Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

सिक्किमको नियतितिर हामी

०३ बिहिबार , जेठ २०८१२ महिना अगाडि

सिक्किमको नियतितिर हामी

१९४७ र १९७५ मा काश्मिर र सिक्किमले आत्मनिर्णयको अधिकार गुमाए। यी दुवै घटनामा भारत निर्णायक रह्यो र त्यहाँका जनताले राष्ट्र गुमाउनु प¥यो । सिक्किम भारत बनेको छ भने काश्मिर आधा पाकिस्तान र आधा भारतको झण्डामुनी बसेर स्वतन्त्रताको लडाई लडिरहेको छ ।  कतै नेपाल सिक्किम वा काश्मीर बन्ने त होइन ? किनभने नेपालको परिवर्तनमा भारतको प्रत्यक्ष हात रह्यो र अब चीनसमेत सुरक्षा चासो लिएर नेपालमा उपस्थित भइसकेको छ। नेपालमा संघात्मक शासन प्रणाली लागू गर्न दलहरू कस्सिएर लागिपरेका अवस्था । स्वशासन, स्वायत्तता र आत्मनिर्णयको अधिकार १२६ भाषा र १०३ जातिले माग गरिरहेका स्थिति । यसैको प्रतिफल हो, एकातिर नेपाल विदेशी अतिक्रमणमा परिरहेको छ भने केही नेपालीहरू आत्मनिर्णयको हकाधिकारका लागि लडिरहेकै छन् । यसैले प्रश्न उठेको छ– राष्ट्र ठूलो कि धर्म, जातजाति, सम्प्रदाय, भेग, क्षेत्र ? राजनीतिक दलहरू शीरमा देश राखेर बोल्न सकिरहेका छैनन्। बुद्धिजीवीहरू जिब्रो तालुमा टाँसेर बसेका छन् । राष्ट्रिय एकता र अखण्डता तारेभीरमा उभिएको पुगिसकेको छ ।
नैतिकता र निष्ठाका सीमाहरू पल–पल धराशायी पार्दै गएका यी राजनीतिक दलहरूले नेपालको अरू कति दुर्गति पार्ने हुन्, हेर्दै जानुको बिकल्प छैन । सुतुरमुर्गभन्ने प्राणी टाउको बालुवामुनी घुसारेर सुरक्षित छु भन्ठान्छ । विस्तारबादको खोकिलामा मुण्टो लुकाउने हाम्रा नेताहरू पनि त्यस्तै नियतिमा देखिन्छन् । लोकतन्त्रको अन्तिम यथार्थ लोक हुन् । यो शक्तिलाई आघात पु¥याएर गरिएको राजनीति उज्यालोको लोकार्पण होला र ?
माओवादीले बिर्सिएको उसकै यी ४० सूत्रहरू..... १. सन् १९५० को नेपाल–भारत सन्धिलगायत सम्पूर्ण असमान सन्धि, सम्झौताहरू खारेज गरिनुपर्छ । २. २०५२ साल माघ १५ गते नेपाल र भारत सरकारबीच सम्पन्न कथित एकीकृत महाकाली सन्धि अझै बढी राष्ट्रघाती र दीर्घकालीन दृष्टिकोणले बढी खतरनाक भएकाले उक्त सन्धि तत्काल खारेज गरिनुपर्छ ।    ३. नेपाल भारत खुला सिमाना नियन्त्रित र व्यवस्थित गरिनुपर्छ। नेपालभित्र भारतीय नम्बरप्लेटका गाडीहरू चलाउन तत्काल रोक लगाउनुपर्छ।  ४. गोरखा भर्तीकेन्द्र रद्द गरिनुपर्छ आदि आदि ।
स्वाभिमानमा खरो उत्रन नसक्ने र स्वाभिमान लुटिदा वा लुटाउँदा दङ्ग पर्नेहरूलाई मिरजाफर हुन् । नेपालमा थरि–थरिका, खेमा–खेमाका, पार्टी–पार्टीका अनेक मुखुण्डो लगाएका मिरजाफरहरूको बिगबिगी चलेको छ, सत्तामा तिनै हावी छन् । यस्ता मिरजाफर प्रवृत्ति बोकेकाहरूले शान्ति, संविधान र सार्वभौमिकताको परीक्षामा खरो उत्रने विश्वास गर्न सकिएला ? रत्नाकरभित्र मानवता थियो र सुसुप्त त्यो मानवता ब्यूँझनासाथ ऊ डाँकाबाट बाल्मिकी बन्न सफल भयो । नेपाली बुद्धिजिवी र राजनीतिक खेमा यतिसम्म स्वार्थको पोखरीमा चुर्लुम्मै डुबिसकेको छ कि यो अचेतन छ र यसको बाल्मिकी बन्ने कुनै सम्भावना देखिन्न । त्यसैले राष्ट्र अन्धकार सुरूङ्जिस्तो छ.।
