Advertisement Banner
Advertisement Banner

१२ शुक्रबार, पौष २०८१23rd July 2024, 10:09:55 am

Image

चेतना जागेन भने यो बेहोसीले बर्बाद हुनेछौं

राजन कार्की

१२ बुधबार , मंसिर २०८१एक महिना अगाडि

चेतना जागेन भने यो बेहोसीले बर्बाद हुनेछौं

पञ्चायत फालेर बहुदल आयो, जनयुद्ध भयो, बहुदलको ठाउँमा लोकतन्त्र भनियो, अनेक वि२वंश भए, रगत बग्यो, मान्छे मरे, यसरी स्थापित लोकतन्त्रमा परिवर्तनको विश्वास थियो, विश्वासघात भयो, आशा थियो निराशा छायो । भरोसा थियो, तुषारापात भयो ।
कसको कारणले ?
जनताले साथ दिएका थिए, कुनै अल्झो अथवा तगारा थिएनन् । जे निर्ण गर्न पनि नेतृत्व स्वतन्त्र थियो । शान्ति, समृद्धि, समानताका लागि जनताले गर्नुसम्म समर्थन गरेका हुन्, दिनुसम्म मत दिएका हुन् । तर कुनै नेता, कुनै पार्टीले जनमतको आदर गर्न सकेनन् । १८ वर्षपछि पनि जनताको अपमान भइरहेकै छ । लोकतन्त्र भनेको परिवारवाद, स्वार्थसिद्ध हो भन्ने मान्यता स्थापित भयो, जुन अलोकतान्त्रिक हो । अलोकतन्त्रलाई लोकतन्त्र हो भन्नेहरू नेपाली शासन र प्रशासनमा हावी भएका छन् । लोकतन्त्रजस्तो उदार र विधिमा चल्ने पद्धतिलाई बाहुबली बनाएर चलाएका छन् । काशी काश्मिर अजब नेपाल भनेको यही हो । कहीं नभएको जात्रा हाँडी गाउँमा भनेझैं लोकतन्त्रको हालत छ ।
जो शान्ति, प्रगति र सुशासन दिने जिम्मेवार थिए, तिनीहरूमा आचरण, विवेक र नैतिकता नभएका कारण देश अधोगतितिर उन्मुख छ । राजनीतिलाई व्यवसाय बनाएपछि के हुन्छ भन्ने ताजा दृष्टान्त नेपालको परिदृश्य हो । साधन, स्रोत र समयको अभाव छैन । तर पद्धति, विधि र अनुशासन कतै पनि कायम रहेन । कारण एउटै हो, सिद्धान्तमा कोही अडेनन्, नैतिकतामा कोही रहेनन् । यसकारण राष्ट्र निर्माण गर्छौं भन्नेहरू हुँडार र लुटारजस्तामात्र देखिए, नयाँ नेपाल बनाउने लक्ष्यण एकजना नेता वा पार्टीमा देखिदैन । नेता नीतिहीन भइदिए ।
यसकारण नेपालआमा बलात्कृत नारीजस्ती भएर बाँचेकी छिन् ।
०४६ पछि लखनौं लूट चल्यो, २०६३ साल पछिका हरेक नेताको अनुहार लाहुरे लाहुरे देखिन थाल्यो । किन तिनलाई जन्मेको माटोभन्दा लाहुरको बढी चिन्ता लाग्छ ? आम लाहुरेले जन्मेको माटो, सन्तान, माया बिर्सिएनन् । राजनीतिक लाहुरेहरू त स्वदेशलाई भन्दा लाहुरको बढी चिन्ता गर्छन् । यसकारण त यिनलाई चुच्चे नक्सा दुख्दैन, नेपाली माटो सस्तो लाग्छ, नेपालीपनमा भन्दा बढी विदेशी स्वार्थमा लुटपुटिन रमाइलो लाग्छ । नेपाल नेपाल कम, हाइटी हुँदै गएको छ । असफलताको भीरमा पुगेको छ ।
यी लोकतन्त्र सफल भयो भन्छन्, लोक विदेशीन बाध्य छन्, मान्छे बेचेर लोकतन्त्र सफल भयो भन्नेहरू गजडी हाँसो हाँसिरहेका छन् । लोकतन्त्र होइन, नेताको परिवारतन्त्र सफल छ ।
