देश नबन्नु भनेको राजनीतिको असफलता र प्रशासनको असक्षमताले हो । समृद्ध नेपाल, सुखी नेपाली भनेर धेरै झ्याली पिटियो, न नेपाल समृद्ध बन्यो, न नेपाली सुखी ?
यसकारण प्रश्न उठ्यो– नेता र प्रशासकको विवेक किन घाँस चर्न गयो ? विवेकशील बनेका भए आफ्ना कर्मको आफैले विवेचना गर्दा हुन्, कहाँ कहाँ चुक भयो ? सच्याउँदा हुन्, सही मार्गमा लाग्नेथिए, लागेनन् । अझै पनि नेतृत्व उही बाइफाले चालमा छ, प्रशासनलाई अति राजनीतिकरण गरेर अपराधिकरणतिर उन्मुख पारिरहेका छन् ।
गल्तीमाथि गल्ती गर्ने राजनीति नसुध्रिदा, राजनीतिले भ्रष्टाचारलाई सदाचार बनाइरहँदा देशको यो बेहाल हुनपुगेको हो, जनताले दुःख पाएका हुन् । यथार्थ यही हो, नेता र प्रशासकको विवेक किन घाँस चर्न गयो ?
कहिले माओवादी, कहिले कांग्रेस, कहिले एमाले र ससाना पार्टी पनि सत्तामा पुगे । तर तिनले कात्रोमा खल्ती हुँदैन भन्ने बिर्सिए । शासक प्रशासक जुका नियतिका बनिदिनाले धमिलोपन बढ्यो, अन्यौल बाक्लियो । चाँदीको घेरा समेत देखिएन । शासक प्रशासक कस्तो कालोबादलजस्ता हुन्, नेपालीका भाग्य र भविष्यमा मृत्युका डरलादा छायाँ देखिन थालेका छन् । सुनमा कली बस्छ भन्थे, सत्तामा कली बसेछ ।
गिदी टाउकामा हुन्छ । राजनीतिमा सयौं जिब्रा छन्, टाउका छैनन् । अरूले हल्लाए हल्लिने, अरूले नचलाए नचल्ने ठिमीले किसानले खेतबारीमा गाडेको बुख्याँचाजस्तो । राजनीति र प्रशासन मुर्कट्टाजस्तो छ । टाउको नभएपछि विवेक हुँदैन । विवेक नभएपछि न्याय मर्नेरहेछ, लोकतन्त्र मूर्दा बन्ने रहेछ । संविधान छ, बोलीमा लोकनीति पनि छ तर व्यवहार उल्टो । उदारता शून्य, ईषालु र विषालु ।
राजनीति पिचासजस्तो देखिन्छ । धोका खाएका प्रेमीका, अनाहकमा मारिएका छोरी बुहारी, जबरजस्ती मारिएका व्यक्तिहरू, अस्वभाविक मृत्यु भएकाको भड्किएको आत्मा कतै ठाउँ नपाएपछि वायु बन्छन् र परिवारलाई पिराइरहन्छन् । यसकारण नेपालको राजनीतिमा प्राण कम पिचास बढी छन् । देश र जनतालाई पिरीरहेछन् । सदावहार राजनीति र प्रशासनले, कहिले कहिले प्राकृतिक प्रकोपले पिरोल्छ । राजनीतिले सदैव देश र जनता चपाइरहेछन् ।
अकालमा मरेका, मारिएका, शोषणमा परेर आत्महत्या गर्न बाध्य भएकाहरूको पीरको भारी देशमाथि छ । तर राजनीति र प्रशासन पीरमाथि पीर थपिरहेछ । आधुनिक विज्ञान अन्धविश्वास भन्ला, तथापि विज्ञान नै भन्छ– वेद र साङ्ख्यदर्शनका कारण आविष्कारहरू सम्भव भएका हुन् । आधुनिकताका प्रणेताहरू स्वस्थानीमा पिएचडी उपाधि दिन्छन्, हिन्दुधर्म ग्रन्थलाई पाठ्यक्रममा राख्छन् र अध्यापन गराइरहेका छन् । यहाँसम्म कि अष्ट्रिया, जर्मनमा त भूत पिचास, तन्त्रमन्त्र र बोक्सी विद्यासमेतलाई कानुनी मान्यता छ । नेपाल त त्यसै पनि तन्त्रमन्त्रको देश, मन्दिरै मन्दिरको देशमा हरेक मन्दिरका गर्भगृहदेखि टुँडालसम्म तन्त्र नै तन्त्र व्याप्त छ । अनेक मन्दिर, पशुपतिनाथको नित्यपूजासमेत तन्त्रमन्त्रबाट हुन्छ । विदेशीहरू नेपालका तन्त्रमन्त्र विद्याबारे अनुसन्धान गरिरहेका छन् । कोभिड १९ को प्रकोपले थिलथिलो पारेको अमेरिकामा राष्ट्रपति निवासमा हिन्दुशास्त्रका मन्त्रहरू पढियो, पूजाआजा, होम र गायत्री मन्त्र जप धेरै ठाउँमा भयो । अविश्वासभित्र विश्वास छ । हामी पूर्वीय दर्शनभित्रको रहस्य गुमाउँदै छौं । नेपालमा अन्धविश्वासका नाममा तन्त्रमन्त्रलाई बिनष्ट पारिदैछ । कति विश्वास गर्ने, कति नगर्ने, कति आधुनिकता अपनाउने भन्ने विषयसमेत बहसमा छैन, बसह गरिदिैन । विदेशी प्रभाव र दबाब यति धेरै बढेको छ कि धर्म, संस्कृति, परम्परालाई समेत समाप्त पार्ने षडयन्त्र भइरहेको छ ।
