जनतामा चरम असन्तुष्टि र आक्रोश छ तर सशक्त आन्दोलन हुन्न किन ? यतिबिघ्न मान्छे छन्, तर भ्रष्टहरूको विरूद्ध सशक्त आन्दोलन हुनै सक्दैन । यसको अर्थ अधिकांश छद्मभेषी छन् । उता पनि ठिक, यता पनि ठिक भन्नेहरू छन् ?
जसरी पार्टीहरूले नयाँ नेपाल बनाउँछौं भनेर गुलियो चटाएर जनताको आँखामा छारो हालिरहे, त्यसैगरी परिवर्तनका लागि आन्दोलन गर्नेहरूले निराश र आक्रोसित जनतालाई सपना बाँडेर झुक्याइरहेका त छैनन् ? स्थिति हेर्दा त्यस्तै देखिन्छ । राप्रपा जसरी हिजो सत्तामा झुम्मियो, वर्तमान राप्रपा पनि त्यस्तै हिलोमा गाडिएको छ । युवा अध्यक्ष आए, अब त परिवर्तन हुन्छ भनेको त सपना जस्तै हुनथाल्यो । लामो समय भयो, राप्रपाले आन्दोलन गरेको, त्यसपछि मौन छ । एकजना राप्रपाका नेताले ज्यानै गुमाए पश्चिम तिर । त्यो शोकमा परेको राप्रपा आज पनि शोकमै छजस्तो छ । कांग्रेसको महाधिवेशनमा नेतालाई देख्यो कि जनताले चोर भन्न थाले भनेर चर्चित बनेका राप्रपा अध्यक्ष लिंगदेन पार्टी मिलाउन नसकेर घाइते छन् भनिन्छ । यो पद्धति फ्याँकेर राजतन्त्रसहितको प्रणाली ल्याउनुपर्छ भन्ने लाइनमा कोही छन् भने तिनलाई अपमानित गर्ने र यही व्यवस्थामा तर मार्नुपर्छ भनेजस्तो गर्न थालेका छन् । हुनसक्छ, भोलिका दिनमा अरू कुन कुन नेता लिंगदेनको लाइनमा उभिएलान् ?
केशर विष्टको राष्ट्रिय शक्ति र दुर्गा प्रसाईको संयुक्त आन्दोलन कतै कतै झिना मसिना देखिन्छन्, जुलुस र नाराबाजी पनि गर्छन् । ती सबै एकदिने, एकछिने हुने गरेका छन् । आन्दोलनका नाममा आन्दोलन गरेर केही हुनेवाला छैन । मिडियामा, सामाजिक सञ्जालमा बिष्ट र प्रसाईको ठूलै आन्दोलन देखिन्छ तर सडकमा नाममात्रको मात्र । यो आन्दोलन भनेको जनतालाई कथित परिवर्तनको चास्नी चखाउनेमात्र हो । अरू राजावाजी र हिन्दुधर्मवादी पनि छन्, यो व्यवस्था सकियो भन्छन्, व्यवस्था चलिरहेको छ, भ्रष्टहरूले देश र जनतालाई लुटिरहेका छन् । कहाँ सकियो व्यवस्था ? न त जनताको अवस्थामा सुधार आयो, न यो व्यवस्था नै सकियो ? भ्रममात्र छ । जो व्यवस्था परिवर्तनमा लागेका थिए, ती सबै नटबरलाल पो निस्किए ।
प्रत्येक आन्दोलनकारीले भनेका थिए, भ्रष्ट जेल पर्छन्, भ्रष्ट नेताको भागाभाग हुन्छ, यिनले लुटेको सम्पत्ति जफत हुन्छ । विष्ट, प्रसाई र राजतन्त्रवादीले आन्दोलन गर्ने नाममा अर्को नौटङ्की सुरू गर्ने भएका छन् । रत्नकमल बैद्य नामका पुराना राजावादीले माइतीघरतिर आन्दोलन गर्ने प्रयास गरे, नेपाल बचाउन र देशमा शान्तिसुरक्षा तथा समृद्धिको लागि राजा नभई हुँदैन पनि भने । कसले सुन्ने र ? जति पनि व्यवस्थाबिरोधी, राजतन्त्रवादी देखिएका छन्, अधिकांश छद्मभेषी रहेछन् । त्याग, बलिदान र आन्दोलनलाई आगो बनाउन सक्ने ल्याकत कसैमा रहेनछ । आन्दोलन, व्यवस्था परिवर्तन, राजतन्त्र पुनस्र्थापना ठट्टा पो हुनथाल्यो । यस्ता लूर नभएका आन्दोलनले यिनै भ्रष्ट र लोकतन्त्रलाई लूटतन्त्र बनाउनेहरूलाई बलियो पो बनायो ।
बेला बेलामा आन्दोलनका नारा किन लाग्छन्, साना ठूला जुलुस किन निस्कन्छन्, ती जुलुसहरू फेरि किन सेलाउँछन् ? प्रश्न गम्भीर छ । विश्लेषक भन्छन्– चर्चित हुन, खल्ती भर्न, गणतन्त्रवादीको इसारालाई मलजल गर्न । राजतन्त्रको उचाइ र लोकप्रियतालाई मत्थर पार्ने षडयन्त्र पो हुनथाल्यो । यस्ता खाले प्रवृत्तिलाई जनताले चिन्नुपर्छ, किनकि यिनले जतिबेला पनि स्वार्थका लागि धोका दिनसक्छन् । आफै र आफ्ना सन्ततीका लागि अस्तित्व जोगाउने हो भने आमनागरिकले स्वतःस्फूर्त आन्दोलन गर्नुपर्छ, आन्दोलनलाई सुनामी बनाउन सक्नुपर्छ । अनिमात्र परिवर्तन हुन्छ, लुटाह र भ्रष्टहरूको सातो जानेछ । जनताले धेरै धोका पाइसके, अब सचेत हुनुपर्छ ।
अब त सीके राउत पनि आन्दोलन गर्ने भन्दैछन् । यिनै सीके राउत प्रधानमन्त्रीको चीन भ्रमणमा साथसाथै गएका छन् । यिनको आन्दोलन सत्ता हो भन्ने बुझौं । चियाको कपमा तुफान ल्याएर न भ्रष्ट सत्ता ढल्छ, न व्यवस्था नै । यी दुबै नढल्नु भनेको जनताले अरू सकस भोग्नु हो, लोकतन्त्रे जुकाहरूलाई अरू रगत चुसाउनु हो ।
जनताले बिद्रोह गर्नुको बिकल्प छैन । एउटा योग्यपात्र अघि सर्नुपर्छ, आगो सल्काउनु पर्छ, जनडढेलो लागिहाल्छ । यो पक्का छ । सामाजिक सञ्जाल र भाषणमा असन्तुष्टि पोखेर केही हुनेवाला छैन । जनताले राष्ट्रका लागि दुःख गर्नैपर्ने भयो ।
नेतृत्वले स्वार्थ हेरे, मुलुक र मुलुकबासी हेरेनन् । जनता पनि जागेनन् भने कसको के लाग्छ ? कोठा कोठमा बसेर यी भ्रष्टहरूले राष्ट्र सिध्याएको हेरेर बस्ने कि अस्तित्व रक्षाका लागि सडकमा उत्रने ? निर्णय जनताकै जिम्मा भयो ।