Advertisement Banner
Advertisement Banner

०७ शुक्रबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

Image

स्याङ्जाको प्रख्यात डहरे देउराली

देवी काफ्ले

२७ मंगलबार , कार्तिक २०८११० दिन अगाडि

स्याङ्जाको प्रख्यात डहरे देउराली

स्याङ्जा – स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकास्थित धार्मिक रूपले प्रख्यात डहरे देउरालीमा अहिलेसम्म पर्यटन प्रबर्धनका लागि खासै पहल भएको देखिंदैन।समुन्द्री सतहबाट २,२५४ मिटरको उचाइमा रहेको डहरे देउरालीबाट हिमाली तथा पहाडी दृष्यका साथै स्याङजा, पर्वत र कास्कीका विभिन्न स्थानहरू सजिलै देख्न सकिन्छ । अर्जुनचौपारी गाउँपालिका–५ मा पर्ने धार्मिक तीर्थस्थल डहरे देउराली स्याङजा र पर्वत जिल्लाको सीमानामा पर्दछ । सरकारले धेरै पटक पर्यटन बर्ष मनाईरहँदा पनि डहरे देउरालीमा कसैको आँखा नपर्नु स्याङ्जा जिल्लासँगै अर्जुनचौपारी गाउँपालिकालाई पनि पर्यटन प्रवद्र्धन जति हुनुपर्ने हो त्यतिभएको छैन ।
हालै यस पवित्र मन्दिरको प्रचारप्रसार तथा मन्दिरको सौन्दर्यता तथा धार्मिक धरोहरका रूपमा कारिम्ले परिवारले एउटा आयाम थपेको छ  । २०८१ असोज १७ गते घटस्थापना दिनमा कारिम्ले (जायश्वर) वंशजहरूको २० औं भेलाको निर्णय अनुसार  २००००० ( अक्षरूपि दुईलाख) को लागतमा मूख्यथलो आरूचौर र सो स्थानवाट बसाई सरि चितवन, पोखरा, गैडाकोट, वुटवल र धनगढी  लगायतका स्थानमा रहेका सबै वंशजहरू भेला भई पुर्व थलो कार्किनेटा र आरूचौरको बिच रहेको वालशिद्ध आश्रम मोक्षद्वारी डहरे देउरालीको मन्दिरमा घण्टी राख्ने काम सम्पन्न भयो । उक्त अवसरमा कारिम्ले वंशजका संयोजक (कार्कीनेटाबाट पाँच पुस्ता अगाडी आरूचौर बसाई सरेर गएकाले उनीहरूका सन्तानलाई कार्कीनेटा ठाउँको नामबाट कारिम्ले भनिएको हो भन्ने भनाई छ– डिल्ली प्रसाद सिग्देलले डहरे मन्दिर अध्यक्ष अशोक श्रेष्ठलाई मन्दिरको भौतिक निर्माणमा सहयोग गर्न दिएको अवसरका लागि धन्यवाद दिनुभयो । कारिम्ले वंशजले आरूचौरमा खानेपानी धारा, चौतारा निर्माण लगायत धार्मिक कार्यमा विगत देखि सहयोग पु¥याउदै आएको छ ।
यसैगरी कारिम्ले वंशजले कुल प्रसाद पौड्यालको सक्रियतामा चितवनको भरतपुर महानगरपालिका वडा नं ५ नारायणपुर स्थित चक्रेश्वर महादेवको मन्दिर परिसरभित्र पनि भक्तजनहरूलाइ बस्नको हेतु सिमेन्ट बेन्चहरू निर्माण गरेका छन् । कारिम्ले बन्धुहरू जमघट हुँदा सानै भएपनि कुनै एक ठाउँमा केही चिनो बनाएर छाड्ने निर्णय गर्छन् । सकेसम्म उनीहरूको प्रयास जन्मठाउँलाई नै उजेल्याउने हुन्छ ।
