Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

झोलेलाई अहिले, योग्यलाई कहिले?

०३ सोमबार , फाल्गुण २०७२११ बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ-
भन्न त प्रधानमन्त्री केपी ओलीले भागबण्डामा कतै पनि नियुक्ति हुनेछैन भनेका छन्। तर उनी यो अडानमा अड्न सक्छन्? सत्ता ढल्ला भनेर १७ पार्टी र ४० जनाको मन्त्रिमण्डल बनाउने प्रधानमन्त्री बिगत ३ महिनादेखि सुस्त छन्, उखानटुक्का र हँसी मजाक गरिरहेका छन्। जनतालाई जिस्क्याएर शासन गरिरहेका छन्। यही मेसोमा उनले त्रिविदेखि कतै पनि मनसुन र भनसुनमा नियुक्ती नगरिने बताए। तर डेपुटी गभर्नर खाली भएको महिनौं बितिसक्दा पनि एमाओवादीले आफूलाई एकजना चाहिने अडान लिएपछि निर्णय गर्न सकेनन्। गभर्नर चिरञ्जीवी नेपालले ४ जनाको सिफारिस गरेका छन्। सिफारिसमा ३ जना एमाले र एकजना कांग्रेस समर्थक परेका छन्। एकपटक सिफारिस गरेपछि सच्याउन मिल्दैन, अर्को सिफारिस पनि गर्न सकिन्न। फेरि एमाओवादीलाई कसरी एक डेपुटी गभर्नर दिने? प्रधानमन्त्री जिल्लाराम परेर बस्न बाध्य भए। यस्तो छ हाल देशको?

यसैवीच राजदूतको नियुक्तीमा भागबण्डा सुरु भएको छ। कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाल र क्यारिएर डिप्लोम्याटको भागबण्डा गरेर सिफारिस संकलन भइरहेको छ। मुखले भागबण्डा गरिन्न, योग्यताको कदर हुन्छ भन्ने अनि आ–आफ्नो को छ, कसले बढी पैसा दिन्छ, कसलाई पुरस्कृत गर्दा आफ्नो र पार्टीको भलो हुन्छ भनेर हेर्ने प्रवृत्ति स्पष्ट देखिएको छ। केही दिनमै हुने राजदूतको नियुक्ति प्रकृयामा योग्यको कदर हुन्छ कि आफ्नाको? यसैबाट प्रधानमन्त्री केपी ओलीको बोली र व्यवहारको थप परीक्षा हुनेछ। राम्रो छाडेर हाम्रोको नियुक्ती हुनेछ भन्ने कुरामा कसैलाई पनि शंका छैन। नेताहरु एकथरि बोल्छन्, अर्को गर्छन्।

ब्रेन ड्रेन भएर विदेश गइरहेको छ। कच्चा श्रमशक्ति गरिखान पाइएन भनेर खाडीमुलुकमा बालुवा र बेल्चा चलाउन दौडिरहेका छन्। बैध अवैध मार्गबाट चेलीहरु श्रम, शरीर, यौन बेच्न दौडादौड गरेर गइरहेका छन्। देशभित्र बिधि छैन, देश बाहिर जीवन छैन। सामान्य नेपालीको जीवन यसरी मरिरहेछ, नास भइरहेको छ। नयाँ नेपाल बनाउँछु भन्नेहरु भ्रमित पारेर देश लुटिरहेका छन्। भाग शान्ति जय नेपाल नेपालको लोकतान्त्रिक परिभाषा बनेको छ। सिण्डिकेटतन्त्र लोकतन्त्रको अपरिहार्य सिद्धान्त र व्यवहार भएको छ। यसकारण यक्ष प्रश्न उठेको छ– झोलेलाई अहिले योग्यलाई कहिले? पार्टी अथवा पैसाको झोला बोक्ने जुनसुकै बेला योग्य हुने, जो बुद्धि र विवेकले योग्य छ, ऊ कहिले पनि राज्यको मापदण्डमा पर्नै नसक्ने? यसरी पनि देश विकास हुन्छ, नयाँ नेपाल बन्छ। नयाँ नेपाल गया नेपाल भयो कि कसो हो?