संसदको तेश्रो पार्टी माओवादी केन्द्रमा मुख्यत गत असारपछि आन्तरिक कलह चर्किएर गएको देखिएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सरकारबाट हटेपछि सो पार्टीभित्रको आन्तरिक बिवादसमेत सतहमा आउन थालेको हो । कतिपयले त अब दाहालले सो पार्टीको अध्यक्ष पद समेत त्याग्नुपर्ने अवस्था आउनसक्ने बताउन थालेका छन् । एकातिर केही नेताहरूबाट समग्र पदाधिकारीलेनै संयुक्त राजीनामा गर्नुपर्छ भन्ने आवाज उठेको छभने अर्कातिर अध्यक्ष दाहालले ०६३ को परिवर्तनपछि तत्कालीन नेकपा(माओवादी) सँग पार्टी एकता गरेको नारायणकाजी श्रेष्ठले नेतृत्व गरेको पक्षलाई पार्टीबाट अलग्याउन खोजेको देखिएको छ । दाहालबाट श्रेष्ठलाई ‘पार्टी छाडेर गए हुन्छ’ भनेको र श्रेष्ठले ‘नेतृत्व हस्तान्तरणको माग गरेको’ भन्नेसम्मका समाचार बिवरणहरू बाहिर आएका छन् । त्यसैगरी उप महासचिव जनार्दन शर्माले १३ जना सांसदसहित पार्टी बिभाजनगर्ने तयारी गरेका समाचारहरू पनि बाहिर आएका छन् । दाहाल शुरूदेखिनै कम्युनिष्ट पार्टीमा रहँदै आएको भएपनि उहाँको पछिल्लो आकर्षण दक्षिणपन्थी संसदवादी राजनीतितर्फ बढेको देखिएको छभने श्रेष्ठ नेकांबाट तत्कालीन नेकपा(चौम) मा प्रबेश गरेको भएपनि उहाँको आकर्षण अन्य क्रान्तिकारी पार्टीहरूतर्फ रहने गरेको देखिएको छ । यसअघि एमसीसी प्रकरणमा पनि दाहाल र श्रेष्ठकाबीचमा मतान्तरहरू देखिएका थिए । त्यतिबेला पनि दाहालले एमसीसी बिरोधी जतिलाई पार्टी छाडेर गए हुन्छ भनेका कुराहरू बाहिर आएका थिए । खासमा दाहाल र श्रेष्ठकाबीचमा देखिएको बिवाद बिचारधारा र अन्तराष्ट्रिय संलग्नतामा आधारित रहेको स्पष्ट छ । दाहाल स्वदेशमा सकेसम्म नेपाली कांग्रेस र नभए एमाले तथा अन्तराष्ट्रियरूपमा भारत र अमेरिका पक्षधर देखिनुभएको छभने श्रेष्ठ त्यसको ठीक बिपरित देखिनु भएको छ । पार्टी संगठनमा सामान्यतया पार्टीका अध्यक्ष अथवा सभापति सरकार प्रमुखकारूपमा चुनिएपछि दोश्रो बरियताका नेतालाई पार्टी संगठनको जिम्मा लगाउने गरिन्छ । तर दाहालले श्रेष्ठलाई ०७९ पुस १० पछि आफूसँग सँगै सरकारमा लगेर बिभिन्न तीनवटा मन्त्रालयमा घुमाएको देखिएको थियो । दाहाल तेश्रो पटक प्रधानमन्त्रि भएपछि नेपाललाई अन्तराष्ट्रियरूपमा अमेरिकी सैन्य संगठन नेटो निकट बनाउने प्रयास गरिएको धेरैले अनुभव गरेका थिए । अर्कातिर छिमेकी भारतलाई अंगाल्ने र चीनलाई एक्ल्याउने तथा चिढ्याउने कामहरू भए । ०७८ पछि त उहाँ नेपालको प्रमुख चीन बिरोधी नेताकारूपमा कहलिनु भएको थियो । रूस–युक्रेन युद्धमा हतार हतार युक्रेनको तथा इजरायल हमास–युद्धमा इजरायलको समर्थनगर्नुले धेरै कुराहरू स्पष्ट भएका थिए । प्यालेष्टानइनलाई त ‘आतंककारी’ नै घोषणा गरिएको थियो । जबकी तत्कालीन नेकपा(चौम) कै बेलादेखि नेपालका कम्युनिष्टहरूले प्यालेष्टाइनको समर्थन गर्दैआएका थिए । पछिल्लो समयमा युक्रेनका लागि रूससँगको युद्ध निल्नु न उकेल्नुजस्तो भएको छ भने इजरायलका कारण तेश्रो विश्वयुद्ध भड्किन सक्ने संकेतहरू देखिएका छन् । हमासका नेता इस्माइल हनिया गतसाता इरानको तेहरानमा मारिएपछि मध्यपूर्णमा तनाव शुरू भैसकेको छ । इरान र अमेरिका आमने सामने भएको खण्डमा तेश्रो विश्वयुद्धलाई कसैले रोक्न नसक्ने देखिएको छ । नेपालका माओवादी केन्द्र बाहेकका अन्य कम्युनिष्ट पार्टीहरूले हालसम्म पनि प्यालेष्टाइनकै समर्थनगर्दै आएका छन् ।