१२ बुँदे दिल्ली सम्झौतापछि नेपाल कहाँ थियो, कहाँ पुग्यो ? अझै पनि राजनीतिक नेताहरूले बहस नगर्ने ? पहिले सिपाहीहरू लाहुर जान्थे, पछि रोजगारी खोज्दै लाहुर जान थालियो । लोकतन्त्र आएपछि त खाडीदेखि ९२ मुलुकमा नेपाली लाहुरेहरू भेटिन्छन् । अवसरको खोजी, गाँसवासको बन्दोवस्त गर्दै लाहुर जाने भीड हरेक दिन एयरपोर्टमा देख्न सकिन्छ । लुकेर लुकाएर लाने मान्छेका व्यापारीहरू मान्छे बेचिरहेकै छन् । नेपाल मान्छे बेचिने बजार बन्यो । नेपाल लाहुरे उत्पादन गर्ने देश बन्यो । लाहुरे लोकतन्त्र उल्टोबाटो हिँडेर असफल राष्ट्र हाइटी पुग्नै लागेको छ ।
राजनीति शिवरात्रिमा भारतबाट आउने नागाबाबाजस्तो देखिन्छ । लज्जा पनि लज्जित हुनेगरी लोकका नेता कति नाङ्गिन सकेका ? जय नेपाल, लाल सलाम भन्नेहरूले लगौंटी पनि बाँकी राखेनन् । सहारा र सल्लाहका लागि वर्षको चालिसचोटी दिल्ली वा लैनचौरदेखि वाशिङ्टनमा छलाङ्ग लगाउनेहरूले घुमाएर कान समाएको शैलीमा अव ‘जय हिन्द’ ‘यस सर’ नै भन्न थाले । लाग्छ, लोकतन्त्रवादी नामधारीहरूले अरू केही जानेकै छैनन् । यिनको लोकतन्त्र एक्सप्रेसको गति–मतिको बेगले नेपालीत्व सखाप हुँदैछ । गौरवपूर्ण नेपाल हाइटीजस्तो असफल राष्ट्र बन्दैछ । भारत र चीनको वीचमा महत्वका साथ रहेको नेपाललाई विश्वका कुनै मुलुकले पनि महत्व दिन छाडेका छन् । नेपालले महत्व गुमाएको छ ।
जनयुद्ध गरून् कि जनआन्दोलन, लोकतन्त्र भनुन् कि समाजवाद, यिनले कहिले विश्लेषण गरेनन्, नेपालको खास समस्या र समाधान के हो ? यिनलाई जहिले पनि स्वार्थको लुते धन्दाले पिरोलिरह्यो । त्यसैले त यिनले बनाएको संविधान यतिबेला न्याय नपाए गोर्खा जानु भन्ने राम शाहको नामकै रामशाहपथमा बलात्कृत भइरहेको छ ।्
स्वीट्जरलैण्डको प्रतिव्यक्ति आय ३० हजार डलर छ, सिंगापुरको २५ हजार । स्वीट्जरलैण्ड र सिंगापुरजस्तै साधन स्रोत सम्पन्न देश नेपालीको प्रतिव्यक्ति आय ३ सय पनि छैन । ६० प्रतिशत जनता एकछाक भोकै बस्छन् भन्दा नेताहरूलाई हीनताबोध हुँदैन । हिजो कृषि प्रधान देश थियो, अहिले नेपालले ७० अर्बको चामल आयात गर्छ । त्यसपछि हरियो बन नेपालको धन भनियो । वन फाँडेर कार्यकर्ता राखिएको छ । राजनीति र कुशासनको भ्रष्टाचारले कृषि र बन धरासायी भएपछि प्रकृति र पर्यटनलाई नेपालका लागि बरदानको आधार मानियो । जनयुध्द र अस्थिरताको प्रहारले राष्ट्र छिया–छिया भएपछि जलस्रोतलाई सेतो सुन भनिदैछ । त्यो पनि विदेशीले झोलामा खोला हालेर हिडेको देख्दा नेपालका शासकहरू लजाउँदैनन् ।
यो सेतो सुनबत्ती नेपालीले १२ रूपैयाँ युनिटमा बाल्छन्, आधामूल्यमा भारत, बंगलादेश निकासी हुनथालेको छ । यो कस्तो विकास हो ? यसअघि नेपालले लोडसेडिङ हटाउन भारतबाट प्रतियुनिट १० मा खरिद गरेको थियो । किन्दा प्रतियुनिट १०, बेच्दा ६ । यति ठूलो शोषण ? नेपाल किन यसरी भारतका सामु चाउरिन पुगेको ? स्वाभिमान भन्ने  कुनै नेतामा छैन । यसरी निकासी गर्नुभन्दा नेपालकै कर्णालीलगायतको माग पूर्ति गर्नसकेको भए विकास पनि हुनेथियो, रोजगारी पनि बढ्ने थियो, उज्यालो हुनेथियो ।
