लोकतन्त्र वेष्ट मिनिस्ष्टर पद्धति हो । यो पद्धतिमा लोकलज्जा हुनुपर्छ, चरित्र हुनुपर्छ । जोसँग चरित्र छैन, लज्जा छैन, उसले लोकतन्त्रलाई लज्जित बनाउँछ ।
नेपालमा लोकतन्त्र ल्याइयो, लोकतन्त्रको मर्यादा राख्न सकिएन । लोकतन्त्रका नायकहरूमा लोकतन्त्र हाँक्ने क्षमता नै रहेनछ । यसैले त लोकतन्त्र भनेको भ्रष्टाचारवाद, अनैतिकतावाद, परिवारवाद, अपराधवाद, माफियावाद, बाहुबलीवाद, सेटिङवाद बनाइदिए ।
परिवर्तनको १८ वर्षपछि लोकतन्त्र नाङ्गेझार भइसकेको छ ।
जसरी शिवरात्रिमा मेला भर्न भारतका विभिन्न ठाउँबाट नागाबाबा पशुपतिमा आउँछन्, लज्जाहीन भएर नाङ्गै बस्छन् । आफ्नो लिङ्ग ढोक्यो भने महिलाको मनोकाङ्क्षा पुग्छ भन्ने भ्रम छरेर महिलालाई लिङ्ग ढोकाउँछन् । दक्षिण लिन्छन् । शिवरात्रि सकिएपछि दान दक्षिणा बोकेर भारततिरै लाग्छन् ।
यही नागाबाबाबो प्रवृत्ति लोकतन्त्रका नायकहरूको छ । ठूला ठूला पार्टी र पार्टी नेताहरू जनतालाई नग्न चरित्र देखाइरहेका छन्, जनता तिनैलाई ढोगिरहेका छन् । मनाकाङ्क्ष पुग्ने आशा र विश्वास गरेर प्रतिक्षारत छन् । लोकतन्त्रको १८ वर्षमा पनि आमनागरिकमा चेत खुलेको छैन । मनमा असन्तुष्टि छ, आक्रोश छ, केही पनि भएन भन्ने भावना पनि छ । फेरि पार्टी र नेता देख्नासाथ भाङ् खाएझैं लठ्ठिन्छन्, तिनकै पछि लाग्छन् । होस खुलेका बेलामा आलोचना गर्छन्, फेरि बेहोस हुन्छन् । यही पद्धति, यिनै पार्टी, तिनै नेतालाई देवत्वकरण गर्न अग्रसर हुन्छन् ।
विश्वलाई प्रष्ट भइसक्यो, नेपाली राजनीतिमा नीति, नैतिकता, सिद्धान्त र इमानदारिता केही पनि बाँकी छैन । नेपालमा राजनीति होइन, अपराधनीति चलिरहेको छ । राजनीतिलाई ठग व्यापार नीति बनाइएको छ । नेपाल दण्डहीन, विधिको शासन नभएको, कानुनव्यवस्था भत्किएको मुलुक भइसक्यो । तैपनि नेपाली सहिरहेका छन् । नेतृत्व यिनै जनतालाई जुकाले रगत चुसेझैं चुसिरहेका छन् । देश खोक्रा भइसक्यो ।
राजनीतिमा लागेकाहरूलाई पाप धर्मको छ्यानब्यान छैन । राजनीतिका खेलाडीहरूका लागि स्वार्थसिद्ध भन्दा अर्को कुनै उद्देश्य नै रहेन । नेपालको राजनीति कस्तो छ भन्ने सम्बन्धमा एक बुद्धिजीवीको टिप्पणी यस्तो रहेको छ– लाज लाग्यो भनेर एउटी महिलाले फरिया उचालेर मुख छोपेजस्तो । लोकतन्त्र जता हे¥यो ह्वाङ्गै छ, लज्जा पनि लजाइरहेको छ । नेपालको राजनीति दुबैतिर प्वाल परेको पुङ्माङ्जस्तो भइसक्यो ।
विश्लेषक सौरभ भन्छन्– अघि अघि जनयुद्ध, पछि पछि बाइबल आएको रहेछ । राष्ट्र बनाउन यी आएकै होइनन् । यदि विदेशीले अनुमति दिने हो भने नेपालमा ३ जनामात्र बस्नेछन्, बाँकीले नेपाल छाड्नेछन् । ती तीनजना भनेको केपी ओली, प्रचण्ड र शेरबहादुर हुन् ।
