०८१ साउन २० गते भोटो देखाउने जात्रा सम्पन्न भएको छ । ऐतिहासिकता जोडिएको यो भोटा जात्रामा आज पनि सोधिन्छ– यो भोटो कसको हो ।
–गोपीचन्द्र कार्की - - -
बा को हात समाएर १० –११ वर्षको उमेरमा करिव ६० वर्षअघि मत्स्येनद्रनाथको जात्राको समय जावलाखेलमा देखाउने भोटो जात्रा हेर्न गएको अहिलेसम्म पनि याद छ । त्यस समय मैले कुन ठाउँमा बसेर भोटो देखाएको हेरेको र कुन बाटो गएको, आएको राम्ररी सम्झना आउँछ । त्यसबेला ललितपुरको जावलाखेल स्थिति चिडियाखाना अगाडिको पुरै चौर खुल्ला थियो । भोटो देखाउने स्थान नजिक एउटा पाटीमात्र थियो । त्यो खुल्ला चौरमा भोटो हेर्नेले त्यतिबेला मजाले रथको वरपर नजिकै बसेर, घुमेर मजाले हेर्न पाउँथे ।
यसपाला मलाई पनि भोटोजात्रा हेर्न मनलाग्यो । हुन त भोटो जात्रा हेर्न अहिले जावलाखेल नै पुग्नु पर्छ भन्ने छैन घरमै बसेर पनि टिभीमा आउने प्रत्यक्ष प्रशारणबाट हेर्न देख्न पाइन्छ तर जात्रास्थलमै पुगेर हेरेको, देखेको त्यहाँको माहोल, जात्रालुहरूसँगको प्रत्यक्ष संवादले जात्रा हेर्नुको मजै अर्को हुन्छ । त्यसैले बेलैमा हामी बुढाबुढी त्यता लाग्यौँ ।
यसपटक बिहिबार साउन १७ गते लगनखेलबाट मच्छेन्द्रनाथको रथ तानी जावलाखेल ल्याइएको थियो । त्यसको चार दिन अघि मत्स्येन्द्रनाथको पानेजु ( पुजारी ) ले कीर्तिपुरस्थित प्यंगथाँ पुगी त्यहाँ रहनु भएको मच्छेन्द्रनाथको जीवित प्रेमिकालाई फूलप्रसाद चढाउनु भएको थियो । जावलाखेलमा रथ ल्याइएको चौथोदिनमा साइत अनुसार भोटो देखाइने गरिन्छ । पहिले पहिले त रथ तान्ने काममा राजा मन्त्रीहरू नै उपस्थिति हुन्थे रे ! अहिले भने भोटोजात्राका दिनमात्र उपस्थित हुने चलन चल्दै आएको छ ।
यहाँ राख्न खोजेको कुरा जात्राको महत्व र ठाउँ अर्थात खुल्ला चौर सम्वन्धी हो । अहिले भोटो देखाउने जात्रा हेर्न तीनै सहर मात्र हैन यस बाहेक धेरै स्थानबाट स्वदेसी विदेशी त्यहाँ उपस्थित हुन्छन् तर जात्रा देखाउने हिजोको ठूलो जावलाखेलको खुल्लाचौर साँघुरिएर सानो चोक जस्तो हुन पुगेको छ । हिजोको जावलाखेलको खुल्ला चौर अहिले खेलकूदका लागि तारबार गराएर अल्यग्याइएको छ ,यसै भित्र विभिन्न सामान बेच्ने स्टल समेत बनेका छन् । जिल्ला प्रहरी कार्यालय यहीँ पहिलेको चौर भित्रै रहेको छ । उता चिडियाखाना जान ठूलो बाटो बनाइएको छ । भोटो देखाउने स्थानमै दुई दुई वटा मोटर गुड्ने सडक बनेको छ, अनि ठूला अन्य भवन पनि बनेको पाइन्छ । मिननाथ बसेका ठाउँपटिृ पनि महानगरको पार्कका संरचना बनेका छन् । मच्छिन्द्रनाथको रथ रहेको भोटो देखाउने स्थलका रूपमा रहेको ठाउँवरपर अहिले त सलामी दिने सेनाका टुकुडी, बाजा वजाउने सेनाका टुकुडी, शसस्त्र प्रहरीको जत्था, नेपाल प्रहरीको जत्था , विभिन्न स्काउटका जत्था, र ललितपुर महानगरको प्रहरीको जत्थाले नै भोटो देखाउने