Advertisement Banner
Advertisement Banner

०७ शुक्रबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

Image

राजा फालेर रछ्यान बनायो यो पद्धतिले

राजन कार्की

१५ मंगलबार , आश्विन २०८१२ महिना अगाडि

राजा फालेर रछ्यान बनायो यो पद्धतिले

राजा फालेपछि स्वर्ग बन्छ देश भन्नेहरूले राजा फाले, हिन्दुराष्ट्र फाले, संघीयता ल्याए, समानुपातिक ल्याए, राष्ट्रलाई भ्रष्टाचार र नैतिकहीनताको रछ्यान बनाइदिए । चरित्रहीन बनेपछि मान्छेमा के गर्न हुने, के नहुने भन्ने सीमा नै नहुने रहेछ । चितवनको ध्रुवे हात्तीले झैं राष्ट्रका विधि व्यवस्था, नीति सिद्धान्त, संविधान भताभङ्ग पार्ने काम भयो ।
विश्वमा उत्कृष्ठ भनिएको लोकतन्त्र नेपालमा नेतातन्त्र बन्यो, मत्स्य न्याय स्थापित गरायो । यो पद्धति रहिरहने हो भने राष्ट्रको अस्तित्व मटियामेट हुन लामो समय लाग्नेछैन । 
राजा महेन्द्र बिते, वीपी बिते तर ७५ वर्षको प्रजातान्त्रिक अभ्यासपछि पनि राजा महेन्द्र र वीपी कोइरालामात्र राजनेताका रूपमा चर्चित छन् । सकारात्मक, नकारात्मक जस्तो होस्, चर्चा यी दुईको छ र नेपाल रहेसम्म रहिरहनेछ किनकि आज पनि विश्लेषणको निथार यही छ– यी दुई १० वर्ष मिल्न सकेको भए नेपाल यसरी रक्षान भएर सड्नुपर्ने थिएन । अथवा वीपीको प्रजातन्त्रवाद र महेन्द्रको राष्ट्रवादलाई अनुकरण गर्न सकेको भए ०४६, ०६३ र ०६५ सालको परिवर्तनपछि  यतिसम्मको हुर्मत जानेथिएन ।
वीपी र राजा दुबैले एकदोस्रालाई मान्थे, सम्मान गर्थे । वीपी राजाका भान्सामा पुग्थे, महारानीले तरकारी काटेको ठाउँमा पनि पुग्थे । तर एकदोस्राप्रति आकाशजमीनको भिन्नता थियो । वीपी प्रजातन्त्रवादी, महेन्द्र राष्ट्रवादी । नदीका दुई किनारजसरी बाँचे, मिल्न सकेनन् । यद्यपि वीपीले जीवनभरि राजतन्त्रको गर्धनसँग गर्धन जोडिरहे, राजाले वीपीलाई सम्मान गरिरहे । वीपी बिते, वीपीका शाश्वत नीतिहरू बिलाए । वीपीसिद्धान्त उत्तराधिकारीहरूले  कम्युनिष्टको चकलेटी आकर्षणमा सेलाए । कांग्रेस छ, गुट र फुटमा छ । कम्युनिष्ट र कांग्रेसको अनुहार छुट्याउनै मुस्किल अवस्थामा छ ।
२०६५ सालमा राजतन्त्र फालियो । कांग्रेसलाई नै थाहा छैन । फालेर प्रजातन्त्र कति बलियो भयो, त्यो पनि कांग्रेसले मनन गर्नै सकेन । हिन्दुधर्म हटाएको इसाईको डलर दवावले हो । कम्युनिष्टको उग्र भाषण, कांग्रेसको सत्तालोभमा राजतन्त्र र हिन्दुधर्ममात्र फालिएन, संघीयता र समानुपातिक व्यवस्था अँगालियो । सिस्नो रोपेपछि फल्ने फुल्ने सिस्नो नै थियो, राष्ट्रवाद र प्रजातन्त्र कमजोर भयो र राष्ट्र असफल हुँदै गएको छ । वीपी थिए र राजतन्त्र थियो । राजतन्त्र थियो र कांग्रेसको प्रजातन्त्रवाद थियो । प्रजातन्त्र र राष्ट्रवाद ज्यूँदो थियो र दुवै थिए । आज न समाजबाद छ, न राष्ट्रवाद । राजनीति अपराधतन्त्रमा छ । राजनीति बहादुर हो कि बगरको बुहारी झार ? लाजमर्दो अवस्था छ लोकतन्त्रको ।
