Advertisement Banner
Advertisement Banner

०७ शुक्रबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

Image

पूर्वराजा प्रष्ट हुन जरूरी भयो

शाश्वत शर्मा

२५ मंगलबार , भाद्र २०८१२ महिना अगाडि

पूर्वराजा प्रष्ट हुन जरूरी भयो

पूर्वराजा मौन छन् । के छ उहाँका कार्यक्रम ? पूर्वयुवराज पारसले सपरिवार कुनै होटलमा पारिवारिक जमघटको तस्वीर सार्वजनिक गरेपछि यो प्रश्न उठेको हो । अधिकांश नेपाली यो पद्धति र यी नेताले सकस, उत्पीडन दिएपछि निकास खोज्दैछन् । मिडिया, सामाजिक सञ्जाल, गोष्ठी, जुलुस, सडक संघर्ष जताबाट पनि यी शासकविरूद्ध जनता लागिरहेकै छन् । सिंहाशनबाट सडक किनारामा पु¥याइएका पूर्वराजाले जनतासँगै रहेको र जनताको दुःखपीडामा पीडित भएको अभिव्यक्ति दिएकाले पनि पूर्वराजाले पनि जनतासँगै कम्मर कस्नुपर्ने बेला आयो । सिंहाशनका लागि होइन, देशको अस्तित्वरषा गर्न र माटोको दायित्व र भार बहन गर्न । दशैं तिहार सन्निकट छ, फेरि पूर्वराजाको सन्देश आउनेछ । सन्देशबाटमात्र परिवर्तन सम्भव छैन । राष्ट्ररक्षा गर्न राजा र जनता दुबै एकाकार हुन जरूरी छ । राष्ट्र विदेशीको रणभूमि बनिसक्यो । कहींकतै सुधारको संकेत छैन । २ महिना नपुगेको ओली नेतृत्वको सरकार कुनबेला ढल्ने हो भन्न सकिन्न । भारतले प्रचण्डलाई तुरूप बनाउन थालेकोले यो सरकार ढल्ने आँकलन हुनथालिसकेको छ । निर्लज्ज पदासीनहरू नेपाल श्रीलंका, बंगलादेश हुनसक्ने चेतावनी दिन थालिसकेका छन् । शासक प्रशासक जनतालाई राहत र राष्ट्रको आधार मजबुत पार्न छाडेर एउटा मेयरसँग लाप्पा खेलिरहेका छन् । बैदेशिक ऋणभारका कारण राष्ट्रको स्वराज कुनबेला तलमाथि हुने हो भन्न सकिने अवस्था छैन ।
युवाशक्ति रूँदै कराउँदै विदेश जानेक्रम बढ्दो छ । नियुक्ति, नीतिगतदेखि खुलेआम कमिशन र भ्रष्टाचार भइरहेकै छ । उत्पादन छैन, व्यापार व्यवसाय चौपट छ, आयातमुखी अर्थतन्त्र रेमिटान्सले धानेको छ । ऋणभार र बेथिति बेहोर्न नसकेर आत्तिएकाहरू आत्महत्या गर्न थालेका छन् । जनता आक्रोशित छन्, विद्रोहको आगो सल्काइरहेका छन् । पूर्वराजाले यो विद्रोहमा साथ दिने हो भने परिवर्तन अवश्यम्भावी छ । राजसंस्था, हिन्दुधर्मको बहाली, संघीयताको खारेजीका लागि जनता चिच्याइरहेका छन् । जनताको आक्रोश विषयान्तर गर्नकै लागि सत्तासीन, सांसदहरू संविधान संशोधनको कुरा अगाडि सारेको जो कसैले बुझेका छन् । जनता ज्यान हत्केलामा राखेर सडकमा उत्रन थालेका छन्, ती जनताको होस्टेमा पूर्वराजाले हैंसे गर्ने हो भने यो अव्यवस्थाले निकास पाउने थियो, व्यवस्थाले नसुधारेको अवस्था सुध्रिनेथियो । हिन्दुवादी र राजसंस्थावादी नै भन्न थालेका छन्– पूर्वराजाको उदासीनताकै कारण घोषित आन्दोलनका कार्यक्रम पर पर सर्दै जान थालेका छन् । भ्रष्टहरूले चाहेकै यही थियो ।
कोही मंसिर ७ देखि, कोही जाडोपछि आन्दोलन गर्ने भन्न थालेका छन् । पूर्वराजाले राष्ट्रको भार बोक्न नतम्सिने हो भने राजतन्त्र र हिन्दुराष्ट्रको पुनस्र्थापना असम्भव हुनजानेछ । पूर्वराजाको सन्देश, भाषण होइन, हिम्मतको खाँचो छ ।
यो असफल व्यवस्था फाल्न कम्तिमा एकलाख जनताको जुलुसले राजधानी घेर्नुपर्छ । त्यति हुने हो भने यी भ्रष्ट शासकहरू बंगलादेशका प्रधानमन्त्री पलायन भएझैं भाग्ने पक्का छ । यस प्रकारको जनप्रदर्शन गर्न पूर्वराजा राजधानीमा नउत्रेसम्म सम्भव नै छैन । अधिकांश जनता पार्टी पार्टीमा बिभक्त भएका छन् । तिनलाई एकढिक्का पार्नका लागि समेत रानु बन्नपर्ने पूर्वराजाले नै हो । विश्वासिलो संस्था, नेतृत्व पूर्वराजाले लिनुपर्छ । दह्रो नेतृत्व दिनसक्ने अरू कोही भएनन् ।
प्रधानमन्त्री र कांग्रेस सभापति टुँडिखेलमै जनविरोधको सामनामा परे । प्रचण्डको डाइनिक नेतृत्व असफल भइसकेको छ । राष्ट्रपति पाटन र भक्तपुरमै जनविरोधको अचानोमा परिसके । जनताका सामु उभिन लायक विश्वासिलो नेतृत्व एउटा पनि छैन । विद्रोह गर्ने धेरै राजसंस्था र हिन्दुवादी छन्, ती गँजेडीका गफजस्ता छन् । पुर्षाले आर्जेको मुलुक हो, बचाउनु पर्छ भन्ने हो भने पूर्वराजा अग्रसर हुनैपर्नेभयो ।
जनता यी पीडक शासकबाट निराश भए भए, परिवर्तनका लागि परेकाबाट पनि निराश छन् । अवस्था गम्भीर भइसक्यो । जनतालाई अझ निराश बन्न नदिने हो भने सोच्नुपर्छ । भनिन्छ, झिल्को कोर्नमात्र पर्छ, डढेला आफै सल्कन्छ । झिल्को निकाल्ने कोही भएनन् । जनताको नासो जनतालाई सुम्पिएँ भनेका पूर्वाराजाले कस्तालाई सुम्पिएका रहेछन् । राजनीतिक संघर्ष गर्ने हो भने भित्री खेलको अर्थ रहेन, मैदानमै नउत्रिएसम्म केही हुन्न भन्ने बुझेर एउटा निर्णयमा पुगनु उचित हुनेछ ।