स्थल ढाक्दो रहेछ । उता खेलकुदका लागि तार बार लागेको ठाउँमा गुठियारहरू भोजखान अटेस मटेस गरेर बसेका देखिन्थे । भोटोजात्रामा सरिक हुने जात्रालुहरूलाई घरि स्काउटले घरि प्रहरीले, घरि शसस्त्र प्रहरीले, खेद्दै खेद्दै पिच सडकमा पु¥याउने रहेछन् । पीच सडकमा पुगेका जात्रालुलाई पनि गाडी रोक्नु हुन्न भनेर खेद्दै उता नेपाल टेलिकमको अफिसतिर पु¥याउने रहेछन् । फेरि भोटो देखाउनु केही अघिमात्र महानगरका सफाइ कमर्चारी फोहरा लिएर धुलो उडाउने, झाडु बडारू गर्ने, मेसिनबाट पानीले धुने पखाल्ने काम पनि त्यही बेला गरिंदो रहेछ । जात्रालुको त्यो बेलामा पनि भागाभाग हुने रहेछ । भिड बढ्दै गएपछि बस्ने, हेर्ने ठाउँ नभएकाले काठमाडौँ ललितपुर चल्ने आवागमन पुरै ठप्प हुँदो रहेछ । यसरी एकैछिनको त्यो भोटो देखाउने जात्रा हेर्न अचेल ठाउँका अभाबले हसिन पसिन, ठेलमठेला, किचाघानमा बसेर हेर्नपर्ने अवस्थाको कसले सृजना गरेको होला । सम्वन्धितले यसतर्फ ध्यानदिनु पर्छकि?
लिच्छविकालका थोरै जनसंख्या भएका समयमा पनि लगनखेलमै जात्रा नदेखाई उतिबेलाका पुर्खाहरूले ललितपुरको यहाँ रहेको ठूलो चौर भएकोले सहकालका देवता मानिएका मच्छिन्द्रनाथको महत्व बुझेरै यो ठूलो जावलाखेलको चौरमा जात्रा चलाउँदै आएका होलान् । आज झन् व्यवस्थित र अझ ठूलो हुनु पर्नेमा पुर्खाले खुल्ला राखिदिएका चौरमा पनि नानाथरिका संरचना बनाएर चौर साँगुरिएर सानो चोक जत्रो ठाउँमा जात्रा देखाउन परम्परा अचले थालिएको छ । के यहाँ रहेका खेलकूदस्थानलाई राज्यले वा महानगरपालिकाले अन्यत्र व्यवस्थापन गर्न सकिन्न ? के ललितपुरबासीका लागि खुल्ला स्थान चाँहिदैन ?
नेपालकै सबैभन्दा लामो समय चल्ने जात्रा हो मत्स्यन्द्रनाथको जात्रा । यो जात्रा महिनौ दिनसम्म चल्छ । लगनखेलबाट जावलाखेल आएको चौथो दिनका दिन भोटो देखाइन्छ । जात्रा लामो तर भोटो देखाउने छोटो समयको जात्रा पछि मत्स्यन्द्रनाथको जात्रा पनि सकिन्छ । त्यसैदिन मत्स्येन्द्रनाथलाई खटमा राखि बुंगमती लगिन्छ । त्यसको ६ महिना पछि मात्र फेरि ललितपुर ल्याइने परम्परा आजभन्दा १४÷१५ सय वर्षदेखि चल्दै आएको छ । भोटो देखाउने जात्रा भने पछि मात्र थपिएको जात्रा हो । भोटो देखाउने परम्परा चाँहि यसरी सुरू भएको भनिन्छ । उहिले टौदहका नागराजा कर्कोटक नागकी जहान विरामी भै भक्तपुरका एक ज्यापु किसानले निको पारिदिएकाले उनलाई कर्कोटक नाग खुसी भै हिरा मोती मणि आदि टाँसिएको भोटो नागराजाले उपहार दिएछन् । त्यही भोटो किसानले खेतको आलीमा फुकालेर काम गरिरहेको बेला एकजनाले चोरेर लान्छ । चोरका पछि पछि लाग्दा पनि चोर समात्न नसकेका किसान एकपटक मच्छिन्द्रनाथको जात्रा हेर्न पुगेकाबेला कर्कोटक नागले आफूलाई दिएको भोटो कसैले लगाएको देखेपछि उनी त्यसलाई समातेर यो भोटो त मेरो हो भनेर लिन खोन्छन् । तर