अंग्रेजसँग युद्ध हारेपछि १८१६ मा सुगौलीसन्धि गरियो । यो सन्धिले धेरै नेपाली भूभाग गुमायौं । तर भूभागसँग जो राजा गिर्वाण विक्रमको सन्धि बोकेर अंग्रेजसामु गएका थिए, ती दुई जना गजराज मिश्र र चन्द्रशेखर थिए, जसले देशमाथि घात गरे ।
तिनै घाती चरित्र बहुदलमा देखियो, जनआन्दोलनपछि सुधार होला भनेको त लोकतन्त्रमा पनि जनविश्वासघात, देशघात बढेर गएको छ । देशवाद मर्दो अवस्थामा पुग्यो, जुन दुःखदायी छ ।
म देशभक्त हुँ भन्ने नेता र पार्टीहरूको काँधमा राखेर विदेशीले चलाएका वाणहरूको शैयामा देशका भीष्म सुनिरहेका छन् । सुतिरहेका छन् । उनले बुझेका छन्– देशभक्तलाई यसरी वाणमा सुताउने देशवादी होइनन् । तर उनी वाण फ्याँकेर उठ्ने साहस गर्दैनन्, किनकि उनको विचारमा जनता जाग्नुपर्छ, जनताले आवश्यकता ठान्नुपर्छ । त्यसैले भीष्म भनिरहेका छन्– म यहीँ छु । जनताले खोजेका बेलामा उ उठ्छु । जनताले खोजेका छन् तर जनबिद्रोह भइसकेको छैन । भीष्म सुतिरहेका छन् ।
नेपालका भीष्मलाई थाहा छ, यो कृष्णको वाण होइन, न त अर्जुनको वाण हो । यो त शिखण्डी अघि सारेर नेपाललाई बशमा पार्ने विदेशी वाण हो । जो लोकतन्त्रको आवरणमा विदेशी काखमा खेलिरहेका छन्, मस्ती मारिरहेका छन् । वास्तवमा यिनले लोकतन्त्र बुझेकै छैनन्, त्यसैले लोक भोकले, रोगले मरिरहेका छन्, देश रोइरहेको छ । यिनीहरू खुशीले अट्टहास हाँस्छन्, स्थिति दर्दनाक छ ।
जो लोकनेता हो, ऊ लोकको पीडामा पीडित हुन्छ । यसरी हाँस्दैन । यी त विदेशीको इसारामा चल्ने स्वार्थीतत्व हुन्, यसकारण यिनलाई देश दुख्दैन ।
लोकनेता लोक भोकाएकोमा छटपटिन्छ, यी त लोकमर्दा पर्व मनाउँछन्, खुशीले गद्गद् छन् ।
लोकनेता लोक बिपदमा पर्दा शोक गर्छ र लोक बचाउन हदैसम्मको त्याग गर्छ । यी त भ्रष्टाचार गर्छन् ।
लोकतन्त्र नामधारी स्वार्थी राजनीति गर्नेहरू रक्तपिपासु ड्य्राकुल्ला लाग्छन्, लोक मर्दा भोज खान्छन् । महाभारतको कथा र नेपालको राजनीतिक परिदृश्य उस्तै लाग्छन् । किनकि....
००७ साले कांग्रेस, रक्सौलमा वीपीलाई भेट्न ६ घण्टा कुर्नुपरेको र भेटे पनि वीपीले उपेक्षाभाव देखाएर कुरा गर्न नचाहेपछि ००९ सालमा कम्युनिष्ट बन्नुभएका विष्णुबहादुर मानन्धर, २०१५ सालको आमनिर्वाचन जित्ने ४ मध्येका रौतहटबाट बिजयी कम्युनिष्ट थिए । मानन्धरलगायतका कम्युनिष्टहरू राजतन्त्र बिरोधी बनेर निस्किए । देशलाई अराष्ट्रिय खेलमैदान बनाइदिए । तत्कालीन अवस्थामा गौरीशंकर छात्रसमिति पनि थियो, यो समितिका लक्ष्मण घिमिरे, शिवबहादुर खड्का, विपिन कोइराला, भवेन्द्र खड्का, श्रवण कोइराला, हेमन्त कोइराला, भरत बरालहरूले पञ्चायतमात्र होइन, राजतन्त्रै फाल्नुपर्छ भनेर रगतको सहीछाप गरेको इतिहास पनि छ ।
००७ सालमा प्रधानमन्त्री मोहनशमशेर, गृहमन्त्री वीपी कोइराला । मोहनशमशेरले संविधानसभा गराउँ, लाग्ने खर्च मै दिन्छु, राज्यको खर्च गर्नुपर्दैन भन्दा कांग्रेसले जित्दैन, नगर्ने भनेर पछि हटे वीपी कोइराला ।
