कम्युनिष्टहरू किन विश्वासघाती ?
देशभित्र गणतन्त्र आए सँगै कम्युनिष्टबाटै कम्युनिष्ट बिचारधारामाथि निरन्तर प्रहार हुँदै आएको छ ।
स्वयम भौतिकवादी जगमा उभिएका पाखण्डीहरूले भौतिक सम्रचनालाई ध्वस्त पार्ने षड्यन्त्र गर्दै आएको प्रष्टै छ । उनीहरू धर्म र परम्पराको नाउँमा देश र देशको विकासका लागि संघर्ष गर्दै आएका देशका सिपाही हरूमाथि जाइ लागेका छन् । एउटा काम नगरेर धर्मका शास्त्रहरू दन्ते कथाहरू सुनाउँदै हिंड्ने पुरोहितको सहारा लिएर कतिपय पाखण्डीहरूले कम्युनिष्ट अथवा भौतिकवादीहरू माथि लगातार प्रहार गर्दै आएका छन् । तर पनि आफुलाई कम्युनिष्ट भन्नेहरू मख्ख परेर उसैको मञ्चमा आफ्नै उपहास सुनेर ताली पिट्दैछन् । उसले दिएको एउटा खादा वा दोसल्लाले आफ्नो नैतिकता गुमाउँदैछन् । हुन त कम्युनिष्ट र लोकतन्त्रवादी, दुबैथरि देश र जनमतमा घातक साबित भइसकेका छन् । घातकले आत्मघात गर्नु के आश्चर्य मान्नु र ?
भौतिकवादलाई अधर्मी र नाष्तिक जस्ता शब्दहरूले प्रहार गर्दा पनि असहाय अबस्थामा उनै पाखण्डीहरूको सुरक्षामा खट्न बाध्य किन छन् ? निश्चित रूपमा पद र प्रतिष्ठाले उनीहरूलाई नैतिकहिन बनाइदिएको छ । चरित्र नास भएपछि उसका लागि जे पनि राम्रै लाग्छ ।
भौतिकवादीहरूमा उनिहरूको चुनौतीलाई स्विकार गरेर संघर्ष गर्ने आँट नआएसम्म हाम्रो देशभित्र यस्ता प्रहारहरू हुँदै आउँनेछन् । हुन त जो वाम बिचारमा छन्, उनीहरूभन्दा ठूला भौतिकवादी अरू देखिन छाडेका छन् ।
आज संसार नै भौतिक विज्ञानले आकास छोएको अवस्थामा हाम्रो देशको विकास झनपछि झन यस्तै पाखण्डीहरूको बली चढेको छ ।
छिमेकी मुलुकबाट लगातार आध्यात्मिक प्रचार गर्न गराउन जसरी हाम्रो देशभित्र ओइरो लागेको छ त्यो मामुली कुरा होइन । शारीरिक मानसिक रूपमा भौतिक बिचारमाथि प्रहार गराउने योजनाबद्ध अभियान चलिरहेको देखिन्छ । अहिले गणतन्त्र आए सँगै यस्ता बिचारको व्यापक प्रचार हुन थालेको छ । निश्चित रूपमा कम्युनिष्ट बिचारधारामाथिको प्रहारनै हो । कम्युनिष्ट भनिएकाहरू नै भौतिकवादी बनिदिएपछि प्रहार हुनु स्वभाविक नै हो ।
अहिले बिहानी घुमघाम गर्नेहरू समेत आध्यात्मिक चपेटमा परेका छन् । आम मानिसलाई आध्यात्मिक बनाउने योजना नै भौतिकवादी बिचारधाराको बिरोध हो । यसमा स्वयम कम्युनिष्ट बिचारधाराका बताउनेहरू जानि नजानी त्यो अभियानमा सामिल भएका छन् ।
एउटा सवाल यो पनि जनमनमा देखिन्छ कि कम्युनिष्टहरू परम्परावादी हुन्छन् त ? यो बुझ्ने कसरी ?