नेपालले चीनलाई एक्ल्याउने प्रयास गरेकोबारेमा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूले गत माघको शुरूको हप्तामा भएको नेपाल भ्रमणकाक्रममा औपचारिकरूपमा नै गुनासो गरेको देखिएको थियो । दाहालले नेपाललाई अमेरिकाको सैन्य रणनीति आइपिइसको अंग बनाउन र चीनको बिआरआईबाट बिमुख गराउन खेलेको भूमिकाको बिभिन्न क्षेत्रबाट गणना भएको देखिएको छ । पछि सो पार्टीका बरिष्ठ उपाध्यक्ष श्रेष्ठ, उपाध्यक्ष तथा प्रबक्ता अग्नी सापकोटा र उप महासचिव बर्षमान पुनको भ्रमणबाट चीनसँगको सम्बन्धमा केही सुधार आएको देखिएको थियो । दाहालले पटक, पटक गरेको भारतको भ्रमण, त्यहाँका सुरक्षा सल्लाहकारसँगको अन्तरंग सम्बन्ध र भाजपासँग गरेको पार्टीगत तहमै सहकार्यगर्ने लिखित सहमतिले पनि माओवादी केन्द्रलाई अगाडि बढ्न अप्ठेरो पारेको देखिएको थियो । पछिल्लो समयमा अध्यक्ष दाहालकै कारण माओवादी केन्द्र राष्ट्रिय र अन्तराष्ट्रियरूपमा बाम राजनीतिबाट अलग्गिदै गएको देखिएको छ । हाल माओवादी केन्द्रको विश्वका कुनैपनि कम्युनिष्ट पार्टीसँग भाइचारा सम्बन्ध रहेको छैन । पछिल्लो समयमा सो पार्टीका उपमहासचिव हरिबोल गजुरेलले सबै पदाधिकारीलाई सामूहिक राजीनामागर्न आग्रहगर्दै आफूले पद त्याग गरेपछि त माओवादी केन्द्रभित्रको बिवाद छताछुल्ल भएको छ । माओवादी केन्द्रभित्र अध्यक्ष दाहालले पार्टीलाई बिधि र पद्धति अनुसार चल्न नदिएको र सबै जनबर्गिय संगठनमा हस्तक्षेप गरेको कुरा उठेको देखिन्छ । अर्कातिर गत महिना भएको समाजवादी मोर्चाको बैठकमासमेत अध्यक्ष दाहालकै कारण मोर्चामा बिवाद बढेकोभन्ने कुरा उठेको थियो । सो मोर्चामा आबद्ध उपेन्द्र यादव नेतृत्वको जसपाले बर्तमान नेकां र एमालेसहितको सरकारलाई समर्थन गरेको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा पुष्पकमल दाहालकै कारण संकटमा परेको प्रतिक्रिया दिनु भएको छ । सो मोर्चामा रहेका तीनवटा पार्टीमध्ये नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा बैज्ञानिक समाजवादको पक्षमा रहेको छ । सो पार्टीको गत आइतबार सम्पन्न बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सम्बन्धमा ठोस निर्णय गरेन । जबकी माओवादी केन्द्रका नेताहरूले त्यस्तो निर्णय हुने अपेक्षा गरेको देखिएको थियो ।
त्यसैगरी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि माओवादी केन्द्रसँग पार्टी एकता नगर्ने निष्कर्ष निकालेको छ । सो पार्टीले माओवादी केन्द्रले औपचारिकरूपमा नै माओवाद छाडेको घोषणागर्नुका साथै पार्टीको नामबाट ‘माओवादी’भन्ने शब्द हटाउनु पर्ने माग गरेको छ । त्यसो त सो पार्टीले ०७५ जेठ तीनगते एमालेसँग पार्टी एकतागर्दा नै माओवाद छाडिसकेको अवस्था हो । सो पार्टीले हाल मालेमावादको सिद्धान्तलाई परित्याग गरिसकेको अवस्था छ । गत असारमा पार्टीको