Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, पौष २०८१23rd July 2024, 10:09:55 am

Image

दीपावलीले, हिंसा हटाओस्, उज्यालो ल्याओस्

देवी काफ्ले

२० मंगलबार , कार्तिक २०८१२ महिना अगाडि

दीपावलीले, हिंसा हटाओस्, 
उज्यालो ल्याओस्

घरसमाजमा बढ्दो हिंसाभन्दा अँध्यारो के हुनसक्छ ? यतिबेला घरसमाजमात्र होइन, मुलुकै अँध्यारोमा छ । राज्यहिंसा उत्तिकै छ । शासकीय हिंसा पनि बढेको छ । कानुनव्यवस्था, समाज व्यवस्था सबै लथालिङ्ग हुनपुगेका छन् । यसकारण पनि हामीलाई उज्यालो चाहिएको छ । दीपावलीको महत्व भनेकै उज्यालो हो । हरेक मन मनमा, शासनमा, न्यायलयमा सबैतिर उज्यालो चाहिएको छ । अँध्यारो धेरै भयो, अब उज्यालोको लागि कामना गरौं, कर्म गरौं, सद्बुद्धि पलाउन् । सभ्य समाजको सिर्जनामा दीपावलीको महत्व यसकारण छ ।
आजकल दैनन्दिनी रूपमा प्रायः आत्महत्या भैरहेका छन् । आत्महत्या किन र के कारणले गरेका छन् ? त्यसतर्फ ध्यान जानू आवश्यक देखिन्छ । साँच्चै आत्महत्या नै गरेका हुन् वा आत्महत्या दुरूत्साहनमा परेका हुन् ? या मारिएर आत्महत्याको नाम दिइएको हो ? गम्भीर छानबिन हुनुपर्ने हो, हुनसकेको छैन ।
हामी देशको कानून नै फितलो भन्छौं तर मलाई लाग्दैन कि कानून फितलो हो । यहाँ त कार्वान्वयन पक्ष फितलो छ । भिडले निर्दोषलाई पनि दोषि करार गरिदिन्छ यहाँ । छानबिनलाई प्रत्यक्ष असर पार्छ । तर कार्वान्वयन पक्षको कमजोरी यति धेरै छ कि, नातावाद, कृपावाद, दलीय सदस्यता, पेटबिटोका कारण निष्पक्ष न्याय गरेकै छैन ।
फेरि अर्को पक्ष के छ भने, जब हिंसामा चेलीहरू पर्छन् तब परिवारको साथ समाजले भिडमा दिन्छ केही समय पछि पैसामा कारोवार गरि परिवार नै घटना साम्य पार्न चाहान्छ । यसको ज्वलन्त उदाहरण त निर्मला पन्त नै हुन् । यस्ता अनगिन्ति हिंसाका घटनाहरू समाजमा व्याप्त छ । जब राजनीति नै हिंसामय हुन्छ, समाज हिंसाले रगताम्मे हुनु स्वभाविक हो ।
भिडले घटनालाई तोडमोड पारिदिन्छ । चितवनकी सुजिता भण्डारीको केश यस्तै थियो । त्यहा पनि केही अभियन्ताको भिडले हत्यारालाई फाँसी दे भनेर नारा लगायो, छानबिनमा बाधा पार्यो तर मृत्यु प्रकरण फरक थियो । आफ्नो गल्ती ढाक्न नाटक मन्चन गरि मर्नेहरूका कारण मारिएका चेलीमाथि पनि शङ्काको दृष्टि पु¥याउनु पर्ने भयो ।
बढ्दो आधुनिकताको परिवर्तनले हाम्रा छोराछोरीमा पनि गलत प्रबृतिको हालीमुहाली गरिरहेको छ । संयमता भन्ने कसैसंग छैन । रिस, डाहा, ईष्र्या, देखावटीपनले आजका मानिसको दिलोदिमागमा घर गरेको छ । सहनशीलता शून्य छ । हरेक परिस्थितिमा आवेशमा आउने स्वभावको क्रमिक बिकास भैरहेको छ । यसैका कारण पनि हत्या, आत्महत्या बढेको त हैन ? सोचनीय बिषयवस्तु यही हो आज । अधिकारको दुरपयोग, स्वतन्त्रताको गलत उपयोग, नैतिक शिक्षाको अभावले पनि आज मान्छे अत्यन्त जिद्दी बनेका छन् । आफ्नो सानो माग पूरा नहुँदा कलिला बालबालिकाले समेत आत्महत्याको बाटो रोजेका कैयौं उदाहरण छन् । यस्ता प्रबृतिको बिकास किन र कसरी भयो, छलफलको बिषय बनाउनु पर्छ ।
आज मानिस पूर्ण परिवारमा रहन चाहँदैनन् । एकल परिवार सबैको रोजाई बनेको छ । कतै एकल परिवारको कारण पनि मानिस स्वार्थको साँघुरो घेरामा परेको त हैन  ? आधुनिक युग बिज्ञानको युग हो । बिज्ञानका केही पक्षहरूले मानिसलाई एक्लो बनाएको छ । आधुनिक उपकरण प्रयोगमा मान्छे यति धेरै ब्यस्त छ कि परिवारसंग संगै बसेर एउटा शब्द बोल्न फुर्सद छैन, परिवारमा प्रत्येकका हातमा मोबाइल, ट्याव थामिएका छन् । मनोरन्जनका लागि होस् वा कामैले होस् पारिवारिक, आर्थिक, सामाजिक बिषयमा छलफल नै हँुदैन । लाग्छ घरमा मान्छे नै छैनन् । अनि दुखसुख, माया ममता के हो नयाँ पिंढी कसरी जानकार हुन्छन् त ? यसैकारण पनि मानिस एक्लिएको छ । हुनसक्छ यसैकारण पनि मानिस डिप्रेसनमा पुगेर मर्न, मार्न, एक्लै टोलाउन तम्सिन्छ कि ? आज पुरूष, महिला मात्रै नभएर बालक, युवा, बृद्धाहरू पनि स्वमृत्यु रोजिरहेका छन् । किन अनमोल जीवन नष्ट गर्न लागेका छन् ? किन जीवनबाट वाक्क छन् ? धेरै प्रश्नहरू छन् ।
आखिर किन मरण र मारणको अवस्थामा मान्छे पुगेको छ ? किन आत्महत्या जस्तो अस्वाभाविक मृत्यु रोजेको छ ? यस्ता अपराधीक कृयाकलापलाई रोक्न के गर्न सकिन्छ ? बहसको बिषय यसलाई बनाउने कि ?
सरकार, प्रहरी प्रशासनको कमी कमजोरीलाई पनि सुधार गर्नै पर्छ । जनताले छिटो र छरितो न्याय खोजेको हुन्छ । छानबिन भन्दै केश इतरउतर पार्न तिर लाग्यो भने अपराधी सहजै उम्कन्छ र भिडले मात्रै तोकेको दोषीलाई अपराधी करार दियो भने हुन सक्छ निर्दोषले सजाय पाउँछ त्यसैले प्रहरी प्रशासनको काम चुस्तदुरूस्त होस् । समग्रमा अपराधीक घटनाको न्युनिकरण होस् । हामी पनि बेलैमा सजग बनौं । सकेसम्म अनाहकमा कसैले ज्यान गुमाउन नपरोस् । दिपावलीमा माता लक्ष्मीले सबैलाई सद्बुद्धि दिउन् । समाजमा बढ्दो अपराधिक घटनाको अन्त्य होस् ।