डा. विनिता - - -
लोकतन्त्रलाई श्री ३ को शैलीले चलाउँदा लोकतन्त्र जीवनपद्धति बन्नसकेन । राजनीतिक स्थिरताका साथ आर्थिक उन्नति गर्नेका लागि तीन पद्धतिको दृष्टान्त बुझेर अघि बढ्नु थियो, जुन नेपाली नेतृत्वले सकेन ।
नयाँ ऋतु आउँछ, नयाँ पात पलाउँछन् र वृक्ष फुल्छ, फल्छ र ढकमक्क देखिन्छ, छहारी दिन सक्षम हुन्छ । घडीको सुई अग्रगामी सूचक हुन्, यही हो प्रकृति र परिवर्तन । नेपाली राजनीतिमा परिवर्तन त आयो तर यो परिवर्तन युवाशक्ति र आम जनताको मुहारमा पीडामात्र भएर छायो ।
मान्छे विवेकशील भएकाले ऊ हरदम केही नयाँ खोज्छ, केही नयाँ गर्छ । प्रत्येक नागरिकमा देखिने परिवर्तनको भाव, उसले गर्ने उद्दम, उसभित्रको शीप र कौशलले जब निखारिने अवसर पाउँछ तव मुलुक सुशासन, समृद्धशाली भएर परिवर्तित हुँदै जान्छ । नेपाल र नेपालीका सन्दर्भलाई परिवर्तनको कसीमा घोट्दा भ्रष्टाचारको दलदलभन्दा केही देखिन्न । परिवर्तन सुन हुनसकेन, पित्तल बन्यो । किन हामी त्यो अलोकतान्त्रिक, अमानवीय भ्रष्टाचारबाट निस्किन सकेनौं, त्यही दलदलमा झन झन भासिदै गएका छौं, यो वर्तमान कालखण्डको प्रश्न हो ।
पुरानो पुस्ताले सकेन, नयाँ पुस्ता अघि सरेन । युवाहरूलाई उठ्नै दिइएन । परिवर्तनका बाहक, सुशासन र निर्माणका साधक युवा हुन् । नेपालका सन्दर्भमा जति पनि राजनीतिक परिवर्तन भएका छन्, युवाको हौसलाले हो । तर, त्यो परिवर्तनलाई युवाले चाहेजसरी उपयोग गर्न रोकियो, बुढो पुस्ता बाधक बनिदियो । निराश युवा पुस्ताले बुढो पुस्तालाई उछिन्ने साहस र आँट देखाएन, उसको मर्यादाले दिएन । अनेक कारणले युवापुस्ता विदेशी धर्तीतिर आकर्षित भएको लामो समय भइसक्यो । जसरी पनि विदेश जाने, सके युरोप–अमेरिका छिर्ने, नसके खाडी मुलुक वा भारतमै भए पनि पलायन हुने प्रवृत्ति स्थापित भइसक्यो । विदेश छिर्न सके अवसर पाइन्थ्यो, रोजगारी मिल्थ्यो, भविष्य बन्थ्यो, जहानबच्चा, पितामाताको हेरविचार गर्न सकिन्थ्यो भन्ने विश्वास छ युवामा । बीसमा उनाइस युवालाई सोध्नोस्, यो देशमा केही छैन, केही हुन्न, अवसर पाइन्न, गरिखान दिइन्न भनेर धकै नमानी नैराश्यता प्रकट गर्छन् । युवाजमातको विदेश पलायन हुने यो झिल्को डढेलो बनिसक्यो । गाउँ गाउँ युवाविहीन हुन थालिसकेको छ । थामिनसक्नु, झेलिनसक्नु, सुधारिनसक्नुको यो युवा पलायनको महामारीको जिम्मेवार को ? मुलुकलाइ यसरी खोक्रो पार्ने नेतृत्व कुन अग्रगमनको, कुन देशभक्तिको, कुन निर्माण र प्रगतिको कुरा गरिरहेको छ ? यस्तो तन्नम र तुहिएको राजनीति कहिले पार लाग्ला ? त्यसकारण पनि लोकतन्त्रअनुसार यसका विशेषताहरूमा ध्यान दिन जरूरी छ ।
सडक, समाज र सत्तामा परिवर्तनकारी राजनीतिक शक्तिहरू नै छन् । उनीहरू सुधारका लागि होइन, आत्मतुष्टि र व्यक्ति सुखका लागि राजनीति गरिरहेका छन् । देश र नेपालीत्व यिनले हेरिरहेका छैनन् । कूशासनको जड यही अन्धोपन हो । द्रव्यपिचास र असूर प्रवृत्ति बोकेकाहरू आफूलाई परिवर्तनकारी ठान्छन्, पटक पटक सत्ता र शक्तिमा पुग्छन् र भ्रष्टाचारमात्र गर्छन् । अर्जुनदृष्टिका चाखलाग्दा भाषण गर्छन् र दुशासन व्यवहार देखाउँछन् । यिनले राज्यका संयन्त्रहरूमा यसरी भ्रष्टाचारीकरणको बिउ छरेका छन् कि ती बीउ विष वृक्ष बनेर