Advertisement Banner
Advertisement Banner

०८ शनिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

Image

सपना स्वर्गको देखाएर सोमालिया पुर्‍याए

राजन कार्की

०९ बुधबार , श्रावण २०८१४ महिना अगाडि

सपना स्वर्गको देखाएर सोमालिया पुर्‍याए

३५ वर्षअघि बहुदल स्थापित भयो, अब नर्कबाट स्वर्ग पुगिन्छ भनेर सपना देखाइयो, पुगियो कालरात्रिमा ।
१७ वर्ष अघि लोकतन्त्र आएपछि समृद्धि नै समृद्धि भनेर डङ्का पिटियो, पुगियो अराजकता र अस्थिरतामा । देश भ्रष्टाचारको पोखरी बनिसक्यो ।
सपना स्वर्गको देखाएर सोमालिया पु¥याउने कर्म अहिले पनि चलिरहेको छ । ०४६ साल अथवा ०६३ मा जो नेता थिए, अहिले पनि तिनकै शासन छ, हालीमुहाली छ, शक्ति तिनकै छ ।
इतिहासका अनुसार सन १८०० मा नेपालियन कोड नेपोलियन बोनापार्टले जारी गरेका थिए । यही कानुन पहिलो लिखित कानुन मानियो । त्योभन्दा पनि ४ सय २१ वर्ष पहिले नै अर्थात सन १३७९, बि.सं. १४३६ मा नै राजा जयस्थिति मल्लले नेवारी र संस्कृत भाषामा न्यायविकासिनी कानुन लिपिवद्ध गरिसकेको पत्ता लाग्यो । यस्तो देशमा आज कानुन राजनीतिक खेलौना हुनपुग्यो । लोकतन्त्र भाङ्ग्राको टोपीलाई गुहेलाको फुल बन्यो । संविधान र कानुनी राजका नाममा अराजकता फैलाइएको छ ।
समाजका कुनै बर्ग पनि खुश हुन सकेनन् । आक्रोसित हुनपुगेका छन् ।
जनयुद्धका ६४ हजारभन्दा बढी उजुरी छन् भने अदालतमा लाखभन्दा बढी मुद्दा । काँडाले घोचेजस्ता, सिस्नोले पोलेजस्ता मुद्दा ०४६ साल, ०६३ साल, मधेस आन्दोलनका बेलाका शहीदका पनि छन्, विभेदका कारण शहीद घोषणा हुन नसकेकाहरूको पनि छन् । २०७२ साल भदौ ७ गते नावालक बच्चासहित ७ प्रहरीको नृशंस हत्याका मुद्दा र मुद्दाका दोषी रेशम चौधरीले चुनाव जितेको र शपथग्रहण गराउने कि नगराउने भन्ने देखि उनलाई विधिको शासन भन्नेहरूले नै माफी दिएको प्रश्न पनि छ । हरेक वर्ष हत्या, हिंसा, बालबृद्धाको बलात्कारका समस्या कहालीलाग्दो छ । यी कानुनले ती सबै समस्या संवोधन गर्न सकेन ।
प्रजातन्त्र र समाजवाद फोहरी हातले खेलाउँदा झन फोहर हुन्छ भन्थे, त्यही भयो । असमानता र निरंकुशताको, बिखण्डन र समाजविरोधी तत्वको अन्त्य हुनुपथ्र्यो, प्रजातन्त्रमै ग्रहण पो लाग्यो ।
२०७५ साल भदौ १३ गते आएर नेकपाका अध्यक्ष प्रचण्डले भनेका थिए– ठूलाठूला ठेक्कापट्टामा सेटिङ गर्ने कर्मचारीतन्त्र सुधार्न जरूरी छ । तीन पल्ट प्रधानमन्त्री भइसकेका प्रचण्ड ९ वर्षे सत्ताबाट विपक्षमा पुगेका छन् । अझै उनी लोकतन्त्र, विधिको शासनको बखान गर्न छाड्दैनन् । कुनै दिन मन्त्री बनेकी करिमा बेगमले विहारकी रामुकुमारी देवीलाई नागरिकता दिलाइन्, विहारका बमबहादुर महतो, सञ्जय पटेल, असरफ अन्सारी, निरञ्जन होजाइ, बंगलादेशी हासिम आलमले नेपाली नागरिकता पाए । अहिले उपसभामुख, रास्वपामात्र होइन हरेक पार्टीका ठूला नेता भ्रष्टाचारमा डामिएका छन्, कानुन र कानुनको राजले के ग¥यो खोई ?
