेछौं । देश छ, सबैथोक छ । देश छैन, सम्झिनुपर्छ सबैथोक लुटियो । देश लुटिदा चुपलाग्नुजस्तो अपराध अर्को छैन । हामी किन अपराधीहरूलाई देश जिम्मामा छोडिरहेका छौं ? स्वराजको रक्षाका लागि पनि नागरिक बिद्रोह अपरिहार्य हुनपुगेको छ ।
सुगौली सन्धि पढ्न जरूरी छ । जसले मेची पढ्यो, महाकाली पढ्यो, उसले देश बुझ्यो । किल्ला काँगडा पढेपछि त उसले देश झन बुझ्यो । देश र जनता पढ्नसक्ने मान्छे, मधेस–पहाड–हिमाल पढ्ने व्यक्ति सच्चा देशभक्त हो । ऊ नै सार्वभौमिकताको मालिक हो, स्वाधीनताको पक्षधर हो । जो देशभक्त थिए, जो वीर थिए, तिनले कोरेको वीरगाथा, स्वाभिमानको आत्मगौरव यही हो । आजका हाम्रा नेताहरूमा, हाम्रा अगुवाहरूमा राष्ट्रवादको भावना, विचारमा शून्यता बढ्दै गएको छ । शून्य भाव, विचारलाई हामी महान ठानिरहेका छौं, त्यो कमजोर मानसिकता हो, हुतिहारा–लुते विचार हो । हामी हुतिहारलाई नयाँ नेपाल बनाउने कारिगर मानिरहेका छौं, जनप्रतिनिधि ठानिरहेका छौं । यो भूल नागरिकले स्वीकार्नुपर्छ र अस्तित्वरक्षा गर्न बिद्रोहमा उत्रनुपर्छ ।
हाम्रा नेताहरू किन पनि लुते हुन् भने यिनले नयाँ पुस्तालाई इतिहासको गौरव सिकाउँदै सिकाएनन् । कसरी सिकाउन्, आफै इतिहासको गौरवगाथा मेट्न, च्यात्नतिर लागिपरेका छन् । जो आफै गौरव गर्न सक्दैन, पराईसँग सधैं थुर थुर भएर बस्छन्, उसले वर्तमान र आउने पुस्तालाई देशभक्तिको कसरी शिक्षा दिनसक्लान् ? नेपालको गौरवमय इतिहास जीवित छ, इतिहास कहिले मर्दैन, हामीले भन्न सक्नुपर्छ, पुर्षाको देशभक्ति अमर छ । पुर्षाको अमरगाथाबाट सन्तानलाई शिक्षित पार्नुपर्छ ।
प्रत्येक नागरिक सिपाही हुन् । सोल्जर । नेपालको अस्तित्व यिनै सिपाहीको काँधमा सुरक्षित हुनसक्छ । आजका अगुवाले देशलाई, देशवासीलाई पीडा दिएका छन् तर निख्खर देशभक्त छन् र तिनले यो देशलाई हाँक्छन् । युवापुस्ताको धारलाई नहेपौं, यही धार हो, जसले देशको भविष्य निर्माण गर्छ । अस्तित्व बचाउँछ र देशभक्ति बढाउँछ । मानव इतिहासमा देशको पूजाभन्दा अर्को ठूलो पूजा छैन । माता, सिर्जना, देश हो । देशको र जनताको सेवामा अव नेपाली भावधारा छिप्पिनुपर्छ । जनताको मन जित्नेहरू, मत जित्नेहरूले देश र जनतालाई धोका दिए । प्रतिवद्धता भुले अनि स्वार्थको पापकर्मतिर लागे । जनताको जयजयकार गर्न छाडेर विदेशीका सामु लम्पसार पर्न पुगे । जनता र देशको रगत जुका बनेर चुसिरहे । देशको माटो छोएर सबैले सपथ खाने बेला आएको छ, देशभक्ति त मर्दैन, चुत्थै देश भए पनि ।
