हिन्दुत्व बढी भएको नेपालमा सोह्र श्राद्धले छोएको छ । हिन्दू धर्मशास्त्रले यो बेला साँझ विहान घरमा घण्टी बजाउन प्रतिवन्ध लगाएको छ । जहाँ पुगेको छैन रवि त्यहाँ पुगेको छ कवि भने जस्तै भएको छ । घण्टी नै नबजे पछि रविको पूजा अर्चना त सवै स्वाहा हुने भएजस्तो छ ।
घण्टी घरमा आईतबार एउटाले घण्टी बजाईदियो । आईतबार अर्थात रविबार सोह्र श्राद्ध शुरू भईसकेको जान्दा जान्दै घण्टी बजाउनेलाई त कार्वाही त गर्नै प¥यो । घण्टाघरको घण्टी बजेको वरपरकाले सुनेको नसुनै गरे । तर वल्लो गाउँ र पल्लो गाउँकाले भने रालै चुडिने गरी घण्टी बज्यो भन्दै कतिले ताली ठोके, कतिले गाली ।
अचम्म, घण्टी कसले बजायो न ताली ठोक्नेलाई, न त गाली ठोक्नेलाई नै थाहा भयो ! घण्टीघरको घरमुली नै कसले घण्टी बजायो भन्दै फोन त घुमाउँदै थिए । तर उनले घुमाएको सवै आफ्नै भाईभाईदारलाई पो परेछ । सवैका फोनमा घण्टी बज्यो । भाइभारदारहरू दौडा दौड गरेर ठूलै वित्यास परे जस्तै गरी घण्टीघर पुगे । चीन पुगेका घण्टीका साझेदारहरू पनि दौडदौड गरेर घण्टी घर आउन थाले ।
आधारातमा कसले कसलाई चिने वा चिनेनन् थाहा छैन । तर घण्टीघरमा घण्टी बजाउनेलाई चिन्नै सकेनन् । त्यही सवै गुहार गुहार मागिरहेका थिए । इजरालय र प्यालेस्टिनले राष्ट्र संघमा आफ्नो अस्तित्व के हो भन्दै गुहार मागे जस्तो ।
घण्टीका भाइभारदारहरू तँछाड र मँछाड गर्दै थिए । कोही हाई काट्दै लिखा परेको टाउको कन्याउँदै थिए । कोही बाई बाई बा भन्दै कसैलाई सराप्दै थिए । प्रविधिको जमाना छ नि । भाइभारदार भन्दा बढी त नारदमुनिहरू नै थिए । नारदमुनिहरू एकतारे बजाउँदै थिए । नारायण नारायण यो यस्तो किन भयो ?
एउटाले नारदमुनिलाई भन्दियो । के ? के होला भनेको ? अव के हुन्छ हेर्दै जा । विचरा नारदमुनि नी ट्वा प¥यो ! सोह्र श्राद्ध भनेको थाहा छैन ?
जेहोस्, घण्टी बज्यो कि बजेन । तर मुटु भने बजिनै रह्यो । एक कान दुई कान मैदान भईयो घण्टी बज्या कुरा । घण्टीघरका भाइभारदारहरू आफै तीन छक्क परेको थिए । किनकी घण्टीघरमा त्यसै घण्टी बजेको हैन रैछ । घण्टी घरको एउटा भकारी नै गायव हुने भएर घण्टी बजेको रहेछ । भकारी नै गायव हुने गरी घण्टीघरको मुलीले धनको चुली बढाएपछि । सोह्र श्राद्ध होस् कि छत्तिस श्राद्ध घण्टी त बजिहाल्छ । बरू कसो शंख पनि बजाएनन् । शंख नै बजाउने गरी पुगेका केही इष्टमित्र भने मामाको धनमा फुपुको श्राद्ध गर्दै थिए । त्यो देखेर नारदमुनिलाई के चाहियो ? भए नभएको फलाक्दै बैकुण्ठधाममा आराम गरिरहेका विष्णुका छेउ पुगिहाले नि । घण्टीघरमा सोह्रश्राद्ध गर्न पुगेका भाईभारदार शंखनाद गर्दै घण्टी बजाईरहेका छन्, मध्यरातमा । सुग्रिवका बथान राम राम सत्य भन्दै छन् । जिवीराम होकि ठण्डाराम बुझ्न सकिएको छैन । नारदमुनि प्र्रश्न गरिरहेका थिए ।