जयप्रकाश गुप्तादेखि चिरञ्जीवी वाग्लेसम्मका धेरै नेता भ्रष्टाचारमा मुछिए, श्यामसुन्दर गुप्ता त २०६८ सालमा पवन संघईको अपहरण र फिरौती काण्डका नायक नै थिए । तर, तिनीहरू जेलबाट छुट्दा माला लगाएर जयजयकारको नारासहित छुटे । मानँैं, देशका होनहार लिडर छुटेका हुन् । रातो पासपोर्ट बेच्ने गायत्री साह, वीपी यादव, शिवपुजन यादव, पृथ्वी छन्त्याल, सीता साई, निर्मल बानियाँ, कदारनाथ शर्मालाई नाममात्रको कारवाही भयो, छुटाउने यिनै ठूला साना दलका नेताहरू हुन् । केही वर्षअघि गोल्छाकी भारतीय बुहारी राज्यलक्ष्मीले पत्रकार सम्मेलन नै गरेर एमालेलाई ७ करोड दिएर सांसद भएको बताइदिइन् । पद र प्रतिष्ठा किनबेचको ब्यापार बन्यो । राजनीति बिना लगानीको मुनाफा बजार बन्यो । पूर्वअधिराजकुमारी प्रेरणाले पाएको दाइजो राष्ट्रियकरण हुने, आफूले कमाएको कालोधन श्रीमतीको दाइजो हो भन्नसक्ने विधि निर्माता, देश सञ्चालकले ल्याएको पद्धति हो यो, यस्ता मनलागीतन्त्रले देश कति दिन चल्छ । साँच्चै भन्ने हो भने हरेक नेता, कर्मचारीको सम्पत्तिको स्रोत खोज्नुपर्ने बेला आइसक्यो । संविधान बनाउनका लागि बनेका सांसदहरू कस्ता थिए भने राजेन्द्र महतोकी श्रमिती शैलकुमारी,राजकिशोर यादवकी श्रीमती सरिता कुमारी, अनिल झाकी श्रीमती डिम्पल झा, नेताकी प्रेमिका निर्जला राउतमात्र होइन, महन्थ ठाकुरले त छोरीकी सासू सम्धिनीलाई सांसद पद नै दाइदोमा दिएका थिए । अहिले समानुपातिकमा भ्रष्ट चरित्र देखाएर सांसद बनेकी कांग्रेस सभापति पत्नी आरजु देउवा परराष्ट्र मन्त्री बन्न पुगेकी छिन् । १७ वर्षमा स्वार्थको मनोवृत्तिमा कुनै फरक आएको छैन । बाबुराम पोखरेल, सुवोध पोखरेल, गीता राणाले समेत पैसासँग सांसद पद साटेका थिए । अहिले हरेक पद बिकाउमा छ । हरेक भ्रष्ट सत्ता र संसदमा छन् ।
२०७२ साउनमा महादेवी यादवले छविलाल राय धामीको कुरा मानेर नन्दका छोरालाई बली दिइयो । २०७३ साल भदौ २५ गते भारतीय तान्त्रिक कानु पहरीले धादिङकी १६ वर्षीया युवतीलाई ओमकार शाह व्यापारीले स्वयम्भु सानो भ¥याङमा बली चढाउन खोजेको खुलासा भयो । छाउपडी प्रथा हटेको छैन । समाजदेखि सर्वोच्च अदालत, संसदको खाजासमेत एनजीओ, आइएनजीओले ख्वाइरहेको छ । केको लोकतन्त्र ?