राष्ट्रवादी राजतन्त्र र प्रजातान्त्रिक कांग्रेस– राजतन्त्र मारियो, कांग्रेसको प्रजातन्त्र कम्युनिष्टको चक्रव्यूहको ब्रह्मनालमा घिटीघिटी अवस्थामा छ । कांग्रेसको मुहारमा कम्युनिष्टको, कम्युनिष्टको मुहारमा कांग्रेसको मुखुण्डो देखिन्छ । राजनीतिमा सिद्धान्तको टाउको देखिन्न । हाम्रो लोकतान्त्रिक राजनीति मुर्कट्टाजस्तो लाग्न थालेको छ ।
कम्युनिष्ट भनिरहेकै छन्– ‘पुग्ने एकदलीय शासनमै हो’ भन्ने स्कूलिङ गरिरहेकै छन् । कम्युनिष्ट सत्ताको भाङ्मा लठ्ठिएर प्रजातन्त्रको चीरहरण गरिरहेकै छन् । बरू महाभारतमा कतै कतै दुर्योधन हच्किएको देखियो, लोकतन्त्रलाई नङ्ग्याउन र नाङ्गिन कांग्रेस, कम्युनिष्ट र अन्य दलले कुनै कसर बाँकी राखेनन् । कसैको पनि नीति र अनीतिमा कुनै भिन्नता देखिन्न । राष्ट्रवादको मन्त्र जपेर राष्ट्रमाथि बलात्कार गर्नु लोकतान्त्रिक रामनामी ओढेको राजनीतिको कमाल हो । संसद, सिंहदरवार र शीतल निवास, ओहदावाल र ठूला प्रशासकहरू दोहोरी साँझमा रमाएका छन् । जहाँ नशा छ, बेहोसी छ, चेत छैन, विवेक छैन, त्यहाँ हुने व्यभिचार हो । लोकतान्त्रिक शासन मधुशालाजस्तो लाग्छ । वीपी र महेन्द्र बिते, अर्को राजनेता जन्मिन सकेन । शासन जंगल बन्यो ।
राणा शासन । एरिगा ल्युस्टाग राज सेविका नर्स । उनले समेत त्रिभुवनको दूत बनेर साथ दिइन् । कारण एरिगाले राजाको निरीहता र जनताको बिजोगबाट ग्लानीवोध गरेकी थिइन् । स्वयम् राजा त्रिभुवनले नर्सलाई भनेका थिए– असली राजा श्री ३ हुन् । म नाममात्रको श्री ५ हुँ । ताला मारिएको पाँच पाँच ढोकाबाट म थुनिएको छु । इतिहासकारहरू भन्छन्– राजाले तिनै नर्सका माध्यमबाट राणालाई सर्प, राजदूतलाई चरा र चिठीलाई फूलको सांकेतिक भाषामा जनतासँग सम्पर्क स्थापित गरेका थिए । यसैले २००७ साल ल्यायो ।
त्रिभुवनपछि महेन्द्र, जसले देशै नरहने बुझेपछि २०१७ सालमा शासन हातमा लिए । भन्नलाई प्रजातन्त्र मास्ने राजा भने पछि तिनै महेन्द्रले नेपालीत्वको जग हाले । जुन जगमा वर्तमान नेपाल उभिएको छ । आफ्नै खुट्टामा उभिएको राष्ट्रलाई व्यवहारा पराधीन बनाउने यिनै नेताहरू हुन् । जो स्वार्थको नालीमा डुबिरहेका छन् । जसले राष्ट्रवाद र प्रजातन्त्र दुवैलाई रगतको आँसु दशधारा रूवाइरहेका छन् । अचम्म, २०४६, २०६३, २०६५ मा ठूला परिवर्तन भए । ८ वर्ष लगाएर संविधान लेखे । दुईपल्ट आवधिक निर्वाचन भइसक्यो । लोकले परिवर्तनको अनुभव नै गर्न पाएका छैनन् । कुनै प्रधानमन्त्रीले मेरो देश महान् भनेनन् । राष्ट्रप्रति गौरव गरेनन् । नेतृत्व ठ्या कि मठ्याह छुट्याउन सकिन्न । यिनको अवसरवाद चरित्रले राष्ट्रवाद र प्रजातन्त्र खिइँदै गएको छ ।
राणा शासनपछि अनेक परिवर्तन भए । २०१७ देखि २०२८ वीचमा बाहेक रचनाशील र सिर्जनाशील केही पनि हुन सकेन । राजा वीरेन्द्रले केही प्रयास गरे, ०४६ पछिका ३६ वर्ष भ्रष्टाचारमात्र भएका छन् । लिक्वान यु र महाथिरको सम्झना धेरै पटक गरियो, हरेक नेता बलेको सत्ताको शिखामा पुतली झुम्मिएजसरी झुम्मिरहे, चरित्रहीनता देखाइरहे ।
