लोकतन्त्र लोकतन्त्र भन्ने, लोककै खोइरो खन्ने ? बिगत १८ वर्षमा जे देखियो, सत्य यही हो । जुकानीति, जुकाले गाईको थुनमै पुगे पनि दूध चुस्दैन, रगत नै चुस्छ । नेपाली राजनीतिको नियति जुकाको जस्तो छ । जनतामा घुस्ने, जनताकै रगत चुस्ने । आधुनिक नेपालमा राजनीति महाभारत यसैगरी चलिरहेछ ।
महाभारत युद्ध किन भयो ? महाभारत आफैमा ठूलो राजनीति हो । महाभारतमा जे देखियो, दुर्योधन, दुशासन र धृतराष्ट्रका मीठा कुरा र तीता व्यवहारले महाभारत युद्ध हुनपुगेको थियो । लोकतन्त्रका मीठा सपना देखाएर नेतृत्वले महाभारतको युद्ध चलाइरहेको छ । फरक यत्ति छ, महाभारतमा श्रीकृष्ण थिए धर्मको रक्षाका लागि । नेपालको राजनीतिक महाभारतमा श्रीकृष्ण छैनन्, त्यसैले धर्म बिनास भइरहेको छ ।
महाभारतमा जीवन र जगतका अनेक प्रसङ्गहरू छन् । भगवान श्रीकृष्ण भन्नुहुन्छ– जीवन उत्सव हो, वर्तमानमा बाँच । कर्तव्य गर, फलको आशा नगर । तर नेपाली जनजीवन वर्तमानमा मरिरहेका छन्, जीवन उत्सव हुनसकेन । कर्तव्य पूरा गर्न कुनै जननेता तैयार छैनन्, सबै स्वार्थलम्पट भएका छन् ।
चरम कुशासन छ । नेपालको शासन प्रशासनमा आधुनिक महाभारत चलिरहेको छ । जहाँ नीति, नैतिकता, सिद्धान्त केही पनि छैन । जे छ, सत्ता छ, सुखभोग र स्वार्थ छ । समाजसेवा अथवा समाजशिक्षा कतै पनि छैन । रत्नमाला बन्ने इच्छाशक्ति कसैमा पनि देखिन्न, सबैलाई पुतना बन्नु छ । पुतना अर्थात आदेशमा अपराधका लागि सदैव तम्तैयार रहने, खट्ने । विदेशीले नेतृत्वलाई पुतना बनाएर दुरूपयोग गरिरहेका छन्, नेपाली नेताहरू पुतना बनेर पनि गौरव अनुभूत गरिरहेको छ । यी कस्ता परजीवी होलान् ? जसलाई वरत्रको ख्याल छैन, परत्रको चिन्ता छैन ।
जब रत्नमाला बन्ने रहर हुँदैन, उसले हरेक मानवीय मूल्य र मान्यताका सीमा पार गरिरहन्छ । अपराध गरें भन्ने भेउ उसमा बाँकी रहन्न । जनयुद्ध, जनआन्दोलनमा धेरै जनता मारिए, त्यसपछि नेपाल बधशालाबाट अपराधशाला बन्दै गएको छ । बधशाला हुँदा पनि नागरिककै बध भयो, अपराधशाला बनाइदा पनि नागरिकमाथि नै अत्याचार भइरहेको छ । नागरिक विचरा छन् ।
नैतिकताका वोध छैन । विधि, पद्धति, नीति, नैतिकता नेपाली राजनीतिले गुमाइसकेको छ । लोकतन्त्र फगत सुन भनेर भ्रम छर्ने पित्तलमात्र हो ।
बोकाको टाउको देखाएर कुकुर बेच्ने संसदीय व्यवस्था भनेर आलोचना गनेृहरूले १८ वर्षदेखि संसदीय व्यवस्थाको चीर हरण गरिरहेका छन् । संसदलाई दलदले नाली साबित गरिरहेका छन् ।
महाभारतमा आफ्नो स्तनबाट विषाक्त दुध पिलाएर भगवान श्रीकृष्णलाई मार्न आएकी पुतनालाई श्रीकृष्णले दुध पान गरेरै बध गरिदिए । तर, नरकमा होइन, गोलोकको बल्कोनीमा सम्मानपूर्वक बसाले । हाम्रा नजरमा पुतना राक्षसनी थिइन्, तर श्रीकृष्णका नजरमा पुतना, रत्नमाला थिइन् ।