भोटो लगाउने पनि मेरो भनि झगडा गर्न थाल्छ। उनीहरूको झगडा चर्कदै गएपछि मच्छिन्द्रनाथको जात्रा समापन कार्यक्रममा आएका राजाले प्रमाण माग्दा दुवैले आफ्नो मात्र भनेकाले ल आजबाट यो भोटो मच्छिन्द्रनाथको जिम्मामा रहन्छ । जसले प्रमाण लिएर आउँछ उसैलाई दिनु भनेकाले हरेक वर्ष मच्छिन्द्रनाथको जात्रा समापनकाबेला यो भोटो कसको हो ? भोटो सुरछित छ, भनेर आजसम्म देखाउने चलन चलेको पाइन्छ । त्यस्तै भोटो देखाउने जावलाखेलको (जाह्वला ख्यः)नाम सम्वन्धमा यस्तो किंवदन्ती चलेको छ ।
‘मच्छिन्द्रनाथको शुद्ध रूप मत्स्येन्द्रनाथ (माछाबाट उत्पत्ति भएका देवता) हो, तर आजभोलि जनजिभ्रोमा मच्छिन्द्रनाथ नै अधिक उच्चारण हुन्छ’ (शताब्दीपुरूष सत्यमोहन जोशी ) । कोरोनाका समयमा रातो मत्स्येन्द्रनाथ (बुँग द्यः)को जात्रा समयमै चल्न नसक्दा स्थानीय र प्रहरीबीच जात्रा चलाउने बारेमा झडप नै भएको थियो । २०७८ सालमा पनि कोरोनाकै कारण जात्रा धुमधाम त हुन सकेन तर स्वास्थ्य मापदण्डको पालना गर्दै प्रतिकात्मक रूपमा मत्स्येन्द्रनाथको जात्रा सम्पन्न भएको थियो । त्यही जात्रासँग जोडिएको ‘जावलाखेल’ नाम कसरी रहन गएको रहेछ ? अहिलेको जावलाखेललाई पहिले नेपाल भाषामा ‘जाह्वला ख्यः’ भनिन्थ्यो । ‘जा ’भनेको भात र ‘ह्वेलेगु’ भनेको छर्नु , ‘ख्य’ भनेको चौर हो । ‘जाह्वला ख्यः’ भन्नाले भात छर्ने चौर भन्ने बुझाउँछ । उतिवेला त्यस चौरमा भातचाँहि किन छरिए छ, यसका पछाडि कारण छ, किंवदन्ती छ, मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेपछि मच्छिन्द्रनाथका पुजारी पानेजुहरूबाट विशेष साधना पछि रथवरपर भात छरिन्छ । भोटो देखाउने जात्राको अघिल्लो दिन ‘लगःया’ भनी ‘भूज्याः’ जात्रा मनाइन्छ । ‘भू ’को अर्थ थाल अथवा जमिन हो । ‘ज्याः’ को अर्थ भात । थालभरि अर्थात जमिनमा उब्जनी भएको बस्तु थालभरि राखेर मच्छेन्द्रनाथलाई चढाउने परम्परा रहेकोले यसलाई जाह्वला ख्यःअर्थात भात छरिने चौर भनियो । जाह्वला ख्यःबाट जावलाखेल नाउँ रहन गएको हो ।
अर्को भनाइमा “भ्यागुतालाई ‘जा’ (भात), उला (छर्ने), ख्योः (चउर) अर्थात भ्यागुतालाई भात खुवाउने चौर हो पाटनवासीको । जहाँ अन्न अझ धानका देवता मच्छिन्द्रनाथ बसोबास गर्छन । कीराफट्याङ्ग्रा खाइदिने भ्यागुता पूजाको यो चलन ऋग्वैदिक कालदेखिकै हो ।” (सौरभ) । चौरमा भात छरिने परम्परा आजसम्म छँदैछ । त्यसै कारणले नेवारहरूले यस चौरलाई भात छर्ने चौर अर्थात ‘जा ह्वेलगु’ भनेका हुन् । त्यही जा ह्वेलगुबाट अपभ्रंश हुँदै पछि यस ठाउँको नाम जावलाखेल रहेको हो ।
