Advertisement Banner
Advertisement Banner

०६ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

युवा पलायन न्यून गर्ने शूत्र

०४ मंगलबार , मंसिर २०८१२ दिन अगाडि

युवा पलायन न्यून गर्ने शूत्र

भरत गौतम -  -  -
मुस्ताङमा भारतः भारतीय दूतावासले मुस्ताङी थेग्चेन लिङ गुम्बामा आवास गृह र भोजन गृह निर्माण गरी धार्मिक शिद्दज्ञद्दाका लागि साँढे चार करोड बजेट दिएको छ । यसको सम्झौता गुम्वा र दूतावासवीच सम्झौता भएको छ । नेपालमा सिधै भारतले आर्थिक अनुदान दिन्छ, अर्थ मन्त्रालय हेरिरहन्छ, नेपाल सरकार कहाँ 
छ ? नेपालमा भारतीय दूतावासको प्रशासन सक्रिय हुनु उचित कि अनुचित के हो? मुस्ताङमा सरकारलाई थाहै रहेनछ, भारतीय दूतावासलाई पो कण्ठ रहेछ ।
युवा पलायन न्यून गर्ने सूत्र
आर्थिक अवसर बढी हुने ठाउँमा मानिसको आकर्षण बढ्दो छ । अर्थतन्त्र बलियो भएका देश अरू देशका काबिल जनशक्ति भित्र्याउन विभिन्न अवसरबाट प्रभावित गराउँछन् । विकसित देशले सक्षम जनशक्ति तान्ने सिद्धान्त ब्रेन ड्रेनले गर्दा अन्य देशमा श्रम व्यवस्थापनमा समस्या देखिएको छ । सबल अर्थव्यवस्था हुन नसकेका देशले सक्षम जनशक्तिलाई स्वदेशमै टिकाउन हम्मेहम्मे परेको छ । सक्षम बाहिरिँदा दक्ष जनशक्ति अभावमा समग्र क्षेत्रमा समस्या देखिन सक्ने अनुमान गर्न थालिएको छ ।
नेपालमा पनि दक्ष जनशक्ति स्वदेशमा टिकाउन सकिएको छैन  । अन्य क्षमताका जनशक्ति पनि स्वदेशको अवसर नदेखेको अवस्था छ । गाउँबाट सहरमा बसाइँसराइ गर्ने सहरबाट विदेश जान सक्रिय हुने प्रवृत्ति बढ्दो रहेकाले जनसङ्ख्या व्यवस्थापनमा चुनौती बढ्दै गएका छन्  । राज्यले विकासको सञ्जाल गाउँसम्म लैजाँदै छ तर गाउँका घर रित्तिँदै गएका छन्  । अर्को सकारात्मक पक्ष विप्रेषणको प्रभाव अनुकूल हुँदै गएको देखिन्छ । स्वदेशमा काम गर्ने जनशक्तिको अभाव हुने अवस्था एकातिर छ भने अर्कोतिर स्थानीय समाजिक र संस्कारगत कर्ममा समेत समस्या देखिएका छन्  । अहिलेको बिदेसिने दरलाई कम गर्न सकिएन भने सामाजिक र आर्थिक पक्ष कमजोर हुने अनुमान गर्न थालिएको छ । 
राज्य तहबाट स्वदेशमै श्रम व्यवस्थापन अनुकूल बनाउने सोचको स्पष्टता देखिएको छैन । नेपाली अवसर भएका देशमा पुगिसकेका र धेरै जनशक्ति धकेल्ने सिद्धान्तबाट बिदेसिएकाले त्यस्ता जनशक्तिको नकारात्मक पाटो बढी छ । विदेश मोह बढ्दै गएको र रोकथाम गर्ने गर्न नसकिएको अवस्थाको विषय र विदेश मोह हुनुका कारण तथा समाधानका उपायका बारेमा चर्चा गर्न खोजिएको छ ।