पत्रकार मदन शर्माले लेखेअनुसार २०१० सालको जाडोमा वीपी निवासमा वीपी, अचुतराज रेग्मी, पद्यशंकर अधिकारी मकलमा आगो तापिरहेका बेला बीपीले भन्नुभएछ– मैले मुक्तिसेना प्रयोग गरेर राजतन्त्र खतम गरिदिन राति १२ बजे राजालाई क्याप्चर गर्न अर्डर दिइसकेको थिएँ । तर कुरो फुस्किएर सुवर्णजीको कानमा पुगेछ र मलाई त्यसो नगर्न आग्रह गरे । अनि मैले दिइसकेको अर्डर फिर्ता लिएँ । अर्थात्, इतिहास भन्छ– राजतन्त्र समाप्त पार्ने ल्याकत र ताकत नेपाली राजनीतिमा कुनै पार्टी, कुनै पात्र वा शक्तिशाली हुँ भन्नेमा थिएन ।
तर, ०३६ र ०४६ सालमा कांग्रेस, कम्युनिष्टले दलमाथिको प्रतिवन्ध फुकुवा गर्न न्वारानमा खाएको घ्यूको बल निकालेकै हो । ०४६ सालमा त भारतीय नेताहरू डीपी त्रिपाठी, हरकिसन सिंह, डा.फारूकी, एमजे अकवर, सुब्रमण्यम स्वामीहरूको लस्कर गणेशमान सिंहको चाक्सीवासीमा आएर राजतन्त्रमात्र होइन, नेपालै सिध्याउने चर्को भाषण समेत गरेका थिए । तैपनि बहुदल आयो, राजतन्त्र गएन ।
२०५८ सालमा दरवार हत्याकाण्ड नै भयो, तैपनि राजतन्त्र सकिएन । राजतन्त्र फाल्नका लागि भारतले ७ दलको दिल्लीमा १२ बुँदे सम्झौता गरायो, भारतको स्कूलिङमा तैयार भएको आतंककारी घोषित माओवादीलाई जनआन्दोलनमा मिसाइदियो र मिसाइल बनाएर सडकमा उता¥यो । दरवारमा दाग्यो ।
यो जनआन्दोलनको आगोलाई डढेलो बनाइदिने भारत नै थियो र अन्ततोगत्वा २०६३ साल वैशाख ११ गते राजतन्त्रलाई मुठ्ठीको माखो बनाए अनि २०६५ साल जेठ १५ गते राजतन्त्रलाई इतिहासको विषय बनाउन सफल भए । यसपछि के भयो ?
अर्थात जुन परिवर्तन भयो, त्यो परिवर्तनमा नेपाली नेताहरूको भूमिका मात्र शिखण्डीको थियो । राजतन्त्र फाल्न ००७ साल, २०१० र रगतका ल्याप्चे लगाउनेहरूले गर्न सकेनन्, उनीहरूले अर्काको टेको समर्थन लिएर सम्पन्न गरेको देखिन्छ । यी परिवर्तनका लङ्गडाहरू पात्र थिएनन् भने संविधानसभामा ८ वर्ष देउसी खेल्दैनथे, संविधान जारी भएपछिका २ कार्यकाल यसरी लोकतन्त्रका नाममा लोक लुट्दैनथिए । आज नेपाल त्यति ठूलो परिवर्तनपछि असफल राष्ट्रको भीरबाट गुल्टिने हालतमा किन पुग्यो ?
संसद, सरकार, शितल निवास महिनौंदेखि नउठाएको महानगरका कन्टेनरजसरी असरल्ल देखिन्छन् । यिनीहरूप्रति जनतामा आस्था र आशा मर्दै गएको छ । यी राजनेता थिए भने जनतामा जयजयकार हुनुपथ्र्यो, घृणा मात्र छ । जनता निराश बनेका छन् । उदासीन छन् ।
नेपालको वर्णपटमा शिखण्डीका सिलसिलाले वर्तमानलाई पनि छाडेको छैन । विदेशीलाई चाहिने शिखण्डी हुन्, शिखण्डीलाई चाहिने स्वार्थ हो । स्वार्थको पछि लाग्ने विवेकहीनहरू भनेका अवसरवादी हुन् । शिखण्डी र अवसरवादीहरूलाई बाह्रै महिना दशैं आइरहेछ, घुस्याह यी डिठ्ठाहरूलार्ई लोकतन्त्र आँखा चिठ्ठा बनेको छ । देशभक्तिको सशक्त भाषण गरिदिएपछि जनता मख्ख पर्छन्, यी डिठ्ठाहरू जनता जनता लडाएर स्वाद फेरिरहेका छन् । देशको आधा जनसंख्या दैनिक आधा डलरमा बाँच्छन्, ८२ लाख युवायुवतीहरू साउदीदेखि इजरायलसम्म, काबुलदेखि