Advertisement Banner
Advertisement Banner

०८ शनिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

Image

म्यागबेथजस्ता नेताको काम छुरा धस्नु नै हो

राजन कार्की

१४ सोमबार , श्रावण २०८१४ महिना अगाडि

म्यागबेथजस्ता नेताको काम छुरा धस्नु नै हो

म्यागबेथ अर्थात् विश्वासघाती, धोखेबाजको अर्को नाम हो ।
शेक्सपियरको नाटकमा म्यागबेथ भन्ने पात्र छ, उसले आफ्नै राजालाई छुरा धसेर स्वार्थ पुरा गर्ने बहादुरी देखाउँछ । त्यो बहादुरी थियो कि कायरता ? यतिबेला नेपालमा जनयुद्ध र जनआन्दोलनपछिको १७ वर्षे लोकतन्त्रको लेखाजोखा गर्दा स्पष्ट हुन्छ ।
लोकले लोकनेतामाथि गर्नुसम्मको विश्वास गरे, कोब्रा बनेर लोकनेताले लोकको हक, हितमाथि डसी रहे । जसरी म्यागबेथले विश्वासमा परेका आफ्नै राजालाई छुरा धसे ।
जनविश्वास, जनाधार, आप्mनै प्रतिवद्धता, नीति, नैतिकता, सिद्धान्तलाई धोका दिनु भनेको छुरा धस्नु त हो । नेपाली नेताहरूले आफुलाई जनाधार दिनेहरूमाथि विश्वासघात गरेका छन् । जनाधार लिएर जो सत्ता, शक्तिमा पुगे, तिनीहरू आफु बने, आफु बदलिए, समाजलाई बदल्ने प्रयास नै गरेनन् । लोकतन्त्र परिवारवाद, पैसावाद, स्वार्थवाद, विदेशलम्पट बन्नपुग्यो ।
शेक्सपियरको कथा अनुसार किङ्ग डंकनः चक्रवर्ती राजा थिए । उनका जर्नेल थिए म्यागबेथ । नजिकका नातेदार र विश्वासपात्र पनि थिए । युद्ध जितेर फर्कने क्रममा किङ्ग डंकनले भने– म्यागबेथ आज म तिमीसँगै बस्छु, खान्छु र तिम्रै घरमा सुत्छु । सुस्ताउँछु ।
राजाका जर्नेल म्यागबेथ खुशी भए, किङ्ग डंकनलाई घरमा लगे । लेडी म्यागबेथले स्वागत र सत्कार गरेर कडा खालको लागुपदार्थसहित भोजन गराइन् । युद्धबाट थाकेर आएका र विश्वासमा परेका किङ्ग लठ्ठिएर सुते, मस्त निदाए ।
त्यसपछि लेडी म्यागबेथले जर्नेल म्यागबेथलाई छुरा दिइन् र किङ्लाई छुरा धस्न उक्साइन् । म्यागबेथले छुरा हातमा लिएर किङ्ग डंकनको छातीसम्म पु¥याएपछि उनको हात काँप्न थाल्यो र उसले हात झिक्यो ।
लेडी म्यागबेथले आँखा तर्दै छुरा धुस्न इसारा गरिन् । म्यागबेथले फेरि छुरा समातेको हात मस्तसँग सुतिरहेका किङ्ग डंकनको घाँटीसम्मसम्म पु¥यायो, किङ्गको मुहार देखेपछि उसले छुरा धस्ने साहस गर्न सकेन, उसको मन काँप्यो र फेरि पनि म्यागबेथ छुरा धस्न असफल भए, साहस गर्न सकेनन् ।
त्यसपछि रिसले कन्पारो तताउँदै लेडी म्यागबेथ कराइन्– कायर । तिमी कसरी सिपही हौ र ? यति राम्रो मौकाको उपयोग पनि गर्न सकेनौं ।
यसरी रिसाउँदै लेडी म्यागबेथले एउटा कपडाले बेहोसजस्तै भएर सुतेका किङ्ग डंकनको मुख छोपिदिइन् र राता राता गोलभेडाजस्ता आँखा पारेर म्यागबेथतिर हेरिन् र छुरा धस्न इसारा गरिन्, उक्साउनु उक्साइन् ।
किङ्कको अनुहार नदेखेपछि म्यागबेथले छुरा धसे, किङ् डंकनको हत्या गरिदिए । किङ् डंकन खुब छटपटाए र रगताम्मे भएर मरे ।
