मुलुकको अस्तित्व संकटमा छ । यही पद्धति र यिनै नेताका कारणले देशको यो दर्दनाक स्थितिको जन्म भएको हो । असक्षमले सत्ता पायो भने, क्षमता भए पनि स्वार्थ हावी भयो भने देशको अस्तित्व संकटमा पर्नेरहेछ ।
हिजो (०४६ सालमा) मुलुकको हावापानी सुहाउँदो, नेपालीपन भएको पञ्चायती प्रजातन्त्रलाई भारतीय विस्तारवादको इसारामा समाप्त पारियो...सच्चा नेपालीहरूले चूपचाप सहेर बसे । योभन्दा राम्रो होला भनेर स्वीकारेका हुन् । त्यसपछि पटक पटक राष्ट्रघात गर्ने दुस्साहस गरियो (नेपालको प्राकृतिक स्रोतहरूमाथि) सच्चा नेपालीहरू ‘अव त सुधिन्छन् कि’ भनेर आश गरेरै बसे । त्यसपछि पछिल्लो पटक ०६२–६३ सालमा ‘राजतन्त्र नै हो सम्पूर्ण समस्याहरूको जड’ भनेर विभिन्न तरिकाबाट नेपाली जनतालाई भ्रममा पारियो ।। ...केही नेपाली जनता त ‘हो रै छ कि क्या हो ?’ भनेर त्यो कथित आन्दोलनमा पनि लागे । साथ दिए । त्यही समयमा भारू बाँडेर, हिंसात्मक आन्दोलनको आयोजना गरी शाहबंशीय राजतन्त्रलाई समाप्त पारियो । नयाँ नेपाल बन्ने आश्वासन बाँडियो । त्यसपछि के भयो ? मुलुक सुधारतिर लाग्यो त ? अहँ, अव त हुँदाहुँदा जातीय झगडा पछि भौगोलिक रूपमा ‘छुट्टिने’ कुराहरू पो आउन थालेको थियो । जसले यस्ता नारा लगाएका थिए, ती मूलधारमा आए तर नेपाल टुक्र्याउने नारा थाँतीमै छ । तलका मधेसीहरू पनि छुट्टिने, अनि माथि पहाडका जनजातिहरू पनि छुट्टिने । ..अनि त्यसमा सहीछाप गर्ने (ठिकै हो भनेर) प्रमुख दलमा दरिएका प्रभावशाली नेताहरू ।
यसैगरेर १८ वर्ष बित्यो । नेता नवराजा बने, जनता आँसु पिएर बाँच्न बाध्य छन् । बिभेद र निषेध झन झन बढेर गएको छ । अव पनि बुझ्न गाह्रो छ त यो ‘भाँडतन्त्र’ गणतन्त्र केका लागि ल्याइएको रहेछ भनेर ? यथार्थमा यो लोकतन्त्र लुटतन्त्र नै रहेछ । देखियो ।
अव चैं नेपाली जनता हस्तक्षेप गरेर उत्रनै पर्छ । अव पनि सुर कसिएन भने मुलुक त गयो, गयो, हिजो व्यवस्था गयो, राजतन्त्र गयो, हिन्दुधर्म गयो, सर्वधर्म, सर्वजातिवीचको समन्वय गयो । सिंगो मुलुकको अस्तित्व संकटमा परिसक्यो आज । भारतले लिपुलेक, लिम्पियाधुरा, कालापानी खाइसक्यो । २३ जिल्लाका ६७ ठाउँमा अतिक्रमण भइसक्यो, अतिक्रमण जारी छ । पश्चिमाहरू नेपालमा अखडा जमाउन थालिसके । नक्सा नै मेटाउन पो खोजिदैछ । अव पनि ‘वास्तविक आन्दोलन’मा लागिएन भने हाम्रो मुलुक कुन ? हाम्रो पहिचान के ? त्यो सोध्नुपर्ने अवस्था आउँछ है । त्यसकारण राष्ट्रिय सहमतिको संविधान निर्माणतिर चनाखो हुनजरूरी छ । मुलुकको एकता र भूगोल बचाउनतिर सतर्क हुनुपर्छ । भारू र डलर लिएर बसेका यहाँका केही राष्ट्रघातीहरूले त आफ्नो ‘काम’ सुरू गरिसके । ती नेपालीहरू, जो मुलुकको अखण्डता चाहन्छन्, तिनीहरू तत्कालै जुर्मुराउनु पर्ने अवस्था आयो । राजनीतिक विवादबाट सुरू गरेर भौगोलिक रूपमा छिन्नभिन्न गर्नेतिर लगाइएको छ– मुलुकलाई । कसैमाथि विभेद छ, कसैलाई अत्याचार भएको छ, कसैको पहिचानलाई प्रस्तुत