२००८ सालमा कोसी, २०१६ सालमा गण्डकी, २०५१ सालमा महाकाली, २०५२ सालमा मेची र २०६३ सालपछि कर्णाली र सेतीजस्ता ठूला–ठूला नदीनालामा भारतको हैकम स्थापित गर्नपुग्यौं । भूपू प्रधानमन्त्री डा.बाबुराम भट्टराई भन्छन्– बुढी गण्डकीमा ओली, प्रचण्ड र माधव नेपालले ३ अर्वका दरले घूस खाए, प्रमाण मसँग छ । प्रमाणित नभए झुण्डिएर मर्छु । तर कुनै कानुनले तिनलाई छुँदैन । कहाँ छ जवाफदेहीता ? नियामक संवैधानिक निकायहरू छन्, प्रधानमन्त्री भइसकेको व्यक्ति प्रमाण छ भन्छ, कसैले प्रमाण माग्दैन, कारवाही गर्न अघि सर्दैन, नेपालको लोकतन्त्र उजाड मरूभूमिभन्दा गएगुज्रेको प्रमाण हो यो ।
जलस्रोतमा ब्राजिलपछि विश्वको दोस्रो धनी देश नेपाल भारतबाट विद्युत आयात गरेर लोडसेडिङ् घटाउने बाध्यतामा थियो, बिस्तारै उत्पादन हुनथालेको छ । लोडसेडिङ हटेको छ । भारतलाई ३ रूपियाँमा जल बेचेर १० रूपियाँ युनिटमा जलशक्ति खरिद गर्ने र आधा दाममा विद्युत बेच्ने निर्णयमा पुग्नु नेपाली नेतृत्व क्षमताको उपहास थियो, अहिले त्यही उपहास दोहोरिएको छ । कहिल्यै उपनिबेश बन्नु नपरेको नेपाल ‘बहादुर’ ‘कान्छा’बाट ‘आतंककारी’, ‘गार्ड’ र ‘कमारो’ ‘दास’ बन्दै ‘युवा निर्यात गरेर, बेचेर रेमिटान्स अर्थतन्त्र’को हाइटी स्तरमा झरिसकेको छ । हाइटी भनेको त्यो देश हो, जहाँका जनताले दुभालियरजस्ता भ्रष्ट नेता र उनका आज्ञाकारी प्रशासकहरूलाई शोषण गर्न र निरङ्कूशतन्त्र चलाउने मौन छुट दिएका छन् । त्यो हाइटी र यो नेपालमा आखिर फरक नै के बाँकी छ र ?
विधि मिचिएको हाइटी र विधिको नाममा निरंकूशता चलेको नेपाल ।
लोकतान्त्रिक गणतन्त्र नेपाल टिनको पातामा लेखेको साइनबोर्डभन्दा बढी केही रहेन । हिजो इमान र योग्यताको कदर भएन, आज पनि बेइमानहरूको रजगज चलिरहेको छ । चरित्रहीनताभन्दा डरलाग्दो केही नहुने रहेछ । ९३ प्रतिशत बिपन्न, कमैया, कमलरी, सुकुम्बासी, बेरोजगार, असहायहरूलाई सपनाको व्यापार गर्ने सस्तो लोकतान्त्रिक बजार हो नेपाल । यहाँ सपना बेचेर कानुनको घोडा चढ्न सकिन्छ । सत्ता र शक्तिमा बुर्कुसी मार्न सकिन्छ । जयप्रकाश मल्लले वर्षको एकपल्ट गाईजात्रा देखाएर शोकमा परेकी महारानीलाई मनोरञ्जन दिने गर्थे, हाम्रा नेताहरूले बाह्रैमास गाईजात्रा देखाइरहेका छन् । हामी गाईजात्रे, हाम्रो देश गाईजात्रे, लोकतन्त्र– अर्को गाइजात्रा हो । मध्ययुगीन तमासाहरू एकपछि अर्को देखिदैछन् । मान्छेले मान्छेको अपमान गर्नु सामान्य हुनथालेको छ । ज्यानमारा संस्कार बढ्नु भनेको जंगलराज हो ।