अवसरको खोजी 
विश्वव्यापीकरणको अवसर व्यक्तिले पनि पाउनु पर्छ । विश्वव्यापीकरणको सिद्धान्तले सीमारहित उच्च स्तरको अवसर र सेवालाई इङ्गित गर्छ । मानिसले आफ्नो ज्ञान र क्षमताको अवसर उपयोग गर्न स्वदेश मात्र प्रयाप्त हुँदैन । अहिलेको विश्वले अब्बल ज्ञान उपयोगको अवसरका लागि ढोका खुला गरेको छ । प्रविधिको उपयोग गरी संसारभरिको अवसरको सूचना प्राप्त गर्न र आफूलाई प्रतिस्पर्धामा उतार्न पाउने भएकाले जन्मभूमि बाहिर कर्म गर्न सजिलो भएकाले विदेश मोह बढ्दै गएको हो । 
स्वदेशमै श्रम उपयोग हुन सक्ने बनाउन व्यावसायिक वातावरण बनाई रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिन आवश्यक छ । राज्यको आर्थिक सम्भावना भएका क्षेत्र पर्यटन, जलस्रोत, सूचना प्रविधि, वन तथा कृषि, खानीका क्षेत्रमा व्यावसायिकमैत्री वातावरण बनाई मानव स्रोतको उपयोगमा ध्यान दिन रणनीतिक योजनासहित अघि बढ्नु पर्ने देखिन्छ । प्राकृतिकस्रोत, प्रविधि र मानवस्रोतबिच सकारात्मक वातावरणबाट स्वदेशमै व्यवसाय र रोजगारी गर्न सक्ने अनुकूल अवस्था सिर्जना गर्न सार्वजनिक र निजी क्षेत्र लाग्नु पर्ने हुन्छ  । 
स्वदेशभित्रको सम्भावना
राज्यको राजनीतिक, आर्थिक र समाजिक संरचना र अवसरको सम्भावना बिचमा कस्तो संयोग छ त्यसले पनि युवा पुस्तामा प्रभाव पार्दो रहेछ । नेपालमा प्रत्येक वर्ष थप चार लाख जनशक्ति काम गर्न योग्य देखिएका छन् तर राज्यले एक लाख जनशक्ति मात्र उपयोग हुन सक्ने अवस्था छ । अरू जनशक्ति मौसमी रोजगारी वा अर्धरोजगार हुने र बेरोजगार बन्ने प्रवृत्ति छ । हाम्रो मुख्य सम्भावना पर्यटन, ऊर्जा, कृषि, खानी र सूचना प्रविधिलगायतका क्षेत्रमा यथेष्ट रोजगारी सिर्जना गर्न सकिएको छैन । निजी क्षेत्रको रोजगारीमा सबैको पहुँच नभएको भनाइ छ  । रोजगारीको माग पक्षभन्दा आपूर्ति पक्ष बढी भएकाले ज्याला जीवन निर्वाहका लागि पर्याप्त छैन । यस्तो अवस्थामा विदेशमा रोजगारीका लागि जानुपर्ने बाध्यता नै छ । 
अवसरको बढोत्तरी गर्ने विषयले स्वदेशभित्रको सम्भावना प्रस्ट्याएको 
छ  । सार्वजनिक क्षेत्रको कार्य कुशलता र निजी क्षेत्रको लगानीमा उत्साहले स्वदेशको सम्भावनाको बढोत्तरी गर्छ  । विदेशी लगानी र प्रविधिको उपयोग गर्न राज्यले प्रभावकारी कदम चाल्नु पर्ने र स्वदेशको अवसरलाई बढाई मानवस्रोत उपयोग गर्न सके बिदेसिनु पर्ने दबाब कम हुँदै जान सक्छ  । 
शिक्षा प्रणालीको प्रभावकारिता 
