Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

Image

बिकाउ हुन् यिनीहरू

शाश्वत शर्मा

२४ सोमबार , बैशाख २०८१३ महिना अगाडि

बिकाउ हुन् यिनीहरू

बजेट अधिवेशन वैशाख २८ गते सुरू हुनेछ । यसअघिको अधिवेशन गृहमन्त्रीको राजीनामा माग्दामाग्दै हठात् अन्त्य गरिएको थियो । यो अधिवेशन कांग्रेसले चल्न देला कि नदेला भन्न सकिन्न । किनकि प्रतिपक्षीको माग पूरा भइसकेको छैन । स्वयम् सभामुख देवराज घिमिरे उदासीन देखिएका छन् । यो अवस्थामा जेठ १५ भित्र बजेट कसरी पेश होला ? कतै अध्यादेशबाटै बजेट ल्याइने त होइन ? कतिपय विश्लेषक छिमेकबाहेक यो समीकरण नै बदल्ने प्रयास भइरहेको बताउँछन् । प्रधानमन्त्रीले दिएको संकेतअनुसार सहकारीमात्र होइन, सबै प्रकारका विषयमा छानबिन गर्न गृहमन्त्री समेत राजी बनेका छन् । बच्चालाई पापा भनेजस्तो कुराले कांग्रेस मान्ला र ?
खासगरी भारतले नेपालनीतिमा फेर बदल गर्नसक्ने इसारा गरेपछि, भारतको लोकसभाको चुनावी नतिजा ४ जुनमा आउनु अगाडि नै यो समीकरण बदल्न विदेशी ताकत तल्लीन देखिन्छन् । नेकपा स का माधव नेपाल, कांग्रेसका शेखर कोइराला,  गगन थापाहरूले देखाएको सकृयता त्यसैको उपज हो । सरकारको नेतृत्वमा चाहे जो होस्, भारतबाहेकका शक्तिहरू लागिपरेका छन् । अर्काथरि भन्छन्– यी भरिया हुन्, मठाधीशजस्ता देखिने यिनलाई शक्तिराष्ट्रले यो ऊ भन्नैपर्दैन । यिनीहरू देशको होइनन्, सबैका हुन् । जोबाट पद, पैसा र शक्ति प्राप्त हुन्छ, यी तिनकै हुन् । भारतले दिएको भन्दा अलिक बढी दिएमात्र यिनलाई खेलाउन चलाउन सकिने छ । छिमेकको नेपालनीति फरक हुनेछ भनेर चिन्ताको विषय नै छैन । उस्तै परे भारतलाई समेत यिनले पन्छाउन बेर मान्दैनन् । ०७२ सालमा भारतलाई अटेर गरेर नै संविधान कसरी जारी भयो, यत्ति सम्झिदा यिनको चरित्र, व्यवहार बुझ्न सकिन्छ । 
कतिपयले अहिलेको समीकरण सरकार भनेको चीनको शक्तिको उपज भनिरहेका छन् । अघि एमाले र माओवादीको गठबन्धन सरकार पनि चीनकै चाख भनिएको थियो । न त्यतिबेला भारत र पश्चिमाले खेल्न सके, न अहिले खेल्न सकेका छन् । फेरि पनि सत्ता समीकरण बदलियो भने त्यसमा यस्तै अवस्था देखिने छ । त्यसकारण नेपालमा सिद्धान्त, विचार, नीति र निष्ठाको कुरा चल्दैन । यिनलाई सत्ता र शक्तिको धाप र राप दियो भने जे पनि हुन्छ, यिनीहरू छेपारोले झैं रङ् बदलिदिनेछन् । यिनीहरू न कम्युनिष्ट हुन्, न प्रजातन्त्रवादी । यिनीहरू पद र पैसाको भोका छन्, अवसरवादी हुन् । आफैले एमसीसी मागे, सडकमा कार्यकर्ताहरूलाई बिरोधमा उतारे, संसदमा अमेरिका मूर्दावाद भन्न पुगे । आफै अग्रसर भएर एमसीसी पास गरे । यिनीहरूको राजनीतिक चरित्र यस्तै हो । यिनीहरू कसैका पनि होइनन् ।
यसकारण नेपालमा चीन, भारत वा पश्चिमा सरकार बन्यो भन्नुको अर्थ छैन । यिनीहरू नेपाल सरकार पनि चलाइरहेका छैनन् । जुन सरकार बन्छ, यिनको स्वार्थको सरकार बन्छ । जसले स्वार्थ पूरा गरिदियो, उसैको सरकार चल्छ । महिना महिनामा समीकरण बदलिन्छ । कारण स्वार्थपूर्तिको मुद्दाका कारणले हो । जसले किन्न सक्यो, उसैको प्रभाव र दबाबमा सरकार बन्छ । अपराधी छुट्छ, अपराधी मन्त्री बन्छ, अपराधी शक्तिशाली देखिन्छ । जनताले जति बिरोध गरे पनि केही हुनेवाला छैन । आफ्नै नेता मार्ने (मदन भण्डारी), आफ्नै उमेदवार हराउने (कृष्णप्रसाद भट्टराई) आफ्नै नागरिकलाई भुटानी शरणार्थी बनाएर बेच्ने, सरकारी सम्पत्ति बेच्ने, सकेसम्म भ्रष्टाचार गर्ने, भ्रष्टाचारी, अपराधीलाई बचाउने, यी केको कम्युनिष्ट, के को समाजवादी, कहाँ हुन् र लोकतन्त्रवादी ? फेरि पनि भन्न सकिन्छ, बजेट अघि नै यो समीकरण बदलियो भने अचम्म नमाने पनि हुन्छ । किनकि पुतलालाई नचाउन सकिन्छ ।
नेपाली राजनीतिमा कुनै पनि बेला यू टर्न आउन सक्छ । शक्तिराष्ट्रले यिनलाई लम्पसार पारिदिन सक्छ । भारतको लोकसभाको नतिजा नआउँदै अथवा बजेट अधिवेशन अघि नै समीकरण बदलियो भने बुझ्नुपर्छ, अर्को मालदार सूत्रले काम गरिसकेछ । यतिबेलाको प्रश्न यत्ति छ कि बजेट जसरी आओस् अथवा समीकरण बदलियोस्, यसमा मालदार सूत्रधार कुन चाहिंले निर्णायक भूमिका खेलेछ ? जो बिक्री हुन्छ, बिकाउको राष्ट्रभक्ति हुँदैन, न त लोकतन्त्रप्रति प्रतिवद्धता नै हुन्छ ।