Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

Image

देश लुटाहाहरूले सिध्याए

बैकुण्ठ भण्डारी

०४ मंगलबार , भाद्र २०८१एक महिना अगाडि

देश लुटाहाहरूले सिध्याए

माननीय देख्यो कि अनुहार देख्दैमा पुर्पुरो तातेर आउँछ । घाटमा मान्छे पोल्न तयारी गर्न दाउरा काट्ने बञ्चरोले खप्परमा हान्न मनलाग्छ ।
के गर्ने हान्न मिलेन । त्यसो गर्नु हुँदैन रे ! उसले जति गरे पनि सहनु पर्ने अरे स्याललाई । खै माननीय भन्नु पर्ने अरे । भोट हाल्ने हामी, माननीय ऊ ? उसले हामीलाई बनाईदिएको हो कि हामीले उसलाई बनाईदिएको हो हँ ? हामीले त हाम्रै लागि केही राम्रै काम गर्ला, देशको नाउँ उँचो बनाउँला भनेर पो चुनाउमा भोट हालेको त । भोट हालेर जिताउने माननीय हो कि जित्नेचाहिं माननीय ?
जनतामाथि सधैं पीडा, शोषण मात्रै हुने । शक्तिको वरिपरि घुमेर मनलाग्दी गर्नेचाहिं माननवीय काम गर्ने कालु मकै खाने भालु भन्या यही होला, यो कलियुगमा । नेपालमा ।
राजधानीमा जन्मिएकी हजुर आमाले निरन्तर सत्य बोल्नु भो । त्यहाँ असत्यको जीत भयो अनि हजुरआमा विरक्तिएर बसाई सर्न वाध्य हुनु भो । सत्य बोल्दा बोल्दै तीन बीस काट्न नपाउँदै आफैले भनेको समयमा देह त्याग गर्नु भो ।
सत्य बोल्नुपर्छ, झुठ बोल्नु हुँदैन भनेर क ख पढ्दादेखि नै बाले सिकाउनु भो । सत्यवादी भएर बा चार बीसको उमेरमा हिँडिरहनु भएको छ । घर पहिलो पाठशाला भन्दै सिकाउने गुरूहरू अहिले कता छन् । पाठशालामा पढाएको कुरालाई व्यवहारमा उतार्न कि नउतार्ने त ? चालिस वर्ष सरकारी अड्डामा जागिर खाँदा बा सँधै गोर्खाली राजा पृथ्वीनारायणको उक्तिको विचारमा हिड्नु भो । ‘घुस लिन्या र दिन्या दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने उक्तिलाई सँधै विहान गायत्री मन्त्र जपे जस्तै गर्नु भो । अनि आफ्ना भावी सन्ततीलाई पनि त्यही कण्ठस्थ गराउनु भो ।
भिमदेव प्राविका हेड मास्टर भवनाथले विद्यालयमा किन सत्य बोल्न सिकाएका थिए ? पढ्नु अनि असल मान्छे बन्नु भनेर किन रटाएका । सत्य बोल्दा दोष माथि दोष थोपरिने शिक्षा के का लागि दिएका । यस्ता सत्यवादी मास्टरलाई के गर्नु खै ?
यी कस्ता माष्टर ? कम्तिमा ती मास्टरले पढ्नु हुन्न । झुठ बोल्नु पर्छ । सत्य त ज्यान जाला भन्नु हुन्न, बोल्नु पनि हुन्न भनेर सिकाउनु पर्दैन ? पढ्न नसिकाएको भए, सत्य बोल्न नसिकाएको भए अहिले तीनका अनुहार देख्ने वित्तिकै ‘प्रेसर हाई’ त हुँदैनथ्यो । मलेसिया दुवई वा कतार गएर तीनका किड्नी फेर्न, रगत फेर्न, चिल्ला गाडी चढ्न, मान्छे बेच्न, धन्दा चलाउन अनि तिनका सात पुस्ताका ढिकुराका पुजारीको स्याहारका लागि रेमिट्यान्स पठाउँथे होला नि ?
सही, सत्य बचनका लागि पहिलो पाठशालादेखि लिएको ज्ञान कलियुगको यो भष्मासुरहरूले बनाएको नीतिमा किन अट्थ्यो र ! यहाँ मान्छेलाई पशु जस्तै गरी बेच्नेहरूको दिन चलिरहेको छ । जनताको प्रतिनिधि बन्छु भनेर जनतालाई धोका दिँदै आमा बेच्नेहरूको लाईन छ । त्यो पातकी लाइनमा सत्य कसरी टिक्ला र ?