नेपाली भूमि नै गुमिसक्यो, हामी नक्सा च्यापेर बसेका छौं । निरन्तर सीमा अतिक्रमण भइरहेको छ, सीमाक्षेत्रमा अत्याचार भइरहेको छ, नेपाली लखेट्ने र तिनीहरूमाथि बलात्कार गर्नेसम्मका घटना दोहोरिरहेका छन् । आश्चर्य, कुनै पनि दलको एजेन्डामा यी विषयहरू परेनन् । नेपाली भूमिमै दास बन्नुपरेका अनेक दृष्टान्त बढ्दो छ । गज्जब त के पनि छ भने अनेकपटक अनेक नेताले दिएको रिपोर्टमा सीमाक्षेत्रमा नेपालीलाई लखेटेको, नेपालीमाथि अत्याचार गरेको, नेपालीलाई लुटिएको, नेपाली चेलीको बलात्कार गरेको र अतिक्रमणको चर्को घटनामात्र देखेन, सीमा स्तम्भ उखेल्दै फालेको र नेपाली सीमा मिचेर भारतीय बस्ती बसालिएको रिपोर्ट दियो, तर त्यो रिपोर्टलाई वास्ता गरिएन । किन ?
संसदभित्र नेताको मुहारमा देशभक्तिसम्म देख्न पाइएन । भक्ति थापा त इतिहास हुन्, यति ठूलो परिवर्तनपछि पनि भक्ति थापा जन्मन सकेनन् । केही वर्षअघि भारतका प्रणव मुखर्जी अलजजिरा टीभीबाट नेपालको राजनीतिमा भारतले मुख्य भूमिका खेलेको दावी गरिरहे, रअका प्रमुखहरू प्रचण्डहरू भारतले तालिम दिएका प्यादा हुन् भनेर पुस्तक नै लेखे । नेपाली लोकको जनआन्दोलन, एमाओवादीको जनयुद्ध, कांग्रेस–एमालेको बिद्रोह भारतीय रणनीति भनिरहे । कुनै प्रतिवाद कसैले गरेनन् ।
बसन्त आन्दोलनपछिको पहिलो सरकार प्रमुखको हैसियतमा सिंहदरवारको सत्ताको झ्यालबाट मुन्टो निकालेर प्रचण्डले भनेका थिएः अव हिट्लर जन्मन्छ वा बुद्ध । ०६५ पछि तेश्रोपल्ट प्रचण्ड प्रधानमन्त्री छन् । उनको चरित्रमा सिण्डिकेट र हिट्लरको गन्ध आउँछ । उनकै पछि पछि अरू दलहरू छन् । बुद्धको सुगन्ध आउन सकेन । सेटिङ र स्वार्थको गर्भगृहबाट द्वन्द्वको महाभारत युद्ध जन्मने खतरा बढेको छ ।
अव १८४८ तिरको जर्मनी राष्ट्रवादको राँको सल्काउने बिस्मार्क एमाओवादीभित्रबाट प्रचण्डको रूपमा जन्म्यो । प्रजातन्त्रको बिडा उठाएको कांग्रेसको नेतृत्व बिस्मार्कको पदचिन्हमा चल्न सकेनन् । हाम्रो नेपाल राम्रो भन्न पाइने सम्भाबना क्षिण हुँदैछ । राजतन्त्र फालेर हालेको लोकतन्त्रको नयाँ पोसाक नेपाललाई सुहाएन । राजतन्त्रको उखेलेर रोपिएको लोकतन्त्रमा ’जर्रा जर्रा मकमकाएको नेपाली स्वाभिमान र देशभक्ति’ले जरा हाल्ने जोखिम दिनदिनै बढेर गएको छ । हाम्रो नेतृत्वको छातीभित्र नेपाल छ, त्यो अस्तित्वलाई यिनले चिन्नै सकेनन् । यिनलाई विश्वास गर्ने लोकप्रति नेतृत्व कहिले पनि  जवाफदेही बन्न सकेनन् । एउटा नेतामा हुनुपर्ने अपरिहार्य गुण भनेको जिम्मेवारी हो । समाज बदलने प्रण हो । त्यो प्रण सधैं मरेको देखियो ।    – डा.बिनित