माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रि पदबाट मुक्त हुनुभएको तीनदिनमात्र भएको छ । एकातिर उहाँमा अझै प्रधानमन्त्रिको धङ्धङी कायमै छभने अर्कातिर उहाँमा आक्रोस पनि बढेको देखिएको छ । जसको प्रदर्शन उहाँले गत शुक्रबारको संसदमै करिव डेडघण्टा लगाएर गर्नुभएको थियो । जादूको भरमा आगामी ०८४ सम्मनै प्रधानमन्त्रि हुने सपना साँचेका दाहाल एकाएक छाँगाबाट खस्नु कतिपयका लागि चिन्ता र कतिपयका लागि रोचक र आनन्दकै बिषय भएको हुनसक्छ । उहाँका पछिल्लो समयमा बढ्दै गएका पतनका कारणलाई बिभिन्न कोणबाट केलाएर हेर्नुपर्छ । कुनैबेला जनयुद्ध गरेको भनिएका र कुनैबेला नेपालमा सबैलाई प्रधानमन्त्रि बनाउने हैसियत रहेको दाबि गरिएका तथा पछिल्लो पटक आफ्नै कारणले प्रधानमन्त्रि पदबाट बाहिरिन बाध्यभएका एक नेतालाई धुरी बनाएर देशको राष्ट्रिय राजनीतिकाबारेमा ब्याख्या बिश्लेषण गर्दापनि धेरै कुराहरूको रहस्योद्घाटन हुन्छ । ०६३ को परिवर्तनपछि नेपालको राष्ट्रिय राजनीतिलाई बिगार्ने बाहेक बनाउने कुनैपनि कामहरू हुन सकेनन् । पुष्पकमल दाहालले जुन, जुन कुरा ( संघीयता, जातीय समाबेशी र समानुपातिक निर्वाचन पद्धति लगायत) लाई ०६३ को परिवर्तनका उपलब्धी भएको बताउने गर्नुभएको थियो, ति क्रमशः नेपालकै मुख्य समस्याकारूपमा देखापर्दै गएका छन् । ०६२ मा दिल्लीमा भएको १२ बुँदे सहमति, ०६३ मा भएको शान्ति संझौता, संविधानसभाको निर्वाचन, ०७२ को संविधान र त्यसअनुसार स्थापना गराइएको बिद्यमान राजनीतिक ब्यवस्था सबैकाबारेमा अनेक प्रश्नहरू उठिरहेका छन् । जसको निराकरण नगरेसम्म नेपालमा शान्ति, उन्नति र प्रगति कुनैपनि नहुने भएको छ । पूर्ब प्रम दाहालको पतनका कारणहरू केलाउनु हालको अवस्थामा सान्दर्भिक बिषय हुन्छ ।
सनक धेरै कला थोरै ः उहाँमा सनक धेरै देखियोभने शासकीय कला कौशल खासै देखिएन । सरकारमामात्र नभएर पार्टीमासमेत उहाँका बारेमा तिनै कुराहरू उठेका सुनिन्छन् । त्यो हो कुनै पनि क्षेत्रलाई बिधि र पद्धतिअनुसार चल्न नदिने । अर्थात उथल पुथल गरिरहने । ०७९ मंसिर चारको निर्वाचनमार्फत नेपाली जनताले माओवादी केन्द्रलाई सरकारमा जाने जनादेश नै दिएका थिएनन् । खासगरी माक्र्सवादीहरू ठोस परिस्थितिको ठोस बिश्लेषणगर्न पोख्त हुन्छन् भनिन्छ । त्यसैगरी संसदीय राजनीति गर्नेहरूले निर्वाचनमार्फत प्राप्त जनादेशलाई अक्षरस पालना गरेको हुनुपर्छ भन्ने मान्यता पनि रहेको छ । कम्युनिष्टहरूमा देशभक्ति र त्यागको भावना हुनुपर्छ भन्ने भाषण पनि बेलाबखत हुने गर्दछन् । खासमा राजनीतिगर्नेहरूले निश्चित सीमाहरूको पनि पालना गरेको हुनुपर्दछ । कुनै पनि कुराको सीमा नाघेपछि दुर्घटनामा परिन्छ । नेपाली कहावत पनि छ ‘अति सर्बत्र बर्जयत’ । अर्थात अति गरेपछि खति अवश्य हुन्छ र भयो पनि । यदि ०७९ मंसिर चारको निर्वाचनको