८१ हजार ऋण थाप्लोमा बोकेका नेपालीले के सोचेका छन् ? के बापत यो ऋणभारको दायित्व नेपालले लिन परेको हो ? विकास भनौं भने बिनास भइरहेको छ, समयक्रममा हुने काम बाहेक केही भएकै छैन, जे जति पूर्वाधार छन्, ती राजा महेन्द्रले बनाएर गएका हुन्, नयाँ केही भएकै छैन भने फेरि यति ठूलो ऋणभार किन ?
एउटा बालक युवा, प्रौढ, बृद्ध हुन्छ, यो समयको खेल हो । राजनीतिले के दियो जनतालाई ? देशलाई ? परिवर्तन भयो, जनताको जीवनमा के परिवर्तन आयो ? लाजगालले अभिव्यक्ति स्वतन्त्रता भन्लान् । त्यो पनि कहाँ छ र ? जता पनि भाँडतन्त्रमात्र छ । समाचार लेखेकै कारण सत्तारूढ दलकै पत्रकार पक्राउ पर्छन् । ताक परे संविधान नत्र सडक गान, जता पनि निषेधाज्ञा छ । यहाँ नाजायज कामको बिरोध गर्नै हुन्न, कि जेल जानुपर्छ, कि प्रहरी हिरासत खेप्नुपर्छ । हो, नेता र ठूला कर्मचारीको व्यक्तिगत र पारीवारिक विकास खुब भएको छ । नेकपा स का नेता घनश्याम भुसालले भनेका छन्– ४० करोडभन्दा माथिको भ्रष्टाचारमा प्रमुख दलहरूवीच सहमति हुने गरेको छ । हामीले सबै देखेका छौं, छर्लङ्ग छ, तैपनि चुपचाप बसिरहेका छौं । भर्खरै सहकारीको १५ करोड हिनामिना गरेका सत्तारूढ दलका उपसभापति तथा पूर्व मन्त्री नै नक्कली डिभोर्स गरेर खुलेआम घुमिरहेका छन् । सप्रमाण सार्वजनिक भइसक्दा पनि यिनलाई केही भएन । यसरी सहकारी ठगी गर्ने दर्जनौं सांसद पोलिएका छन् । २५ जना त विदेश पलायन भएका रहेछन् । ०४६ सालपछि, अझ भनँैं ०६३ सालपछि यस्तै बिकृति र जघन्य अपराध खातका खात भइरहेका छन् । बहुदल र लोकतन्त्रको विकास भनेको यही हो । ऋण यिनै भ्रष्ट नेता तथा प्रशासकले खाएका हुन् ।
यतिबेला सामाजिक सञ्जालमा प्रश्न उठेको छ, ऋण, अनुदान दिने राष्ट्र तथा संस्थाहरूले त्यो रकम यस्तै अनैतिक तत्वहरूलाई पोस्न दिएको हो त ? राष्ट्रका नाममा हामी नेपालीलाई बन्दकी राखेर ऋण उठाउने अनि त्यसमा भ्रष्टाचार गरेर आफू, आफ्ना परिवार र पार्टीपंक्तिलाई सबल र सुदृढ तुलाउने लोकतन्त्र यही हो । यो सबै थाहा पाएका हामी नेपाली तैपनि केही बोल्दैनौं । विभिन्न थरिले यस्ता बिकृति र भ्रष्टहरूविरूद्ध आन्दोलन गरिरहेका छन्, आन्दोलन गर्ने मिति तोकिरहेका छन् । अब यी भ्रष्टहरूको दिन सकिए, जनता जागरूक भइसकेका छन् भनिन्छ । तर आन्दोलन कहिले सुरू हुनेछ । सिंहदरवार, बालुवाटार, यी भ्रष्टहरूको दरवार घेर्न कोही उत्रदैनन् । केही दिनपछि असोज ३ गते आउँछ, गणतन्त्र दिवस । भ्रष्टहरूले भोज खानेछन्, चिप्ला भाषण गर्नेछन् । त्यसपछि दशैं तिहार आउनेछ । यो पर्व कसरी मनाउने भनेर आमनागरिक मिठो पिठो जोहो गर्न लागेका छन् । जनता लाग्नुपर्ने यी भ्रष्टहरूको शासन र सास्ती हुत्याउन लाग्नुपर्ने हो । कोही सहकारीको बचत चाहियो भन्दैछन्, कोही नदी किनारका घरवार बचाउन हारगुहार गर्दैछन् । कोही लघुवित्त र मिटरब्याजबाट मुक्ति खोज्दैछन् । जता पनि जनता मर्कामा छन्, यही शासन प्रणालीले जनतालाई सकसमा पारेको भन्ने कुरा जनतालाई किन नलागेको होला ? बालेन साह, उपसभामुख इन्दिरा राणा, धनराज गुरूङ, रवि लामिछानेमा अल्झेर बस्ने कि यो भाँडतन्त्रले चुस्यो भनेर यो तन्त्र नै फाल्नतिर लाग्ने हो ? पहिले यो व्यवस्था र यी नेतालाई मिल्काउनतिर लागौं, त्यसपछि समस्याहरूको गाँठो एक एक गरेर फुस्काउन सजिलो हुनेछ । विद्यार्थी पलायन भइरहेका छन्, युवा देशमा बस्नै चाहदैनन्, व्यापार व्यवसाय चौपट छ, एउटा त्यो कालोधनलाई सेता बनाउने शेयरमार्केट चलेजस्तो छ, बाँकी उद्यम सबै थला परिसके । विश्लेषक भन्छन्– शेयरबजार हेरेर अर्थतन्त्र मोटाएको होइन, सुन्निएको मात्र हो । त, यस्तो लठभद्र स्थितिबाट पार पाउन हामी झै सडकमा उत्रन कन्जुस्याइँ गरिरहेका छौं । बिद्रोहको बिकल्प छैन भन्ने बुझौं ।
हाम्रो पासपोर्ट कमजोर, पैसाको मूल्य कमजोर, कानुनव्यवस्था कमजोर, केही पनि सुदृढ देखिदैन । सुधारका कहीं कतै गुन्जाइस छैन । गत भदौको अन्तिममा हिन्दुहरूले ¥याली निकाले, उग्रता पनि देखाए, राजतन्त्रवादीहरूले पनि मौसम मौसममा ¥याली गर्छन्, उग्रता देखाउँछन् । चर्का भाषणबाजी गर्छन् । सेलाउँछन् । परिणाममुखी आन्दोलन हुनै सकेको छैन । त्यसो त रसातल पु¥याइएको मुलुकलाई उद्धार गर्न, उतार्न माइतीघर मण्डलातिर बेलाबखत केही मानिसहरू भेला हुने गर्छन् । परिणम शून्य ।
अब यसरी हुँदैन । दशैं, तिहार, छठ, माघी आदि नभनी सडकमा उत्रेर यो व्यवस्था प्mयाँक्न लागि हाल्नुपर्छ बाँच्ने र मुलुक बचाउने हो भने । होइन, अलमलमा पर्ने हो भने नेपाली हौं भनेर भन्न नपाईने समय नगिचिंदै छ भन्ने देखिन्छ । यी भ्रष्टहरूको कारण मुलुक एकदमै जटिल अवस्थामा पुगिसकेको छ है ।