Advertisement Banner
Advertisement Banner

२३ आइतबार, भाद्र २०८१23rd July 2024, 10:09:55 am

Image

राजतन्त्रबिरोधीहरू फस्दै जानु...

शाश्वत शर्मा

११ सोमबार , असार २०८१२ महिना अगाडि

राजतन्त्रबिरोधीहरू फस्दै जानु...

११ मुलुकबाट राजदूत फिर्ता बोलाएर ८ मा राजदूत नियुक्त गरियो । मुख्य भनिएका भारतका लागि पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी, अमेरिकामा पूर्वसचिव चन्द्रकुमार घिमिरे, बेलायतका लागि डा. बिजन पन्त नियुक्त गरिए । यी पन्तका सबै परिवार नै बेलायतका नागरिक हुन् । अन्यमा दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, (अस्वीकार) डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि डा.नेत्रप्रसाद तिमिल्सिना, स्पेनका लागि डा.पुष्पराज कर्णिकार र साउदी अरबका लागि अबुसुफ्यान खानले नियुक्ती पाएका छन् । भनिन्छ, यी आठैजना एमालेका कोटामा नियुक्त भएका हुन् । अब बाँकीमध्ये २ जना रास्वपाबाट, माओवादीका एक जना नियुक्त हुनेछन् । भागबण्डा नमिलेर सर्वोच्च अदालतका न्यायाधीश नियुक्त हुनसकेका छैनन् ।
धिक्कार होस् हामी नेपाली जनतालाई । यतिबिघ्न नाङ्गो राजनीतिकरण भइसक्दा पनि कोही बोल्दैनन् । राजदूत राष्ट्रको प्रतिनिधित्व गर्ने पदमा पार्टीका झोले, संविधान कार्यान्वयन गर्ने न्यायाधीश पदमा पार्टीकरण गर्ने, यतिबिघ्नको ब्यभिचार, लेनदेनमा नियुक्त हुँदा पनि विवेकीहरू बोल्दैनन् । कसरी विधिको शासन कायम रहन्छ ? कसरी लोकतन्त्र लोकजीवन बन्नसक्छ । लोकतन्त्र मार्ने गलत राजनीतिले गरिरहेछ । यतिमात्र होइन, प्रशासन, सुरक्षा प्रशासन, संवैधानिक निकायमा समेत यही हालत रहेको छ । पैसा, नातापाता, पार्टीका झोले नभए वा विदेशीको सिफारिस नभएसम्म कसैले कुनै पद नपाउने ? योग्यताको कुनै कदर कतै छैन । जता हे¥यो उतै भ्रष्टाचार, उतै नैतिकहीनता, कतै जिम्मेवारी छैन । यस्तो छ लोकतान्त्रिक शासन । यस्तो दुरावस्थामा युवाले अवसर पाउने कुरै छैन । बरू विदेश पलायन हुनु जाति भनेर हरेक युवा विदेश पलायन हुने आतूर देखिन्छन् । अर्थात् देशको भविष्य अन्धकार छ ।
थिति भएन भनेर परिवर्तन गरियो, बेथिति झन बढ्यो । अर्थव्यवस्था संकटमा छ, कानुनव्यवस्था धरापमा छ । महगी र असुरक्षा बढ्दो छ । देश समस्यामाथि समस्यामा छ । सत्ताधारीहरू सत्ता जोगाउने, प्रतिपक्षी सत्तामा पुग्ने प्रतिस्पर्धा गरिरहेका छन् । जनता पनि उस्तै । त्रासदी झेलेर बस्छन्, बोल्दैनन् । 
अति भइसक्यो, कहिले चेत खुल्छ जनताको ।
जनतामा देखिएको नैरास्यता, सडकमा देखिएको जनाक्रोश देखेर लाग्छ, अब छिटै परिवर्तन हुनेछ । आज हुन्छ, भोलि हुन्छ, पर्सी हुन्छ भन्दाभन्दै १७ वर्ष भइसक्यो, कुनै परिवर्तन आएन । लोकतन्त्र लूटतन्त्र बनिसक्यो, परिवर्तन भएन । गणतन्त्र ल्याउन सडकमा र विदेशमा गुहार लगाउनेहरू एउटा न एउटा झमेलामा फस्दै गएका छन् । सानादेखि ठूला ठूला भ्रष्टाचार, अनैतिकता, राष्ट्रघाती कार्यमा मुछिदै गएका छन् । तैपनि नेपाली र राष्ट्रलाई हुनेगरी परिवर्तन कहिले हुनेहोला ? हिजो राजालाई ललकार्ने महेश बस्नेत, बालकृष्ण खाणसम्मले ललकारेका थिए । आज यी सबै अनैतिकताको तातो पन्यूले डामिन पुगेका छन् । नागरिकलाई अनागरिक बनाउनसम्म पछि नपर्ने ठूला दलका ठूला नेताहरूमाथि कारवाही हुने कहिले ? देउवा वाइडबढीमा, प्रचण्ड, माधवहरू ललितानिवासदेखि क्यान्टोनमेन्ट घोटालासम्म, ओली गिरिबन्धुदेखि सुन काण्डसम्ममा खोपिएका छन् । हरेकका विरूद्ध अख्तियारदेखि अदालतसम्म, सडकदेखि महालेखाको प्रतिवेदनसम्म फसेका देखिन्छन् । हरेक पार्टी र नेता राजनीतिक अपराधको नाङ्गो तरवारमुनीका अपराधी बन्नपुगेका छन् । कतिजना बिरूद्ध नागरिकतामात्रै होइन, ठगी, अदालतमा सेटिङहरूको पनि तरवार झुण्डिएको छ भने धेरैजसो ठूलो कुरा गर्नेहरूसमेतका कर्तुतहरू सार्बजनिक हुनथालेपछि दुलो पस्न बाध्य भएका छन् । यतिभइसक्दा पनि राजनीतिक भागबण्डा र सेटिङ रोकिएको छैन । भ्रष्टाचार र ब्याभिचार जारी छ । कुशासन बढ्दो छ । हो, यसखाले अलोकतान्त्रिक र छाडापनबाट मुक्ति देशले खोजेको छ । मुक्ति दिने मुक्तिदाता कोही छैनन् ।
यो व्यवस्थाले देशको अवस्था बदल्न सकेन । अवस्था बदल्नका लागि फेरि परिवर्तन जरूरी भयो । यो पद्धतिमा आमूल सुधारको आवस्यकता प¥यो । देशघातीहरूको छानबिन गर्न जरूरी छ । यिनलाई कानुनको कठघरामा उभ्याएर कडाभन्दा कडा कारवाही नगरेसम्म देश र देशबासीको अवस्था सुध्रिनेवाला छैन । फेरि पनि भनौं, यसका लागि न त भारतको चुनावको परिणामले केही काम गर्छ, न त कसेको विदेश भ्रमणले नै केही हुनेछ । आफ्नो हालत सुधार्ने र जनताप्रति जिम्मेवारपूर्ण शासन प्रशासन स्थापित गर्ने हो भने जनता अग्रसर हुनैपर्छ । जबसम्म जनता सहनशील भएर बस्नेछन्, तबसम्म देशमा यो अव्यवस्थाले पिरोलिरहने छ । चेतना रहोस् ।