सरकार बनाउन, टिकाउन विदेशी गुहार्ने चलन छँदैछ । सांसद किनबेच गरे, किनबेचका लागि भारतदेखि चीनसम्म पैसा माँग्नसमेत गए । बिधि बलियो भएको भए भारतको झारखण्डमा सांसद खरिद गर्दा त्यतिबेला पीभी नरसिंह राव जेल परेका थिए, बोफोर्समा राजीव गान्धी र चारा घाटाला काण्डमा लालु यादव जेलको चक्की पिस्न पुगे । कांग्रेस, कम्युनिष्ट, राप्रपा, मधेशवादीले गर्नुसम्म अराजक काम गरे । जिम्मेवारी बहन गरेनन् । तिनीहरू कहिले पनि जेल परेनन् । जेल हाल्ने बेला भयो कि सत्ता परिवर्तन हुन्छ, आफू बच्छन्, भ्रष्टाचारको फाइल बन्द गरेर भ्रष्टलाई बचाउँछन् ।
यो देश कस्तो भने भारतको दादागिरीको खिलाफमा उभिदा मरीचमान, मदन भण्डारी, राजा वीरेन्द्र बंश र राजतन्त्र नै समाप्त पारियो । भारतले भनेको नमान्दा २०१९ सालमा १८ महिना, २०२८ सालमा ९ महिना, २०४५ सालमा ९ महिना र २०७२ सालमा ६ महिना भारतले नाकावन्दी लगाइदियो । भारतले १९६५ को भियना सन्धि, १९७३ को जमैका सहमति, डब्लुटीओ कानुन, जुन १६५ देशसँग गर्न पाउने व्यापार, ०४७ सालको पारवहन सन्धि,  एसियाली महादेशको हाइवे सन्धि, सार्क, साफ्टा प्रतिवद्धता, बिमेस्टिक स्वतन्त्र व्यापार सन्धि मान्दै मानेन, सधैं उल्लंघन गरिरह्यो । सशक्त सरकारले राष्ट्रिय हितमा उभिन र बोल्न नसक्दा त्यसको मूल्य जनताले चुकाइरहेका छन् ।
आफूमाथि कुनै खतरा नहोस् भनेर भारतले लिपुलेक, लिम्पियाधुरा, कालापानी आफ्नो नक्सामा मिलाइसक्दा पनि भूगोल खोज्न कुनै नेता तैयार छैनन् । यी लेण्डुपेजस्ता लाग्छन् । लेण्डुप सधैं निन्दनीय छन् ।
यतिबेला राजनीतिले सिकाएको शिक्षा नै बेइमानी हो । यहीकारण पानी मन पर्छ बचाउँदैनन्, खाना मन पर्छ, खेती गर्दैनन् । दूध मन पर्छ गाई पाल्दैनन्, शीतल खोज्छन्, रूख रोप्दैनन् । राम्री बुहारी खोज्छन्, छोरी भए गर्भपतन गराउँछन् । बोत्स्वाना हीराको व्यापारमा नम्बर वान हो । नेपाल पानी र पर्यटनमा नम्बर वान हुनसक्छ, बुझ्दैनन् । सबैलाई इजी मनी र सिधै सत्ता चाहिएको छ । सम्पत्ति त राज्यकोष, राज्य सम्पत्ति बेचेर पनि कमाउँछन्, दलाललाई दलाली नै प्यारो ।
उखुमा फल, श्रीखण्डमा फूल र सुनमा सुगन्ध भए के हुन्थ्यो होला संसार । प्रकृतिले किन दिएन यी गुण । यति विश्लेषण गर्न नसक्ने नयाँ नेपाल बनाउने कारिगर भएका छन् । नक्कली डाक्टर र हाम्रा नेता हात्ती र हात्ती छाप चप्पल उस्तै उस्तै हो नानु भनेजस्ता छन् । कठै नेपालको भविष्य ।