महाधिवेशन गरेको एक महिनासम्ममा पनि केन्द्रिय समिति निर्माणगर्न नसक्ने एकीकृत समाजवादीसँग माओवादी केन्द्रले पार्टी एकतागर्नुको कुनै अर्थ नरहने देखिएको छ । ०६३ को परिवर्तनदेखि नै माओवादी केन्द्रका अध्यक्ष दाहालमा बैचारिक बिचलनहरू देखिएका थिए । त्यसैगरी भनाई र गराईको पनि ठेगान हुन छाडेको थियो । पछिल्ला दिनमा कतिपय नेताहरूले त अध्यक्ष दाहालनै पार्टीको मुख्य समस्या भएको र उहाँले तत्काल पद त्याग नगरे माओवादी केन्द्र अगाडि बढ्न नसक्ने अवस्था रहेको बताउँछन् । एक महिना अघिमात्र सत्ताबाट बाहिरिएको माओवादी केन्द्रले आन्तरिक कलहकै कारण पार्टीका बिभिन्न समितिहरू भंगगर्ने तयारी गरेको छ । विशेष महाधिवेशनभन्दै पदाधिकारी, स्थायी समिति विघटनगर्न लागिएको बताइएको छ । ०७८ पुसमा महाधिवेशन गरेको तीनबर्ष र पदाधिकारी चयन भएको दुईबर्ष पनि नपुग्दै माओवादी केन्द्र आन्तरिक कलहले ग्रस्तभएर बिशेष महाधिवेशनगर्ने अवस्थामा पुगेको छ । पुष्पकमल दाहालले ०७९ पुस १० मा आफू देशको कार्यकारी प्रमुख भएपछि दुई पटक पार्टी सदृढिकरणका लागिभन्दै अभियानहरू सञ्चालन गर्नुभएको थियो । त्यतिबेला उहाँले एकातिर आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई गाउँ गाउँमा पुगेर तत्कालीन सरकारको प्रचारगर्न निर्देशन दिनुभएको थियो । जसलेगर्दा धेरै नेता तथा कार्यकर्ताहरू सो अभियानमा परिचालननै भएनन् । अर्कातिर परिचालित भएकाहरूले समेत काठमाडौंमै रहेका पार्टीका सल्लाहकार तहका नेताहरूसँग समेत कुनै सम्पर्क गरेनन् । हालैका दिनमा केही नेताहरूले सामाजिक सञ्जालबाट माओवादी केन्द्रका ९० प्रतिशत नेताहरू निष्कृय रहेको तथ्यांक सार्बजनिक गरेको पाइएको छ । सो पार्टीमा हाल पदाधिकारी, स्थायी समिति, केन्द्रीय समिति, सल्लाहकार, जेष्ठ कम्युनिष्ट मञ्च, आयोग, विभाग र प्रदेशगरी आठ संरचना रहेका छन् ।
यसअघि २२ सदस्यीय पदाधिकारीसहित ४३ जना स्थायी समिति सदस्य र ४०७ जना केन्द्रीय सदस्य प्रतिस्पर्धाबिनै अध्यक्षको चाहनाअनुसार छानिएका थिए । ०७८ पुस ११ देखि १८ सम्म काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाललाई मात्र निर्वाचित गरेको थियो । ०७९ को माघ २५ गते माओवादी केन्द्रले २२ सदस्यीय पदाधिकारी घोषणा गरेको थियो । एक अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, छजना उमहासचिव, नौजना सचिव र एक कोषाध्यक्षसहितलाई माओवादीले पदाधिकारी भन्नेगरेको छ । त्यसमा पनि अध्यक्ष दाहालले आफ्नो अनुकूल छनोटगर्दा असन्तुलन देखिएको थियो । सिनियरलाई तल र जुनियरलाई माथि राखिएपछि सो समितिले कामगर्न सकेको थिएन । आगामी २५ गते बोलाइएको स्थायी समितिको बैठकबाट माओवादी केन्द्रको आन्तरिक बिवादले खास किनारा लिने अपेक्षा गरिएको छ । सबै जानकारहरूले माओवादी केन्द्रलाई अगाडि बढाउने होभने अत्यन्त बिवादास्पद भूमिकामा रहनुभएका अध्यक्ष दाहालले पद त्यागगरेर दोश्रो पुस्तालाई नेतृत्व हस्तान्तरणगर्नु उपयुक्त हुने ठानेका छन् । उहाँले आफ्नो हठ पूरा गर्नुहुन्छ कि पार्टीलाई अगाडि बढाउनु हुन्छ ? त्यो हेर्न बाँकी छ ।