नेपालको राजनीतिमा जनताले सधैं दूध पिलाए नेताहरूलाई । ती नेताहरूले जनताको रगत चुसे । नेतृत्व जुका थिए, त्यसैले जनताको उदारता चिनेनन्, संसदीय भाषमा भासिए ।
वर्तमान कालखण्डका नेपाली नेताहरू मात्र पुतनाभन्दा कम छैनन् । सार्वभौम जनता भनेका श्रीकृष्ण नै हुन्, नेता जनतालाई विषपान गराइरहेका छन् तैपनि जनता नेतृत्वपंक्तिलाई सिंहदरवारको बेलायती बैठकदेखि शितल निवासको अमेरिकी कालिनमा आसिन गराइरहेका छन् । चुनाव यिनैलाई जिताए, मानौं यिनीहरू भगवानका पनि भगवान हुन्, जनताका आदरणीय छन् । कुनै नेता रत्नमाला बन्न सकेनन् । राजनीतिमा पाप गरेर राक्षस जुनी भोगिरहेका छन् ।
यी लोकनेता हुँ भन्ने जो कसैले जनतालाई जनार्दन सम्झेनन् । यसकारण त जनताले पाउनै पर्ने प्राथमिक सुविधासमेत पाउन सकेनन् । यिनले लोककल्याणकारी राज्यका सिद्धान्त जनतामा लागू गराएनन्, लोकले पाउनुपर्ने सेवा र सुविधामा यिनले डकैती गरिरहे । लोक लुटिरहे ।
जनता नेतालाई राम सम्झिरहेका छन्, राम बन्नुपर्ने नेता रावण बनिरहेको छ । जनता नेतृत्वमा भगवान देखिरहेको छ र आफ्ना भाग्यबिधाता मानिरहेको छ, तर यी प्रजातन्त्रका भगवान अवतारहरू राक्षसी चरित्रले जनतालाई डसिरहेका छन्, चुसिरहेका छन्, मर्नु न बाँच्नुको दोसाँधमा हुटहुटी र छटपटीमा पारिरहेका छन् । मानौ राजनीतिक नेतृत्व चल्लाका लागि चीलजस्ता हुन् ।
बिकल्प छैन नागरिकसँग । यिनै नेता सुध्रेलान्, चरित्रवान बन्लान् र लोकतन्त्रको गरिमा र महिमा टल्काउलान् भनेर अझै पनि हिरा मानिरहेका छन् । हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ, तर हाम्रो राजनीतिक आकाशमा कालो बादल त पर्याप्त छन्, चाँदीको घेरा देखिदैन । जे छन्, हिरा भनिएका उही पत्थर छन् । सबै पत्थर कहाँ हिरा हुन्छन् र ? हामी किरालाई हिरा भनिरहेका छौं र यी लामकिराहरू जनता र देशलाई खोक्रो र धोत्रो पारिरहेका छन् ।
जनतामा संचेतना र सतर्कता, बिरोध र बिद्रोह उठेको छैन ।
मान्छेभित्र कर्म, धर्म, मर्म र पीडा हुन्छ । त्यो पीडालाई कम गर्ने पद्धति अँगालिन्छ । पद्धति सुनजस्तो छ तर सुनलाई गहना बनाउने पारंगत कारिगर नभएपछि सुन किचिन्छ, नेप्टो थेप्चो हुन्छ । हाम्रो लोकतन्त्रको हालत किच्चिएको सिलावरे थालजस्तो भइसक्यो । लोकतन्त्रका चालकहरूले आफ्नो कर्म र धर्म मार्गमा नहिडेपछि सवारी दुर्घटना पर्ने खतरा हुन्छ । विवेक, बल र बुद्धिमाथि स्वार्थले प्रधानता पाउँदा हामी जोखिममा छौं, यतिबेला हामी र हामीले अँगालेको पद्धति जोखिममा छ । राष्ट्र धरापमा छ ।