देशभक्ति र राष्ट्रवाद चहकिलो बन्दैजानु व्यवस्था, संविधानको ओजन बढ्दै जानु हो । १८ वर्षको समयले प्रमाणित गरिसक्यो, यो व्यवस्थाले देश र जनताको अवस्था फेर्न सक्दैन । देश र जनतालाई झन झन कमजोर पार्दै जानेछ । नाम नेत्र बहादुर भएर हुन्न, आँखा भएर पनि विवेक नभएपछि त्यो अन्धो नै हो । व्यवस्था लोकतन्त्र भएर हुन्न, व्यवस्थाले विवेकपूर्ण तरिकाले अवस्था बदल्न सक्नुपर्छ । अवस्था झन झन कमजोर बनाउँदै लगेकाले नेतृत्वमात्र होइन, संविधान र व्यवस्थासमेत असफल भइसक्यो । नेतृत्व इमान नभएको, झूठो साबित हुनपुग्यो । व्यवस्था उत्तम भएर पनि कुशासन बढ्नुको कारण नेतृत्वको नियत खोटो भएर हो । राजनीतिक धाराहरू अपवित्र भए, प्रशासन भ्रष्ट बन्दै गयो । देशका कडी खुस्कदै जानु र कमजोर हुनुको कारण पनि यही हो । यस्तो नेतृत्वलाई राष्ट्रिय राजनीतिबाट पन्छाउनै पर्छ । यो जिम्मेवारी नागरिकको हो । नागरिकले नागरिक कर्तव्य निर्वाह गर्नैपर्छ, जिवन्त हुनका लागि बिद्रोहमा होमिनैपर्छ ।
देशभक्तीका कुरा गर्दा स्वार्थी भ्रष्टहरू अन्धराष्ट्रवाद भन्छन् । राष्ट्र नै सिध्याउनेहरूको यो कथन गलत छ । राष्ट्रवाद राष्ट्रिय शक्ति हुन्छ, जसले राष्ट्रियता बचाउँछ । अग्रगमनकारी राष्ट्रवाद पराईका पाउमा लम्पसार पर्नेहरूले देशभक्तिलाई अन्धो भन्नु यी आफैमा रतन्धो रोगग्रस्त हो । हामीलाई विवेकशील, आत्मवोध गर्नसक्ने, संवेदनशील राजनीतिको खाँचो छ । हामी अग्रगमनमा लागेका छौं, अग्रगमन भनेको राष्ट्रिय नीति हुनुपर्छ, कुनै विदेशीको रातो किताव अथवा समाजवादका खोक्रा नारा अग्रगमन हुनसक्दैन । अग्रगमनमा हाम्रै हिमाल, पहाड, तराईको जनजीवन हुनुपर्छ, त्यही जनजीवनले निर्देशित राजनीति हुनुपर्छ । जुन राजनीतिले देशको जीवनमा जिवन्तता भर्न सक्दैन, त्यस्तो सिद्धान्तमा चलेको राजनीति भनेको ढोङ् हो । हामी लोकतन्त्र नामको ढोङ्मा बाँचिरहेछौं ।
अब ढोङमा बाँच्ने समयलाई अन्त गर्नुपर्छ । जनतालाई उपेक्षा गरेर लतार्ने व्यवस्थको काम छैन । लोकतन्त्र लोकतन्त्र भन्ने सुगा गीत मात्र गाएर के गर्नु, भित्र भित्र पराईका निर्देशनमा पुतलीनाच नाच्छन् हाम्रा नेताहरू । जनतालाइ आत्मा भएको लोकतन्त्र चाहिएको छ, मूर्दा लोकतन्त्र होइन ।
देश छ र राजनीति छ । देश छ र सबैथोक छ । देशभक्ती हरेक व्यक्ति, पार्टी सबैले अंगिकार गर्नसक्छन् । गर्नुपर्छ । यो साझा लाभ, सर्वहितको कुरा हो । देश छ र हामी छौं भन्ने भावना हुनुपर्छ । राष्ट्रवादलाई कसैले पनि कुनै तरिकाले लाञ्छित गर्न‘ राष्ट्रघात हो । यस्तै राष्ट्रघातले व्यवस्थामाथि प्रश्नचिन्ह उठेको हो ।
जुनसुकै बादका पार्टी हुन्, पार्टीभित्र देशभक्तिको सुगन्ध फैलनुपर्छ, देशभक्तिलाई दुर्गन्धित पार्नेहरू अर्काका घातक हतियार हुन् भन्ने राजनीति गर्नेले बुझ्नुपर्छ । राजनीति गर, देश सिध्याउने राजनीति नगर । देशभन्दा राजनीति ठूलो होइन । देश छ र देशभित्र राजनीति चल्ने हो । राजनीति बाँच्ने हो । समष्टिमा भन्नुपर्दा समाज परिवर्तन गर्न नसक्ने व्यवस्था र यसका सञ्चालकहरूलाई नागरिक बिद्रोहले खबरदार गर्न सक्नुपर्छ ।
बाँचेर मर्ने कि मरेर बाँच्ने, नागरिकका सामु एउटा मात्र बिकल्प छ । नागरिकले निर्णय गर्नैपर्ने भयो