Advertisement Banner
Advertisement Banner

०५ शनिबार, जेठ २०८१17th April 2024, 11:33:48 am

Image

परिवर्तन ग्रह नक्षत्रबाट ?

शाश्वत शर्मा

१९ बुधबार , बैशाख २०८११८ दिन अगाडि

परिवर्तन ग्रह नक्षत्रबाट ?

केही ज्योतिषीहरू भनिरहेका छन्– ०८१ सालमा ठूलै उथलपुथल हुनेछ । एक चर्चित ज्योतिषले त वैशाख १८ देखि फागुनभित्र परिवर्तन हुने भन्छन् । अर्जुन क्षेत्री नाम गरेका ज्योतिष पनि छन्, उनले ०८० भित्रै राजसंस्था नफर्किए ज्योतिष पेशा नै छाडिदिने भनेका थिए । ती ज्योतिष लाजै नमानी यही पेशा गरिरहेका छन् । राजनीतिक पार्टी पीडित जनतालाई आशा देखाउने, राप्रपा, राष्ट्रिय शक्ति अभियान, दुर्गा प्रसाई आदि इत्यादि सबै आशा देखाउने, ज्योतिष पनि त्यस्तै । यी सबै हर्कतहरू भनेका जनताको पीडा र छटपटीमा झन धेरै नुनचुक दलिरहनु हो । दलहरूको आश्वासन असफल भइरहेका छन्, ज्योतिषहरूको भविष्यवाणी पूरा भएको छैन । अब ०८१ भित्रै राजनीतिक परिवर्तन हुन्छ भनेर नयाँ सगुफा छाडिएको छ ।
थिचिएका, पिल्सिएका जनताहरू यो वर्ष पनि परिवर्तन कुरेर बस्नेछन् । बिगत १७ वर्षदेखि शान्ति र समृद्धि, समानता र विधिको शासन कुरेर बसेका नेपाली, कुरिरहेकै छन् । हुनलाई केही पनि भएन । लुटमा अभ्यस्त गणतन्त्रवादी सबै झन झन शक्तिशाली बन्दै गएका छन् । सत्तामा जानका लागि यिनीहरू मरिहत्ते गर्छन्, द्वन्द्व गर्छन् तर गणतन्त्र संस्थागत गरेर लुट्न पाइन्छ भन्नेमा एकमत छन् । राष्ट्र लुट्ने कार्यकर्ता, नेता पाल्ने र शक्तिशाली बन्ने यिनको दाउपेच चलिरहेकै छ । व्यवस्था असफल भयो, अवस्था सुधार्न कोही अगाडि आउनेवाला छैनन् । ज्योतिष भन्छन्– राजा मंगल अनि मन्त्ती शनी छ । वर्षभरिमा केही न केही हुन्छ । ०७२ मा पनि यस्तै थियोर भूकम्प गयो, असोज ३ गते नयाँ संविधान जारी हुनसक्यो । यो साल त्यस्तै छ, परिवर्तन हुन्छ भन्ने ठोकुवा गर्दैछन् ज्योतिष । राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईदेखि केशर बहादुर बिष्टसम्म तातेर सेलाइसकेका छन् । कुन दिन फेरि ब्याट्री चार्ज भएझैं तात्छन् र छिटै सेलाउँछन् । तात्ने र सेलाउने भनेको मौसमअनुसारको ट्यूनिक हो । यस्ता चाल र व्यवहारले परिवर्तन हुन्न, आकाश हेरेर पानी नपर्न पनि सक्छ ।
एकथरि सत्तामा बसेर पीडा दिइरहेका छन्, अर्काथरि हावादारी कुरा र कमजोर आन्दोलन गरेर । उता बुढा पूर्वराजा जनता कुन बेला बिद्रोहमा उत्रन्छन् र देश बचाउन सकिएला भनेर देश दर्शन गरिरहेकै छन् । जब राजा देख्छन्, सबै साथमा देखिन्छन्, राजा फर्कनासाथ जनता पनि घरघरमा जान्छन्, सुत्छन्् । राट्रमा मुद्दा छन्, समस्या छन्, सहकार्यका लागि पूर्वराजाको प्रस्तावलाई समेत लत्याइयो । राष्ट्रिय मुद्दा बोक्ने नेतृत्व छैन । जनताका समस्या बोकेर एक दिन सडकमा उत्रनेको भरोसा रहेन । दुर्गा प्रसाईले देशमा भइरहेको ठूला ठूला भ्रष्टाचार, मिटरव्याज पीडित, लघुवित्त, सहकारी पीडितहरूको मसिहा हुन जनताको साथ पाएर मुद्दा जुरूक्कै उठाएका थिए । उनका कतिपय अभिव्यक्ति बिबादास्पद भए र आन्दोलन निरन्तर हुनसकेन । आन्दोलन उठ्छ, आन्दोलनलाई बिद्रोहमा रूपान्तरण गर्नसक्ने नेतृत्व भएन । स्थिति यसकारण व्यङ्गमय हुनपुग्यो । परिवर्तन भन्यो कि कतिपयले नाक खुम्च्याउँछन् । एकदिने नारा जुलुसले परिवर्तन ल्याउँदैन । देशको राशी बृश्चिक हो, अढैया चलिरहेको छ भनेर बस्न पनि सकिदैन । ग्रह नक्षत्रको चाल होला, मूल कुरो एकदिने आन्दोलनले परिवर्तन ल्याउन सक्दैन । पत्यारिलो नेतृत्व अघि बढ्नुपर्छ ।
पूर्वराजाले नेतृत्व लिनुपर्छ भन्नेहरू पनि छन्, यो दुरासययुक्त छ । विवादमा ल्याउने प्रपञ्च हो । पूर्वराजाले त पटक पटक नयाँ सहमतिका साथ अघि बढौं, मिलौं, जुटौं, बिभेद र निषेधको राजनीति नगरौं भनेर सार्वजनिक प्रस्ताव गरिरहेकै सुनिन्छ । पूर्वराजा सबका साझा हुन्, राष्ट्रिय शक्ति हुन् । यो शक्ति राष्ट्रका लागि हो, एकताका लागि हो । राजनीतिक बिभाजनमा लाग्ने काम राजाको होइन । हरेक दलका सक्षम र सफा नेताहरूले पूर्वराजालाई साथ दिनुपर्छ । राष्ट्रिय समस्या हल गर्न सघाउनु पर्छ । सम्बाद र सहमति बिना देश अघि बढ्न सक्दैन, यो सबैले बुझिसकेका छन् ।
वर्तमान नेतृत्व जो हरेक पार्टीमा देखिएका छन्, तिनीहरूबाट देश बन्न र बचाउन सकिने अवस्था छैन । ग्रह नक्षत्रको चाल र भद्रो हरेर पनि देश बन्दैन । देश बनाउन राष्ट्रिय सहमति र सहकार्यको बिकल्प छैन, सबैमा हेक्का रहोस् ।