महाभारतमा एउटा प्रसङ्ग छ– अस्वस्थामाको । द्रोणाचार्यको हत्या भएपछि जंगिएका अस्वस्थामाले पाण्डव शिविरमा पुगेर लहरै सुतेका पाँच जनाको बध गरिदिए । तर ती पाण्डव थिएनन्, द्रौपदीका ५ पुत्र थिए । यो थाहा पाएपछि अर्जुनले अस्वस्थामाको हत्या गर्न तैयार भए । यो देखेर द्रौपदीले सम्झाइन्, हेर अर्जुन, अस्वस्थामा मारेर मेरा छोरा फर्कदैनन् । मसँग मेरा पाँच पतिको सहारा छ । तर अस्वस्थामालाई मा¥यौ भने उनकी पत्नी बेसहारा हुनेछिन् । नमार । नमार ।
जनताका सामु यस्तै धर्मसंकट छ । तथापि जनता आक्रोसित भएका छन् ।
हाम्रा नेता अस्वस्थामा बनेर जनताका सहारा धमाधम ढाल्दैछन् । न राजाको, न धर्मको, न शासन प्रशासनको कसैको पनि सहारा छैन आमनागरिकका लागि । तैपनि यिनले यिनै अस्वस्थामा रूपी नेताहरूलाई सहारा मानिरहेका छन् । समयले, मानव धर्मले पनि नेतालाई जनताको देशको सहारा बन्न निर्देशित गरिरहेको छ । हाम्रा नेता छन् तर गुट, फुट र लुटमा रमाइरहेका छन् । यिनलाई न राजनीतिक धर्म, न राजनीतिक नैतिकताको बन्धनले बाूध्न सकेको छ । कुनै दिन चितवनमा ध्रुवे हात्तीले बर्बादीको ताण्डव देखाएको थियो । हाम्रा नेतृत्वगणले निरन्तर हामीमाथि भ्रष्टाचार, अनियमितता, कमिशनखोरी र माफियागिरी चलाइरहेका छन् । यी अस्वस्थामाजस्ता अपराधीहरूलाई जनताले द्रौपदी बनेर कहिलेसम्म माफी दिइरहने ?
उपयोग गर्नसके केपी ओलीका सामु चमत्कार देखाउने अवसर फेरि आएको छ । जीवनको उत्तराद्र्धमा ओलीले करामत गर्न सक्छन् । पटक पटकको असफलतापछि सत्ता परिवर्तनले ल्याएको यो अवसर चार दिनको चाँदनी नहोस् । राजतन्त्र र हिन्दूधर्म फालेपनि शान्ति र निर्माणका धरोहर ठड्याउने एउटा पनि चमत्कार अहिलेसम्म देख्न पाइएको छैन । यिनले जनघातको खत बोकेर भ्रष्टाचारी लत छाडेनन् भने हात लाग्यो शून्य हुनेछ । सर्वहारावाद र लोकतन्त्रको सहयात्रा फेल भयो, वाम र समाजवादको सहयात्रा के होला ? अहिले आएको यो नयाँ गठबन्धन पास हुने सम्भाबना कम छ तथापि हेरौं ?
टल्कने सबै चिज हिरा हुँदैनन् । जनयुध्द गर्ने सबै माओ पनि बन्दैनन् । ठूला कुरा गर्ने सबै मदन भण्डारी पनि हुँदैनन् । समाजबाद बोक्ने सबै जयप्रकाश नारायण हुने भए गिरिजाप्रसाद कोइरालाले भ्रष्टाचारको कलङ्क बोकेर इतिश्री हुनुपर्ने थिएन । कांग्रेसले कहिले सर्वहारावादी, कहिले बामको भरिया हुनुपर्ने थिएन ।
आफ्नो सिद्धान्तमा उभिन नसक्दाको केसम्म हुनसक्छ, यतिबेला कांग्रेसीले र सबै प्रजातन्त्रवादीका लागि देउवा दृष्टान्त बन्नपुगेका छन् । ओली तमासा देखाउन उद्दत छन्, के के देख्नुपर्ने हो ?
