Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

सुदूरपश्चिम हेर्ने कसले?

२४ सोमबार , फाल्गुण २०७२११ बर्ष अगाडि

इस्लामलाई पनि जोड्ने हो भने नेपालमा ५ सभ्यता छन्। तथापि जंगबहादुरले कोतपवबाट उदय भएपछि १९१० मा मुलुकी ऐन जारी गरेपछि वर्णव्यवस्था र विभेद सुरु भएको देखिन्छ। विभेद भएपछि उत्पीडन र उकुसमुकुस त हुने नै भयो।

भनिन्छ, हर्षदीप जोशीको नेतृत्वमा गएको गोर्खे फौज अंग्रेजसँग हार्‍यो र १५ सयमध्ये १४ सय ९८ लाई लहरै उभ्याएर काटियो। दुईजना उपाध्याय बाहुन भएकाले तिनलाई छाडियो। तर तिनका परिवारजनका ५ सय जना कन्यालाई काशीमा लगेर ५ रुपैयाँका दरले बेचियो। भनिन्छ, सुदूरपश्चिमको कथा यही हो र यही घटनाबाट सुदूरपशिचममा शोषण, दमन र उत्पीडन सुरु भएको हो।

इतिहास बुझ्नेहरु भन्छन्– लखनथापा पहिलो सहिद होइनन्। पहिलो सहिद थापाभन्दा २७ वर्ष अघि बझाङबाट राणाविरुद्ध विद्रोह गर्ने बाँकावीर अर्थात बलवीर सिंह थिए। जाजरकोट र दैलेखका समेत सेना लगेर बलवीर सिंहको हत्या गरियो। त्यसपछि जयपृथ्वीवहादुर सिंहलाई चन्द्रशमशेरले छोरीज्वाइँ बनाएका थिए। तथापि जयपृथ्वीबहादुर सिंह राणासँग सहमत नभएपछि मुग्लाङ भासिएका हुन्।

२०१९ सालमा ओम सिंहको हत्या भएपछि सुदूरपश्चिमले नयाँ ढंगको बिद्रोह सुरु गरेको हो। यो उत्पीडन र विभेद सुदूरपश्चिमले अहिले पनि भोगिरहेको छ। सुदूरपश्चिम राज्यको विभेदमा परेको छ। विकास निर्माण र शासन व्यवस्था सुदूरपश्चिममा छैन, मात्र पीडा छ, छटपटी छ, अन्याय र अत्याचार छ।लाग्छ, सुदूरपश्चिम नेपाल हो कि होइन? किनभने राज्यको उपस्थिति सुदूरपश्चिममा साह्रै न्यून देखिन्छ। अकाल, बेरोजगारी, स्वास्थ्यसेवाको असुविधा, मान्छेलाई चाहिने जे जति कुराहरु छन्, ती सबै समस्याले सुदूरपश्चिमलाई खाइरहेको छ। सुदूरपश्चिम रुन्छ, राजधानीले सुन्दैन। सुदूरपश्चिम चिच्याउँछ, राजधानीले वास्तै गर्दैन। सुदूरपश्चिम समानुपातिक विकासबाट बन्चित छ। सुदूरपश्चिम राज्य अन्यायमा परेको छ। रोग, भोक र शोकग्रस्त सुदूरपश्चिमलाई कहिले हेर्ने?