उता विष्णु मुसुमुस हाँसिरहेका छन् । पृथ्वीलोकको स्वर्गमा पुगेर घण्टीघरमा घण्टी बजाउन लगाउने उनीपनि कहाँ कमका छन् र ? पाँचपाण्डवका मामा जस्तै छन् । पासा पाल्न राम्ररी जानेका । पासा नखेल्ने तर मज्जाले खेलाउने उनलाई राम्रै थाहा छ कि सोह्र श्राद्धका क कसको श्राद्ध गर्दा ठिक हुन्छ भन्ने कुरा । त्यसैले मुस्काउन नछाडेका उनी पृथ्वीलोक मै स्वर्ग देखिसकेका छन् । अव सक्किने कि सच्चिने भन्ने कुराको लेखापढी गर्नु पर्छ भन्दै उनले छत्तिस जीवीको टिवी नै छिराईदिएका रहेछन् । त्यही टिवी लाग्या रैछ र पो शंखनाद सहित घण्टी बज्या रैछ ।
के होला ? न्यायको लागि कस्तो घण्टी बज्छ नै थाहा छैन । आफूले गरेको ठिक अरूले गरेको बेठिक भन्ने न्यायाधिशहरू आईसकेपछि । उनीहरूले बोलेसी बोल्यो बोल्यो उत्तर तिर पानी बगेको छ भने जस्तै हो । साम दाम दण्ड भेद प्रयोग गर्ने न्यायालयका ठिसहरूले आफू अनुकूल गर्नाले पनि कहिले घण्टीघरमा बज्ने कहिले सानेकोको घरतिर बारूद पड्किने ! सोह्र श्राद्धमा भाउजु नै उता गएपछि हुन्छ के ? कागले कान लग्यो भन्दैमा कानै नछामी कागको पछि लाग्ने स्याहरू भएको ठाउँमा यस्तै हो ? मान्छे बेच्ने देशका धनी राजनेता भएपछि हल्ला खल्ला त हुनै पर्यो नि ।
बालाजुको घण्टीघरमा बसेर गुहार मागेर मात्र हुँदो रहेनछ । समुद्रमन्थन गर्न कुरेर बसेका सुग्रिवका सेनाहरूले त्यत्तिकै सलबलाई रहेका छन् । नारदमुनिहरूका विभिन्न मुखुण्डोधारी पनि घण्टीघरमा रालोको फेदा समाउन खोजिरहेका छन् । डरले थर्रथर्र कापेर भएपनि न्यायका लागि लड्ने हो भन्न पनि त पर्यो ! आफूले कति अन्याय गरे । कतिका खेतखेत सकियो भन्ने कुरा पनि थाहा पाउनु प¥यो ।
छलछाम र लुँछाचुँडी नगर्ने हो भने त न त विष्णु स्वर्गमा हाँस्दै हुन्थे । नत सुग्रिवहरू दलवल सहित समुन्द्र मन्थन गर्न आईपुग्नु पर्ने थियो । जे होस् । चोरको खुट्टा काट भन्ने वित्तिकै उठाएको जस्तो । हंसेहरूले के गर्न खोज्या हो पनि थाहा छैन । न्यायका लागि लड्छु भन्ने बोली न बोल्न परिगो । कसको न्यायका लागि हो भन्ने कुरा त पानी जत्तिकै छलङ्गै छ । अव गुहार गुहार भन्दै गुहार माग्न नपरोस् । बाख्रा बथानमा बोका एक दुई थान त अट्लान तर सँधै नअट्ने भएपछि गुहार त लगाउनै प¥यो । माग्नु बाहेक के हुन्छ र ? लोकतन्त्र पनि अचम्मको छ, जसमा गणतन्त्र पनि मिसाएपछि के चाहियो । ठूला दलपतिहरू आपसमा मिल्छन्, झगडा गर्छन् । एकदोस्रालाई खुइल्याउन पनि खोज्छन् । अन्तमा सबै चूप । सेटिङ् र मिलिभगत लोकतन्त्रको सबैभन्दा ठूलो विशेषता बनेको छ । बाह्रमज्जा भनेको यही हो ।