कम्युनिष्ट नैतिकता र सामाजिक परम्पराको बारेमा बुझ्ने सरल तरिका उनीहरूले परम्परालाई मनाउने उदेश्यमा र हेर्ने दृष्ट्रीकोणमा निर्भर हुन्छ ।
एउटा देशमा अनेक परम्पराहरू हुन्छन् जसले देशलाई बिशिष्ट रूपमा छुट्याइदिन्छ । त्यस्ता परम्परालाई जोगाएर राख्नुपर्छ । यी परम्परालाई कुनै धर्म र जात सँग जोडेर हेर्नु भन्दा एउटा देशको परमपरालाई त्यही रूपमा बुझ्नु पर्दछ । कतिपय परम्परा अनावश्याक छन् भने छोड्दै जाने र समाजको हितमा परिमार्जित गर्दै जानुपर्दछ । कम्युनिष्ट भनेको सचेत बस्तुबादी राजनीतिक पार्टी हो । जसले सही र तथ्यको आधारमा आफ्नो कार्यनीति निर्धारित गर्दछ । कुनै पनि परम्परालाई मान्ने नमान्ने कति मान्ने कति परिमार्जित गर्ने त्यो उनिहरूको कार्यनीति भित्रको कुरा हो । पार्टीको हितमा वा देश र जनताको हितमा परम्परालाई लक्षित गरेर मनाउनु पर्दछ । आश्चर्य के छ भने यस्तो सोच कम्युनिष्ट भनिने पाटीहरूभित्र मर्दै गएको छ ।
खास गरी कम्युनिष्ट पार्टी भनेकै भौतिकवादी जगमा उभिएको सशक्त राजनीतिक विचार हो । भौतिकवाद भन्दा बित्तिकै आध्यात्मवाद बिरोधी शक्ती हो भनेर बुझ्नुपर्छ । भौतिक र आध्यात्मिक एक आर्काको परस्पर बिरोधी शक्तिहरू हुन् । तर परिवर्तनपछिका १८ वर्षमा भिन्नता देखिन छाड्यो ।
सामाजिक परम्परा हामीले आफ्नो गर्भै देखि अप्नाउँदै आएका छौँ । कुनैपनि धर्म जात रितिरिवाज संस्कार कसैको प्याउते भने हुँदैनन् । देशभित्र सामाजिक परम्परासँग हाम्रो आत्मिय सम्वन्ध छ ।
एउटा कम्युनिष्ट क्रान्तिकारी पार्टीले बस्तुगत अबस्थाको गहन मुल्यांकन गरेर कार्यनीति तय गर्दछ र गर्नुपर्दछ । त्यो कार्यनीतिले भावि योजनालाई फाइदा पुराउनु पर्दछ । हाम्रो समाजमा दुई प्रकारका परम्पराहरू विद्यमान छन् । पहिलो राष्ट्रिय सामाजिक परम्परा, आर्को अन्तरराष्ट्रिय परम्परा । सामाजिक परम्परा भनेको दशैँ, तिहार, तिजलगायतका बिभिन्न चाड पर्वहरू हुन । हामीहरूले गर्भै देखि मनाउँदै आएका छौँ । जसले समाज र परिवारको आत्मियताको प्रतिक वा प्रतिनिधित्व गर्दछन् ।
एउटा वुजुर्वा राजनीतिक पार्टीले मनाउने परम्परा र कम्युनिष्टहरूले मनाउने परम्पराहरू मौलिक रूपमै भिन्दाभिन्दै हुन्छन् । सर्वसाधारणलाई लाग्न सक्छ देउसीभैलो यिनीहरू पनि खेलेकै छन्, अरूपनि खेलेकै छन् । दशैं तिहार र तीज लगायतका पर्व यिनीहरूले पनि मनाएकै हुन्छन् ।
उनीहरू र यिनीहरूमा के अन्तर रह्यो ? एउटा क्रान्तिकारी पार्टीले पहिलो उदेश्य जनतालाई कु संस्कार, छाडा गीत नृत्यबाट मुक्त गर्ने र प्रगतिशील गीत नृत्य द्वारा उनीहरूलाई मनोरञ्जन र शिक्षाको साथै सचेत गराउने । आर्को संकलित रकम जनतामै खर्च गर्ने ।
भनिन्छ फलामले फलामलाई काट्छ । त्यही प्रकारले फलाम काट्नका लागि फलामको इस्तिमाल गरेको जस्तै छाडा बुर्जुवा संस्कृतको बिरूद्धमा जनवादी प्रगतिशील संस्कृतलाई बुझ्नु पर्दछ ।
आश्चर्य, २०६३ पछिका कम्युनिष्टहरू पुँजीवादी बनेका छन् । हरेक नेता राजनीतिलाई व्यापार बनाइरहेका छन् । यसकारण कम्युनिष्ट विचारमा खिया लाग्दै गएको छ । यो खियाले कहाँ पु¥याउला ? चिन्ता देखिदैन ।
अहिले राजमोले सङ्घीयताको बिरूद्धमा राजधानीमा प्रदर्शन गर्ने निर्णय गरेको छ । त्यो सङ्घीयताको बिरोधी आन्दोलनमा जनताले भैलोलाई दिएको दानले जनता र देशको हितमा सङ्घीयताको बिरोधी आन्दोलनलाई सहयोग गर्ने निर्णय गरेको छ । यसबाट दुई प्रकारका फाइदाहरू हुन्छन् पहिलो फाइदा छाडा संस्कृतिको बिरूद्धमा प्रगतिशील संस्कृती लागु गर्नु आर्को त्यसबाट उठेको रकमले सङ्घीयतालाई कम्जोर पार्नु । अथवा सङ्घीयतालाई खारेज गर्न दबाव सृजना गर्नु । जनतालाई जाग्रित गराउनु हो । नेपालमा राजमोजस्तो कम्युनिष्ट इमानमा कुनै दल छैनन् ।