सम्पूर्ण परिणाम आएपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले नेकां र एमालेलाई मिलाएर सरकार गठन गर्न÷गराउन पहल गरेर आफू प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहन सकेको भए आज देश यस्तो राजनीतिक अस्तब्यस्तताको अवस्थामा पुग्ने थिएन । अनेक कर, छल र बलले सरकारको नेतृत्वमा पुगेपनि आखिर उहाँ प्रमुख प्रतिपक्षी दलकै हैसियतमा पुग्नु प¥यो । पानीले आफ्नो सतह आफै मिलाउँछ भनेझै समयले पनि आफ्नो सन्तुलन आफै मिलाउँदो रहेछभन्ने यो ताजा उदाहारण हो । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें प्रायः भन्ने गर्नुहुन्छ ‘पानीसँग खेल्ने पानीमै डुबेर मर्छ । आगोसँग खेल्ने आगोमै डढेर मर्छ ।’ जुन कुरा नेपालको राजनीतिमा पटक, पटक प्रमाणित पनि भएको छ । ०७९ मंसिर चारको निर्वाचनलगत्तै देशको शासन सत्तामा आफ्नो खास स्थान (प्रमुख प्रतिपक्ष) ग्रहण गरेको भए पार्टी र नेता सबैको ओज माथि पुगेको हुने थियो । ओझ तल झरेसँगै पार्टी र नेता पनि तल झर्नुपर्दा त्यसले राम्रो परिणाम दिँदैन । जो समयले प्रमाणित गरेको छ । नेपाली जनताले आफ्नो जनादेश उल्लंघन गरेकोमा ०८४ मा निर्वाचन भयोभने अझै दण्डितगर्ने संभावना यथावत छ ।
शिद्धान्त सुन्य उत्तेजना बढी ः ३५ बर्षभन्दा बढी समयदेखि पार्टीको नेतृत्व गरेको, १० बर्ष जनयुद्धको नेतृत्व गरेको र तीन पटक देशको कार्यकारी प्रमुख प्रधानमन्त्रि भएको भनिएपनि पुष्पकमल दाहालमा सिद्धान्त निष्ठतामा कमी रहेको देखिएको छ । माक्र्सवादका आधारभूत प्रस्तावनाहरूमा मालेमावाद, अन्तराष्ट्रिय भाइचारा, सर्बहारा अधिनायकत्व, साँस्कृतिक क्रान्ति र बल प्रयोगलाई लिने गरिन्छ । तर उहाँमा बल प्रयोग बाहेक अरू केही पनि बाँकी रहेको देखिएन । देशीय सामन्तवाद र अन्तराष्ट्रिय साम्राज्यवाद उहाँको जादूका प्रमुख आधार बने । पुष्पकमल दाहाल ०३५ तिर तत्कालीन कुनै सानो समूहबाट चर्चित र शक्तिशाली नेकपा (चौम) मा प्रबेश गर्नुभएको मानिन्छ । उहाँ प्रबेश गरेको करिव पाँचबर्ष नपुग्दै सो पार्टी बिभाजनमा पुगेको थियो । त्यसपछि धेरैपटक फुटाउने र जुटाउने कार्य भएपछि नेकपा(माओवादी) को जन्म भएको हो । जसले जन्मनासाथ दीर्घकालीन सशस्त्र जनयुद्धको नीति लिएको थियो । जबकी सशस्त्र जनयुद्ध जनसंघर्षको उच्चतम रूप हो । जनसंघर्ष विकसित हुँदैगएको अवस्थामामात्र जनयुद्ध हुनसक्छ । कसैको ‘लहड’मा जनयुद्ध हुनै सक्तैन । नेपाल त्यसको ताजा उदाहारण हो । उत्कर्षतिर जाँदैगर्दा दाहालले ०६२ मंसिर सातगते त्यसलाई भारतको नयाँ दिल्लीमा १२ बुँदे सहमतिगर्दै जनयुद्धलाई ‘बिसर्जन’ गरिदिनु भएको थियो । जसले उहाँको नेतृत्वमा जनयुद्ध पनि असफल भएको स्पष्ट छ । त्यतिबेला जनयुद्धका लागि अगाडि सारिएका ४० सूत्रीय माग पुष्पकमल दाहाल तीन पटक र डा. बाबुराम भट्टराई एक पटक