छिः आफ्नै छोराछोरीलाई अर्कैको बनाएर बेच्न तत्पर हुन्छ । अझ लाज सरम पचेको छ । छाती फुलाएर हिँडिरहेको छ । स्याल त्यो अनुहारलाई लाईन बसेर दश औलाले नमस्कार गरेर जेलमा स्वागत गरिरहेका छन् , हनुमानहरू । हुन त स्वार्थी, देश भँटुवा, जनता बेचुवासँग के आदर्शको कुरा गर्नु । टेलिइँटको आँगनमा तोते बोल्दै सत्य सत्य भन्ने सिकेको, भवनाथ मास्टरले सत्य बोल्नु भनेको अनि भवानी विक्रम राणासम्मले सत्य बाहेक अरू केही गर्नु हुन्न भन्ने सिकाएको बबुरोलाई असत्य गर्न र भन्न त आउँदै आउँदैन ।
साह्रै कुरूप मनोबृद्धि भएका स्यालहरूसँग कुनै सम्वन्ध जोड्नु आवश्यक छैन । देश र जनताको पक्षमा केही नै गर्न नसक्ने हुतिहारलाई माननीय भन्ने पक्षमा छँदै छैन । किन भन्ने माननीय ? माननीय बन्नलाई त सम्मान हुने काम गर्न सक्नु पर्दछ, गरेको हुुनु पर्दछ । पैसाका लागि जनता बेच्नेलाई कसरी माननीय भन्ने । त्यस्तालाई द्रव्यपिचास भन्दा भईगो नि । प्रजातन्त्र ल्याउना साथ शुरू भएको लुट गणऽतन्त्रको १४ वर्षमा बनबास होइन धनवासमा परिणत भईसकेछन् । देश, जनता लुट्ने, जनतालाई वेवकुफ बनाउने अनि जनता कै नाममा देश दोहन गरिरहेको कसरी टुलुटुलु कसरी सहेर बस्नु र ? ढिलो चाँडो ‘पाप धुरीबाट कराउँछ’ भन्ने कुरा त चिरञ्जवी वाग्ले, गोविन्दराज जोशीले प्रमाणित गरिसकेका छन् त ।
छिटै आलोपालो आईहाल्छ नि । दश बर्ष जनयुद्ध लडेर धनयुद्धमा रमाएका कमरेडहरूलाई पनि राम्रैसँग डाम्नु पर्ने परिस्थिति देखिएको छ । साम्यवादको रटान रटाएर घाँटी नै रेट्नेहरूसँग पनि मैले ठूलो अपेक्षा गरेकै छैन । प्रजातन्त्र ल्याउनका लागि लडेकाहरूले त प्रजातन्त्रलाई धोविले लुगा चुटेजस्तो चुटेर बागमतीमा लगेर बगाई दिए भने अरूसँग आशा गर्नु पनि निरक्षक छ ।
‘सत्यको जित सुनिश्चित’ भन्ने कुरालाई भित्रैबाट लिनु पर्दछ । अरूलाई दोष थोपर्ने आफू भने भुत्तो भाङ केही गर्नेसँग त कसरी कुरा मिल्छ र ? कम्तिमा म के हुँ र मैले के गर्नु पर्दछ भन्ने मात्र स्मरण गरिदिने हो भने पनि निकै नै परिवर्तन त हुन्थ्यो ? व्यवस्था परिवर्तन गरेर जनताको अवस्था परिवर्तन गर्छु भनेर डिङ हाँक्ने तर कमिशन, भ्रष्टाचार, नातावाद कृपावादमा रमाएर देशलाई नै खोक्रा बनाउने स्यालहरूलाई मैले कसरी माननीय भन्नु । जसले सुनको थाल थापेर पित्तल मागिरहेका छन् । बुद्धिबंगारो नपलाएकाहरूको हैसियत यही न हो ।
ती माग्नेहरू ! अरूले भन्दिनु पर्ने माननीय स्यालहरू ¥याल चुहाउने, ब्रम्हनालमा पुग्ने बेलासम्मपनि पद छाड्न नचाहनेहरूलाई मानीनय स्याल भन्ने भन्दा पनि अरू सम्वोधन नै गर्ने त ? स्यालहरूलाई त बुढो स्याल, लाचार, भँडुवा, तोरी लाहुेर भन्ने नामाकरण गरिदिए सवैको कल्याण हुन्थ कि ? सके देश लुटाहरूले सिध्याए ।