यो कालखण्डमा मुख्य सवाल नेपालको वर्तमान र भविष्यको हो । राजनीतिले किन दिगो शान्ति र अग्रगामी समृद्धिको कोर्स लिन सकेन ? असफल राष्ट्रमा हुने लक्ष्यणहरू बढ्दै गएका छन् ? नेपाललाई लागेको महारोग हो– नातावाद, चरित्रहीनता, बेइमानी, जावफदेही नहुनु र र भ्रष्टाचार । भ्रष्टाचार र अनियमितताको बाढी र पहिरो रोकिने छाँट देखिदैन । कारण– राजनीति अपराधकरण भइसक्यो । नेता नैतिकहीन भएपछि शासन विधिमा चल्ने छाँट छैन । जबसम्म विधिमा शासन प्रशासन चल्दैन, केही बन्दैन ।
समयले सुधार्ला, आशा गरौं । किनकि समयभन्दा बलवान कोही छैन । समयले धेरै अमानवीयलाई मानवीय हुन बाध्य पारेको इतिहास छ ।
सत्य हो, ०४६ सालपछि जो जो सत्तामा पुगे, आनन्दले रजगजमात्र गरे । हरेक नेता देशघातक त कोही जनघातक बनेर बदनाम भए । लोकतन्त्रमा पनि तिनै नेता छन् र अझै बदनाम छन् । जनविश्वास गुमाएका छन् । जनताले दण्डित गर्न र सुधार्न नसक्नु जनताको कमजारी हो । तर अफगानिस्तान, श्रीलंका, बंगलादेशमा जे देखियो, पछिल्लोपल्ट भारतमै मोदीको जे हालत छ, त्यसबाट आशा गर्न सकिन्छ, परिवर्तनको हावासँगै नेपाली जनता चलनेछन्, शासनपद्धति सुधार्ने छन् । विधियुक्त परिवर्तन स्थापित गर्नेछन् ।
भ्रष्टाचारको आरोपमा इन्डोनेसियाका मोहमद सुहार्तो, फिलिपिन्सका फर्डिनान्ड मार्कोस तथा जोसेफ इस्ट्राडा, सर्बियाका स्लोबोदान मिलोसेभिक, पेरूका अल्बर्टो फुजीमोरी, नाइजिरियाका सनी अबाचा, हाइटीका जाँ–क्लाउड दुभालियर, निकारागुवाका अर्नोल्डो अलेमान र उक्रेनका पाब्लो लाजेरेन्को, श्रीलंकाका राजापाक्षलाई जसरी दण्डित गरियो, उदाहरण अनेकछन्, नेपालका भ्रष्ट, जनविरोधीलाई नेपालीले दण्डित गर्नेछन् ।
नेपालमा भ्रष्टाचार मौलायो, नीति म¥यो, नैतिकता रहेन, लोकलज्जा कुनै नेतामा रहेन । यसो भन्दैमा सधैं यो अवस्था रहँदैन, परिवर्तन त आउँछ आउँछ । परिवर्तन समयले ल्याउँछ ल्याउँछ । यो जे खायो पचायो अवस्था रहिरहने छैन ।
जनताको माँगअनुसार लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको नक्सा जारी भयो । नक्सा जारीभएपछि नोटमा छापिनु ठूलो कुरा होइन । चीनमै नोट छापिनु भनेको ठेक्का बोलकबोलमा हो । यो पनि मुद्दा होइन । खास मुद्दा त, नेपालले उत्तर दक्षिण दुबैतिर समदूरीको सिद्धान्तमा अड्न सक्नु हो । असंलग्न हुनैपर्छ । प्रमले पहिले दिल्ली भ्रमण गर्न खोजेकै हो, दिल्लीले बेवास्ता गरेपछि चीन जानुपर्ने भएको हो ।
प्रम केपी ओली चीन जाँदैछन् । चीन पुगेर झापामा औद्योगिक पार्क र चीनले अनुदानमा रेल बनाइदिने सम्झौता हुनसक्यो भने ठूलो उपलब्धि हुनेछ । अझ चीनले नेपालले माग गरेअनुसार पोखरा एयरापोर्टको ऋणभार अनुदानमा रूपान्तरित गरिदिए यो भ्रमणको सार त्यही हुनेछ । हेरौं, यो गठबन्धन सरकारको हिम्मत, हैसियत, ल्याकत कति छ ? चीन भ्रमणपछि मापन हुने नै छ ।