कुनियतवाला नेता बेइमानी भए । दोष नागरिकको पनि छ । नागरिकले कस्तो नेता बनाउने भनेर कहिले सोचेनन् । अधर्मीलाई खादा, माला, अभिनन्दन, सिन्दुरे जात्रा गरी गरी अधर्म बढाउने नागरिक नै हुन् । यही देखेर कालीप्रसाद रिजालले गीत लेखे– मुटुमाथि ढुङ्गा राखी हास्नुप¥या छ ।
भनिन्छ, भ्रम चिरायु हुँदैन । ०४६ सालमा राजा वीरेन्द्रको पुतला दहन गर्नेहरू, ०५८ सालमा तिनै राजाको हत्या भएपछि टाउको मुडेर किरिया बसे । १८ वर्ष भयो लोकतन्त्र ल्याएको, एकजनाले पनि कुनै नेतामा आस्था राख्दैन, संविधानलाई अपनत्व ग्रहण गर्दैन भने यस्तो पनि पद्धति हुन्छ ?
आज माओवादीका पछाडि माउरीजसरी लावालस्कर देखिन्न । कांग्रेस, एमालेलगायतका कुनै दलका नेता पनि खुलेआम जनताका सामु उभिन सक्दैनन् । किन ? किनकि नेतृत्व र पद्धतिप्रति जनताको आस्था र विश्वास मरिसक्यो । 
यी नेता र योपद्धति चरम अलोकप्रिय स्थितिमा पुगिसकेको छ ।
इतिहासमा एउटा घटना छ– मुसोलिनीका प्रशंसकहरूको होस खुलेपछि मुसोलिनी र उनकी प्रेमिकालाई वीच बाटोमा उल्टो झुन्ड्याउने उनलाई देवता मान्नेहरू नै थिए । जो त्यो बाटो हिड्थ्यो, तिनीहरू मुसोलिनीलाई थु थु थुकेर हिड्थे । जसरी १९७५ मा सिक्किम भारतमा मिलाउने राष्ट्रघाती लेण्डुप दोर्जीलाई सिक्किमेहरूले देख्यो कि थु थु थुकेका थिए । यतिसम्मको घृणा सहेर लेण्डुप मरे । हाम्रा नेताहरूले इतिहासबाट पाठ सिक्ने कहिले ? धुपौरेको धुपध्वाँर, आरतीगान सुनेर म ख्यातिको शिखरमा छु भन्ठान्नु आत्मरति हो । 
यासिर अराफात हरहमेसा भन्ने गर्थे– हामी शून्यतामा महल होइन, प्यालेस्टाइन धर्तीमा झुपडी बनाउन चाहन्छौं । राजाले निर्माण गरिदिएको, आधार खडा गरिदिएको राष्ट्र पाएका हाम्रा नेताहरूले राष्ट्रको धुरीमा आगो लगाएर खरानी बेचिरहेका छन् । यो राजनीतिक अपराधकर्म कहिलेसम्म ?  महाकवि देवकोटाले लेखेका थिए– ‘खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? आफू रित्याई अरूलाई दिनु जहाँ छ ।’ नेतृत्वले पढ्नुपर्ने, चेत्नुपर्ने हो, स्वार्थको भाङ्मा लठ्ठिएका छन् ।
गर्जने सिंह अर्थात् बिसौं शताब्दीका युगपुरूष विन्सटन चर्चिलले बोल्ने भनेपछि श्र्रोता र सहभागीहरूको व्यापक र उत्सुकतापूर्ण भीड हुने गथ्र्यो । एक दिनको विशेष कार्यक्रममा चर्चिलले बोल्नु थियो । ठूलो मैदानमा अटाइ नअटाई मान्छेहरू आएको देखेर प्रशंसकले प्रशंसा गरे– तपाईं साह्रै लोकप्रिय नेता हुनुहुन्छ । तपार्इंको भाषण सुन्नका लागि लाखौं मानिसहरू जम्मा भएका छन् ।
चर्चिल खिसिक्क हाँसे र प्रशंसाको प्रत्युत्तर दिए– यो भीडमा थोरै भाषण सुन्न र अत्यधिक मानिसहरू तमासा हेर्न आएका हुन् । यदि भोलि यही स्थानमा मलाई फाँसी दिने घोषणा गरियो भने योभन्दा ठूलो भीड देखेर तपाई अचम्मित नभए हुन्छ । त्यति बेलाको चर्चिलको प्रत्युत्तरको गुढार्थ वर्तमान नेपालका क्रान्तिकारी, समाजवादी, लोकतन्त्रवादी नेताहरूले बुझुन् । बुझ्नसके पछि पछुताउनु पर्नेछैन ।