१९६९ मा सुरक्षा परीषदमा चुनाव लडेर निर्वाचित भएको नेपाल, जसले त्यतिबेला जापानलाई हरायो । चीन सदस्य नै थिएन । १९८८ मा एसियाले साथ दियो, फेरि नेपालले जित्यो । त्यसपछि नेपालको कहाँ छ ? भ्रष्ट नेता भएको धनी देश हो नेपाल । जो माँगेर छाक टार्छ, विकासको पाइला सार्छ । १७ वर्ष अघिसम्म नेपाल के भन्छ भनेर विश्वका कान ठाडा हुन्थे, आज नेपाल दिल्लीमै अपमानित हुन्छ, बाँकी विश्वको के कुरा गर्नु र ? नेपाललाई यसरी रसातल पु¥याउनाले ल्याएको संविधान यिनकै लागि भार हुनथालेको छ ।
रत्नाकर बाल्मिकी बनेको संस्कृति छ, संस्कारित बन्न कोही तैयार छैन । भुल हुन्छ, सुधार्न कोही तैयार छैनन् । सबै मैमत्ता न कलकत्ता भएका छन् । दम्भले झम्मै पारिसक्यो । मकवानपुरमा अग्नि एयरको नोज डाइभ र असक्षमताको मैदानमा लोकनेताहरूको टाउको टेकाई उस्तै भएन र ?     यसकारण प्रश्न उठ्यो– राजनीतिक अन्धबेगले सोमालिया बनाउने भयो ।
स्मरणरहोस्, १९७५ मा भारतले लेण्डुप दोर्जीको प्रयोग गरेर सिक्किम खाइदियो । लेण्डुपका ३२ मध्ये ३१ सांसदले संसदबाटै भारतमा बिलयन हुने प्रस्ताव पारित गरेका थिए । त्यसपछि लेण्डुप बाँचुन्जेल जनताले उनलाई देख्यो कि थु थु गर्थे, उनी मर्दा मलामीसम्म पाएनन् । कुनै बेला मैसुर राज्यका गद्धार शेख हयास, मीर खानहरू थिए, नेपालमा नेताहरूको रूपमा तिनको पुनर्जन्म त भएन ?
बेलायतको इतिहासमा मान्छे काटेर सिंहासनमा बस्ने राजा रिचार्ड तेस्रो थिए । युध्दमैदान जाँदा एकदिन उनी शत्रुको घेरामा परे । उनले रणभूमिमा भनेका थिए– म हजारौं बिरोधीबाट हार खान्न । मेरा सेनाको शक्ति पनि कमजोर छैन । तर कुन गद्धारले गर्दा म घेरामा परें । म मारिनु पर्ने स्थिति छ, तैपनि मलाई एउटा घोडा चाहिएको छ । म त्यो गद्धारको खोजी गर्छु । म त्यो घोडा चढेर गद्धार खोज्न जान्छु । त्यसलाई सिध्याउँछु । गद्धारलाई मार्ने अवसर देउ, त्यसपछि मलाई टुक्रा टुक्रा पार, म ऐया पनि भन्नेछैन ।
नेपालको राजनीति र प्रशासनमा गद्धारहरूको बिगबिगी छ । देश युवा बेच्ने, युवा रगत बेच्ने, देशको भविष्य बेचेको रेमिटान्सले संघीय लोकतन्त्र चलाउने । राष्ट्रमा अराजकता छ, अनीति छ, अनुशासन छैन, मनपरीमात्र छ । हामी असफल राष्ट्रका जनता बन्दैछौं । अव जनताले, नागरिक समाज र बुद्धिजीवीहरूले गद्धारीपन जहाँजहाँ छ, त्यसको भण्डाफोर गर्नुपर्छ । सिनो राजनीति र मुर्दा अर्थनीतिको सुधार गर्न कडिकडाउ निर्णय लिने वीर त जन्मनैपर्छ । अन्यथा शेक्सपियरको एक कथामा सिजरलाई जसरी उनकै विश्वासपात्र ब्रुटसले धोका दिएर मारे । सिजरले ब्रुटस तिमी पनि.... भनेर प्राण त्याग गर्नुप¥यो, त्यसैगरी गद्धारहरूले नेपाललाई चिहान बनाउने छन् ।