लोकतन्त्रमा किङ्ग भनेका लोक हुन् । राष्ट्र भनेका पनि लोक हुन् । निर्णायक भनेका लोक हुन्  । लोक अथवा जनताका आफ्ना विश्वास पात्र भनेका जनप्रतिनिधि हुन् । जनताले विश्वास गर्ने आफ्ना प्रतिनिधिलाई हो । जनप्रतिनिधिहरूले जनतालाई बेहास पार्छन्, बिसिन, समानता, समानुपातिक, जातीय सन्तुलन, लैङ्कि स्वतन्त्रताजस्ता मह लेपन गरेका कुराले जनताको आँखामा छारो हाल्छन्, भुलभुलैयामा पार्छन् र अनेक नौटङ्गीमा भुलाएर जनविश्वासमा छुरा धस्छन् । १७ वर्षदेखि यसरी नै नेताहरूले राज्यलाई जंगलराज बनाइरहेका छन् । बिधिलाई बाहुबली शासन चलाइरहेका छन् । त्यो विश्वासघात गर्ने म्यागबेथ हो, म्यागबेथ प्रबृत्ति हो ।
लोकतन्त्रका म्यागबेथ भनेका नेतृत्वपंक्ति हो । नेतृत्व पंक्तिलाई तिनका छोराछोरी, श्रम नातेदार, स्वार्थको अन्धताले उक्साइरहेको छ र नेतृत्व किङ्रूपी लोकमाथि अविश्वासको छुरा धसिरहेका छन् । लोक मर्णान्त भइसके, लोक छटपटाइरहेका छन् ।
राष्ट्र समस्याबाट संकटापन्न भइसकेको छ । विवेक मरेको अन्धकार अवस्थामा पुगिसक्यो राष्ट्र ।
जसरी श्रीलंकामा राजापाक्ष परिवारले अपराध र लुटको राजनीति गरेका थिए, अन्ततः जनताले बिद्रोह गरेपछि उनीहरूको चिल्लीबिल्ली हुनपुग्यो । श्रीलंकामाथि राजापाक्षको म्यागबेथ चरित्र थियो त्यो ।
नेपालमा राज्यअपराधको पोखरीमा आहाल बसेका छन् नेताहरू । नेताको छत्रछायाँमा प्रशासकहरूसमेत भ्रष्टाचार गर्न उत्साहित भएका छन् । न्यायालयलाई राजनीतिकरण गरेकाले न्यायालय कमजोर बनाइएको छ ।
यसकारण प्रश्न उठेको छ– आधुनिक म्यागबेथहरूले कहिलेसम्म विश्वासघात गरिरहन सक्लान् ? कहिलेसम्म देश र जनताको छातीमा स्वार्थको छुरा धसिरहन सक्लान् ?
छिमेकी चीनमा सनयात सेन र माओ थिए । एकजना लखेटिए, अर्को चीनका बादशाह बने । नेपालमा जनयुद्ध गर्ने प्रच(ण्डले हस्तिनापुर रोजे, ३ पल्ट प्रधानमन्त्ती, ९ वर्ष सत्तामा रहे । तर जनयुद्धकालका संक्रमणकालीन मुद्दाको छिनोफानो गराउन सकेनन् । पीडकलाई सत्ताको हालीमुहाली दिइरहे । बिधिले पीडकलाई बाँध्न सकेन । पीडितहरू १७ वर्षदेखि न्याय खोजिरहेका छन् । अन्तर्राष्ट्रिय मानवाधिकारवादीहरू नेपालको दण्डहीनताको पराकाष्ठालाई चीलका आँखाले नियाली रहेका छन् ।
बहुदलको ३४ वर्ष र लोकतन्त्रको १७ वर्षपछि देश चलाउने राजनीति बर्गका सामु यक्ष प्रश्न खडा छ– राजनीतिक स्वार्थको सुरक्षा कि देशको सुरक्षा सर्वोपरि हो ?
देशको भुगोल सुरक्षित छैन । कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतले आफ्नो नक्सामा मात्र हालेको छैन, हैकम र शासन पनि उसैले गरिरहेको छ । २२ जिल्लाका ६६ ठाउँमा सीमा अतिक्रमण भइरहेका छन् । सीमामा अन्तर्राष्ट्रिय कानुन लागु छैनन्, भारतको दादागिरी चलिरहेका छन् । यसकारण पनि समयसँगै यक्ष प्रश्न उठेको हो– राजनीतिक स्वार्थको सुरक्षा कि देशको सुरक्षा सर्वोपरि हो ?
