Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

Image

नेताको खुवा बिर्ता बन्यो देश

बैकुण्ठ भण्डारी

१० सोमबार , भाद्र २०८१२१ दिन अगाडि

नेताको खुवा बिर्ता बन्यो देश

राणाकालमा खुवा बिर्ता बाँड्ने प्रचलन थियो । लोकतन्त्र पनि बिर्ताभन्दा भिन्न रहेन । ठूला पार्टी र नेताहरू राणाभन्दा कम छैनन् । उनीहरू राजनीतिलाई माफियाकरण गरेर ७ सय ६१ सरकारमा बिर्ता बितरण गरिरहेका छन् । नेता र तिनका पिछलग्गुहरू खुवाबिर्ता हसुरिरहेका छन् ।
पल्लोघरको कान्छो फलैंचाबाट जुरूक्क उठेर कराउन थाल्यो । हैन घिच्न पनि कति सकेका हुन् । देश कंगाल बनाएर आफू मात्र मोटाउनु पर्ने । कान्छो यसरी बुर्लक्क उफ्रनुको कारण फलैंचामाथि बाको पालामा किनेर नियमित बज्दै आईरहेको रेडियोले दिएको समाचार नै थियो । 
गाउँतिर खुलेको एफ. एम रेडियोदेखि सरकारको मुख पत्र रेडियोले समेत एउटा समाचार जस्ताको त्यस्तै सुनाईरहेको थियो । मन्त्रीपरिषद्मा ठूला हाकिमहरूको तलव बढाउने त्यो पनि मर्यादाक्रम अनुसार रे ! आजकल समाचार सुनाउने देखि देखाउनेसम्मले सत्य तथ्य समाचार भन्दा पनि एउटा कुनै एजेण्टले जे दियो त्यही नै आधिकारिक भन्ने जस्तै भएको छ । त्यही भएर कान्छोले रेडियोका ब्याण्ड जता बटारेपनि हुबहु समाचार बाहेक अरू सुन्नै नपाएपछि जंगिनु स्वभाविक पनि हो । 
सरकारका बस्ने नेता र सरकारले चलाउने स्थायी कर्मचारी संयन्त्रको मात्र देश जस्तो भयो । ठूला घरे कान्छो रिसाएर आँगनमा फनफन्ती घुमेको देखेर माझघरे राजन मात्र हो र डाँडाघरे रामे पनि उतैबाट चिच्याउन थाले । ‘हैन हो ठूला घरे कान्छा, के भो आज त निकै नै भनभनिएको छस् के भो ?’ विचरा रामे र राजनले त्यस्ता समाचार सुन्ने गाउँको देशको बारे थाहा पाउने गरेको भए पो ? विहान जुरूक्क उठ्यो पारी पिप्ला बोटा हर्केको चिया पसलमा गयो । धुँवा उडायो अनि देश हाँक्ने गफ चुट्ने बाहेक के नै पो जान्या थे र ! ठूलो घरे कान्छाको बाउकै पालामा रेडियो झ्यालमा राखे धन्काउन्या खलक । त्यसका बाउले दोभानेको डाँडाको धान बेचेर किनेको रेडियो भन्ने गाउँभरिकालाई थाहा छ । 
रेडियो सुन्ने थालेकाले कान्छोले देशको बारेमा जान्न खोज्ने र चिन्ता गर्न थालेको । उ गाउँका ठेउके नेताको कुरा सुन्ने भन्दा पनि राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाका बारेमा चौतारोमा अरूलाई सुनाउथ्यो । राता घरे माइला बाले त उसलाई ठूला घरे कान्छोको सट्टा रेडियो कान्छो नै भनेर बोलाउँथे । राणाकालमा सिमितले मोज गरे । पञ्चायतकालमा हनुमानहरूले भोज गरे । प्रजातन्त्र, लोकतन्त्र भन्दै गणतन्त्र आउँदाको ३५ वर्षमा पाँच जनाले देशमाथि प्रितिभोज नै गरिरहेका छन् । मानौ देश तिनका बाउको बिर्ता हो ? कान्छोले र डाँडाघरतिर हेर्दै प्रश्न ग¥यो । 
