Advertisement Banner
Advertisement Banner

०८ शनिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

Image

मेरी आमाका हरिया चुरा

देवी काफ्ले

२१ सोमबार , श्रावण २०८१४ महिना अगाडि

मेरी आमाका हरिया चुरा

देवी काफ्ले
साउन त्यसैपनि हरियालीको महिना । शिवपार्वतीको बिशेष महिना भनेर पनि चिनिन्छ साउन । केही समय यतादेखि साउनलाई कृतिम हरियालीले छपक्कै ढाकेको देखिन्छ ।
हामी सानो हुंदा असारको रोपाईं सकिन्थ्यो, साउन लाग्दा । साउने सक्रान्तीमा लुतो फाल्ने चटारो हुन्थ्यो । त्यो बेला हातमा तिउरीका पात कुटेर लगाउने र गावाको पातले ढाकेर बांधेपछी रातो रातो बान्कीको रंग बस्थ्यो । दिदीहरूले सम्म यति गर्नुहुन्थ्यो आमालाई त के का तिउरी के का रंग !
चुराका कुरा गर्नुपर्दा हरिया पहेंला त जान्दै जानिन ।रातै चुरा लाउनुपर्छ भन्ने मान्यता थियो तल आमा, हाम्री आमा,झ्याम्की दिदी,मखिया फुपू, भूम्रेली आमै सबैको । तिनै राता चुरा पनि बैशाख लाउंदा लाउंदै हो कि सेती चुरेट्नीले (अन्यथा अर्थ नलागोस् चुरा बेच्ने महिलालाई चुरेट्नी भनेको सुनेकी मैले) डोकोमा ल्याएर आंगनमा बसेर हातका पन्जा मुसारेर लगाइदिएकी थिइन् । घाँस दाउरा, असारको रोपाईंको हिलो सबै पचाइसकेका थिए ति चुराले । दरमखोला, ठाडोखोला, मुलपानीका पानीले सायद दैनिक शुद्ध भएका थिए । त्यसैले ति कलेटी परेका राता चुराले बेलाबेला वरण फेरिरहन्थे । कहिले गाढा देखिन्थे कहिले फुस्रा । यस्तै यस्तै ।
मनमा अगाध बिश्वास बोकेकी हाम्री आमालाई हातका रंगिन चुरासँग बा को आयु नाप्ने न त फुर्सद थियो न त ज्ञानै थियो । रंगिन चुरापोते, लुगाको माग गर्नु त उनको लागि आकाशको फल आँखा तरी मर भन्या जस्तै थियो । यसो तानबुनको, बेचबिखनको यत्ती पैसो हात परीहाले पनि उनका लागि साउन के पुष के छोराछोरीकै कापीकलमलाई खर्चिहाल्थिन्, लाग्छ आफ्नो अस्तित्व नै थिएन, आफ्नो खुशिको कुनै अर्थै थिएन ।
आमा हामी सबैको दासी थिइन्  । बा को सेवा सुश्रुषा देखी लिएर सात सन्तानको पालनपोषण, खानपान, स्वास्थ्यशिक्षा, दैनिकी, आवश्यकताले उनको शरिर उनको थिएन त्यस्तो समयमा उनलाई हरिया चुरा, पहेंला कपडा पहिरेर शिवजीलाई जल चढाउन जान कुन बाटो फुकुवा थियो र ? हातका राता चुरामै संसार देख्थिन्  । बा को आयु, हाम्रो आयुको ठेक्का त उनैले लिएकी थिइन तर हरिया पोशाकमा हैन आत्मा भित्रको मझेरीमा । साउने भेल, सक्रान्तीको चटारो,तिउरीका पात, धान गोडमेल, भैंसीगोठ, बाख्राको हेरचाह के के हो के के !! ढुक्कसँग आमाको अनुहार हेर्न पनि फुर्सद थिएन । आँखा मिच्दै आँगनको डिलमा निस्किंदा आमाका हातका चुराहरू गोबरले लतपतिएका हुन्थे ।
धान रोपेर सकेपछी हरेलो गरेर दाई, बा ले एक बर्षको पेटको जोहो गरेको खुशियाली बाँड्थे आमाको रातो धोतीले पनि अब चोला फेर्ने दिन आयो भनेर होला फिस्स हांस्थिन् । साउनले दिन गनेर भदौमा पुग्ने रफ्तारमा हुन्थ्यो  । रहरका छालहरूलाई चोलाको गोजीमा सुर्के थैली थन्क्याएर हरिया खेतमा बा को आयु र साक्षात शिवजी देख्थिन् । तिनै हरिया खेतका गरामा छोराछोरीको सम्बृद्धि खोज्थिन होला किनकी उनी वाक्हिन थिइन् । उनको वाक् बा को आदेशमा थियो होला सायद । तै पनि उनले बिद्रोह गरिनन् । सन्तोष नै गरिन् ।
नयाँ लुगा फेर्न तीज दशैं कुर्न पर्ने मेरी आमालाई न त चुराको बजार बयरघारीले तान्यो न त रंगीचंगी बजार पुतलीबजारले तान्यो उनको साउने भगवान त उनका पौरखले सिर्जेको हरियो टारी खेतमा लहराएका धानका लहर थिए । उनका शिव बा थिए उनको आस्था हामी थियौं । त्यसैले होला मेरी आमा आफैं उमेर नपकाई मरिन् बालाई आफूभन्दा तीस बर्ष धेरै बचाइन् । आस्था मनमा थियो बजारको तामझाम र देखावटीमा थिएन ।कलेटी परेका राता फुस्रा चुरामा छोराछोरीको सम्बृद्धि र पतिको आयु देख्ने मेरी आमालाई हरिया चुराको देखावटी मोह कहिल्यै जागेन ।
आस्था मनमा हुनुपर्छ बाहिरी आवरणमा होइन । भगवान हृदयमा हुन्छन् देखाउन पर्दैन ।नारी प्रकृतिको सबैभन्दा सुन्दर उपहार हुन् उनका हरेक रूप पूज्य छन् त्यसैले आफ्नो सुन्दरता उजागर गर्न आयातित संस्कारलाई बढाउन पर्दै आफ्नै संस्कृतिमा रमाउन सिकौं ।