परिवर्तन, लोकतन्त्र भनेको त लुटतन्त्र मच्चाउने मिसन पो रहेछ । राजा किन फालियो, धार्मिक स्वतन्त्रताका नाममा धर्मनिरपेक्ष किन बनाइयो, संघीयता किन लादियो ? सवालको जवाफ दिन सक्दैनन् यिनीहरू । लोकतन्त्र लाज पनि लजाउने अवस्थमा पुगिसक्यो ।
२०६३ सालमा १९ दिने जनआन्दोलन पनि भएकै हो । भारतले करण सिंहलाई पठाएकै हो । करण सिंहकै साक्षी रोहवरमा मरेको संसदलाई राजाले ब्यूँताइदिएकै हो । त्यही संसदमा जनयुद्धकारीलाई ८३ सांसद बकसमा दिएर प्रधानमन्त्रीले कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गरे । नेपालको सार्वभौमिकताको विषयमा बेला बेलामा वकालत गरिरहने चीनका राजदूतले छँदाखाँदाको राजालाई बाइपास गरेर प्रधानमन्त्रीलाई ओहदाको प्रमाणपत्र पनि बुझाएकै हुन् । संविधानसभाले गणतन्त्र कार्यान्वयन गर्दासमेत चीन बोलेन । त्यही चीन थियो, जसले एक प्राध्यापकलाई पुस्तक लेख्न लगाएर दरवार हत्याकाण्डमा भारतको हात छ भनेर ठोकुवा नै गरेका थिए । अहिले आएर चीन बीआरआई कार्यान्वयन गर भन्दैछ, नेपालमा चीनविरोधी गतिविधि बढ्यो भनेर चिन्ता गर्छ । भारत नेपालमाथि बिस्तारवाद थोपरिरहेको छ । पश्चिमाहरू पनि नेपालमा पसिसके । रूसको छुट्टै रणनीति छँदैछ ।
अर्थात् नेपाली भूराजनीतिको गोलचक्करमा फस्न पुगेको छ ।
संविधान जारी भएपछि पहिलो र दोस्रो आवधिक चुनाव पनि भइसक्यो । नेतृत्व गण भन्छन्– संविधान कार्यान्वयन भयो । देश र जनताको जीवनमा लोकतन्त्र, गणतन्त्रले सकारात्मक प्रभाव केही पनि पारेको छैन । नकारात्मकताले देश र जनतालाई अन्धकार पार्दै लगेको छ ।
असोज ३ गते संविधान दिवस मनाइयो । ९ वर्ष पुगेर १० वर्ष लागेछ संविधान । संविधान दिवस, गणतन्त्र दिवस वा लोकतन्त्र दिवसमा गण वा लोक सहभागी हुन छाडेका छन् । पदासीन नेताहरू सुरक्षाकर्मी, स्कूले बालबालिकालाई टुँडिखेलमा उतारेर संविधान सफल भएको भन्छन् । यद्यपि यिनै नेताहरू संविधान संशोधन गर्न सकृय छन् । संविधानले न्याय दिन सकेन, गणतन्त्रले गणको अपेक्षा पूरा गरेन, लोकतन्त्र भ्रष्टाचारतन्त्र भइसक्यो । यो नाङ्गो दृश्यले सर्बत्र लाज पनि लजाउने अवस्था बढ्दो छ । स्वार्थको सिमित घेरामा बिधाजित थिङ्क टेङ्, बुद्धिजीवी, नागरिक समाज आआफ्नो स्वार्थका थाङ्नो बनेका छन् । थाङ्नाहरूले देशलाई पनि थाङ्नामै सुताइरहेका छन् । यो सब लाज पनि लजाउने दृश्य हेरेर नेतृत्वबर्ग उत्साहित छ । कठै लोकतन्त्र, गणतन्त्र र संविधानको यो बेहाल ?