प्रधानमन्त्रिहुँदा पनि पूरा गरिएनमात्र होइन पूरा गर्ने÷गराउने प्रयास समेत भएन । आज पनि ति मागहरू यथावत रहेका छन् । बरू ति माग बिपरितका गतिबिधि भए÷हुँदैछन् । त्यसैले ति माग केवल भूलभुलैयाका लागि थिएभन्ने स्पष्ट भएको छ । पुष्पकमल दाहालको नेतृत्वमा भएको जनयुद्ध पनि सफल भएन । ०६३ मा गरिएको शान्ति संझौतापनि सफल भएन । संविधानसभामा पनि सबै क्षेत्र र पक्षले भाग लिएनन् । संविधानसभाले बिभिन्न बिषयमा स्वतन्त्र र निष्पक्षरूपले निर्णयगर्न पनि पाएन । शर्तहरूको भारी बोकाइयो । संसारमा संविधान छमहिनामै बनेका धेरै उदाहारण रहेका छन् । तर नेपालमा साँढे सातबर्ष समय र झण्डै ३० अर्व खर्च गरेर बनाइएको ०७२ को संविधान शुरूदेखिनै अधुरो र अपुरो रह्यो । संविधान घोषणा भएर नेपाली जनताले सरसर्ती पढ्नसमेत नपाउँदै चार महिनामै पहिलो संशोधन गरियो । जसमा समाबेश गरिएका अधिकांश कुराहरू नेपाली जनताका लागि मुख्य समस्या भएका छन् । पूर्ब माओवादीकै घटक क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले त ०७२ को संविधानलाई हाल देशमा देखिएका सबै समस्याहरूको ‘जड’ भएको ठहरसमेत गरेको छ । उहाँले ०८० को जेठमा दिल्लीको भ्रमणलगत्तै असारमा गठन गराउनु भएको समाजवादी मोर्चा पनि बिघटनको संघारमा पुगेको छ । सो मोर्चामासमेत मुख्य समस्या दाहाल स्वयंनै भएको बताउन थालिएको छ ।
देखाउने र खाने दाँतमा फरक ः पछिल्लो समयमा जे भनिन्छ, त्यो नगर्ने र जे गरिन्छ त्यो नभन्ने प्रबृत्ति मौलाएको छ । यो अवसरवाद हो । खास माक्र्सवादीहरू ‘बिचारको राजनीति’ गर्दछन् । बिचारको सीमालाई कहिल्यै नाघ्ने काम गर्दैनन् । तर अवसरवादीहरू ‘संभावनाको राजनीति’ गर्छन् । जसमा बिचारको कुनै गुञ्जायस पनि हुँदैनभने उनीहरूको भनाई नै ‘राजनीति भनेको संभावनाको खेल हो’ भन्ने छ । देशभक्ति र नैतिकतामा ह्रास ः कम्युनिष्टहरू देशभक्त हुन्छन् भन्ने मात्र होइन हुनैपर्छ भन्ने मान्यता रहेको छ । जो विदेशभक्त बन्छ, त्यो कम्युनिष्टनै होइन । त्यसैगरी कम्युनिष्ट राजनीतिमा नैतिकताका बिषयमा पनि बिशेष ख्यालगर्ने गरिन्छ । खास नैतिकताको पालना नगर्नेहरू सही कम्युनिष्ट हुन सक्दैनन्भन्ने मान्यता रहेको छ । तर नेपालमा कम्युनिष्ट चरम बेइमान हुन्छन्भन्ने मान्यता स्थापित गराउन अनेक प्रयासहरू भैरहेका छन् । मयुरको प्वाँख लगाएका कागहरू बढेकाले नेपालको कम्युनिष्ट राजनीति रक्षात्मक अवस्थामा पुगेको ठानिन्छ ।
सबैलाई आत्मसमीक्षाको सुबिधा उपलब्ध छ । अरूले आलोचना गरेमात्र पनि त्यो बिरोध हुन्छ । तर आत्मालोचना र आत्मसमीक्षा गरेर अझ धेरै कुराहरूको यथार्थ संश्लेषण हुनसक्छ । पुष्पकमल दाहालको राजनीतिक पतनलाई यथार्थताको कसीमा दाँजेर हेर्नु राजनीतिप्रति सामान्य चासो राख्नेहरूका लागिसमेत महत्वपूर्ण बिषय हो । यसबारे सबैले बिचार गरौं ।