देशमा पार्टी अनेक छन्, साना र ठूला छन् । तर ती पार्टीहरू एक हुनु र अनेक हुनुमा भिन्नता छैन । किनकि सत्ता स्वार्थका सामु ती सबै एकै ठाउँमा अट्न सक्छन् । गला मिलाउँछन्, कुन कांग्रेस, कुन माओवादी, कुन एमाले, कुन रास्वपा, कुन राप्रपा, कुन मधेसवादी केही पनि छुट्टिदैन । जब सत्ताको भागबण्डा मिल्दैन, कमिशनमा तलमाथि हुन्छ, त्यसपछि एकले अर्कोलाई खुइल्याउन अघि सर्छन् । यसकारण पनि यक्ष प्रश्न उठेको हो– राजनीतिक स्वार्थको सुरक्षा कि देशको सुरक्षा सर्वोपरि हो ?
छिमेकीले सीमामात्र मिचेन, भुभागमात्र हसुरेन । विश्वमा शक्तिशाली मिडिया सीएनएनमा काम गर्न फरिद जकारियालाई किताव नै लेख्न लगायो र विश्वभरि प्रचार गरायो– बुद्ध भारतमा जन्मिएका हुन् । भारतले फिल्मी कलाकार कविरवेदीलाई बलीको बोको बनाएर प्रचार गरायो– बुद्ध भारतमा जन्मिएका हुन् । बुद्ध भारतका हुन् भनेर भारत नेपालमाथि कुन प्रकारको कुटनीतिक गेम खेलिरहेको छ, सत्तास्वार्थमात्र हेर्ने, भारतको आशीर्वाद चाहिन्छ भन्ठान्ने, भारतका सामु लम्पसार पर्ने नेतृत्व राजनीति र कुटनीति दुबै क्षेत्रमा कमजोर साबित भएका छन् । नेपालको अन्तर्राष्ट्रिय विश्वासको संचिती सकिदै गएको छ ।
त्यही भारतमा अमिताभ बच्चन कौन बनेका करोडपति कार्यक्रममा प्रश्न सोधेका थिए– बुद्धको जन्मस्थान कहाँ हो ? हटसिटमा बसेका व्यक्तिले जवाफ दिए– बुद्ध नेपालमा जन्मिएका हुन् । अमिताभ बच्चनले सही उत्तर भनेर उनको सह्राहना गरेका थिए । त्यसको केही महिनाभित्रै भारतले बुद्धु टेलिसिरियल निर्माण गरेर देखाउन सुरू ग¥यो र सुरूकै दिनमा कविर बेदीले बुद्ध भारतमा जन्मिएका हुन् भनेर कुप्रचारको हिस्सा बन्न पुगे । कविर वेदी र भारतीय षडयन्त्रप्रति घृणाको ज्वारभाटा उठ्यो । त्यसपछि कविर वेदीले ट्वीट गरेर माफी मागेका थिए । फिल्ममा गलत देखाउने र ट्वीट गरेर माफी माग्ने भारतीय पुरानै चालबाजी हो ।
अहिले क्रिकेटर विराट कोहलीले नेपालको हिमाललाई भारतीय हिमाल भनेर विवाद झिकेका छन् । नेपालीहरूले उठाउन सक्ने आवाज हो, गर्नसक्ने घृणा हो । गरिरहेका छन् । विराट कोहली सम्हालिएका छैनन् । सच्चिएका छैनन् ।
धोखेवाज म्यागबेथहरू देशभित्र छन्, देश बाहिर पनि छन् । अनेक थरिका म्यागबेथहरू अनेक तरिकाबाट नेपालको घाँटीमा छुरा धसिरहेका छन् । नेपाल संचेतन हुनुपर्छ । यो संचेतनका लागि देशभक्ति चाहिन्छ, विवेकशील हुनुपर्छ । अन्धबेग नासिनुपर्छ । अचम्म छ, कति शक्ति, कति समय सत्ता, कति सहुलियत, कति सम्पत्ति भए यी नेतालाई पुग्ने हो ? ब्रम्हनालमा नपुग्दासम्म पनि यिनको तिर्खा नमेटिने देखिन्छ ।
दुर्भाग्य, नेपालका शासक प्रशासकहरूले स्वार्थको बशमा परेर विवेक गुमाए । देश र जनतामाथि घात पछि घात गरिरहेका छन् । जनता र देशले घातीहरूबाट यसरी धसिएर मर्ने कि बाँच्नका लागि बिद्रोह गर्ने हो ? बाँच्ने हो भने सोच्नैपर्नेछ । नेपालीले म्यागबेथ र यो धोखेबाज प्रवृत्तिसँग जुध्ने बेला आयो ।