प्रशासक अनियमितता गरिरहेका छन्, यो अनियमिततालाई राजनीतिले संरक्षण दिइरहेको छ । सत्ता राजनीतिमा संविधान होइन, सेटिङ् षडयन्त्र निरन्तर चलिरहेको छ । राजनीति सेवा नभएर व्यवसाय बनेको छ । यसकारण त राजनीति गर्ने र तिनका परिवार र वरिपरिका परिचर नाङ्गाबाबाहरू अर्वपति बनेका छन्, महलमा बस्छन्, सम्भ्रान्त जीवनयावन गरिरहेका छन् । सानालाई ऐन, नेतालाई चैन भइरहेको छ । समाजमा उखानै थियो– नेपालको कानुन दैव जानुन् । नेपालमा लोकतन्त्र संवैधानिकताको आवरणमा जङ्गलराजको पर्याय बनेको छ ।।
कुनै संवैधानिक निकाय स्वच्छ छैनन् । अदालत मन्दिरजस्तो रहेन । बागद्वारजस्तो बन्नुपर्ने संवैधानिकता ढलद्वार बनेको छ । यस्तो शासन व्यवस्थालाई कानुनी राज भन्नुपर्ने, यस्तो अपराधिक लोकतन्त्रलाई संवैधानिक भनिदिनुपर्ने ? जब संविधानको सीमा र आचरणमा कोही बसेकै छैनन्, कसरी त्यस्ता निकायहरू संवैधानिक हुनसक्छन् र ? नेतृत्वलाई लाज छैन, लाज पनि लजाइरहेको छ ।
गर्नलाई जनता पश्चाताप गर्छन् । प्रायाश्चित्त गर्नुपर्ने नेतृत्व बर्ग असफलताको शीरमा भ्रमको मयुरपंखे श्रीपेच लगाएर मुस्कुराइरहेका छन् । यिनलाई नाङ्गै भनिदिने विवेक कसैमा छैन ।
०६३ सालको बसन्त परिवर्तनपछि देशमा हौसला थियो, १८ वर्षपछि फर्केर हेर्दा त्यो हौसला मरिसकेको छ । बसन्त परिवर्तन, कोतपर्वभन्दा भिन्न रहेन । लोकतन्त्र राणा शासनजस्तो छ । लोकतन्त्रप्रति गौरव पार्टीहरूलाई मात्र छ । लोकतन्त्र लोकका लागि हुनुपर्ने, दलका नेता कार्यकर्ताका लागि हुनपुग्यो । लोकतन्त्र सराप बन्यो । व्यापारीको देश हुन्न भनिन्छ, राजनीति गर्नेहरूले राजनीतिलाई व्यापार बनाइदिएकाले यिनको पनि देश हुन्न रहेछ भन्ने मान्यता स्थापित हुनपुगेको छ ।
जर्ज अरवेलले भनेका थिए– एनीमल आर इक्वेल, सम एनीमल आर मोर इक्वेल । नेपालको राजनीतिमा जर्जको भनाइले मेल खाएको छ । किनकि नेपालमा राजनीति गर्नेहरूमा विवेक छैन, राष्ट्रप्रति गौरव छैन, माटोप्रति ममता छैन, जनताप्रति जिम्मेवारी छैन, संविधानप्रति आस्था छैन, पदीय दायित्व र उत्तरदायित्व छैन । लोक आकांक्षा, आवाज हरेक क्षण प्रताडित भइरहेछ ।