ललितपुर पाटनको महत्वपूर्ण तथा नेपालकै सबैभन्दा लामो अवधि चल्ने रातो मत्स्येन्द्रनाथ (बुंगद्यः )को जात्रा नै हो । यो जात्रा बैशाख शुक्ल प्रतिपदामा सुरू भएर प्राय असार शुक्ल चौथीसम्म करिब २ महिना चल्दछ । यसपाला त बैशाख २७ गते रथारोहण सुरू गरी श्रावण शुक्ल औंसी अर्थात श्रावण २० गते समापन भयो । अझ तिथिमिति नजुरेका समयमा त ६ महिनासम्म पनि जात्रा चलिरहन्छ । करिब १४ सय वर्षअघि सुरूभएको मच्छिन्द्रनाथको रथ जात्रा नेवारी परम्परा अनुसार ३२ हात अग्लो रथ वाजागाजा र असंख्य मानिसहरूको उपस्थितिमा ललितपुरका विभिन्न टोल परिक्रमा गरि मनाइन्छ । १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्रा चलाएको पौराणिक कथा पाइन्छ । करूणामय मत्स्येन्द्रनाथलाई ६ महिना पाटनमा र ६ महिना बुङ्मती राखिने चलन छ । हरेक वर्ष पाटनबाट सुरू हुने मत्स्येन्द्रनाथको जात्रा बुङ्मतीमा पुगेर सकिन्छ । त्यसपछि फेरि बुङ्गमतीबाट पाटन ल्याउने चलन हालसम्म छंदैछ ।
मत्स्येन्द्रनाथलाई किन कसरी नेपाल ल्याइयो त्यो किंवदन्ती धेरैलाई थाहा छ, रमाइलो पनि छ । संक्षिप्तमा भन्दा नेपालमण्डलमा एकपटक गुरू गोरखनाथ भिक्षा माग्दै हिँडेका थिए तर गृहस्थीहरूले एकमुठी अन्न पनि भिक्षा नदिएपछि उनलाई ज्यादै रिस उठेछ । त्यसपछि उनले वृष्टिको मूलधारका रूपमा रहेका नवनागहरूलाई बोलाइ उनीहरूकै नागासान बनाइ त्यसैमाथि आसन कसी बसेपछि नेपालमण्डलभर लामो समय वृष्टि (बर्षा ) नभै ठूलो हाहाकार मच्चियो ।
किन पानी परेन, के गर्दा पर्छ भन्ने विषयमा त्यसबेला राजाले नेपालमण्डलका तान्त्रिकलगायत सबैसँग छलफल गरेछन् । अन्तमा तान्त्रिकहरूले सुझाएछन्, लामोसमय खडेरी पर्नुमा गुरू गोरखनाथले नागहरूलाई जम्मागरी आसन बनाइ बसेकाले यस्तो भएको हो । गोरखनाथलार्ई खुसीपार्न आसामको कामारूकामक्षबाट उनकै गुरू सहकालका देवता ‘मत्स्येन्द्रनाथ’लाई ल्याउन सकियो भने पानी पर्न सक्छ । त्यसपछि भक्तपुरका राजा नरेन्द्रदेव, कान्तिपुरका ख्याति कमाएका तान्त्रिक आचार्य बन्धुदत्त र ललितपुरका ज्यापु किसान रथचक्र ललित तीनजना मिलेर आसामको कामारूकामक्ष गई मच्छिन्द्रनाथलाई तान्त्रिकविधि लगाई नेपाल ल्याइयो ।
उता नागासनमा बसेका गोरखनाथले आफना परम्गुरू नेपाल आएको थाहापाए । गुरूको दर्शनगर्न नागासानबाट उठी भेट्नजाँदा सबै नागहरू त्यहिबेला आ–आफना स्थानतिर लागेछन् । त्यसपछि बर्षा शुरूहुन थाल्यो । बर्षा भएपछि पुनःसहकाल आएछ । त्यसैले मच्छिन्द्रनाथलाई सहकालको देवता मानिन्छ । यस्तैकुरा ‘सिल्भाँ लेभी’ले पनि ‘नेपाल अधिराज्यको इतिहास’मा लेखेका छन् ।
नेपाल भाषामा मत्स्येन्द्र नाथलाई ‘बुँग द्यः’ भनिन्छ । मत्स्येन्द्रनाथलाई ‘बुँग द्यः’ किन भनियो त ? मच्छिन्द्रनाथलाई नेपाल ल्याइसकेपछि कहाँ प्रतिष्ठान गर्ने, लिनजाने तीनैजनाबीच बिवाद सुरू भएछ । सबैले आ आफनै ठाउँमा राख्नेकुरामा जोड गरेछन् । मूर्ति बोकेर ल्याउने ललित ज्यापूले भनेछन्, मैले त्यत्रो दुःख र श्रद्धाभाव गरेर महिनाँै लगाएर बोकेर ल्याएँ त्यसैले मत्स्येन्द्रनाथलाई ललितपुरमा राख्न पाउनु पर्छ । उनको तर्कमा सबै सहमत भै ललितपुरमै प्रतिष्ठापनगर्न दुवैजना राजी भए (संस्कृतिविद् हरिराम जोशी) । मत्स्येन्द्रनाथलाई रथचक्र किसान ललितले बुँगमतीमा स्थापना गरेकाले ‘वुग्मलोकेश्वर’ यसको नेपाल भाषामा संक्षिप्त ‘बुँग द्यः’ अर्थात बुँगमतीमा प्रतिष्ठापित भएकाले बुँग द्यः भनियो ।
