पाएसम्म अमेरिका, युरोप, कोरिया जाने, नपाए खाडी भएन पनि नगई भएन, नेपालमा गरिखान पाइएन भन्दै विदेश जान चाहनेको लर्को कहालीलाग्दो देखिन्छ एयरपोर्टमा । भिसा सेन्टर, दूतावास र कन्सल्टेन्ीि तथा दलालहरूका कोठा कोठामा । युवाहरू भन्छन् ः नेपालमा काम छैन, नेताको चाकरी नगरी अवसर पाइदैन । के गर्ने ?
हरेक वर्ष कोरिया जान भाषा परीक्षा पास गर्ने र जाने साइत कुरेर बसेकाहरू हजारौं छन् । कतिपय भाषा पास गरेर पनि जान पाइरहेका छैनन्, पालो कुरिरहेका छन् । परीक्षाका तैयारी गर्नेहरू गरिरहेका छन् । पहिले परिक्षा पास गरिसकेकाले भनेका छन् ः बरू ज्यान फालिन्छ, हामीलाई कोरिया नपठाई नयाँलाई पठाइयो भने हामीले पनि जानेका छौं । कोरोनाले युवाको इच्छा मा¥यो, कोरोनापछि दलालहरूको दलालीले मा¥यो, अहिले सरकारले मारिरहेको छ । हरिबिजोग छ युवा जमातको ।
खासगरी बिगतमा कोरियाले नेपालीलाई निकै मायाँ गरेको छ । नेपाली युवाजमात इमान्दार, कर्तव्यनिष्ठ र काम गर्न जाँगरिला भनेर सह्राहना पनि गरेको छ । तर, दलालको चक्करमा सरकार नै परेपछि युवाहरूको के लाग्छ ? कोरियन दूतावास बाहिर पनि दलालहरूको जगजगी देखिन्छ । अन्तर्वार्ताको समय लिनका लागि समेत दलाली चल्ने गरेको छ । यो सेटिङ नभइ कसरी सम्भव छ र ? यद्यपि कोरियाली दूतावासमा बढी निष्पक्ष हुने दावी युवाहरूले गरिरहेका छन् ।
कोरिया होस् कि अन्यत्र, युवाहरू यसरी विदेश पलायन हुनु राष्ट्रियताका लागि निकै घाटाको कुरा हो । युवाहरू भनेका वर्तमान हुन् । वर्तमान यसरी निराश छ, राष्ट्रबाट भागिरहेको छ भने देशको भविष्य के हुने ? देशको भविष्यका लागि देशभक्तिका कुरा गरेर भ्रष्टाचारलाई मलजल गर्ने पार्टीका कार्यकर्ताहरूका कारण, तिनलाई संरक्षण गर्ने राजनीतिक नेताहरूका कारण मुलुक युवाविहीन बन्दै जान थालेको छ । खतरा बढेर जाँदो छ ।
विश्व बैंकले भनेको छ, युवाहरू यसैगरी विदेश पलायन हुने हो भने २० वर्षपछि नेपाल बालबालिका र बुढाहरूको देश हुनेछ । यो तथ्यांक त्यत्तिकै पीडादायी छ, तर त्यो पीडा योजनाविद, समाजशास्त्री, देशका सञ्चालकहरूले बुझे पो कमजोरी सुधार्न सकिन्छ । नेताहरूलाई थाहा छ, युवाहरू विदेशीनु राम्रो कुरा होइन, तर उनीहरू यो समस्यालाई समाधान गर्न कुनै पनि हालतमा सक्षम छैनन् । नेताहरू देशको भविष्य होइन, सत्तास्वार्थ हेर्छन् ।
आज प्रत्येक घरका युवाहरू कुनै न कुनै विदशी मुलुकमा छन् । हरेक घरका सदस्य यसरी विदेशमा हुनुबाट रेमिटान्सको फाइदा होला । राष्ट्र बैंक नै भन्छ ः प्राप्त रेमिटान्सको ८० प्रतिशत अनुपात्पदक क्षेत्रमा लगानी भइरहेको छ । त्यस्तो रेमिटान्सले आर्थिक लेनदेन, कारोवार देखिएला तर देशको उद्यम, भविष्य निर्माण हुनसक्दैन ।
देश बलियो हुन देशभक्तिको भावना प्रवल हुनुपर्छ । त्यो भावना जबसम्म युवाहरूमा देखिन्न, देश कमजोर नै रहन्छ । युवाजति विदेशीने र नेताजति विदेशीका सामु लम्पसार परेर देशहीतका कुराहरू सुम्पदै राष्ट्रघात गर्ने परम्परा नै बसिसकेको छ । राजनीतिक दलहरू विदेशीलाई खुशी पारेर सत्ता, शक्ति र सम्पत्ति आर्जन गर्ने सजिलो उपाय अवलम्बन गरिरहेका छन् । त्यसैले नेपाल अस्थिर छ, अराजक छ, आतंकको माहोल बढेको छ । सुशासन पटक्कै छैन । देशकै अख्तियारजस्ता निकायकाले स्पष्ट शव्दमा भनेका छन्– बजेटको ८० प्रतिशत अंशमा भ्रष्टाचार हुन्छ । सेवाग्राहीको हातमुखसम्म बजेट पुग्दै पुग्दैन । भ्रष्टाचार हुने त्यति ठूलो हिस्सा कहाँ जान्छ ? निश्चय नै राजनीतिक दलका नेता र कार्यकर्ताहरूले बजेटको भागशान्ति जयनेपाल गर्ने गर्छन् । देशहितमा काम गर्ने राजनीतिक दलहरू नै यसरी भ्रष्टाचारमा लिप्त भएको स्थिति र युवाजमात खबरदार गर्न नसक्ने भएर विदेशतिर पलायन हुनुले देश बर्बादीमा उभिन पुगेको छ । बर्बाद हुँदै गएको राष्ट्र डरलाग्दो तस्वीर हो ।