कंगोसम्म यौन र श्रम शोषणमा मरिरहेका छन् । नयाँ नेपाल बनाउन त्यति ठूलो नरसंहार मच्चाइयो, धर्म र व्यवस्था फेरियो । भोको पेट, नाङ्गो जीउ, सडकको बास उस्तै छ । रगत चढाएर लोकतन्त्र आयो, कहाँ आयो ? कुन जनतालाई आयो ? छन त छ नि– वाद छ, तन्त्र छ, नीति छ, संयन्त्र छन् । सुनीति केही देखिदैनन्, कुटिलनीति राष्ट्रव्यापी छ । सबै नीतिमा नेता, नियन्ताको प्राथमिकता आत्मोन्नति, आत्मतृप्ति, आत्मसन्तुष्टि र आत्मकेन्द्रित छन् । आमकेन्द्रित छैनन् । म केन्द्रित छन् । त्यागको टिपु सुल्तान छैनन्, स्वार्थका सुल्तानहरू न्यायको घोडा चढेर बुर्कुसी मारिरहेका छन् । घण्टाघरको सुईले पलपल भनिरहेको छ– लोकतन्त्र कौडी पिचासहरूलाई आयो । सत्ताका भूत बन्न रूचाउनेहरूलाई आयो । राजनीतिलाई व्यवसाय बनाउनेहरूलाई आयो । यी रछ्यान हुन्, यिनमा चोखो मन र जनताको बलमा उभिने इच्छाशक्ति छैन । अन्धो नेताले लोकतन्त्रको चस्मा लाए के नलाए के ? विवेकहीन फोस्राहरू फुस्रा गफ हाँकिरहेका छन् । आगोले काँचो भन्दैन, सामन्तले कङ्गाल भन्दैन भनेझैं छ लोकतन्त्र । लोकतन्त्रको प्राण जनविश्वास हो । त्यो जनविश्वास प्राविधिक रूपमा देखिन्छ, वास्तबिक रूपमा छैन । लुटाहहरूका लागि लोकतन्त्र पञ्चदेवलको हण्डी बन्यो ।
शिखण्डी, बन्दुके मौका पायो कि बुद्ध बोकेर हिड्छन् । मौका पायो कि बारूद पड्काउँछन् । अन्धविश्वास हटाउने भाषण उही गर्छ, महिष पुजन र गुरूको पाउमा उही ढोग्छ । यी नक्कले नक्कली लोकतन्त्रेहरू बिछट्ट बाठा छन् । यसकारण त यी परिवर्तनका बाहकहरू स्वाधीनताको धर्तीमा पराधीनताको साम्राज्य खडा ‘खतरनाक क्रियचर्सहरू बास गर्ने पेण्डोराको बाकस’ भन्दा कम देखिदैनन् । फोहर सडे गनाउँछ, राजनीति सडे चम्किदो रहेछ । ‘डेभेलपमेन्ट अफ फ्रिडम’ मा अमत्र्यसेनले लेखेका छन्– गुलाफको फूल भनेपछि फूलमा सुगन्ध हुनैपर्छ । नेपालको लोकतन्त्र कागजको फूलजस्तो छ, सुगन्ध छैन ।
मुसोलिनीले इटलीको प्रजातन्त्रमा अधिनायकवादको जग बसाले । जर्मनीमा हिटलरले नाजीवाद बचाउन जनादेशको बललाई जनतामारा बन्दुक बनाइदिए । ०६३ सालमा नेपालमा भएको परिवर्तन र लोकतन्त्रको स्थापना लोकतन्त्रलाई भ्रष्टहरूले भ्रष्टाचारको नाली बनाए ।
दक्षिण एसिया विज्ञ लियोरोजका अनुसार नेपाल विश्वमै स्वर्गको एकटुक्रा हो । स्वर्गको त्यो सुन्दर भाग लोकतन्त्रको नाममा नरपिचासहरूको नरक कसरी बन्यो ? कस्तुरीको सुवास आउनुपर्ने नेपालमा कुहिगन्धे हुरी चल्यो । यो सबै दिमागमा शिखण्डी सलबलाए को परिणाम हो । यो परिणाममालाई जनताले बाहेक कसैले उल्ट्याउन सक्दैन ।
१८१५ डिसेम्बर २ मा गिर्वाणविक्रमको अधिकार बोकेर गएका गजराज मिश्र र चन्द्रशेखर उपाध्याय बृटिश इण्डियाको स्वार्थमा लटपटिएपछि वर्तमानको लोकतन्त्रसम्म आइपुग्दा स्वार्थी शिखण्डीको भूतले नेपाललाई छाडेन । आज सत्ता र शक्तिमा जो छन्, ती सबै गजराज मिश्र र चन्द्र शेखरका नयाँ अवतारहरू हुन् । जसले नेपाललाई लोकतन्त्र भनेर असभ्य बनाइदिए ।