आखिर सङ्घीयता हाम्रो देशमा किन चाहियो ? यसबारेमा राजमो एक्लैले पनि सङ्घीयताको प्रवेश सँगै जनजागरण गर्दै आएको छ । सुरूवातमा पनि दश दिने काठमाण्डौ केन्द्रीत आन्दोलन भएको थियो । सङ्घीयता नेपाल जस्तो सानो देशको लागि ठिक होइन यसलाई अबिलम्बन खारेज गर्नुपर्छ । यदि यो सङ्घीयता रहिरह्यो भने देश नामिट हुनसक्छ । यस्तै फजुल खर्ची संघीयताको खारेजीकै लागि पनि हुनसक्छ, संविधानको संशोधनको बहस उठेको छ ।
हाम्रो देश टुक्रा टुक्रा मिसाएर बनाउन खोजेको देश पनि होइन, कसैको ओपनिवेसिकबाट मुक्तहुन खोजेको पनि होइन । एउटा सानो देश त्यसमापनि भगौलिक रूपमा भूपरिबेष्ठित अवस्थामा रहेको देशमा नेता कार्यकर्ता पाल्ने, भ्रष्टाचार बढाउने सङ्घीयता किन चाहियो ? देशको आर्थिक र भौगौलिक अवस्थाले गर्दा पनि हाम्रो देशमा सङ्घीयता मेल खाँदैन । यसलाई छिट्टै खारेज गर्नुपर्छ । त्यसैलाई दवाब सिर्जना गर्ने उदेश्यमा राजमो लागेको छ ।
संङ्घीय संरचनालाई ध्वस्त पार्ने योजनामा राजमो नेकपा मसाल लक्षित छन् । तर आम वुजुर्वाहरू राजमोलाई साथ दिन खोजिरहेका देखिदैनन् । कम्युनिष्टहरू आमूल परिवर्तनमा बिश्वास राख्दछन । त्यसैले समाजिक परम्परालाई सुधारमा सकेसम्मको योगदान दिन खोजिरहेका हुन् । परम्पराबाट उठेको रकमबाट समाज सुधार, देश सुधार गर्नु उचित छ । तर धेरैजसो वुजुर्वा बनिसकेका कम्युनिष्टहरू आयलाई मासु रक्सी आदिमा खर्चिन्छन् । यो प्रगतिशीलता होइन । यो त पुँजीवादी रोग सल्केको हो भन्नुपर्छ ।
समाज भित्रका परम्परा भनेको सामाजिक गहनाहरू हुन्छन् । ति परम्पराहरूलाई प्रगतिशील रूपमा मनाउँदै अनावश्यक खर्चिलो नगरी समाजलाई प्रगतिशील बनाउन लागिपर्नु पर्ने हो । अन्तरराष्ट्रिय दिवसहरूलाई बढी महत्व दिनुपर्ने हो । जस्तै श्रमिक दिवस, जसले श्रमजिवि बर्गको प्रतिनिधित्व गर्दछ । हामी सबै नेपालीहरू काम सङ्ग जोडिएका हुन्छौं । श्रमिक दिवस मनाउने हाम्रो नैतिक जिम्मेवारी पनि हुन्छ । त्यसरी नै महिलाहरूको महान अन्तरराष्ट्रिय दिवस आठ मार्च जसले महिंलाहरूको त्याग बलिदानको अन्तरराष्ट्रिय स्तरमा प्रेरणा दिन्छ । यी र यस्ता दिवसहरूले समाजलाई अन्तरराष्ट्रिय स्तरमा चिनाउंदै जान्छन् । आफ्नो देशलाई, संस्कृति र परम्परालाई संसारमा चिनाउनु समयको माग पनि हो । परम्परालाई आवश्यकता अनुसार परिमार्जित गरेर समाज सुहाउँदो बनाउन जरूरी । प्रगतिशीलता कम्युनिष्टको कर्म थियो ।
कम्युनिष्टहरू आफुलाई अनुसाशन र नैतिकतामा बाँधेर चल्नुपर्छ । के कति कारणबाट यस्ता दुर्घट्नाहरू भएका छन् ।
एउटा कम्युनिष्ट क्रान्तिकारी पार्टीको लागि सबै भन्दा पहिले देश जनता र कम्युनिष्टको अनुशासन हुनुपर्छ । उनीहरूले मनाउने परम्परा र बसाल्ने नयाँ थिति बिकृति रहित हुन्छन् । यही कुराको अभाव देखिन्छ नेपाली कम्युनिष्टतन्त्रमा । कम्युनिष्टहरूले परम्परालाई देश र जनताको हितमा उपयोग गर्नुपर्ने हो तर भौतिकवादी बिचारधारामा कम्युनिष्टहरू रत्तिएका छन् । वर्तमान बैज्ञानिक युगमा पनि गलेसडेको विचारधारा जोगाउन र पुँजीवादको घोडा चढेर सत्ता, शक्ति र सम्पत्तिमा रमाउनु नेपाली कम्युनिष्ट आन्दोलन समाप्त हुने मार्ग हो भन्दा फरक पर्दैन भन्ने परिस्थिति देखिन्छ । कम्युनिष्ट भन्ने, आत्मघात रोज्ने, यो के गरेको ?