गर्न सकिएको छैन भने संविधान कागजको खोस्टो भइसक्यो । राष्ट्रिय बहस जरूरी छ । आपसी छलफलद्वारा टुङ्गोमा पुग्न आवश्यक छ । सत्तास्वार्थका कुरामा मुलुक नै संकटमा पार्ने ? कहाँबाट पाए तिनले त्यत्रो साहस ? निश्चय पनि यसको जवाफमा यहाँका कथित नेताहरू अनि नेपाललाई बिखण्डनमा पारेर आफ्नो स्वार्थशिद्ध गर्न खोज्ने विदेशीहरू खासगरी भारत र पश्चिमाहरूको नाम लिन सकिन्छ । अव ढिला नगरौं, देश बचाउन र देश बनाउन यत्ति दुई कुरामा अग्रसर हुने कुनै नेता अहिलेसम्म देखापरेको छैन । हो, हिजोको राजतन्त्र यी दुई कुरामा संवेदनशील थियो तर त्यसपछि (गणतन्त्र बहालीपछि) कसैलाई पनि यस विषयमा चासो देखिदैन । सबैको चासो र उद्देश्य सत्ता बनेको छ । सत्ता पाए जे पनि सदर गर्ने राजनीतिक नेतृत्व व्यापारी बन्यो । राजा थिए, उनलाई देशको चिन्ता थियो । राजाको कुनै बाद थिएन, कुनै पार्टी थिएन । पार्टीको स्वार्थमात्र हुँदा देशले ठूलो मूल्य चुकाउनु पर्ने अवस्था आयो ।
जे गर्नुछ, नेपालीहरू आफैले गर्नुछ । यो कुरामा नेतृत्व लिन कोही अगाडि सर्दैन । यत्ति चैं विश्वास गरौं । यसपालीको विजया दशमीमा अरू जे सुकै कामना गरे पनि मुलुकको अखण्डता अखण्डित रूपमा जोगाउनका लागि दुर्गामातासँग कामना गरेका थिए राजाले पनि । जनताको चाहना पनि अस्तित्वको रक्षा नै हो । जागेको छ जनताको भावना । जागृत भएको छ, नेपालीको विवेक । राष्ट्रवादको आन्दोलनमा अग्रसर हुनका लागि सडकमा जनता निस्कन थालेका छन् । राज्यले आतंंक फैलावस्, जनता जागे भने राज्यशक्ति पराजीत हुनेछ । नेतृत्व भागम्भाग हुनेछन् । यसको उदाहरण बंगलादेश हो । जसरी यहाँ स्वतःस्फूर्त रूपमा विभिन्न किसिमका धर्ना, मैनवत्ती जुलुस, मौन जुलुस, आक्रोसित मनस्थिति आदि हुनेगरेका छन्, हो त्यस्तै स्वरूपबाट सुरू गरेर पछि देशव्यापी रूपमा ‘जन आँधीबेहरी’ ल्याउने तरिकाबाट आन्दोलन सुरू गरौं । आन्लोलन जसले जताबाट गरे पनि हुन्छ । सबैको उद्देश्य यो जनघाती व्यवस्था, यी भ्रट नेतालाई किनारा लगाउने हो । राष्ट्राधिकार, मानव अधिकार, जनाधिकारका लागि बिद्रोह हो । अव मुलुकका लागि, हामी आफ्नै नेपालीत्वको जगेर्नाका लागि केही गरौं ? घरघरबाट उठौं । चाणक्य भन्थे–
विषहीन सर्पले पनि आफू बाँच्नका लागि फन फैलाएर भय उत्पन्न गरिरहनु पर्छ । सर्पमा विषय भए पनि नभए पनि, सर्पको फुँकार डराउनका लागि पर्याप्त हुन्छ । यदि सर्पले त्यसो गर्न सकेन भने जनताको कोपमा परेर समाप्त हुन्छ । जनता त सर्वाधिकारको स्रोत हो । जनताले आफ्नो शक्तिको पहिचान आफैले गर्नुपर्छ अन्यथा दुःख भोग्न तैयार हुनुपर्दछ । चाणक्यले विलासी व्यक्ति सही सोच कायम गर्न सक्दैन भनेका थिए, हाम्रा नेताहरू विलासी बन्दै गएका छन्, तिनको मानसिकता बिकृत भइसक्यो ।
अस्तित्व जगाउन उठ्ने कि अस्तित्वहीन बनेर मर्ने ? यही बिकल्प बाँकी छ जनताका सामु । अब जनताले एउटा निर्णय गर्नैपर्छ । यही निर्णयले जीवन कि मृत्यु ? तय गर्नेछ ।