समानताका लागि १९६८ मा छाती थापेर गोली खाने मार्टिन लुथर किङ्जस्तै महामानव बन्ने मौका थियो नेतृत्व पंक्तिलाई । १८ वर्षम खेर गयो ।
बोल्सेविक क्रान्तिपछि रूसमा एक लाख मानिस मारिए, भियतनामको सैनिक सरकारले समाजबिरोधी भन्दै हजारौं मानिसको हत्या ग¥यो, हिटलरले त ३ लाख मानिसलाई गिलोटिनले अचानोमा गिंडे । नेपालमा १७ हजार मानिस मारिएपछि आएको लोकतन्त्रले नयाँ नेपाल बनाउन सकेन ।
राजनीतिक मुद्दाहरूको अन्त्य कहिले, पीडितले न्याय पाउने कहिले ?
इतिहासलाई सम्झने हो भने, १९५० पछि कम्युनिष्टको ‘अन्तर्राष्ट्रियवाद’को इस्पाती धारले उठाएको सोभियत रूसको छातामुनी युरोपको सात राष्ट्रले शीतल ताप्नुप¥यो । खु्रस्चेवले क्युवालाई क्षेप्यास्त्रसम्म पनि बिक्री गरे । तर, माटोभन्दा अर्को राष्ट्रवाद रहेनछ भन्ने त्यतिबेला प्रमाणित भयो, जतिबेला दुई कम्युनिष्ट रूस र चीनबीच युध्द छेडियो । त्यस्तै हो ग्लोबल भिलेज र भूमण्डलीकरणको नारा पनि । यो नाराले धनी र शक्तिशाली राष्ट्रहरूको ‘आर्थिक कुटनीति’को धरापमा साना राष्ट्रहरूलाई च्यापेर सख्यअनुसारको दबदबा बिस्तार गर्दैछन् । नेपाल भूराजनीति र कूटनीतिको चेपोमा छ । ख्रुस्चेव आणविक अस्त्र किन्न ट्रकका ट्रक डलर बोकेर अन्तर्राष्ट्रिय बजार चहार्दा चहार्दै उनले आणबिक अस्त्र किन्ने बस्तु होइन रहेछ भन्ने बुझेर ठूलो ज्ञान पाएको अनुभूत गरेका थिए । नेपाली नेताहरूले किन हत्केलाले सूर्य छेकेर छेक्न सकिन्न भनेर राष्ट्रको अस्तित्वसँग आफ्नो अस्तित्व जोडिएको देखेनन्, यो आश्चर्य हो ।
एकदिन मर्नुपर्छ भन्ने हेक्का नराखेर सत्तासुखमा बाँच्न त बाँचेका छन्, तर कति दिन ? मृत्यु त आउँछ आउँछ । मर्दा आँसु झार्ने कोही भएनन् भने त्यो मृत्यु र बाँचेको अहिलेको जनघृणा उस्तै होइन र ? वास्तवमा वर्तमान शासन प्रशासनमा रहेकाहरू हाराकिरी गरिरहेका छन् । यिनलाई यथार्थवोध गराइदिने नागरिक समाज नहुनु दुर्भाग्य हो ।
सुरूमा हिटलर राष्ट्रबादका प्रतीक थिए । स्टालिनले पनि देशकै कुरा गरे । सुरूका दिनका पोलपोटका जनवादी नीति हेर्दा उनका सामु कोही पनि जनवादी देखिन्नन् । अर्थात्, प्रत्येक निरङ्कूश शासक सत्तामा पुग्न र पुगेका केही दिन जनहित कण्ठस्थ पार्छ, जनहित नै उसको ध्येय हो भन्छ । बिस्तारै उसका कृयाकलापले क्रूरताको साम्राज्य खडा गर्छ । ०४६ सालपछि र लोकतन्त्रको १८ वर्षदेखि नेपालमा क्रुरतामात्र बढेको छ ।