स्कुल, कलेज, विश्वविद्यालय पार्टीका कार्यकर्ता उत्पादन गर्ने कारखाना बनेका छन् । जनता मतदान गर्ने मेसिनजस्ता लाग्छन् । नेता तिनै जनबल र जनमत दिने जनताको रगत पिउने जुका बनेका छन् । नेताको काम मात्र जनताको शोषण गर्नु हो । बिदेशी शक्तिले उभ्याइएका यी बुख्याँचाहरू जनतालाई तर्साउछन् र आफू अनुकूलतालाई लोकतन्त्र भन्ने विश्वास राख्छन् । नीति, निष्ठा र नैतिकताको कुनै अर्थ छैन । हरेक विषयमा बिमति राख्ने, आरोप प्रत्यारोपको महाभारत खडा गर्ने अनि सत्ताको भागबण्डा मिलाएर मौनता साध्नु यिनको लोकतन्त्र हो । यही कारण जिम्मेवार वा जवाफदेही कोही छैनन् । राष्ट्र नैतिकहीनताको खाडलमा जाकिदै गएको छ । लोकतन्त्र हात्ती हो कि हात्तीछापे चप्पल ? भन्न सकिन्न ।
समस्या योग्यताको कदर छैन । राम्रो कामा गर्नेलाई पुरस्कार र खराव आचरण देखाउनलाई दण्डविधि छैन । संविधानको पालना कोही गर्दैन । सबैलाई आआफ्नो स्वार्थ प्यारो छ । जहाँ स्वार्थ बलवान हुन्छ, त्यहाँ लोकतन्त्र मर्छ ।
नेपालमा लोकतन्त्रको लाशमात्र बाँकी छ । त्यही लाश बोकेर लोकतन्त्रको झ्याली पिटिरहेछन् दलहरू ।
जनताले खोजेकै हुन् परिवर्तन भने लौ त भनेर राजा ज्ञानेन्द्रले राजपाठ छाडिदिए । जालीहरूले जाल गरे, जनताको खोज र राजाको सोच पुरा भएन । महाभारतका दृष्टिहीन राजा र लोकतन्त्रका विवेकहीन नेताहरूमा भिन्नता देखिन छाडेको छ । यति हुँदा पनि सुकुलगुण्डाहरूमा चेत पलाएको छैन । नकचरोको ओखती हुन्न भनेको यही हो । लोकतन्त्रको जप गर्ने नेताहरू लोकतन्त्रमा हुनैपर्ने विधिलाई कुल्चेर लोकतन्त्र भनिरहेका छन् । लोकतान्त्रिक  बिधि पद्धति बिनष्ट भइसक्यो ।
सार्वभौमिक पहिचानको कुरा गर्ने हो भने भेटिकनदेखि भुटानसम्म, बंगलादेशदेखि बर्मासम्म विश्वसमुदायमा समान छन् । नेपालमात्र छिमेकी र विश्वशक्तिको सामु मुखले बोल्न सक्दैन, नाकले सुघ्छ र पुच्छर हल्लाईरहन्छ । अब बेइजिङ, वाशिङ्टन र रूस पनि शक्ति र सामलका साथ नेपालमा प्रभावकारी रूपमा छिरेपछि नेपालको राजनीति अन्यौलमा धकेलिएको छ । भूराजनीतिक चक्कल बढेको छ । यो अन्यौलको अँध्यारोमा टुकी बाल्ने परराष्ट्रनीतिले हो । यो नीति हाँक्ने अब्बल पात्रहरू पछाडि परेका छन् । अगाडि जो छन्, मौसमअनुसारको ट्यूनिक लगाउनेहरूमात्र देखिन्छन् । नेपाल नीतिहीन अवस्थातिर उन्मुख छ । अर्थात आत्मशक्ति गुमाएर घ्राणशक्तिमा पुगेको छ नेपाल । जब राजनीति व्यवसाय बन्छ, काला व्यापारीहरूले टाउको उठाउँछन् । पार्टीहरू अपराधीलाई चोख्याउने चोखो तीर्थस्थल बन्छ, भ्रष्टहरूको सेटिङ्मा चल्छ, देश महिनौं फोहर नउठाएको महानगरको कन्टेनर बन्नु स्वभाविक हो । यस्तो फोहरी राजनीतिमा भाइरस नजन्मे के जन्मिन्छ ? लोकतन्त्र कता हो कता ?
नेपाली लोकतान्त्रिक राजनीतिक परिदृश्य यस्तै छ । यस्तै हो ।
यथार्थ कुरो के हो भने, जनतासँग डराउनेहरू तानाशाह बन्दैनन् । जनतालाई भयाक्रान्त पारेर सर्बसत्तावाद चलाएकाले लोकतन्त्रले गरिमा र महिमा गुमायो । सच्चिने र सच्याउने काम चेतनाले गर्ने हो । नेता र जनता दुबैतिर त्यो चेतना जाग्नुपर्छ । जागेन, जगाउन सकिएन भने असफल भइसकेको यो पद्धति र नेतृत्व धेरै दिन चल्नेछैन ।