मुलुकलाई असफल राष्ट्रको कोटीमा पु¥याइसक्यो । यिनमा चेत छैन । विश्व मापनमा वर्तमान नेपाल भनेको भ्रष्टाचारी, दण्डहीन, आपराधिक मुलुक हो । यसको दोषी लोकतन्त्र होइन, लोकतान्त्रिक नेता हौं भन्नेहरूले लिनुपर्छ । जसको कोलमा राष्ट्रको आर्थिक भविष्य पिसिदै छ । शासन, प्रशासनका जुनसुकै क्षेत्रमा हेरे पनि स्याउँस्याउँ भ्रष्टाचार सलबलाएको देखिन्छ । पालिकादेखि ७६१ सरकार नै भ्रष्टाचारमय छ । जता हेरे पनि भ्रष्टाचारै भ्रष्टाचार । उद्यम, व्यापार, आयात, निर्यात, उत्पादन, बिक्री जता पनि भ्रष्टाचार । परीक्षा, नतिजा, नियुक्ती, सरूवा, बढुवामा पनि भ्रष्टाचार । न्याय र कानुन, सुरक्षा र शान्तिका नाममा समेत भ्रष्टाचार व्याप्त छ । लोक यो सब हेरेर निराश र उदास छन् । यो स्थिति यत्तिकै सुधारिदैन । यो स्थिति नसुधारेसम्म देश बन्दैन ।
यति भयावह परिस्थिति सुधार्न ‘सिंगापुर पद्धति’ अपनाउने कि ? जव सरकारी कार्यालयमा युवाको प्रवेश भयो, सिंगापुर बन्न थाल्यो । ताइवानमा राजनीतिक अराजकतालाई प्रिन्स्टन विश्वविद्यालयका विद्यार्थीहरूले चिर्न सफल भए । र, दक्षिण कोरिया ।
रछ्यानमा फालेको भातको सिता टिपेर खाने ५० को दशकको दक्षिण कोरिया आज सम्पन्न छ । विदेश पलायन भएकालाई कोरियाले स्वदेश फर्कन आकर्षित ग¥यो र विदेशमा सिकेका सिपलाई स्वदेशमै उपयोग गर्नसकिने उपयुक्त वातावरण बनाइदियो । त्यो कोरिायमा झण्डै लाख नेपाली काम गर्न पुगेका छन् । किन नेपालले ‘सिंगापुर, ताइवान, कोरिया पद्धति’ नअपनाउने ?
सन २०१७, २०१९ र भर्खर गरेर नेपालले तेश्रो लगानी सम्मेलन सम्पन्न गरेको छ । कुनै पनि सम्मेलनबाट खासै लगानी भित्रिएन । किन ? कहाँनेर चूक छ नेपालको ? यसबारेमा खोई समीक्षा ?
लगानी भित्रिनका लागि लगानी मैत्री वातावरण चाहिन्छ । आकर्षक ऐन, कानुन र सुविधाहरू दिनसक्नुपर्छ । नेपालमा लगानी गर्न आउनेहरू प्रशासनिक र कानुनी झण्झटबाट वाक्क भएर फर्कने गरेका छन् । एनआरएन नै लगानी गर्न उत्सुक छैन भने बाँकी विश्व उद्यमी नेपाल किन आउने ? सूर्य गार्मेन्टस् किन नेपालबाट भारत गयो ? यत्ति बुझ्न सके नेपालमा लगानी वातावरण बन्न सक्छ । सबै तगाराहरू हटाउनका लागि कारणहरू थाहा पाउन र उचित नीति निर्माण गर्न सकिनेछ ।
मूल कुरो राजनीतिकरण हो । राजनीतिकरणले अपराधिकरण बढाएको छ, यी दुबै कारणले गर्दा नेपालमा उद्योग बन्द हुने क्रम छ, स्थापना हुने होइन । जति पनि उद्योग छन्, बेचेर खाएका छन् । अर्का देशले उपहारमा बनाइदिएको उद्योगसमेत हामीले बेच्यौं । परिवर्तन भएपछि उद्योगै उद्योग खोलिने डिङ् हाँक्ने यिनै नेताहरू हुन् । यिनले भएका साधन स्रोत बेचे, कमिशन खाए । एउटा पनि उद्योग खोल्न सकेनन् । यी परिवर्तनकारीका नीति नै युवा निकासी हो । युवा निकासी गरेर रेमिटानसले बनेको कुनै मुलुक छैन । मुलुक बनाउन देशभक्ति चाहिन्छ, त्याग र तपस्या गर्नुपर्छ । हाम्रा नेताहरू कम्बल ओढेर घ्यू खाने बर्गका हुन् । नक्कली काम गरेर सक्कली नतिजा आउन्न ।
लोकतन्त्रलाई सेटिङमा चलाउनेले विधिलाई मिच्छ । विधि मिच्नेले लगानी वातावरण बनाउन सक्दैन । भीड, हड्ताल, बन्द, आगजनी गरेर अराजक राजनीति हुन्छ, उत्पादनशील र निकासीमूलक, रोजगारीमूलक केही पनि हुनसक्दैन ।