चल्तीका अभियन्ता दुर्गा प्रसाई, ध्रुवलाल श्रेष्ठ, केशर विष्ट, गोविन्द बोहरा ब्रम्हाण्ड हुन् । दुर्गा प्रसाई मंसिर ७ गतेबाट निर्णायक आन्दोलन भनिरहेका छन् भने ध्रुवलाल श्रेष्ठले हालै राष्ट्रपति विरूद्ध जाहेरी दिन खोजेका थिए । उनको तर्क छ नागरिकता विधेयकमा पूर्वराष्ट्रपतिको नाममा टिपेक्स लगाएर आफ्नो नाम कायम गरेर कीर्ते गरेका छन् । उनको जाहेरी इन्कार गरियो । अब उनी के गर्छन् ? हेर्न बाँकी छ । अर्का अभियन्ता ब्रम्हाण्ड केही न केही गरिरहन्छन् । उनका आह्वानपत्र पनि प्रकाशित भइरहन्छन् । खाँटी राजावादी केशरबहादुर बिष्ट आजकल सेलाएका छन् । नेपाली कांग्रेस वीपीसँग सहकार्य गरेपछि उनी सेलाएका हुन् । युवराज सफल आफैमा एक्ला अभियन्ता हुन् । उनले परराष्ट्रमन्त्री डा.आरजु राणालाई मुद्दा ठोक्न भ्याएका छन् । केही समय अघि ज्ञानेन्द्र आरणभन्ने माओवादी पीडित सकृय थिए । अहिले उनी पनि चिस्सिएका छन् । बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, उनी पनि व्यवसायमा भुलेका छन् । स्वचालित कम, परिचालित धेरै छन् राजनीतिक बजारमा ।
यस्ता अभियन्ता, अधिवक्ताले माखो मार्न नसके पनि जनतालाई सुसूचित चाहिं गराइरहेका छन् । भर्खरै भ्रष्टाचारमा ५ वर्षे हदम्याद राख्नबाट सरकारलाई पछि हट्न बाध्य पार्न जनताको आक्रोश र यस्तै अभियन्ताको प्रयास हो । अभियन्ता र सामाजिक सञ्जालका कारणले पन भ्रष्ट र राष्ट्रघातीहरू तर्सिन लागेका छन् । यद्यपि युवाहरूले सडकमा आक्रोस पोखिरहेका छन्, नाङ्गो जुलुससमेत निकालेका छन् । पक्राउ परेका ३ जन युवालाई पनि धरौटीमा छाडिएको छ । यदि हुँदाहुँदै पनि अभियन्ताहरू आआफ्नै स्वार्थ र पर्दा पछाडिका खेलाडीबाट प्रभावित हुनेगरेका आरोप पनि छ । यी अभियन्ताहरूले बेला बेलामा दिएका आश्वासन सम्झिए यथार्थ स्पष्ट हुनेछ । दुर्गा प्रसाई मंसिर ७ गते आन्दोलन, ८ गते राजसंस्थाको पुर्नस्थापना, हिन्दुराष्ट्रको पुर्नस्थापना, संविधानको खारेजी हुन्छ भन्दै कुर्लन्थे लामो समय हराए । यसैगरी अभियन्ताबाट आमनेपालीले धोखा पाउँदै आएका छन् । जनतामा विश्वासको संकट देखा परेको छ । अब उनले नयाँ मंसिर ७ गते निर्णायक आन्दोलन भनिरहेका छन् । केशर विष्टले पनि एकदिने जुलुस निकाले, निरन्तर हुन्छ भने, बरफ बनेर बसेका छन् । वीर गोर्खाली, शिवसेना आदि अनेक संस्थाहरूले परिवर्तनकारी भनिएको आन्दोलन के भयो ? यही प्रवृत्तिले हो, जति पनि जनताको आक्रोस सडकमा उर्लिन्छ, ती सेलाउँछन् । यद्यपि दुर्गा प्रसाईले शासक र नेताका मुटुमा ढ्याङ्ग्रो चाहिं ठोकेको छ है । यी सबै कृया प्रतिकृया, ससाना आन्दोलन भए पनि जबसम्म योजनावद्ध तरिकाले कार्यहरू अघि बढ्दैनन् परिणाम दिने विश्वास गर्न सकिदैन । केही सहयोग देखिए पनि आमनेपालीको साथ र सहयोग रहँदैन । यसो नभएसम्म परिणाम पनि निस्कनेवाला छैन ।
परिणाम आउनुप¥यो, हल्ला गरेर केही हुन्न । आन्दोलन गर्ने, परिवर्तन दिने तर कस्तो तर्क आउँछ भने गर्मी, वर्षात, चिसो, दशैं, तिहार, छठ सबै छलेर एउटा साइत निकालिन्छ अनि त्यो साइतमा एकदिने भेला गराइन्छ । त्यसपछि फेरि सामसुम, चकमन्न समाज । यो त आन्दोलनकारीहरूले भ्रष्ट, कुनियतवालालाई नै सघाएको भएन र ? जनताको साथ र जनअपेक्षा पूरा गर्ने भए परिणाम निकाल्नुपर्छ । त्यो राप्रपा भनाउँदो पार्टीले गत वर्ष गरेको एकदिने आन्दोलन नामको भेलामा पश्चिमतिरका एक कार्यकर्ता पनि गुमायो । तैपनि राप्रपाले अर्कोदिन आन्दोलनलाई उठाउन, जनता जगाउन, न्यायका लागि आवाज उठाउन चाहेन, खोजेन । यस्तो अवस्था देखेपछि यिनको पछाडि जनता किन लाग्ने ? यसकारण यस्ता आन्दोलन, मुद्दाहरूबाट अलि अलि आश मात्र गरौं, भरचाहिं नपरौं भन्छन् आमनागरिक नै ।
घरघरबाट अन्याय र राष्ट्रघातका विरूद्ध, सुशासनका पक्षमा जनता निस्कदैनन्, तबसम्म सडकमा आन्दोलनको जीवन देखिन्न । भ्रष्टहरूबा विरूद्धमा बिगुल फुक्नसक्ने विश्वास जनतामा जगाउन सक्नुपर्छ । त्यो नआउन्जेल यस्ता नौटङ्कीहरूबाट मनोरञ्जन त होला, परिणामचाहिं केही निस्कनेवाला छैन । उल्टै भ्रष्ट, राष्ट्रघाती, जनमतघाती, समाजविरोधी तत्वहरूले ठहाका लगाएर हाँस्ने मौकामात्र पाउनेछन् ।