लोकले बुझेको छ, देखेको छ, भोगेको छ, चेत्दैन लोक । बदमास भन्ने थाहा पाए पनि तिनैलाई चुनाव जिताउँछन् । हतारमा गल्ती गरेर चुनावपछि पछुताउने बानी परेको छ लोकलाई । चुनावका बेलामा पुज्ने, चुनाव सकिएपछि घृणा गरेर के अर्थ ? यसकारण लोकतन्त्र लुटतन्त्र बनेको हो । मासुभात र खर्चपानी दिएपछि भोट पाइने, चुनाव जित्न सकिने भएपछि नेताले भ्रष्टाचारमा रमाउन सिकेका छन् । लोक निर्णायक हुन्, लोकले खराव आचरणलाई परास्त गर्न‘पर्ने हो । लोकले त्यसो नगरेकाले नेता छाडा साँढे बनेका हुन् । लोकतन्त्र क्यान्सर रोग बनेको हो ।
चरित्रहीन, अनैतिक बनेकाले हो, लोकनेताहरू ख्यातीको शिखरबाट घृणाको खाडलमा खस्दैछन् । विश्वास कसैमाथि छैन । ठूला ठूला सपना देखाउने, दयनीय शासन चलाउने र जे जंग चल्छ त्यही निर्णय गर्ने जंगेशैली बढेको छ । अविवेकी व्यवहार देखाउँदै सन्की निर्णयहरू गरेर अधिनाकयकी राजनीतिक पात्रका रूपमा नेतृत्वबर्ग स्थापित हुनपुगेका छन् । अब भन्न थालिएको छ, जनता जागे । अब श्रीलंका अथवा बंगलादेशको जस्तो घटना घट्न सक्छ । कुनै पनि बेला जे पनि हुनसक्छ । अर्थात् जनताले लाज नभएका नेताहरूबिरूद्ध बिद्रोह सुरू गर्ने आँट गर्न थालेका छन् । योभन्दा बढी भ्रममा जनता बाँच्न चाहदैनन् ।
वीपी र मदन भण्डारीको दर्शनमात्र मरेन, माओको नामसमेत बदनाम भयो । नेताको मुटुभित्र नेपालीत्व समेत मरेका अनेक घटनाक्रमहरू भए । नेपाली हित र हकका लागि, सार्वभौमिकता र स्वतन्त्रताका लागि नेतृत्व उभिनै सकेन । राष्ट्रका लागि अहं भूमिका खेल्ने बेलामा विदेशीको परिक्रमा गर्ने प्रवृत्ति आत्मघातसरह हुनपुग्यो । यस्तो परालखुट्टे, पराधीन नेतृत्वले सुखी नेपाली, समृद्ध नेपालको बैतर्णी तार्दैनन् । सत्य यही हो । यही सत्य बुझेर जनता बिद्रोहको मनस्थितिमा पुगेका हुन् ।
लोकतन्त्र गाईजात्रा कति हेर्ने ?
एउटा उदाहरण भारतकै । जब भारतमा अंग्रेजको शासनकाल थियो । सुभाषचन्द्र बोसले विवाह नगरेपछि सहयोगीहरूले विवाहको कुरा उठाए–
नेताजी किन विवाह गर्नुहुन्न ?
सुभाषचन्द्र बोसले भने– विवाह त अहिले नै गर्छु, दाइजो दिने कसले ?
सहयोगीहरूले फेरि सोधे– छोरी र दाइजो दिन धेरै तैयार छन्, भन्नोस् तपाईलाई के कति दाइजो चाहियो ?
बोसले भने– मलाई दाइजोमा मेरो देशको स्वतन्त्रता चाहियो । त्यो भारतलाई स्वतन्त्र बनाउन नेपालीले पनि ज्यान दिए, रगत बगाए । त्यही भारत आज नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा र अन्य सीमा अतिक्रमण गरेर नेपाललाई सताइरहेको छ । हामी देश बचाउन सक्दैनौं । लाज पनि लजाइरहेको छ, यिनको लोकतन्त्र देखेर ।