थुन्नु त परको कुरा कसैले छोएर त देखाओस् भन्ने दुर्गा प्रसाई थुनामा छन् । परिवर्तनको अभियन्तामा ठूलै चर्चा पाएका प्रसाई वीर अस्पतालमा उपचारका नाममा थुनामा छन् । उनका पछाडि लाग्ने हजारौंको भीड कहाँ छ अहिले ? दुईचार दिन उनको गृहजिल्ला झापातिर आगजनी, नाराबाजी भयो, त्यसपछि सामसुम । उनका पक्षमा नाराबाजी, धर्ना पानीको फोकाजस्तो भयो । अभियन्ता र नेपाली पलायनबादी मनस्थिति बुझेरै होला पूर्वराजा नहौसिएका । नेपाली चरित्र नै उचाल्ने र पछार्ने, अघि सारेर पछि हट्ने छ । राजा आउ देश बचाउ भन्ने नारा खूब घन्किएको धेरै वर्ष भइसक्यो । राजालाई सडकमा उतार्ने प्रयत्न ब्यापक भइरहेको छ । राजा मौन छन्, बरू भुटानतिर तीर्थ गर्न र दशैं नेपालमा मनाउने तरखरमा लागेका देखिन्छन् । दुर्गा प्रसाईलाई पहिले राष्ट्रकै तारणहार भनेर उक्साए, अहिले राज्यको षडयन्त्रमा परेका बेलामा सबै दमपच । कुलेलम । दुर्गा प्रसाई बेसहाराको स्थितिमा पुगेका छन् । दुर्गा प्रसाईलाई राज्यले थुनेपछि गतवर्ष मंसिरमा बल्खुमा निस्केको जुलुस यतिबेला निस्कनुपथ्र्यो । ती ब्यक्ति, त्यो शक्ति कहाँ बिलायो । अनेक समस्याबाट पीडित स्वदेश, विदेशमा रहेका नेपालीलाई मुक्ति दिलाउँछु भन्ने दुर्गा प्रसाई बन्दी जीवनमा छन् । लघुबित्त, सहकारी पीडित, विदेशमा जेलमा परेका, अभरमा भएका र देशभित्र बढेको भ्रष्टाचार, अपराधिकरणलाई समाप्त पार्छु भन्ने प्रसाईको बन्दी जीवन । राज्यले पुरानो साइबर मुद्दामा फसाउन लाग्दा उनी एक्लै भए । साथ दिने कोही भएनन् ।
राज्यको मनलागीतन्त्रबिरूद्ध प्रत्येक नागरिकमा नकारात्मक भावना छ । देशमा आगो बालेर बिकृतिबिरूद्ध उठ्नुपर्ने नेपाली दशैं मनाउनतिर लागेका छन् । अतिवर्षामा उद्धारसमेत नभएर मृत्यु बरण गर्न बाध्य पारिएको देख्दादेख्दै जनता बिद्रोह गर्न सक्दैनन् । मलाई थुन्यो कि यो ब्यवस्था जान्छ भन्ने भ्रम पालेर उचालिएका दुर्गा प्रसाई वीर अस्पतालमा थचारिएका छन् । साथ दिन जनता तैयार छन् तर जनतामाथि राज्यदमन हुँदा संरक्षण गर्ने कसले ? बिद्रोहमा उत्रिदा आमनागरिक भयले सडकमा आएनन् भने कोपमा परिन्छ, घरब्यवहार सबै अस्तव्यस्त हुन्छ भन्ने पीर छ । भ्रष्ट सत्ताधारीले विदेशीलाई साथ दिएका छन्, विदेशीका साथ लिएका छन्, यसकारण नेपालमा नेपालीको बलमा परिवर्तनकारी आन्दोलन सम्भव नै छैन ।
दुर्गा प्रसाईले अमर्यादित शब्द एक महिलामाथि बोलेकै हुन् । त्यही बहानामा दुर्गा प्रसाईलाई पक्राउ गरियो, पूर्जी थमाउँदै कोपमा पारियो । साह्रै असभ्य भाषा संसद, सडकदेखि जता पनि ठूला ठूला नेता बोलिरहेका छन्, दुर्गा प्रसाईलाई मिलापत्रमा छोड्न पनि सकिन्थ्यो । राज्य लागेपछि कसको के लाग्छ ? पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले भनेझैं प्रचण्ड, ओली, देउवाका मान्छे भनेपछि सबै छूट हुन्छ । हो, यस्तै छ नेपालको शासन सत्ताको चरित्र । जसरी ०४६ र ०६३ को आन्दोलनमा विदेशीले साथ दिए, त्यसैगरी साथ नदिएसम्म नेपालमा परिवर्तन सम्भव छैन । नेपाली तिनै हुन्, जो ५ सयमा एक लिटर पेट्रोल, ८ हजारमा एक सिलिण्डर ग्यास किन्न तैयार छन् तर ०४५ सालमा जहाजबाट आयात गरेर पेट्रोल ग्यास आपूर्ति गरेको पञ्चायती व्यवस्था नै फालिदिए । विदेशी प्रभावको नतिजा त्यस्तो हुनेरहेछ ।
पदीय नीति, नैतिकहीनता बढेको छ, बजेटमा भ्रष्टाचार भइरहेछ, २६ खर्ब ऋण पुगिसक्यो । आन्दोलनकारी तात्ने, सेलाउने गर्छन् । नागरिकहरूको चालामाला पनि उस्तै छ । यहीकारणले हो पूर्वराजा सन्देश, संवोधनमा सिमित रहेका । परिवर्तन ल्याउँछु भन्ने व्यक्ति, संस्था र पार्टीनेताहरू यति अविश्वसनीय छन् कि कहाँ कति बेलासाथ दिन्छन्, साथ छोड्छन् र पछार्छन् भन्नै सकिदैन । यता आन्दोलनकारी फेरि तात्न लागेका बेलामा पूर्वराजा भुटानका राजाको (नेपालमा जन्मेका) निमन्त्रणामा चारदिने भ्रमणमा लागि त्यता जान लागेको कार्यक्रम सार्वजनिक भएको छ । यो भ्रमणमा भारत र पश्चिमाहरूसँग भुटानमा गोप्य वार्ता हुनसक्ने धेरैको अनुमान छ । यस्तै यस्तै अनुमान सुनेर होला, सत्तासीन र लोकतान्त्रिक गणतन्त्रको साइनबोर्ड झुण्ड्याएर देश र जनतालाई लुट्न, लुछ्न पल्केका नेताहरूमा चिन्ता बढेको देखिन्छ ।
देश रसातलमा पुगेको पक्कै हो । विधि, कानुनव्यवस्था भत्किएको पनि पक्कै हो । कुशासनले राष्ट्रिय चरित्रमा धमिरा लागेको पक्कै हो । राष्ट्रको अस्तित्व संकटमा परेको र अब निकास निकाल्न जरूरी भएको पनि पक्कै हो । अब जनताको मनमा बिझेको यो पद्धतिको काँडो निकाल्न जरूरी भएको पनि पक्कै हो । यसका लागि जनता तात्नुपर्छ । जनतामा बिद्रोहको निरन्तरताको भाव हुनुपर्छ । जनता जाग्लान् ?