जयप्रकाश नारायण भन्ने गर्थे, नेपालीहरू किन दिल्लीलाई चाकरी गरेर दिल्लीमुखी बन्न लालायित हुन्छन् ।  निश्चित कुरो के हो भने १९४७ मा भारत स्वतन्त्र बनाउनका लागि नेपालीले रगत बगाए, ज्यान दिए । त्यसपछि पनि नेपाली भारतकै सामु नतमस्तक भइरहे । यो पराधीनता मानसिकता हो ।
नयाँ नेपाल बनाउने राजनीतिक महाभारतमा हजार शिशुपालको अपराध भइसक्यो होला । के गर्नु, शुदर्शनचक्रधारी श्रीकृष्ण छैनन्, शिशुपालहरू उधुम मच्चाइरहेका छन् ।
जनयुद्ध र जनआन्दोलनका नायकहरू इजिप्टका नासिर हुनसकेनन्, नासूर बने । ऋगबेदका ऋचाका पवित्र श्लोकहरू गुन्जियोस् भन्ने थियो, राष्ट्र विकासशील बन्दियोस् भन्ने थियो, मंगलसेनहरूको जगजगीले तुहियो । भृकुटी, बलबाहुको देश बाहुबलीको चङ्गुलमा फस्यो । माक्र्स, लेनिनका सालिक पनि कम्युनिष्टका सम्भ्रान्त जीवन देखेर लजाएका होलान् ।
यद्यपि नेपाली कम्युनिष्ट आन्दोलनको प्रगति र मोहनचन्द्र अधिकारीको जीवन हेरेपछि थाहा हुन्छ– नेपालमा कम्युनिष्ट छैनन् । अर्का कम्युनिष्ट शिखर पुरूष भनिएका मोहन विक्रम सिंह, २०१५ सालमा ८५ नम्बर क्षेत्रबाट चुनाव लडे । त्यतिबेला उनले पाएको ३२ सय भोट हो । त्यसपछि उनले कहिल्यै चुनावमा उठेनन्, भोट पनि हालेनन् । तर बुढेसकालकी श्रीमतीलाई मन्त्री बनाउन नपाएर उखरमाउलो पल्टिएको धेरै भयो । 
कांग्रेसमा वीपी सिद्धान्त कम्युनिष्टनामको बली चढिसक्यो । सुन्दरीजलमा रहेको वीपीको शालिक र संग्रहालयमा टाँगिएको वीपीको समाजवादी सिद्धान्त– एउटा दुहुनो गाई, एक हल गोरू, जोतीखाने जमीन, औषधिमूलो, सन्तानलाई शिक्षामा माकुराले जालो लगाएको छ । यी तिनै वीपी हुन् जसले १९४२ मा भारत छोडो आन्दोलनमा सहभागी भए, जयप्रकाश नारायण, राममनोहर लोहियासँगै जेल परे, हजारीबागको जेल तोडेर सप्तरीमा आएर भूमिगत जीवन बिताए । फेरि भारत गए, भारतमै २००३ सालमा कांग्रेस पार्टी जन्माए । बैरगनियाबाट सशस्त्र क्रान्तिको बिगुल फुके । प्रवाशमा रहेका वीपी २०३३ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्किएका हुन् । वीपीले कांग्रेसलाई गायत्री मन्त्रजस्तै देशवादी मन्त्र सुनाए– कुनै पनि बेला मनमा द्विविधा भयो भने माटो हातमा लिनु, मनले जे भन्छ, त्यही निर्णय गर्नु । आज कांग्रेसमा वीपीनीति छैन ।
लोकतन्त्रमा लोक हो राजनीतिक मक्का मदिना, चारधाम । गुमायो, राजनीतिले धर्म गुमायो, लोकविश्वास गुमायो । लोकाधार गुमायो । उकुसमुकुस अवस्था पो आयो ।
नेपाल ः महाभारतका मामाश्री सकुनीको हस्तिनापुर बन्यो ।