युवा जनशक्तिलाई रोजगारी गर्न सक्ने बनाउन शिक्षामा लगानी गर्नु पर्ने हुन्छ । शिक्षाले राजगारीका अवसर केन्द्रित सिप र ज्ञान दिनु पर्छ । हाम्रो शिक्षा प्रणाली नवपर्वतनीय ज्ञान र श्रम बजार पे्ररित हुन सकेको छैन । शिक्षा प्रणाली गरिखाने जनशक्ति उत्पादनमा चुकेको छ । सिपमूलक व्यावसायिक तालिम पनि प्रभावकारी हुन सकेको 
छैन  । विश्वविद्यालय खुल्ने क्रम जारी छ । शिक्षा प्रणालीमा कहाँ कमजोरी छ र सुधार गर्न के गर्नुपर्छ भन्नेतर्फ ध्यान जान सकेको देखिँदैन । उच्च शिक्षा पढेका धेरै जनशक्ति बेरोजगार छन् । सिप र ज्ञानलाई बजारमा बेच्न नसक्दा विदेशमा जानु परेको छ  । केही काबिल जनशक्ति भने विश्व बजारमा तान्ने सिद्धान्तबाट बिदेसिएका छन्  ।
शिक्षालाई श्रम बजार, नवपर्वतनीय सोच, जनजीविका र व्यवसायसँग जोड्न आवश्यक छ । शिक्षाले सिप ज्ञान र कार्यकुशलता बढाउन लाग्नुपर्नेमा हाम्रो शिक्षा पुरातनवादी भएको आरोप छ  । केही काबिल जनशक्ति उत्पादन भए पनि उनीहरूको उपयोग गर्न नसक्दा बाहिरिएका छन् । राज्यले दक्ष जनशक्ति उत्पादन गर्न व्यावसायिक सिप र उच्च शिक्षा समयसापेक्ष बनाउन लगानी बढाउनु पर्ने र विश्वको शिक्षा प्रणालीलाई आत्मसात् गरी विकाउ जनशक्ति उत्पादनमा ध्यान दिन आवश्यक छ  । 
शासकीय पद्धतिको प्रभाव
नेपालमा राजनीतिले राम्रो गति लिन नसकेकाले होनहार युवा बिदेसिन बाध्य भएका छन् भन्ने भनाइ छ  । अस्थिर राजनीति, भ्रष्टाचार बढ्दो, भनसुनको प्रवृत्ति, जनजीविका र व्यावसायिकता प्रवर्धनमा उदासीनता, रोजगारीका अवसरको कमी, गुणस्तरीय शिक्षामा कमजोर अवस्था जस्ता शासकीय पद्धतिका कमजारीले पनि युवा शक्ति निराश भई बिदेसिन चाहन्छन् । राजनीतिक दूरदृष्टि नहुनु,, प्रतिबद्धताको कमजोर अवस्था र सेवा प्रवाहमा झन्झट धेरै भएकाले युवा पुस्ता निरूत्साहित भई बाहिरिने दर बढ्दो छ  ।
राजनीतिले शासनको बागडोर समाल्ने र जनतालाई असल नेतृत्वबाट उत्साहित गर्नु पर्नेमा स्पष्ट दृष्टि देखिन सकेको छैन  । युवा पुस्तामा असल शासनको अनुभूति नहुँदा स्वदेशप्रतिको मोहमा ह्रास हुँदै गएको छ । शासन पद्धतिमा देखिएका विकृति अन्त्य गरी दूरदृष्टि भएका युवा नेतृत्वमा जान सक्ने अवस्था सिर्जना गर्ने, कानुनी शासनमा जोड दिने, जनजीविका र व्यावसायिकताका लागि उत्साहजनक वातावरण बनाउने र विश्वको प्रगतिको लाभ प्राप्त गर्न सक्षम हुने विषयमा शासन पद्धति सक्षम हुनु पर्छ र युवा पलायन हुन उत्साहित हुँदैनन्  ।
विदेशका सुविधाप्रति मोह