संयोजक डिल्ली प्रसाद सिग्देल भन्नुहुन्छ– हामी जन्मगाउँबाट भौतिक रूपमा टाढा भएपनि भावनात्मक रूपमा त्यही जन्मथलो मै छौं । यसैगरी हामीले आरूचौरलाई उज्यालो गराउन सकेसम्म सहभागी हुनेछौं ।
अहिले कारिम्ले वंशजको मन डहरे देउरालीमा छ । जति सहयोग गर्छन्,जति काम गर्छन् उनीहरूले बाहिरबाट चन्दा मागेका छैनन् ।
चारैतिर जंगल, जंगलको बीचमा झण्डै १५० बर्ष पुरानो तपस्यास्थल रहेको छ । जहाँ थुप्रै ऋषिहरूले तपास्या गरी मोक्ष प्राप्त गरेको बताइन्छ । तर पछिल्लो पटक तपस्या गरी मोक्ष प्राप्त गरेका डहरा ऋषिको भने केही इतिहास फेला परेको ४८ बर्षदेखि पुजारीका रूपमा कार्यरत पशुपत्यानन्द गिरी बताउँछन् । डहरे देउरालीको छातीका रूपमा लिइने यस स्थलमा सन्यासीका लागि आवास गृह समेत बनाइएको छ । यहाँ विभिन्न चाडपर्वका बेला भक्तजनको घुइँचो लाग्ने गर्दछ । यो पवित्र थलोलाई अझ विकसित पार्न हाम्रो प्रयास जारी रहेको छ ।
बिशेष गरी बालाचतुर्दशीका दिन यहाँ ठूलो मेला लाग्ने गर्छ । डहरे देउरालीको शीर र यससँगै रहेको अर्को डाँडाको बीचमा लगभग ५०० मिटर दूरी रहेको छ । बालाचतुर्दशीका दिन यो दूरीलाई जोड्ने गरी तोरण टाँग्ने प्रचलन छ । तोरण तार्नका लागि बाजागाजासहित स्याङ्जा र पर्वतका विभिन्न ठाउँबाट भक्तजन आउने गर्दछन् । यस क्षेत्रको धार्मिक महत्वलाई उजागर गर्ने लक्ष्यका साथ २०४३ सालमा योगी नरहरिनाथको सक्रियतामा धान्याञ्चल महायज्ञ गरिएको थियो । धान्याञ्चलका क्रममा मुक्तिनाथबाट दुई अग्निज्वाला ल्याइएको छ । 
हिमश्रृङ्खलासहित बाग्लुङ बजार, कास्कीको पोखरा, तनहुँ, पाल्पा, पर्वतको सदरमुकाम कुस्मा बजार, गुल्मी लगायतका जिल्ला पनि अवलोकन गर्न सकिन्छ । जहाँ पुग्न बुटवलबाट आउने पर्यटक सिद्धार्थ राजमार्ग अन्तर्गतको हेलुइबाट अर्जुनचौपारी हुंदै र पोखराबाट आउने पर्यटक नागडाँडा हुंदै यो पवित्र धाममा पुग्न सकिन्छ । सकिन्छ । पैदलयात्रीको सहजताका लागि ढुङ्गाले चिनेर जाने बाटो निर्माण गरिएको छ । 
स्यांग्जा जील्लाकै गौरव,पर्यटकिय क्षेत्र तथा नेपालको पहिलो होमस्टे सिरूवारीबाट नजिकै पर्ने यो ठाउँ अझै ओझेलमा पर्न दिने हो भने आन्तरीक पर्यटनको बिकास कसरी होला ? आउनुहोस् एकपल्ट डहरे देउरालीको दर्शन गर्न जाऔं ।
आफ्नो जन्मठाउँको पवित्र दिव्यधामका लागि कारिम्ले वंशजले गरेको पुण्य कर्म प्रशंसनीय छ । यसैगरी धार्मिक काममा मन लागिरहोस् । डहरे देउराली माताले सबैको रक्षा गरून् ।
जय डहरे देउराली ।