डाँडाघरेले उत्तर आयो, ‘नभएर पनि हो के गर्नी त ?’ तिमी हामीले नै पठाको हो । उनैले जर्वजस्ती गरेका हैनन क्यार ? अरूलाई के दोष दिन्छौ आफ्नै पुर्पुरोमा हात राख ? कुरा पनि ठिकै हो । खायो लुट्यो भन्दा पनि भोट किन हाल्यो त्यही मान्छेलाई पटक पटक भन्ने सोच्नु नि ।  हो मा हो मिलाउँथै थिए माझघरे राजन पनि । 
‘हुन्देउ हो कान्छा हुन्देउ’, रामे डाँडाबाटै कराउन थाल्यो । अव रन्थनिएर केही हुँदैन । भाग्यमा लेखेपछि पायो त । हजुरबाको पालादेखि नातीको पालासम्म एउटैले हाक्यो त के भो ? दिने हामी नै हौं । मिलाई मिलाई खाउँ भनेर पठाएपछि ...। 
चुनावमा तात्ने हो । जितेर गएपछि त सामन्त भईगो नि ! अव किन टेर्छ र ? काले काले मिलेर खाउँ भाले त्यसै भनेको हो र ? कर्मचारी राजनीतिज्ञ मिल्ने हो मिलाएरै खाने हो । कर्मचारीले खाने घुस नेताले खाने त्यही घुसको कमिशन ! उताबाट राजन भट्याउन थाल्यो । पेन्सन खानेले किन लिने हो टेन्सन ? हरेक कागज पत्रमा गरे भैगो नि ‘मेन्सन’ । सरकारी कर्मचारी, न भोक न भकारी । हरेक महिना तलव, भत्ता यो सुविधा त्यो सुविधा त्यसपछि हरेक फाइलबाट निस्कने जुस खाने घुस त्यसपछि के चाहियो ? त्यसै बन्छ राजधानीमा धेरैको घर । 
‘सतो ड्रेस सेतै छ गाडी, आउने जाने सवैलाई तयारी । 
गीत बजिरहेछ । लुट्ने लुटिरहेछन् । सवारी साधन, इन्धन अरू सेवा सुविधा पनि हो । त्यत्ति गरेपो नेता पनि पालिन्छ । बेकारमा किन फालिन्छ ? उसकाबाले पनि यसै गरेका हुन् त्यसले पनि त्यसै गर्छन । कान्छोले खै किन चित्त बुझिरहेकै छैन । राष्ट्रियताको कुरा यसकाँ कहाँबाट आउला र ? बाको पालादेखि नातीको पालासम्म राजनीति । हजुरबाले पनि उनैको शासन झेले बाले पनि झेले नाती पनि उसैको शासन झेलिरहेको छ । ३५ वर्षदेखि बाउको विर्ता जस्तै गरेका छन् । अरू त मान्छे नै छैनन । अरूसँग त भिजन नै छैन । लाटोकसेरो देखि दुम्सी काँडासम्मले पालै पालो रेटिरेटी गाका छन् । अरूलाई त त्यहाँ पुग्नै नदिने हो नि । 
उपल्ला बस्नेहरूलाई मात्र महगी लाग्ने हो ? कि साना तिनालाई चाहिँ अनुदान दिएको छ र ? प्रशासन संयन्त्र पनि बाउको विर्ता होइन । राजनीति गरेको पनि बाउको विर्ता होइन । बाउको विर्ता जस्तै गरी पुस्तौ जर्वजस्ती खाईरहने हो र ? 
बाउको विर्ता जस्तै गरी सम्हाल्दा परिवर्तन चाहिँ के भयो ? तीन तहकाले कमिशन खाने देश रित्याउने । अनि फेरि बाउको विर्ता जस्तै गरी आफ्नै स्वास्नी छोराछोरीलाई सुम्पने ? पुरानो व्यवस्था भन्दा के फरक भयो र ? होइन भने ठूला घरे कान्छाले भने जस्तै भैगो नि त ? यो देश कसैको बाउको विर्ता होइन । बाँढी बाँढी खानका लागि । जिम्मेवारी लिने अनि छाड्न सक्नु पर्दछ  जनताले बस भन्दा बस्ने र जनताले छाड भन्दा छाड्नु भन्ने हैसियत राख्नु पर्दछ । न कि आर्यघाटसम्म पुगिञ्जेलसम्म सत्ताको स्वाद चाखिरहने अनि मृत्युको मुखमा पुगिसक्दा पनि आफ्नै सन्ततीलाई राखिरहने ? देश बाउको विर्ता सरह नै भयो, जनता चेत्ने कहिले ?