जबदेखि संविधानमा चुच्चेनक्सा समावेश गरियो, त्यसबेलादेखि भारतले नेपाल चीनतिर ढल्केको आरोपमात्र लगाइरहेको छैन, नेपाल चीनको आदेशमा चलन थालेको आरोप पनि लगाइरहेको छ । यो अतिशयोक्तिपूर्ण कुप्रचार हो । यसबाट पनि थाहा हुन्छ– भारत नेपाललाई ठेगान लगाउने र लिपुलेक, कालापानी पचाउने दाउमा छ । यही कारण भारतबाट धम्की आइरहेको छ– तिब्बत, पाकिस्तानजस्तो बन्ने कि भारतसँगकोे विशेष सम्बन्धमा बस्ने ? कांग्रेस एमाले गठबन्धन सरकार प्रमुखको चीन भ्रमणबाट नेपालको स्वतन्त्र अस्तित्व मजबुत पार्ने जग हाल्नुपर्नेछ ।
नेपालले अमेरिकामा ट्रम्पको जीत र रूस तथा भारतसँगको ट्रम्पका नीतिका कारण नेपालले धेरै लाभ लिनसक्ने वातावरण पनि बनाउनु पर्छ । यसका लागि विज्ञ, विशेषज्ञसँग नेपाल सरकारले छलफल गरे उचित मार्ग निस्कनेछ । त्यसै पनि एमसीसीका कारण अमेरिका नेपालप्रति बढी नै चासो राखिरहेको छ । खतरामात्र देख्ने होइन, अवसर बनाउनुपर्छ ।
१८ वर्षसम्म जे भयो, त्यो सत्ता खोसाखोसमात्र भयो । जनताका अपेक्षा संवोधन गर्ने प्रयास नै भएन । आफ्ना प्रतिबद्धता पूरा गर्ने कार्य पनि भएन । जनताको आँखामा छारो हालेर सधैं झुक्याउन सकिदैन भन्ने हेक्का शासकहरूले राखेनन् । यी शासक प्रशासकहरू किन बुझ्दैनन्– कात्रोमा खल्ती हुँदैन । मरे कीर्तिमात्र रहन्छ ।
राजनीतिको लथालिङ्गे चाला देखेर बुझकीहरू भन्छन्– धुन्धुकारीजस्तो छोरो नभएकै जाति । अर्थात् लोकतन्त्र लोकका लागि अभिषाप भयो । अमेरिकाभन्दा पनि जेठो मुलुक हो नेपाल । १८ जेठो मुलुकहरूमध्येको स्वाधीन मुलुक हो । पुर्षाले देश बनाएर गए, वर्तमान पुस्ताका नेताहरूले यहाँ सत्ता र सम्पत्तिका लागि सधैँ महाजाल, महाभारत, महासङ्ग्राम चलाइरहे । समृद्धमार्ग होइन, पतनमार्ग नेतृत्वको नीति राजनीति बन्यो ।
खुब भनेका थिए कुनै विद्वान्ले– नेपालमा राजनीति गर्न बुद्धि, विवेक र नैतिकता चाहिंदैन । मै जान्ने, मै ठूलो, म नै राज्य हुँ भन्ने अहं राखेर अपराधीसँग लसपस गरे पुग्छ । आचरण त्यागे पुग्छ । अर्थात् लोकतन्त्र असफल हुनु र समाज परिवर्तन नहुनुको मुख्य कारण नेताको कुआचरण हो ।
इतिहासमा एउटा घटना छ– नेपोलियन बोनापार्टको सभामा निम्त्याइएका अनेक विधाका व्यक्तिमध्ये एक चित्रकार पनि थिए । चित्रकार अलि पुराना लुगा लगाएर गएकाले नेपोलियनले उनको स्वागत गरेनन् । सभा सकियो, सबै फिर्ता जानलाग्दा ती चित्रकार पनि उठेर हिड्न लागे । अनि नेपोलियनले ती चित्रकार सामु गएर हात मिलाए, ढोकासम्म पु¥याउन पनि गए । चित्रकार चकित प¥यो, अरू अतिथिहरू पनि आश्चर्य मानेर हेर्दै थिए । नेपोलियनले सबैलाई सुनाएर भने– जो कार्यक्रममा आउँछन्, आउँदा तिनको परिधान, राम्रो लुगालाई स्वागत गरिन्छ । जाने बेलामा जुन आदर गरिन्छ, त्यो व्यक्तिको गुणलाई हेरेर गरिन्छ । यत्ति लेखिसकेपछि लेख्न बाँकी एउटै कुरा छ– ०३६, ०४६, ०६३ सालपछि यति ठूला ठूला परिवर्तन भए, जनताले परिवर्तनको अनुभूत नै गर्न पाएनन् । परिवर्तन नेता, प्रशासकका लागि पञ्चदेवलको निशुल्क पाइने हण्डी बन्यो, जो यिनीहरू अद्यापि खाइरहेछन् ।
मरेपछि रहने कीर्ति हो, नाम, कुनाम हो । नेता र प्रशासकको विवेक किन घाँस चर्न गयो ? यिनमा विवेक भन्ने किन जागृत हुनसकेन ? अचम्म छ ।