दशैं तिहार सकियो, छठ आउँदैछ । छठपछि देशैभरि परिवर्तनको आँधिबेहरी आउनेछ । कस्तो परिवर्तन ? त्यो कसैले भन्न सक्दैन । यो भ्रष्ट ओली सरकार फेर्नेमात्रै हो कि भ्रष्ट बनेर गनाइसकेको पद्धति नै फेर्ने हो ? सडकमा अनेक गुट देखिएका छन् । कात्तिक १० गतेदेखि खबरदारी सभा गर्दैरहेको प्रमुख प्रतिपक्षी माओवादीदेखि जनमत पार्टीसमेत आन्दोलित छ । रास्वपा त सडकमै छ । राप्रपाले मंसिरमा निर्णायक आन्दोलन गर्ने कार्यक्रम बनाएको उहिल्यै हो । राष्ट्रिय शक्तिका केशर बिष्ट उचालिएका छन् भने दुर्गा प्रसाईले आन्दोलनको आगो फुकिरहेकै छन् । यसैवीच सबै जिल्लामा अभिनन्दन भइसकेपछि राजधानीमा पूर्वराजाको अभिनन्दन गर्ने कार्यक्रम बन्दै रहेको खबर छ । एकथरि ओली सरकार फालेर अर्को भ्रष्टहरूको सरकार बनाउने तरखर छ भने अर्काथरि यो अवस्था फेर्न नसकेको व्यवस्था नै फेर्ने आन्दोलनको कुरा गरिरहेका छन् । हो, भ्रष्टाचार चरमचुलीमा छ, अभाव, बिकृति, बिसंगति सफा गरिसाध्य छैन । बेरोजगारी र महगीले जनजीवन छटपटीमा छ । यो दुरावस्था यो पद्धतिकै देन हो भन्ने आमनागरिकले बुझ्न जरूरी छ । ओली सरकार फालेर यो लथालिङ्ग अवस्थामा सुधार आउनेवाला छैन । ओली गए देउवा, देउवा गए प्रचण्ड, यो त म्युजिकल चेयरजस्तो भएन र ? १८ वर्षदेखि यही नै त भइरहेको छ ।
मुलुकलाई दुरावस्थामा पु¥याउन जिम्मेवार भनेका कुनियतवाला नेता र बेइमानहरूको संरक्षण गर्ने यो पद्धति नै हो । यसकारण यो पद्धति परिवर्तन नभएसम्म र कुनियतवालाले दण्ड नपाउन्जेल कुनै सुधार हुनेवाला छैन । पद्धति परिवर्तनको आवाज उठाउनेहरू आपसमा बिभाजित छन् । यहीकारण तिनको आन्दोलन जबरजस्त हुनसकिरहेको छैन । आन्दोलनमा मुख्य सहयोग जनताको चाहिन्छ । जब जनता आक्रोशका साथ आन्दोलनमा सहभागी बन्छन्, जनताले नचाहेको व्यवस्था ढल्छ ।। वर्तमान अवस्थामा यो पद्धति र यी नेताप्रति जनतामा नैराश्यता बढेको छ । यो नैराश्यतालाई आक्रोश, आक्रोशलाई बिद्रोहमा परिवर्तन गर्नसक्ने दह्रो नेतृत्व देखिन्न । यहीकारण हो, जनताले नचाहेको पद्धति जनतामाथि थोपरिएको छ ।
पूर्वराजाले पटक पटकका अभिनन्दन समारोहहरूमा मिलेर अघि बढ्न गरेको आह्वानलाई नेताहरूले कमजोरी सम्झेका छन् । आमनागरिक यी नेतृत्वपंक्तिलाई नालीमा देख्न चाहन्छन् तर राजाचाहिं मिलेर अघि बढ्ने कुरा गर्दा पनि बिद्रोहको आगो बल्न नसकेको तर्क धेरैको रहेको छ । यी नेता फाल्नुपर्छ, यो पद्धति फेर्नुपर्छ भन्ने विश्वास दिलाउन जरूरी छ । त्यति भयो भने भुइँमान्छे र पार्टीमा लागेकाहरूसमेत परिवर्तनको पक्षमा उभिन आउनेछन् । आन्दोलनको नाममा उही घुम्दैफिर्दै रूम्जाटारको शैली हो भने त्यस्तो आन्दोलन पहिले पहिलेजस्तै नारामा सिमित हुनेछ । आन्दोलनकारीहरूले पहिले १८ वर्षदेखि नेतृत्वले गरेका भ्रष्टाचार र अनियमितताको एक एक हिसाव हुनेछ भन्ने प्रत्याभूति दिने हो भने आन्दोलन सफल हुनसक्छ ।
जनघात र देशघात गर्नेहरूले छुट पाउनेछैनन् भन्ने कुरा सार्वजनिक हुनुपर्छ । परिवारवाद चलाउने, व्यभिचार गर्नेहरू दण्डित हुनेछन् भन्ने मुद्दा उठ्नुपर्छ । अबको आन्दोलनले परिवर्तन ल्याउँछ, विधिको शासन र जनताको अपेक्षाको संवोधन हुन्छ भन्ने थाहा पाउनासाथ आमनागरिक सडकमा उत्रनेछन् । सार्थक आन्दोलनको सम्भावना बढ्नेछ । देशले खोजेको सार्थक आन्दोलन र सही परिवर्तन हो ।
आन्दोलनकारीहरू जो छन्, बाँडिएर होइन, एकतावद्ध भएर सडकमा निस्कनुपर्छ । केही समर्थक लिएर एकदिने जुलुस निकालेर केही हुनेवाला छैन । राजधानी ठप्प पार्नसक्नुपर्छ, हलचल गर्न नसक्ने पार्नुपर्छ । त्यसका लागि समर्थकको ासथमात्र भएर पुग्दैन । दिग्भ्रमित जनतालाई पनि तानन सक्नुपर्छ । माओवादी, रास्वपा, जनमतहरूले गरिरहेको आन्दोलन ओली फेर्ने लक्षित छ, त्यो आन्दोलनले कुनै फल दिदैन । पद्धति फेर्ने आन्दोलनले मात्र नेपाल र नेपालीको समुन्नत भविष्य निर्माण गर्नसक्छ । सिंहदरवार कब्जा गरेर बसेका र सिंहदरवार कब्जा गर्न सडकमा उत्रिएकाहरू सबै देशघातक हुन् । भ्रष्टको जमात हो । यिनीहरूसँग मिलेर राजाले देश बनाउने भन्ने कुरा निराशाजनक छ । नेपालीका लागि नेपाली बिद्रोह आजको आवश्यकता हो ।