बुँग द्यः लाई मत्स्येन्द्रनाथ चाँहि किन भनियो त । यसबारेको एउटा धार्मिक किंवदन्ती यस्तो पाइन्छ । पानीमा परेको शिववीर्य मत्स्य (माछा) ले खाँदा मत्स्योदरदेखि मच्छिन्द्रनाथको जन्म भएको कथा छ । ‘मच्छिन्द्रनाथ माझी परिवारका सन्तान थिए । आफना कर्म र कामले महापुरूष, महायोगी मच्छिन्द्रनाथ कहलिएका थिए । अति दयालु, सबैको सहयोगी, अरूका दुःख देख्न नसक्ने करूणामय थिए । पछि आचार्य चर्पटीसित मच्छिन्द्रले दीक्षा पाएर उनी सिद्ध भएका थिए ( राहुल साँकृत्यायन) । त्यसैले माछामारी जीविका गर्ने जातिमा जन्मेर पनि आफना अद्भूत सिद्धकर्मले माथि उठेर, सारा लोकजनको रक्षा गरे, करूणामय, लोकेश्वर, लोकनाथ भएकाले, यिनलाई माछामार्ने माझिबाट जन्मिएकाले मत्स्येन्द्रनाथ भनियो ।
वर्ष र सहकालका देवता भनि प्रख्यात भएकाले यिनीप्रति सबैको आगाध आस्था रहेको कुरा त्यसवखत नेपाल मण्डलका तिनै सहरमा यिनलाई विभिन्न नाममा स्थापना गरिएबाट पनि यिनको महत्व थाहापाइन्छ । ललितपुरमा रातो मच्छिनद्रनाथ, कान्तिपुरमा सेतो मच्छिन्द्रनाथ, भक्तपुरमा बुँग द्यः (मच्छिन्द्रनाथ) लोकेश्वर, त्यस्तै दोलखामा पनि मच्छिन्द्रनाथ रहेका छन् , त्यहाँ पनि वर्षेनि जात्रा चल्छ । मत्स्यन्द्रनाथको रथयात्रालाई दोलखामा स्थानीय भाषामा ‘बंगदेउजात्रा’ भनिन्छ । जात्रामा ललितपुरबासीको ठूलो सहभागिता हुन्छ । जात्राअघि एकपटक म दोलखा पुग्दा मच्छिन्द्रनाथलाई त्यहाँको भौगोलिक अवस्था अनुसार अथवा सिंढीमा पनि हिँडाउन मिल्नेगरी रथ बनाइरहेकोे देखेको थिएँ । ‘दोलखामा वि.सं. १५७५ मा तत्कालीन राजा नन्ददेव सिंहले रथयात्रा चलाएका थिए’ (लेखक बसन्त महर्जन) ।
हिन्दु धर्मालम्वी मन्छिन्द्रनाथलाई ऐतिहासिक सन्तगुरू करूणामयका रूपमा पुज्दछन् भने बौद्ध धर्मालम्वीले पद्यमपाणि पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्दछन् । ललितपुरमा हुने मत्सेन्द्रनाथको जात्रा किंवदन्ती अनुसार इश्वी संवत् ५४६ देखि सुरू भएको मानिन्छ । जात्राको समयमा कामारू कामक्षबाट नेपालमण्डल ल्याउन भूमिका खेलेका काठमाडौँको तान्त्रिक वन्धुदत्त आचाजुको स्मरणमा पुल्चोकदेखि गाःवाहालसम्मको रथयात्रालाई पहिलो चरणको यात्रा स्वर्गलोकको भ्रमणतुल्यका रूपमा लिइन्छ । गाःवाहाःल देखि सुन्धारा सम्मको यात्रालाई राजा नरेन्द्रदेवको सम्झनामा चलाइएकोले यस यात्रालाई मृत्युलोक भ्रमण र सुन्धारादेखि लगनखेलसम्मको यात्रालाई रथचक्र ललित ज्यापूको सम्झनामा चलाइएको भनिन्छ ।