विदेशमा ग्रिन कार्ड, स्थायी बस्न अनुमति र नागरिकको दर्जा जस्ता सुविधा उपयोग गरी गुणस्तरीय जीवन बिताउनेको जमात बढ्दै गएकाले स्वदेशका युवा विदेशमा लालायित हुनु स्वाभाविक हो । विदेशमा काम गर्न अवसर धेरै हुने, उपयुक्त तलब सुविधा र जुनसुकै कामलाई पनि इज्जत र मर्यादा हुने हुँदा जस्ता पनि काममा बिदेसिन आतुर देखिएको पाइन्छ । विदेशमा काम गर्दै पढ्ने जमातको बढ्दो आकर्षणले पनि स्वदेशभन्दा विदेशमै अध्ययन प्राथमिकतामा पर्न थालेको छ । पढ्न गएका धेरै युवा स्वदेश फर्कंदैनन् र जसरी पनि गन्तव्य देशमा रोजगारी र स्थायी बसोबासका लागि प्रयत्न गरिरहेका पाइन्छन् । जसले युवा पुस्तामा विदेश मोह बढाएको छ ।
बिदेसिएका युवाले रोजगारीका अवसरबाट आय प्राप्तिपछि उपभोग्य क्षमताको बढोत्तरी गरी गुणस्तरीय जीवन बिताएका हुन्छन् । विश्व प्रविधिको उपयोग र लाभ प्राप्त गर्न सजिलो अवस्था भएकाले स्वदेशमा अनुकूलता देखेका हुँदैनन् । विदेशमा जस्तै रोजगारीका अवसर बढाउने आयस्रोतमा बढोत्तरी गर्ने र उपभोग्य क्षमता अनुकूल बनाउन राज्यले तत्पर भई हाम्रा नीति नियम युवामैत्री बनाउने र उच्च प्रविधिको उपयोग र लाभ स्वदेशमै प्राप्त गर्नसक्ने अवस्था सिर्जना नगर्दासम्म युवा बाहिरिने प्रवृत्ति रोक्न कठिन छ । विदेशमा अध्ययन गर्न गएका युवाको अध्ययनपछि स्वदेशमा उपयोग गर्न लोक सेवा आयोगले सकारात्मक भर्ना पद्धतिमा जोड दिने र स्थायी गर्ने पद्धतिलाई क्रमशः कम गरी तोकिएका काम अपेक्षित परिणामका लागि समयभित्र गर्न करार प्रणालीलाई प्रोत्साहन गर्न सके युवाको ज्ञान र सिप उपयोग गरी स्वदेशको अवसरले पलायन कम गर्न सकिन्थ्यो  ।  
अवसर, सिप र ज्ञानको उपयोग र विश्वको प्रगतिमा समाहित हुन युवा बिदेसिन्छन् । विदेश मोहमा रहेका युवालाई स्वदेशमा उपयोग गर्न सरकारले धेरै प्रयत्न गर्नुपर्ने देखिन्छ । युवालाई स्वदेशमा राख्न बाध्यकारी नीतिभन्दा उत्साहित गर्ने रणनीतिको खाँचो छ । शासकीय प्रभावकारिता हुनुपर्ने पहिलो सर्त हो भने अवसरको बढोत्तरी दोस्रोमा पर्छ । राजनीतिको सकारात्मक वातावरणले राज्यभित्रको अवसरलाई विश्व जगत्सँग जोड्न सके आर्थिक क्रियाकलाप बढ्न गई श्रम शक्तिको स्वदेशमै उपयोग हुने अवस्था सिर्जना हुन सक्थ्यो । अहिलेको अवस्था ब्रेन ड्रेनलाई ब्रेन गेनमा बदल्नु हो । अवसरको पहुँच, आयआर्जन बढोत्तरी र उपभोग्य क्षमताको सहजता ल्याउन प्रभावकारी शासन प्रणाली भए मात्र युवा पलायन न्यून गर्न सकिन्छ । (गो.प.को सहयोगमा)